मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध, एउटा कार तथा चालक समेत गरी ३ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय परिसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै लागुऔषध बरामद र मानिस पक्राउ गरेको जनाएको हो। विहीबार छुट्टा छुट्टै स्थानमा मकवानपुर प्रहरीले कार भित्र १ सय ६० किलो लागुऔषध गाँजा र लागुऔषध डाईजेपाम ट्याब्लेट १ हजार ८ सय ३१ पिस र ७७ बोलत वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको हो।
विहीबार बिहान मकवानपुरको पालुङ तर्फबाट हेटौंडा आउदै गरेको बा २० च ६८ नम्बरको होण्डाई कारलाई प्रहरी चौकी भैसैको टोलीले रोक्न खोज्दा भागेको र त्रिभुवन राजपथ अन्तर्गत भिमफेदी-१ बागझोरामा नियन्त्रण लिइ चेकजाँच गर्दा कार भित्र पोका पारेको अवस्थामा १ सय ६० किलो लागुऔषध गाँजा बरामद गरेको जिल्ला प्रहरीका कार्यालय मकवानपुरका एसपी बामदेव गौतमले पत्रकार सम्मेलनमा बताए । प्रहरीले गाँजा सहित कार चालक चितवन भरतपुर महानगरपालिका – २४ बस्ने ४३ बर्षीय टेक बहादुर गुरुङलाई पक्राउ गरेको जनाइएको छ। प्रहरीले निजको साथबाट बिभिन्न दरको स्रोत नखुलेको १ लाख ३८ अठतीस हजार रुपैया समेत बरामद गरेको जनाएको छ।
त्यसैगरी मकवानपुर प्रहरीले हेटौंडा-५ सिचाईटोलबाट लागुऔषध नाईट्राभेट,वनरेक्स सहित ३ युवालाई पक्राउ गरेको छ। प्रहरीले हेटौंडा सिचाई टोल बस्ने ३१ बर्षीय धर्मेन्द्र खेम्काले आफ्नै घरमा लागू औषध लुकाई छिपाई राखी बिक्री बितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्रोभेट – ३ सय १६ ट्याब्लेट र वनरेक्स १०० एमएल को १४ बोत्तल फेला परेको हो।
एसपी गौतमका अनुसार खेम्कालाई नियन्त्रणमा लिई तत्काल सोधपुछ गर्दा सोही स्थान बस्ने २६ बर्षीय रविन श्रेष्ठ र मकवानपुर भिमफेदी गाउँपालिका – ५ घर भई हाल हेटौडा ५ सिचाईटोल डेरा गरी बस्ने ३० बर्षीय प्रमोद कार्कीको संलग्ना रहेको जानकारीपछि खोजी गर्दा रविन श्रेष्ठ र प्रमोद कार्कीको कोठा खानतलासी गर्दा प्रमोद कार्कीको कोठामा लुकाई राखेको अवस्थामा लागू औषध नाईट्राभेट- १ हजार ५ सय ४५ ट्याब्लेट र वनरेक्स १०० एमएल ६३ बोत्तल फेला पारिएको बताए।
पक्राउ परेका गुरुङ खेम्का श्रेष्ठ र कार्की माथि आवश्यक अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए । मकवानपुर प्रहरीले पक्राउ परेका सबैलाई विहीबार अपरान्ह पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो।
मकवानपुर । हेटौंडामा भएको प्रथम नागस्वती राष्ट्रिय भेट्रान्स एट ए साइड फुटबल प्रतियोगिताको उपाधी आयोजक नागस्वती भेट्रान्सले जितेको छ ।
हेटौंडा ७ नागस्वतीमा बुधबार भएको फाईनल खेलमा ठमेल चियापप भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नागस्वती भेट्रान्सले उपाधी हात पारेको हो ।
