मकवानपुर । बुधबारकाे बागमती प्रदेशसभाबाट एउटा विधेयक पारित भएकाे छ । बुधबारकाे प्रदेशसभा बैठकबाट विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत पारित भएकाे हाे ।
उक्त विधेयक सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले सभामा पेस गरेकी थिइन् । उनले पेश गरेकाे विधेयक पारित गरियोस् भन्ने प्रस्तावलाई सभामुख भुवन कुमार पाठकले निर्माणार्थ पेस गरेका थिए । उक्त विधेयकलाई बैठकमा उपस्थित सांसदहरूले सर्वसम्मतले स्वीकृत गरेका थिए ।
सभाबाट पारित विधेयक प्रमाणीकरणकाे लागि प्रदेश प्रमुख समक्ष पठाइने छ । प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि विधेयक ऐन बन्नेछ ।
त्यसअघि प्रदेशसभा बैठकले उक्त विधेयक माथि छलफल गरी शिक्षा स्वास्थ्य तथा कृषि समितिले तयार पारेको निर्णयसहितको प्रतिवेदन पेस भएको थियो भने सो उपर छलफल भएको थियो ।सभामुख पाठकले ३ मिनेटको समय निर्धारण गरी छलफलमा सहभागी हुन रुलिङ गरे पनि प्रदेशसभाका कुनै सांसदले छलफलमा भाग लिएनन् ।
यसैगरी बागमती प्रदेशसभाका विभिन्न विषयगत समितिका सदस्य हेरफेर गरिएको छ । प्रदेशका समितिमा रहेका केही सांसद मन्त्री भएको र केही मन्त्रीबाट बाहिरिएकाले समितिकाे सदस्य हेरफेर सभामुख पाठकले सभामा जानकारी गराएका थिए ।
सभामुख पाठकले प्रदेशसभा बैठकमा कार्यव्यवस्था परामर्श समिति सदस्यमा हरिप्रभा खड्गीको स्थानमा समिता खड्गीलाई मनोनयन गरेको जानकारी दिए । प्रदेश मामिला समितिमा शालिकराम जम्कट्टेल, गंगानारायण श्रेष्ठ र जगन्नाथ थपलियालाई मनोनयन गरिएकाे छ ।
यस्तै सार्वजनिक लेखा समितिमा युवराज दुलाल, केशवप्रसाद पोखरेल र रामेश्वर श्रेष्ठ तथा शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा कुमारी मोक्तान र एकालाल श्रेष्ठलाई मनोनयन गरिएको पाठकले बताए । समिति सदस्य मनोनयनलाई प्रदेशसभा बैठकले सर्वसम्मत अनुमोदन गरेको छ ।
प्रदेश सभाकाे बैठक अर्काे सूचना नभएसम्मकाे लागि स्थगित भएकाे छ । सभामुख पाठकले अर्को सूचना नभए सम्मकाे लागि बैठक स्थगित भएकाे जानकारी गराएका थिए ।
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिले बागमती प्रदेश सरकारमा नियुक्त भएका मुख्यमन्त्रीसहित मन्त्रीहरुलाई शुभकामना तथा बधाई ज्ञापन गरेको छ । बुधबार हेटौंडामा नेपाली काँग्रेसबाट बागमती प्रदेशकाे मुख्यमन्त्रीमा नियुक्त बहादुरसिंह लामा र ७ जना मन्त्रीहरुलाई बधाईका साथै शुभकामना ज्ञापन गरेकाे हाे ।
पार्टी प्रदेश सभापति एवम् प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुलाई बधाई ज्ञापन गर्दै पार्टीसँगको समन्वय र सहकार्यमा आम नागरिकको हितमा काम गर्न आग्रह गरे । नवनियुक्त मन्त्रीहरुले कसरी प्रदेशको हितमा जनपक्षीय काम गर्नुपर्छ भन्ने पार्टीले सुझावसमेत दिएको कांग्रेस बागमती प्रदेश प्रवक्ता तिलक रुवालीले बताए ।
मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीसँगको समन्वय र सहकार्यबाट प्रदेशबासीको हितमा काम गर्ने प्रतिवद्धता जनाए । बागमती प्रदेशमा नेपाली कांग्रेसबाट मुख्यमन्त्री लामासहित आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने, सामाजिक विकास मन्त्री हरिप्रभा खड्की, खानेपानी, उर्जा तथा सिञ्चाई मन्त्री श्यामबहादुर खड्का, संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरी, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण श्रेष्ठ र विनाविभागीय मन्त्री मदुकुमार श्रेष्ठ नियक्त भएका छन् ।
बधाई तथा शुभकामना कार्यक्रममा प्रदेश महामन्त्री कन्चनचन्द्र बादे, सहमहामन्त्री जीवन डंगोल, मकवानपुर जिल्ला सभापति बुद्ध लामालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशको भौतिक पूर्वाधर विकास मन्त्रालयले बाढी पहिरोको अवरोध तत्काल हटाउन द्रुत प्रतिकार्य टोली(क्युआरटी) गठन गरेको छ । बुधबार मन्त्रालयमा प्रदेशभित्र रहेका सडकसञ्जालमा हुने बाढी पहिरोको अवरोध तत्काल हटाउन प्रतिकार्य टोली गठन गरिएकाे हाे ।
भौतिक पूर्वाधार मन्त्री अमन कुमार मास्केले टोलीलाई जिम्मेवारी समेत प्रदान गरे। मन्त्री मास्केले नागरिकप्रतिकाे उत्तरदायित्व सरकारकाे रहेकाे बताए । सानै कुरा गर्दा पनि नागरिक खुसी हुनाले सडक अवरुद्धबारे सूचना दिने, बैकल्पिक सडक प्रयोग गर्न लगाउने र तत्काल अवरुद्ध सडक सञ्चालन गर्न क्युआरटी टोलीले कार्यान्वयन गर्ने बताए ।
तत्काल मोवाईल टिम खटाउनेछौं र सञ्चारमाध्यमबाट सूचना प्रवाह गर्छौं, मन्त्री मास्केले भने ‘हेटौंडा काठमाडौं जोड्ने सडक वर्षामा पहिरोले अवरुद्ध भइरहने भएकाेले निराकरण गर्न मन्त्रालय अघि बढ्ने छ ।’ क्युआरटी टोलीको संयोजकमा यातायात पूर्वाधार निर्देशानालयका निर्देशक पुष्कर प्रसाद पोखरेल रहेका छन् भने सदस्यहरुमा मन्त्रालयको सिनियर डिभिजनल ईन्जिनियर सुजन भण्डारी, मन्त्रालयका विपद् फोकल पर्सन ज्यानेन्द्र प्रसाद पुन, निर्देशानालयका अधिकृत हरीप्रसाद ओझा र जिल्ला स्थित पूर्वाधार विकास कार्यालयका प्रमुख सदस्य रहने मन्त्रालयका सचिव अमृत श्रेष्ठले बताए ।
टोलीले अवरुद्ध भएका मुख्य प्रादेशिक सडकहरुको पहिचान गर्ने कार्य निरन्तर गरिनुका साथै सूचना सम्प्रेषण गर्ने, बैकल्पिक मार्ग पहिचान गर्ने, आकस्मिक रुपमा अवरुद्ध सडकहरु यथाशीघ्र छिटो सुचारु गर्ने अन्तरनिकायसँग समन्वय गर्ने, कार्यालयगत रुपमा आकस्मिक मर्मत सम्भार शीर्षकमा विनियोजित बजेटबाट स्रोत व्यवस्थापन गर्ने र प्रचलित कानूनको अधिनमा रहेर टोली स्वंयमबाट निर्धारित अन्य कार्यक्षेत्रगत शर्तहरुको कार्यान्वयन गर्ने र गर्न लगाउने रहेका छन् ।
निर्देशक पोखरेलले सफलता पूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले परिणाममुखी काम गर्ने बताउँदै आफ्नो टोलीले शर्त अनुरुप काम गर्नुका साथै मन्त्रालयको निर्देशनलाई पालना गरि नागरिकहरुलाई सहज हुने गरी काम गर्ने बताए ।
बागमती प्रदेशको प्रादेशिक सडक गुरुयोजनामा प्रदेशमा २० वटा प्रादेशिक लोकमार्ग र २ सय ३० वटा प्रादेशिक सडक छन् । प्रदेशमार्गको कुल लम्बाइ एक हजार ११ किमि र प्रदेश सडकको कुल लम्बाइ पाँच हजार तीन सय ३२ किमि रहेको छ ।

१.
