मकवानपुर । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आज मंगबारदेखि लागू भएकाे छ ।
आज माघ २ देखि १२ गतेसम्म राष्ट्रियसभा निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएकाे छ । सरोकारवाला सबै व्यक्ति, निकाय र अधिकारीलाई लागू हुने गरी आचारसंहिता जारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा विज्ञप्तीमा भनिएकाे छ ।
आयोगको निर्णयानुसार निर्वाचन आचारसंहिताको दफा ४, दफा ५ को खण्ड (क), खण्ड (क१) र खण्ड (छ) दफा ९, दफा १४, दफा १६, दफा १७, दफा १८, दफा २१ र दफा २२ को व्यवस्था लागू गरिएको पुष २९ गते आइतबार पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। आचार संहिताकाे अवधिमा सार्वजनिक स्रोतसाधन र सम्पत्ति कुनै दल वा उमेदवारको पक्ष/विपक्षमा हुने गरी प्रयोग गर्न/गराउन पाइने छैन । निर्वाचनसँग सम्बन्धित सामग्री वा सूचनालाई बिगार्न, कुनै किसिमले थपघट गर्न/गराउन नहुने आयोगले जनाएको छ।
यस्तै, कुनै सरकारी वा अर्धसरकारी निकाय/सार्वजनिक संस्था वा विश्वविद्यालय/विद्यालय/महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचारप्रसार गर्न/गराउन पाइने छैन। राजनीतिक दल वा उमेदवारको निर्वाचन चिह्नअंकित कुनै सामग्री उत्पादन, प्रयोग, बिक्री–वितरण, प्रदर्शनलगायत कार्य गर्न/गराउन नहुने आयोगले जनाएको छ।
त्यसैगरी ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय र अपाङ्गता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुने गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन तथा बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन हुँदैन । आचार संहिता अनुसार प्रचलित कानून बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने, सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) गर्ने जस्ता भ्रामक टिका टिप्पणी गर्न वा गराउन नहुने व्यवस्था छ ।
निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्न नहुने, कुनै पनि किसिमबाट मतदाताको गोप्यता भङ्ग गर्ने कार्य गर्न नहुने, मतदाता र मतदानमा खटिएका कुनैपनि कर्मचारीसँग वादविवाद गर्न वा उनिहरुलाई हतोत्साहित गर्ने कुनै पनि कार्य गर्न नहुने, कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने समेत निर्वाचन आयोगले जनाएकाे छ ।



