मकवानपुर । न्यूनतम सेवा मापदण्डको आधारमा मकवानपुर जिल्लाको ४ वटा स्वास्थ्य संस्था उत्कृष्ट भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले गरेकाे स्थलगत अवलोकन र मूल्यांकनको आधारमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट भएका हुन् ।
जिल्लाको थाहा नगरपालिकाको बज्रबारही स्वास्थ्य चौकी पहिलाे भएकाे छ । स्थलगत अवलोकन र मूल्यांकनमा बज्रबारही स्वास्थ्य चौकीले ९७ प्रतिशत अंक प्राप्त गर्दै पहिलाे नम्बरमा परेकाे हाे । यसैगरी, थाहाकै टिस्टुङ स्वास्थ्य चौकी र आग्रा स्वास्थ्य चौकी दोस्रो भएकाे छ । दुबै स्वास्थ्य चौकीले समान ९६ प्रतिशत अंक नै प्राप्त गर्दै दाेस्राे नम्बरमा परेकाे हाे । यस्तै हेटौंडा उपमहानगरपालिका ६ स्थित हेटौडा स्वास्थ्य चौकीले ९३ प्रतिशत अंक प्राप्त गर्दै तेस्रो नम्बरमा रहेकाे छ ।
जिल्लाको १० वटै स्थानीय तहको स्थास्थ्य चौकीहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकन गर्ने क्रममा १२ स्वास्थ्य चौकी छनोट भएका थिए । जसमा ४ वटा स्वास्थ्य चौकी उत्कृष्ट बन्न सफल भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
उत्कृष्ट ४ वटै स्थास्थ्य चौकीहरुलाई शुक्रबार हेटौंडामा न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा प्रशंसा पत्रसहित सम्मान गरिएकाे हाे । कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख एवं वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपकप्रसाद तिवारीले स्वास्थ्य चौकी स्वास्थ्यकर्मी, जनप्रतिनिधि र स्थानीय तहको राम्राे कार्य सम्पादनले उत्कृष्ट हुन सफल हुन सकेको बताए ।
न्यूनतम सेवा मापदण्ड सम्बन्धी जिल्ला स्तरीय समीक्षा कार्यक्रममा जनप्रतिनिधिहरु, जिल्लाको १० वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख, उत्कृष्ट हुने स्वास्थ्य चौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।
मकवानपुर । हेटौडामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० शु्क्रबार (आज) बाट हुदैछ । हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोग र नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय हेटौंडा उपमहानगरपालिका समितिको आयोजनामा प्रथम हेटौंडा स्काउट क्याम्प-२०८० हुने भएको हाे ।
स्थानीय तहकामा स्काउटको माध्यमबाट यूवा तथा बालबालिकाहरुको सर्वाङ्गिण विकास गरी देश विकासमा अग्रसर असल नागरिक बनाउने उद्देश्यले आजदेखि २८ गतेसम्म स्काउट क्याम्प हुने संयोजक दीपेन्द्र रोक्काले बताए ।
हेटौंडा–१८ स्थित गोरक्षनाथ माविमा हुने क्याम्पमा क्याम्पमा नगरभित्रका २५ भन्दा बढी सामुदायिक तथा संस्थागत विद्यालयहरुका चार सयभन्दा बढी स्काउटमा आबद्ध प्रशिक्षार्थिहरू सहभागि रहने संयोजक रोक्काले बताए । क्याम्पका लागि जिल्लाका अन्य गाउँपालिकामा रहेका विद्यालयका स्काउटको समेत सहभागिता रहनेछ ।
कार्यक्रममा स्काउटरहरुले ओमेगा जम्प, सुपरम्यान जम्प,टायर क्रसिङ,मंकी ब्रिज क्रसिङ,कमान्डो ब्रीज क्रसिङलगायत स्काउटिङ गतिविधिमा सहभागिता जनाउने छन् ।
क्याम्पमा निबन्ध प्रतियोगिता, नृत्य प्रतियोगिता, क्याम्प सजावट प्रतियोगिता रहनेछ । क्याम्पमा विद्यार्थीहरुलाई विपद् व्यवस्थापन तालिम, प्राथमिक उपचार तालिम, वातावरण संरक्षण सम्बन्धी तालिम समेत दिने व्यवस्था मिलाइएको राेक्काले जानकारी दिए ।
क्याम्प सञ्चालनका लागि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । जसमध्ये हेटौंडा उपमहानगरपालिकाले ८ लाख सहयाेग गर्ने तथा बाँकी रकम अन्य सहयोगी दाताहरुको सहयोग र हेटौंडा उपमहानगर समितिले सहयाेग गर्ने बताइएकाे छ ।
मकवानपुर । मकवानपुरको हेटौंडा अस्पतालमा गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क गर्न संघीय सरकारका स्वस्थ्य मन्त्रीले निर्देशन दिएका छन् । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अनुगमन गरेपछि यस्तो निर्देशन दिएका हुन् ।
मन्त्री बस्नेतसँगै प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी पनि सहभागी भए । गरिब परिवारका लागि १० प्रतिशत शैया निःशुल्क रुपमा प्रयोग गर्ने वातावरण तयार गर्न पनि मन्त्री बस्नेतले निर्देशन दिएका हुन् । संघ र प्रदेशका दुबैजना मन्त्रीहरुले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालको अनुगमन गरेपछि सकारात्मक निर्देशन प्राप्त भएको बताइएको छ ।
अस्पतालको आकस्मिक कक्ष, ओपीडी कक्ष, भर्ना भएका बिरामीहरुको अवस्था, अस्पतालको फार्मेशीलगायतका स्थानको दुबै मन्त्रीले अनुगमन गरेका थिए । हेटौंडा अस्पतालमा परेको समस्या र आम सर्बसाधरणहरुलाई उपचारमा परेको समस्याका बिषयमा दुबै जना मन्त्रीहरुले जानकारी लिए । अस्पतालमा उपचार गरिरहेका सर्बसाधरणका समस्या, गुनासाहरु सुन्नुका साथै अस्पताल प्रशासनले राखेको समस्याहरु समेत समाधान गर्न पहल गर्ने संघीय स्वास्थ्यमन्त्री बस्नेतले बताए ।

देशैभरी स्वास्थ्यकर्मीहरुको समस्या बढेको भन्दे हेटौंडा अस्पतालमा पनि त्यो समस्या रहेकाले यहाँ थप स्वास्थ्यकर्मी पठाउनका लागि पहल गर्ने बस्नेतले पत्रकारहरुसँगको प्रतिक्रियामा बताए । अहिलै पनि स्वास्थ्यकर्मीहरु सरकारी अस्पतालमा काम थोरै गर्ने र निजी क्लिनिकहरुमा धेरै समय बस्ने गरेको बताउँदै मन्त्री बस्नेतले भने ‘पहुँचका आधारमा कर्मचारीहरु खटाएको ठाउँमा नजाने, कोही अस्पतालमा थुप्रिएर बस्ने अस्पतालमा स्वास्थ्यकर्मी नहुने समस्या धेरै छ । अब यस्तो हुन दिदैनौं ।’
हेटौंडा अस्पतालका प्रमुख डाक्टर रामचन्द्र सापकोटाले हेटौंडा अस्पताल अहिले पनि सरकारी स्तरबाट ५० वटा शैयामा मात्र सञ्चालनमा रहेको र प्रतिष्ठान अनी व्यवस्थापन समिति मार्फत अरु १५० थप गरेर सञ्चालन गरिएको बताए ।