माली गाईको बाक्लो दूधले बाल्टी बिट छुन्छ आज
चुल्ठे चामल दुधमा पाकी कराही भरि हुन्छ आज
नरिवल, किसमिस, काजु, घ्यू चिनी हाली पकाएको,
साउन पन्ध्र खिरले सबको मैलो मन धुन्छ आज।
२.
मागिखाने अल्छिलाई स्वार्थ लुट्ने दाता प्यारो
ओतदिने छानो भन्दा त्यो अर्कैको छाता प्यारो
आफ्नो भन्दा अरुको नै विश्वास लाग्न थालेपछि
कुरै कुरामा मोहित पार्ने पराइको नाता प्यारो।
३.
नजरको तिर लाउँदै थिएँ घायल भइदियौ
रस रङ्गका कुरा सुनाउँदा कायल भइदियौ
गीत गाउँदै इसाराले जब नयन बोल्न थाले,
तिमी छमछम नाचिदिने पायल भइदियौ।
सुर्योदय-१३, लक्ष्मिपुर, इलाम
- प्रल्हाद दाहाल
हाम्रो देश धेरै किसिमका रितिरिवाज भएको देश हो । यहाँ सबै जातजाती, धर्म, संस्कृतिलाई समेटेर धेरै किसिमका पर्वहरु मनाइन्छ । सबै कुरालाई समेटेर चाडपर्व मनाइने गरिएकोले नै हाम्रो देशको कला, संस्कृति एवं परम्परा अहिलेसम्म बाँचिरहेको छ । हामी दही, मासु, खिचडी, सेल, घ्युचाकु, दहि चामल, दहि चिउरा, खिर आदि सबै कुरा खाने चाडपर्व हाम्रो देशमा मनाउने गर्दछौं । यि सबै चाडपर्व मनाउँदाका आ–आफ्नै विशेषता छन्।
प्रत्येक वर्ष साउन १५ गते खिर खाने पर्व मनाउने गरिदै आएका छन् । हाम्रा पुर्खाहरुले देशमा यसरी संस्कृतिलाई जोगाइ राखेका छन् । यो हाम्रो लागि ठूलो धन सम्पत्ति हो । यसले देशको पहिचान बढ्नुका साथै पर्यटन क्षेत्रको विकासमा समेत टेवा पुग्दछ । हाम्रो देशको संस्कृति भनेको विश्वमा नमूना बनेका छन् । यस्तो संस्कृति अन्य देशमा छैन् । तर पछिल्लो समय यसको जर्गेना गर्न कठिनाई हुँदै आएकाे छ । यसमा आम नेपालीकाे चासो रहन अत्यन्तै आवश्यक छ । आजसम्म त हामी पुरानो नयाँ दुबै पुस्ता बुझ्ने वर्ग छौं । आजसम्म जे जसरी भए पनि सबै किसिमका चाड, पर्व, रितिरिवाज, धर्म, संस्कृती, परम्परा जोगिरहेको छ ।
तर अबका पुस्ताले यो कुरा सबै बुझेको हुदैनन् । हो, त्यसकारण हाम्रो यो पुस्ताले अबका पुस्तालाई हाम्रा सबै किसिमका कुराहरु हस्तान्तरण गर्न आवश्यक छ । यसो गरिएन भने यी सबै कुराहरु एकादेशका कथा जस्तै हुनेछन् । साउन १५ गतेलाई देशैभर खिर खाने दिनको रुपमा चिनिने गरिन्छ । नेपालमा प्राचिन कालदेखि नै खिरलाई एक उत्कृष्ट खानाको रुपमा लिइने गरिएको पाइन्छ । आर्युवेद विज्ञानमा समेत खिरको महत्व निकै रहेको पाइन्छ ।
साउन १५ गते खिर खाएमा शुभ हुने मान्यता रहेको छ । साउन महिनामा धेरै वर्षा हुने, विभिन्न किसिमका रोग लाग्ने र विरामी पर्ने हुँदा रोगबाट छुट्कारा पाउनको लागि पनि खिर खाने चलन रहेको पाईन्छ । खिरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले खिर खाने चलन रहेको पाईन्छ । वर्षायाममा विभिन्न संक्रमण भई रोग लाग्ने गर्दछ । त्यसैले रोग नलागोस् र संक्रमण नहोस् , थकान नलागोस् , फुर्ति बढोस् आदि भनेर पनि खिर खाने गरेको पाइन्छ ।
