मकवानपुर । मकवानपुरको हेटौंडामा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।
आफू बचौँ र अरुलाई पनि बचाऔँ भन्ने नाराका साथ हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजनामा डेङ्गुविरुद्ध सचेतनामूलक अभियान सुरु गरिएको हो ।
हेटौंडा ४ नम्बर वडाले सरोकारवालाको संयुक्त प्रयासमा हेटौंडामा शुक्रबार सचेतनामूलक र्याली सहित अभियान सुरु गरेको हो । स्वास्थ केन्द्र, रेडक्रस, महिला समूह, विद्यार्थी, शिक्षक, क्याम्पसका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र प्रतिनिधिसहित सचेतनामूलक र्याली हेटौँडाको पारिजातपथ, कर्रा, गर्दोइ हुँदै हुप्रचौरसम्म सचेतना र्याली गरिएको वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।
मकवानपुरको हेटौंडामा गत वर्ष डेङ्गुबाट प्रभावित भइ उच्च जोखीममा परेको बताउदै अहिले सुरुवातदेखि नै वडावासीलाई सुरक्षित हुन अभियान सुरु गरिएको वडा अध्यक्ष सिग्देलले बताए ।
मकवानपुरमा १ साउनदेखि १८ गतेसम्म २९ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार ११ पुरुष र १८ महिलामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । जिल्लामा सबैभन्दा धेरै हेटौँडा उपमहानगरमा २३ जनामा डेङ्गु सङ्क्रमित भेटिएका छन् ।
गत आव २०८०/८१ मा मकवानपुरमा ८९१ जना डेँगुबाट प्रभावित भएका थिए भने डेङ्गु सङ्क्रमणका कारण जिल्लामा एक जनाको मृत्यु भएको थियो ।
डेङ्गु एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको टोकाइबाट लाग्ने रोग हो । उक्त लामखुट्टे पानी जम्ने टिनको भाँडा, पुरानो टायर, ड्रम, गमला र पानी ट्याङ्कीमा बस्ने गर्छ । यो रोग लागेपछि मानिसमा अत्यधिक ज्वरो आउने गर्दछ । मांसपेशी र हाडजोर्नी दुख्ने, शरीरमा बिमिराहरू देखापर्ने लगायत लक्षण यसमा देखिन्छन् ।
मकवानपुर । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले प्रदेशका महिलाहरुलाई निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ ।
नवनियुक्त श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यस्तो निर्णय गरेका हुन् । सार्वजनिक यातायातको क्षेत्रमा महिला चालकको सहभागिता बढाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ तालिम दिन लागिएको हो । देशमा सीपमुलक श्रमको अभिवृद्धि तथा यातायात क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले तालिमको व्यवस्था गर्न लागिएको मन्त्री महर्जनले जानकारी दिए ।
यातायात क्षेत्रलाई समावेशी, मर्यादित एवं सुरक्षित बनाउन महिला चालक उत्पादन तथा महिला लक्षित रोजगार कार्यक्रम अन्तर्गत रहेर कम्तिमा २५० जना महिलाहरुलाई तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारी साधन प्रशिक्षण सीप प्रदान गर्ने मन्त्री महर्जनले बताए । मन्त्री महर्जनले सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षामा तीन पटक सम्म फेल भएकाले ९० दिन सम्म कुर्नुपर्ने व्यवस्था खारेज गर्ने पनि निर्णय गरेका छन् । उक्त समय घटाएर १ महिनामा ल्याउने निर्णय गरिएको मन्त्री महर्जनले बताए । उनका अनुसार उक्त निर्णय कार्यान्वयनका लागि यातायात व्यवस्था विभाग, मीनभवन काठमाडौंसँग समन्वय भइरहेकाे छ ।
मन्त्री महर्जनले पदभार सम्हाले लगतै मातहतका कार्यालय तथा सेवाग्रहीका समस्याको विषयमा चासो देखाएका छन् । १४ साउन सोमबार काठमाडौंमा मातहतका १३ वटा यातायात व्यवस्था कार्यालयका प्रमुखहरुसँग उनले अन्तरक्रिया समेत गरेका थिए । अन्तरक्रियामा उपस्थित कार्यालय प्रमुखले सेवाग्रहीहरुले सेवा लिन लामो समय खर्चनु पर्ने, हाल प्रयोग भैरहेको सर्भर डाउन हुने, लाइसेन्स छपाई ढिला हुँदा सेवाग्राहीहरुले भोग्नु परेका लगायतका समस्या मन्त्री समक्ष राखेका थिए ।
मन्त्री मर्हजनले यातायात क्षेत्रमा देखिएका समस्या समाधानकालागि संघीय मन्त्री, प्रदेशका मन्त्रीहरु, सचिव, सम्बन्धित कार्यालयका प्रमुखलगायतका सरोकारवालासँग छलफल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
