मकवानपुर । आज असोज ३ गते संविधान दिवस । संविधानसभाबाट संविधान पारित भइ नेपालको संविधान जारी भएकाे दिन । संविधान दिवस २०७९ काे अवसरमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले शुभकामना व्यक्त गरेका छन् । शुभकामना सन्देशमा प्रदेश प्रमुख शर्माले भनेका छन् ‘संविधानसभाबाट संविधान पारित भएकोमा हामी गौरवबोध गर्दछौं ।’
साेमबार शुभकामना सन्देश जारी गर्दै शर्माले भनेका छन् ‘नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेका छौं।’ ‘नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता,स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा संविधान दिवस’ मनाउने गर्दछौं । यस सुखद् अवसरमा समस्त नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख शर्माले सन्देशमा भनेका छन् ।
‘आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरस : पालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व हो । साथै, संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता हो’ शुभकामना सन्देशमा भनिएकाे छ ।
संविधान दिवसकाे शुभकामनामा उनले भनेका छन् ‘दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न संविधानसभाबाट संविधान पारित भएकोमा यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछु।’ प्रदेश प्रमुख शर्माले शुभकामना व्यक्त गर्दै दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भनेका छन् ।


