मकवानपुर । हेटौडामा विहीबारबाट उपमेयर कप भलिबल प्रतियोगिता हुने भएकाे छ । चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ असोज ६ गते विहीबारबाट हेटौंडामा सुरु हुने भएको हाे । आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको हाे ।
असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ९ वटा र पुरुषतर्फ १२ टिमले सहभागी हुने आयोजक केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए । सिटौलाका अनुसार प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने टिमले पाँच/पाँच हजार रुपैयाF नगद प्राप्त गर्ने छन् ।
हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा वर्षेनी प्रतियोगिता सञ्चालन हुँदै आएको छ । प्रतियाेगिता सञ्चालनकाे लागि उपमहानगरपालिकाले २ लाख ५० हजार रुपैयाँ बजेट उपलब्ध गराएको महासचिव सिटौलाले जानकारी दिए केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुने छ ।
यस्तै प्रतिष्ठानले असोज १० गतेबाट दोस्रो संस्करणको जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएकाे छ । प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने महासचिव सिटौलाले जानकारी दिंए ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछ । जिल्लास्तरीय महिला भलिबल प्रतियोगिताको संयोजक ईन्द्रप्रसाद सञ्जेल रहेका छन् भने उपमेयर कप भलिबल प्रतियोगिताको संयोजकमा राजु घले रहेकाे प्रतिष्ठान अध्यक्ष प्रताप विष्टले जानकारी दिए ।
मकवानपुर । झरना साहित्यिक परिवार मकवानपुरको अध्यक्षमा विश्वनाथ सञ्जेल निर्वाचित भएका छन् । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरनाको चौथो अधिवेशनबाट सञ्जेलको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
यस्तै, झरनाको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने र गायत्री रुपाखेती, सचिवमा मसान उपासक, कोषाध्यक्षमा कृष्ण घतानी, सहसचिवमा सन्तराम राई चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः विश्व राई, शुभलक्ष्मी प्रभा, देवराज लामिछाने, निलहरि ढुंगेल, अमृता लामिछाने, प्रेमबहादुर भोम्जन, विजय दोङ चयन भएका छन् ।
कार्यक्रम झरना साहित्यिक परिवारका निवर्तमान अध्यक्ष दीपक गौतमको अध्यक्षता तथा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यमा भएको हो ।
अधिवेशनको अवसरमा झरनाले पालिकाका पूर्वअध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनी, समृद्ध समाज दैनिक पत्रिका, संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, सल्लाह उद्धव सापकोटा, सल्लाहकार नूरप्रसाद गौतम, जर्नादन खनाललाई सम्मान गरिएको थियो ।
अधिबेशनमा दीपक गौतमले पेश गरेको अध्यक्षको प्रतिवेदन, मसान उपासकले पेश गरेको सचिवको प्रतिवेदन र कृष्ण घतानीले पेश गरेको कोषाध्यक्षको प्रतिवेदन साधारण सभाले पास गरेको थियो ।
बकैयामा बाङ्गमय प्रतिष्ठान गठन
मकवानपुरको बकैया गाउँपालिकामा बाङ्गमय प्रतिष्ठान गठन गरिएकाे छ । सोमबार बकैयाको महेन्द्र माविमा भएको झरना साहित्यिक परिवारको चौथो अधिवेशनमा दिपक गौतमको संयोजकत्वमा ९ सदस्यीय प्रतिष्ठान गठन भएको हो ।
मकवानपुरका १० वटा पालिकामध्ये स्थानीय बाङ्गमय प्रतिष्ठान गठन गर्ने बकैया पहिलो पालिका हाे । बकैया गाउँपालिकाको २०७८ चैत्र १० गते बसेको कार्यपालिका बैठकबाट स्वीकृत कार्यविधिअनुसार प्रतिष्ठान गठन गरिएकाे अध्यक्ष गौतमले जानकारी दिए । गौतम संयाेजक रहेकाे प्रतिष्ठानकाे सदस्यहरुमा विश्वनाथ सञ्जेल, चिरञ्जीवी लामिछाने, गायत्री रुपाखेती, कृष्ण घतानी, सन्तराम राई, कुमार स्याङ्वो, शुभलक्ष्मी प्रभा चयन भएका छन् ।
प्रतिष्ठानले सदस्य सचिवमा मसान उपासकलाई चयन गरेको छ । कानुनी प्रक्रिया पूरा गरी प्रतिष्ठानलाई ६ महिनाभित्र पूर्णता दिइने संयोजक गौतमले प्रतिबद्धता जनाए । कार्यक्रममा बकैया गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले पालिकाले कला, भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा सकेकाे सहयोग रहने प्रतिबद्धता ब्यक्त गरे ।
कार्यक्रममा निमेष निखिल, आरसी रिजाल, राजकुमार लामिछाने, श्रीराम अधिकारी, सम्प्रस पौडेल, कुवेर पराजुली, बकैया गाँउपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, बकैया गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरको बकैयामा खाेलामा डुबेर एक जानकाे मृत्यु भएकाे छ । बकैयाकाे ल्वाजाेर खाेलामा डुबेर एक युवकको ज्यान गएको हाे।
सोमबार दिउँसो बकैया-४ बाममारामा रहेको ल्वाजोर खोलामा नुहाउन गएका तामाखोला बस्ने बिष्णु बहादुर खत्रीको भान्जा भरतपुर -१६ फुर्तिचोक बस्ने कृष्ण बहादुर थापाको छोरा १६ बर्षीय सचिन थापाकाे खोलाको डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते सचिनकाे प्रहरी चौकी हात्तिसुँडेकाे प्रहरी टोलीले उपचारको लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगिएकाे थियो । छतिवनमा उपचार पश्चात् थप उपचारको लागि चुरेहिल अस्पताल ल्याएकोमा डाक्टरले दिउँसाे ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।
मकवानपुर । आज असोज ३ गते संविधान दिवस । संविधानसभाबाट संविधान पारित भइ नेपालको संविधान जारी भएकाे दिन । संविधान दिवस २०७९ काे अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छन् ‘संविधानसभाबाट संविधान पारित भएकोमा हामी गौरवबोध गर्दछौं ।’
साेमबार शुभकामना सन्देश जारी गर्दै शर्माले भनेका छन् ‘नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेका छौं।’ ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा संविधान दिवस’ मनाउने गर्दछौं । यस सुखद् अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माले सन्देशमा भनेका छन् ।
‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरस : पालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो । साथै, संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता हो’ शुभकामना सन्देशमा भनिएकाे छ ।
संविधान दिवसकाे शुभकामनामा उनले भनेका छन् ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान पारित भएकोमा यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।’ प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गर्दै दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन् ।

