मकवानपुर । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले लाेकतन्त्रमा मात्रै पत्रकारिता फस्टाउन सक्ने बताएका छन् । प्रेस युनियन मकवानपुरको आयोजनामा हेटौंडामा भएकाे सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधानका विषयक कार्यशाला गोष्ठीमा उनले यस्ताे बताएका हुन् ।
प्रदेश सरकारका प्रवक्ता समेत रहेका श्रेष्ठले ‘निरंकुश शासन व्यवस्थामा नेपाली पत्रकारिता फस्टाउन नसक्ने बताए । ‘राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता शसक्त र जिम्मेवार भएमात्रै मुलुकमा सुशासन स्थापना गर्न सहज हुन्छ’ उनले भने । मुलुकमा सुशासन स्थापना गर्नका लागि सबैपक्षबीच समन्वय जरुरी रहेकाे उनले बताए । उनले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्रै हुनसक्ने भन्दै लोकतन्त्र र गणतन्त्रको विरुद्ध आवाज उठाउने प्रयास भइरहेकोले लोकतन्त्रको विकल्प लोकतन्त्र बाहेक केही हुन नसक्ने जिकिर गरे ।
मन्त्री श्रेष्ठले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि बागमती प्रदेश सरकारले सञ्चार रजिष्ट्रार कार्यालयको स्थापना गरी काम गरिरहेको स्पष्ट पारे । उनले महिना महिनामा पत्रकारसँग भेटघाटगरी सल्लाह सुझाव लिने, सरकारका गतिविधिबारे जानकारी दिने, सञ्चार क्षेत्रको हित प्रर्वद्धनका लागि विभिन्न कार्यक्रमहरु गरिएको बताए ।
कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले पत्रकारिता क्षेत्र गुमेको विश्वास आर्जन गर्दै थप परिस्कृत एवम् परिमार्जित हुँदै अघि बढनुपर्ने बताए । नयाँनयाँ प्रविधि र सामाजिक सञ्जालका कारण पनि मूलधारको पत्रकारितामाथि प्रश्न उठिरहेको भन्दै पत्रकारिताप्रतिको विश्वासलाई जीवन्त राख्न पत्रकार, सञ्चार गृह स्वयं पनि सच्चिन तयार हुनुपर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेलले पत्रकारिताको अवस्था, चुनौती र सम्भावनाका विषयमा सुक्ष्म बहस र विश्लेषणसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । पत्रकारिताको अवस्था पत्रकारिताको विकास र दायरा बढेसँगै समस्या र चुनौती पनि बढेको भन्दै उनले ती समस्याको समाधान गर्न नेपाल पत्रकार महासंघले प्रयास गरिरहेको बताए ।
कार्यक्रममा आन्तरिक मामिला तथा कानूनमन्त्रालयका सचिव धु्रव गैँडाले पत्रकारिता क्षेत्रको प्रर्वद्धनका लागि वा स्वतन्त्र पत्रकारिता स्थापनाका आवश्यक ऐन कानूनसमेत संशोधन गरेर अधि बढ्न आफुहरु तयार रहेको बताए ।
कार्यक्रममा अधिवक्ता संजीव घिमिरेले नेपाली सञ्चारकर्मीहरुको अधिकार, चुनौती र समाधान विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले आफ्नो कार्यालयले गरेका गतिविधि र पत्रकारिका क्षेत्रको सुधारका लागि सुझाव प्रस्तुत गरेका थिए ।
प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दीलिप पौडेल, पूर्व बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष शिव देवकाेटा, पूर्व अध्यक्ष प्रताप विष्ट, मकवानपुरका संस्थापक अध्यक्ष राममणी दाहाललगायतकाे सहभागिता रहेकाे थियाे ।
मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा ८ मा जारी ८ ए साइड फुटबल प्रतियाेगितामा हुप्रा सिटी र कर्णावती क्लब फाइनल प्रवेश गरेका छन् ।
हेटौडा ८ कमाने स्थित चन्द्रोदय स्कुलको खेलमैदानमा जारी (U-60Kg) ८ ए साइट नक आउट फुटबल प्रतियोगिताको विहीबारकाे सेमिफाइनलबाट हुप्रा सिटी र कर्णावती फाइनल प्रवेश गरेका हुन् । विहीबारकाे पहिलाे सेमिफाइनल खेलमा हुप्रा सिटीले फायरलाइन एफसीलाई लाई १-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएकाे हाे ।
यस्तै विहीबारकाे दोश्रो सेमिफाइनलबाट कर्णावती युवा क्लबले रामनगर युवा क्लबलाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेकाे हाे । प्रतियाेगिताकाे फाइनल खेल माघ ६ गते शनिबार हुने आयोजकले जनाएकाे छ।
कर्णावती युवा क्लबको आयोजना भएको (U-60Kg) ८ ए साइड नक आउट फुटबल प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिता उपाधि विजेता टिमले नगद ३० हजार रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने उपविजेता हुने टिमले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
मकवानपुर । नवौं याेग दिवसकाे अवसरमा हेटौंडामा रक्तदान गरिएको छ ।
पतन्जली योग समिति मकवानपुरको आयोजनामा मंगलबार भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । रक्तदानमा ब्लड बैंक हेटौंडाले सहजीकरण गरेको थियो ।
यसैगरी ‘गरौ योग, रहौ निरोग’ भन्ने मुल नाराका साथ नवौ माघ १ गते राष्ट्रिय योग दिवस मनाइएको छ ।
हेटौंडा उपमहानगरपालिका र पतंजलि योग समिति मकवानपुरको आयोजनामा योग दिवसको अवसरमा योग ध्यान प्राणायाम गरिएको थियो । यस्तै सोही अवसरमा तरुल, घ्यू र चाकुका साथ माघे सक्रान्ति समेत मनाइएको थियो ।
मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आज मंगबारदेखि लागू भएकाे छ ।
आज माघ २ देखि १२ गतेसम्म राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएकाे छ । सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा विज्ञप्तीमा भनिएकाे छ ।
आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको पुष २९ गते आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आचार संहिताकाे अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न/गराउन नहुने आयोगले जनाएको छ।
यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन। राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले जनाएको छ।
त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन हुँदैन । आचार संहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने समेत निर्वाचन आयोगले जनाएकाे छ ।


कहिले तस्बिरमा बसेर कहिले पर्दामा बसेर,
एउटा मान्छे खुब मुस्काउँछ अचेल भित्तामा बसेर।
मुटु सम्म पुग्न सक्छु भन्ने आँट कसरी गर्न सक्यो ?
केही समय प्रतीक्षा गर्नु पर्थ्यो अझै आँखामा बसेर।
म चुँडिएर पनि मन्दिर टेखेको छु,चिता देखेको छु,
हे पात१ खोइ तैले के पाइस् त्यो बगैंचामा बसेर।
तँ कलम होस्,छटपटिनै पर्छ,चिच्याउनै पर्छ अझै,
अक्षर हरु पो चुपचाप भैदिन्छन् पानामा बसेर।
सिमाना मिचिए,पिल्लर ढले,सम्पदा बेचिए सबै,
हे देश ! किन चुपचाप सहन्छस् नक्सामा बसेर।
भरतपुर ५, चितवन