मकवानपुर । मकवानपुरको हेटौडाबाटबाट लागुऔषध चरेशसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएकाे छ । मकवानपुर प्रहरीका अनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ का २६ वर्षीय हरी गौरव र नवलपरासीको पण्डितपुर वनगरिया गाउँपालिका–१ का ४३ वर्षीय अनिल भर चौधरीलाई १० किलो २५० ग्राम चरेश सहित नियन्त्रणमा लिइएकाे हाे ।
बिहिबार प्रहरी चौकी रातोमाटेबाट खटिएको टोलीले हेटौंडा–१५, चुरीमाईस्थित पुर्व–पश्चिम सडक खण्डमा हेटौंडाबाट पथलैयातर्फ जादै गरेको ना ६ ख ५८३९ नम्बरको यात्रुबाहक बसलाई सुरक्षाजाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त परिमाणकाे लागुऔषध चरेशसहित पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुकाे झोलाभित्र लुकाएर राखिएको चरेश १० किलो २ सय ५० ग्राम फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले शुक्रबार हेटौंडा उपमहानगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ का लागि करका दरमा अस्वभाविक रुपले बढाएकाे भन्दै संघका अध्यक्ष कृष्णकुमार गुप्ताको नेतृत्वमा व्यवसायीले उपप्रमुख राजेश बानियाँलाई ज्ञापनपत्र बुझाएको छ ।
उपमहानगरले व्यवसाय कर तथा घरबहालकरकाे दरमा अस्वभाविक वृद्धि गरेकाेमा नगर प्रमुख मीना कुमारी लामालाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेकाेमा लामा कार्यकक्षमा अनुपस्थित भएपछि व्यवसायीले उपप्रमुख बानियाँलाई ज्ञापनपत्र बुझाएकाे हाे ।
व्यवसाय, उद्यम शिथिल र कमजोर अवस्थामा हेटौंडा उपमहानगरपालिकाले एकपक्षीय रुपमा विभिन्न शीर्षकमा भएका राजश्व, कर र घरबहालदरमा बृद्धि भएको भन्दै वृद्धि भएको कर भुक्तान गर्न नसक्ने ज्ञापनपत्रमा उल्लेख छ । उपमहानगरले अस्वभाविकरुपमा बढाएको करहरु तुरुन्त फिर्ता लिई साविककै दरमा राख्न संघले आग्रह समेत गरेकाे छ । उद्योगी, व्यवसायीको आग्रहलाई बेवास्ता गरिए आन्दोलन गर्ने समेत संघले ज्ञापनपत्र मार्फत चेतावनी समेत दिएको छ ।
ज्ञापनपत्र बुझेपछि उपप्रमुख बानियाँले उपमहानगरकाे आय स्राेत कम भएकाेले करकाे दर बढाइएकाे जानकारी दिए । अहिले व्यवसाय धरासायी हुदैँ गएकाे विषय जानकारी रहेकाे पनि करको दर हेरफेर गर्न नगर सभा नै बोलाउनु पर्ने उनले बताए ।
व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थाका व्यवसायीमाथि स्थानीय सरकारले करको दर बढाएर थप पीडा थपिदिएको मउवासंघका प्रतिनिधिहरुले गुनासो गरेका छन् । संघले करकाे दर हाेइन दायरा बढाएर नगरकाे स्राेत सुनिश्चित गर्न समेत सुझाव दिएकाे छ ।
उपप्रमुखकाे नेतृत्वमा रहने राजश्व परामर्श समितिले करकाे दर नबढाउने निर्णय गरेपनि नगर सभाबाट करकाे दरमा बृद्धि गरिएकाे बताइएकाे छ ।
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार प्रदेश राजधानी हेटौंडास्थित कार्यालयमा उनले पदधार ग्रहण गरेका हुन् । देवकोटा बागमती प्रदेशका चौथो प्रदेश प्रमुख हुन् ।
गत साउन १४ गतेको संघीय मन्त्रिपरिषद्ले बागमती प्रदेश प्रमुख देवकोटालाई नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको थियो ।मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति पौडेलले देवकोटालाई बुधबार प्रदेश प्रमुखमा नियुक्त गरेका थिए भने बिहीबार पद तथा गोपनीयताको शपथ गराएका थिए ।
यसैबीच निवर्तमान प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई शुक्रबार बिदाइ गरिएको छ । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले शर्मालाई बिदाइ गरेका हुन् ।
पदभार कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, प्रदेश सभाका सभामुख भुवनकुमार पाठक, प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिव तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।