फाइनल खेलको पहिलो हाफको ११ औ मिनेटमा ठमेल चियापप भेट्रान्सका नर कुमार राईले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २० औं मिनेटमा नागस्वती भेट्रान्सका राजकुमार घिसिङले गोल गर्दै खेललाई बराबरीमा सिमित पारे । ४२ औं मिनेटमा नागस्वतीका राजकुमार केसीले गरेको गोल निर्णायक गोल बन्न पुग्यो ।
विजेता टिम नागस्वतीले २ लाख १ हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता ठमेल चियापपले १ लाख १ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यस्तै, खेलमा उत्कृष्ट गोल रक्षक नागस्वतीका दीलिप क्षेत्री भएका छन् भने उत्कृष्ट डिफेन्डसर नागस्वतीका भीम श्रेष्ठ घोषित भएका छन् । त्यस्तै, उत्कृष्ट मिल्ड फिल्डरमा ठमेल चियापपका लक्ष्मी यक्क भए भने उत्कृष्ट स्टाइकर नागस्वतीमा विक्रम श्रेष्ठ घोषित भएका हुन् । उत्कृष्ट घोषित हुनेले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
खेल अवधिमा उत्कृष्ट खेल प्रदर्शन गरेका नागस्वतीका राजकुमार घिसिङले नगद ५० हजार सहित म्यान अफ द सिरिज प्राप्त गरेका छन् । गत १८ भाद्रबाट सुरु भएको प्रतियोगितामा देशभरका ४० वर्ष माथी उमेर समूहका १८ वटा टोलीको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौंडामा कोसेली घर सञ्चालनमा आएको छ । हेटौंडा उपमहानगरपालिकाको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
जाल्पादेवी महिला उद्यामी केन्द्रले व्यवस्थापन गर्ने गरी उपमहानगर क्षेत्रका उद्यमी महिलाहरुले उत्पादन गरेको सामग्री बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको हो । महिलाहरुले घरमै बसेर उत्पादन गरेको विभिन्न सामग्री बिक्री गर्न गरि सञ्चालनमा ल्याइएको कोसेली घरको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बुधबार उद्घाटन गरिन् ।
कोसेली घर उद्घाटन गर्दै प्रमुख लामाले महिलाहरुले घरायसी काम पछिको श्रमबाट उत्पादन भएको सामग्रीको बिक्रिबाट आर्थिक उपार्जन गर्दै महिलाको श्रम मर्न नदिन उपमहानगरले कोसेली घर सञ्चालनमा सहयोग गरेको बताइन् ।
उपमहानगरपालिकाले महिलाहरुको आर्यआर्जनका लागि दिएको विभिन्न तालिमबाट दीक्षित भएका प्रशिक्षार्थीहरुले उत्पादन गरेको सामग्री बिक्री तथा बजारीकरणका लागि कोसेली घर सञ्चालनमा ल्याइएको हो ।
उपमहानगरपालिकाको विभिन्न वडाहरुमा सञ्चालन लक्षितवर्गका सिपमूलक तालिम लिई उत्पादनमा लागे पनि बजारीकरणका कारण समस्या बेहोर्दै आएका महिलाहरुको उत्पादनलाई बजारसम्म लैजान कोसेली घरले पुलको काम गर्ने व्यवस्थापक जाल्पादेवी महिला उद्यमी केन्द्रका अध्यक्ष गिता मैनालीले बताइन् ।
कोसेली घरमा विभिन्न प्रकारका सामान उत्पादन गर्ने २० जना उद्यमीहरु संलग्न रहेको मैनालीले जानकारी दिइन् । कोसेली घरमा ढाकाका उत्पादनहरु सारी, कुर्था सुरुवाल, व्याग, जुत्ता, विवाहमा प्रयोग हुने साइपाटाका सामान, पूजा लागि प्रयोग हुने दुनाटपरी, धुपबत्ती, उनबाट बनेका कपडा, विभिन्न प्रकारका अचार, खादासहितका सामग्री राखिएको छ ।
