मकवानपुर । मकवानपुरगढी गाउँपालिकामा करारमा काम गर्दै आएका कर्मचारीहरुको आर्थिक वर्ष २०७९/०८० काे करार सम्झौता नवीकरण नहुने भएकाे छ । यस अघि करार सेवामा काम गर्नै आएका कर्मचारीहरुकाे सम्झौता नविकरण तथा म्याद थप नगर्ने निर्णय कार्यपालिका बैठकले गरेको हाे ।
शुक्रबार बसेको कार्यपालिका बैठकले गाउँपालिका अन्तर्गत करारका कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको हो । करारका कर्मचारीहरु मध्ये गाउँपालिकाको कार्यलय वडा कार्यालय तथा स्वास्थ चौकीलाई अत्यावश्यक पर्ने कर्मचारीको म्याद थपकाे सन्दर्भ समिति बनाइ प्रतिवेदन पेश गर्ने निर्णय समेत भएकाे छ । गाउँपालिकाकाे ६ नम्बर वडाध्यक्ष कृष्ण प्रसाद बजगाईको नेतृत्वमा समिती गठन गरिएको छ।
वडाध्यक्ष बजगाई नेतृत्व समितिले साउन १५ गते भित्र प्रतिवेदन कार्यपालिकालाई सिफारिस गर्ने छ । सिफारिस बमोजिम करार कर्मचारीको नवीकरण गर्ने नगर्ने अर्को कार्यपालिकाबाट निर्णय गरिने गाउँपालिका अध्यक्ष दोर्जे स्याङतान लामाले जानकारी दिए । गाउँपालिकाको हालको वित्तिय अवस्था कमजोर रहेको हुदा हाललाई करारका कर्मचारीहरुको यहि साउन १ गते आईतबारबाट म्याद थप नहुने पालिकाले जनाएको छ । करारमा कार्यरत कर्मचारीहरुकाे २०७९ साल साउन १ गतेदेखि म्याद थप नहुने सूचना समेत मकवानपुरगढी गाउँपालिकाले सूचना प्रकाशित गरेकाे छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीद्वारा जारी सूचनामा भनिएकाे छ– ‘ मकवानपुरगढी गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मक्रान्चुलीबाट विभिन्न समयमा विभिन्न सेवाका पदहरुमा पदपूर्ती भएका एवम् अन्य निकायहरुबाट नियुक्ति तथा सिफारीस भई गाउँपालिकाको गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालयहरु तथा स्वास्थ्यचौकी इकाईहरुमा सेवा करारमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको मिति २०७९ असार ३२ गते देखि सेवा करार म्याद सकिएकोले उक्त कर्मचारीहरुको सम्बन्धमा कार्यपालिकाको मिति २०७९ असार ३१ गतेको बैठकको निर्णय अनुसार मिति २०७९ साउन १ देखि लागू हुने गरी सेवा करार म्याद थप नहुने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’