साउन गर्मी महिना भएको कारण पहिला – पहिला शरिरमा दाद, खटिरा, घाउ, लुतो जस्ता रोगले दुःख दिने गरेको पाइन्छ। यि यस्ता रोगबाट बच्न प्रतिरोधात्मक शक्ति बढाउन पनि साउन महिनामा दुध र दुधजन्य पदार्थको उपयोग बढी हुने गर्दै आएकाे छ । खिरलाई अत्यन्तै चोखो खाने कुरामा पनि लिइन्छ । हरेक शुभ कार्यमा खिरलाई प्रसादको रुपमा पनि समावेश गरिन्छ ।
पहिला – पहिला गाउँघरमा मिठो मसिनो कमै खाईने र खान पनि कठिन हुने भएकोले खानामा सन्तुलित होस् भनेर शरिरलाई आवश्यक पर्ने सबै खाले खाना खाने चाडपर्वको व्यवस्था भएको पाइन्छ । यसले गर्दा सबै मानिसले दैनिक खान नसक्ने र विशेष चाडपर्वमा मात्र खाँदा पनि निरोगी हुन मद्दत पुग्ने गरेको देखिन्छ । यि सबै कुरालाई मध्यनजर गर्दा नेपालमा हाम्रा पुर्खाहरुले धेरै सोचबुझ गरेर चाडपर्वको महत्व विस्तार गरेको पाइन्छ । अनि आम नेपालीको खानाको प्रकार र मानिसको खानाको बानी जे भएता पनि देशका सबै भागमा खाइने सबै खानेकुराको सबैले स्वाद अनिवार्य लिन सक्ने गरि कम्तिमा वर्षको एकदिन भए पनि खानु पर्ने गरि चाडपर्वको व्यवस्था भएको देखिन्छ। बैज्ञानिक तरिकाले पनि यो अति उत्तम मानिन्छ । यस अर्थमा पनि हाम्रा पुर्खाहरुलाई बुद्धिमान मान्न सकिन्छ ।
आजभोलि सबै किसिमका खानेकुराहरु सबै समयमा पाइने भएता पनि त्यसको सहि उपभोग भएको पाइन्न । यसले गर्दा अन्य समस्या उत्पन्न हुने गरेका छन् । पहिले पहिलेका चाडपर्वले गर्दा सन्तुलन भोजन हुने र लाभदायक समेत रहेकाे देखिन्छ । आजकाल चाडपर्व फेसनको रुपमा पनि मनाउने गरेको पाइन्छ । स्कुल, कलेज, अफिसमा पनि साथीभाईहरु मिलेर खिर खाने चलन बढेको छ । यसरी साउन १५ मा देशैभर खिर खाने चलन भएकोले दुधको खपत पनि अरु दिनको तुलनामा लगभग ४ गुणा बढि हुने गर्दछ । दैनिक उत्पादनको दुधले नपुग्ने भएकोले डेरी उद्योगहरुले दुई चार दिन अगाडिदेखि नै दुध भण्डारण गरि राख्ने र नपुगेमा धुलो दुध मिसाएर बजारमा लाने गर्दछन् ।
यसरी हामी आम नेपाली देशैभरी साउन १५ मा सबैजना खिर खाई साउन १५ भब्य रुपमा मनाउँदछौं । हामी सबै मिलि सबै किसिमका चाडपर्वको संरक्षण गरि हाम्रा भावि पुस्तालाई राम्रोसँग यस्ता सबै किसिमका चाडपर्वको महत्व बुझाउनु पर्दछ । यसले हाम्रो देशको पहिचान दिनेछ । धार्मिक पर्यटनसँग विदेशी पाहुना जाेड्न समेत मद्दत पुग्नेछ । हामीले अरु देशको धर्म संस्कृतीको नक्कल गरेर आफ्नो धर्म संस्कृतीलाई भुल्न हुँदैन । देशका सबै किसिमका चाड पर्व मनाउँ, हाम्रो संस्कृती बचाउँ। साउन १५ मा जहाँ भए पनि खिर अनिवार्य सेवन गरौं ।
अध्यक्ष, नेपाल डेरी एसोसिएसन