जिल्लाभित्र रहेका महिला उद्यामीहरुलाई कोसेली घरमा जोड्दै लैजाने तयारी रहेको मैनालीले जानकारी दिइन् । उपमहानगरले हरेक वर्ष ३ सय ८० जना महिलालाई दिगो आर्यआर्जनको तालिम दिने गरेको कार्यलयले जनाएको छ ।
मकवानपुर । राप्रपा नेपाल मकवानपुरले प्रतिनिधि सभा निर्वाचनको लागि मकवानपुर क्षेत्र नम्वर–२ बाट राजाराम बर्तौलाको नाम सिफारिस गरेको छ । पार्टी महामन्त्री बर्तौलालाई क्षेत्र २ को प्रत्यक्षतर्फ उम्मेदवारको लागि एकल सफारिस गरेको हो ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि मकवानपुर–२ को प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवारको लागि महामन्त्री बर्तौलाको नाम सिफारिस गरेको राप्रपा नेपाल मकवानपुरले जनाएको छ । राप्रपा नेपाल मकवानपुर जिल्ला कार्य समिति बैठकले मकवानपुर –२ मा बर्तौलाको एकल सिफारिस भएको जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले बताए ।
साथै बैठकले प्रदेशको प्रत्यक्ष उम्मेदवारको रुपमा विभिन्न व्यक्तिहरुलाई सिफारिस गरेको छ । बैठकले प्रदेशसभा तर्फ मकवानपुर –१ (क) बाट प्रत्यक्ष तर्फ नेता राजाराम अर्याल, बद्री कुँवर र कमल बिडारीलाई सिफारिस गरेको छ । यस्तै प्रदेशसभा मकवानपुर–१ (ख) बाट प्रत्यक्षतर्फ नेता दामोदर वाग्ने, प्रेमलाल श्रेष्ठ र अर्जुन ढुंगानालाई सिफारिस गरेको छ ।
यसैगरी प्रदेश सभा मकवानपुर–२ (क)बाट प्रत्यक्षतर्फ राधाकृष्ण विष्ट, सुजेन्द्र ठकुरी र चन्द्रमान लामा सिफारिस भएका छन् भने मकवानपुर –२ (ख ) बाट प्रत्यक्ष तर्फ बैकुण्ठ सुवेदी, रामु रिजाल र सरोज गुरागाँई लाई सिफारिस गरेको छ ।
सबै क्षेत्रका समानुपातिक तर्फ बिहीबार बस्ने बैठकले टुंगो लगाउने अध्यक्ष सापकोटाले जानकारी दिए । यसअघि नै मकवानपुर –१ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा पार्टी केन्द्रीय अध्यक्ष कमल थापालाई जिल्ला समितिले एकल सिफारिस गरिसकेको छ ।
मकवानपुर । मकवानपुर जिल्लाकाे राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर १ जनाकाे मृत्यु भएकाे छ । राक्सिराङ २ बरेटारमा १ महिलाको चट्याङ लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मंगलबार साँझ घर नजिकै बारीमा गएकी राक्सिराङ २ बरेटार की ६२ बर्षीय कालिमाया स्याङतानकाे चट्याङकाे कारण ज्यान गएकाे हाे । स्याङ्तान सँगै अर्का एक ब्यक्तिलाई समेत चट्याङ लागेको प्रहरीले बताएकाे छ । उक्त ठाउँ विकट तथा मनहरीबाट जान टाढा भएकाेले प्रहरीलाई घटनास्थल पुग्न समस्या भएको बताइएकाे छ ।
घटनाको मुचुल्काको लागि बुधबार बिहान इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थल तर्फ गएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी टेक बहादुर कार्कीले बताए। मंगलबार साँझनै मृत्यु भएकाे स्याङ्तानकाे शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याउन पनि समस्या भएको प्रहरीले जानकारी दिएकाे छ ।