मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को लागि बहालकर व्यवसाय कर लगायतका शिर्षकमा २० देखि १५० प्रतिशत कर वृद्धि गरेकाे विषय पेचिलो भन्दै गएकाे छ ।
कर वृद्धिकाे विषयका कारण व्यवसायी आन्दाेलनमा रहेका बेला उपमहानगरपालिका बहुमत नगरसभा सदस्यले विशेष नगरसभा बोलाउन माग नै गरेका छन् । ९ जना वडा अध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ३१ जना नगरसभा सदस्य गरी ४८ जना नगरसभा सदस्यले नगर प्रमुख मीनाकुमारी लामासमक्ष विशेष नगरसभा बोलाउन बुधबार माग गरेका हुन् ।
उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् । जसमध्ये ४८ जनाले विशेष नगरसभा बोलाउने सम्बन्धीको माग पत्रमा हस्ताक्षर गरेका छन् । जुन बहुमत सदस्य हुन्छ । नेपालको संविधानको धारा २२२ देखि २२७, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ३, बागमती प्रदेशको गाउँ, नगर, जिल्ला सभा सञ्चालन (कार्यविधि) ऐन २०७५ को दफा ३ उपदफा ३ र दफा २३ को (ग), (घ), (ञ) र (ट) तथा उपमहानगरको नगरसभा सञ्चालन कार्यविधि २०७४ को दफा ३ बमोजिम विशेष नगरसभा बैठक बोलाउन माग गरिएको पत्रमा उल्लेख छ ।
नगर प्रमुख लामा काठमाडौं रहेकाे कारण नगरसभा सदस्यहरुले प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतममार्फत लामा समक्ष विशेष नगरसभा बोलाउन माग गरे । संघीयता कार्यान्वयमा आएकाे ७ वर्षकाे अवधीमा हेटौंडामा पहिलो पटक विशेष नगरसभा सदस्य बोलाउन माग भएको हाे । बहुमत सदस्यले नगर सभाकाे बैठक बाेलाउन माग गरे पछि नगर प्रमुखले १५ दिनभित्र विशेष नगरसभा बोलाउनुपर्ने कानुनी व्यवस्था छ ।
हेटौंडा ४ का वडा अध्यक्ष नवीन सिग्देलले अस्वभाविक कर वृद्धि गरिएकाले नगरबासीमा असन्तुष्टि बढेकाे बताए । यो विषय सम्बोधन गर्न आर्थिक ऐनमा व्यवस्था भएको करको दर र दस्तुर संशोधनका लागि विशेष नगरसभा आह्वानको माग गरिएको उनले जानकारी दिए ।
उनले २ असार र ७ असारकाे १५ औं नगरसभामा कर वृद्धिसम्बन्धी प्रस्ताव छलफलमै नल्याई गुपचुप रुपमा पास गराइएको दाबी गरे । ‘करको दर हेरफेर जस्तो संवेदनशील विषयमाथि सरोकारवाला निकायसँग आवश्यक छलफल समेत गरिएकाे छैन’ उनले भने ‘नगरसभामा नै प्रस्ताव नल्याई पास गरिनु गैरजिम्मेवारी र लाचारीपन हाे ।’
कर वृद्धि सम्बन्धी प्रस्ताव समेत सभामा पेश नगरिए तथा नगर सभा सदस्यलाई दिइएकाे छैन’ उनले भने मुद्दा उठान भएपछि समस्या समाधानका लागि विशेष नगरसभा बोलाउन माग गरिएको हो ।’ उपप्रमुख बानियाँ संयोजक रहने राजश्व परामर्श समितिमा वडा अध्यक्षहरु दीपक खड्का, सुनिल मोक्तान र जुना दाहाल सदस्य छन् । तीनै जना सदस्य राजश्व परामर्श समितिको बैठकमा करको दायरा बढाउने विषयमा मात्रै छलफल भएको बताउँछन् । नगरसभाबाट अस्वभाविक रुपमा कर वृद्धि गरिएको उनीहरुकाे भनाई रहेकाे छ ।
उपमहानगरपालिकाले २ असार नीति तथा कार्यक्रम र बजेट नगर सभाकाे अधिवेशनमा पेश गरेकाे थियाे । नगर उपप्रमुख बानियाँले सभामा पेश गरेकाे नीति तथा कार्यक्रममा करकाे दर नबढाइने तर दायरा बढाउने उल्लेख थियाे । ७ असारमा बाेलाइएकाे नगर सभाकाे अधिवेशनकाे दोस्राे बैठकमा २ असार पेश भएका नीति तथा कार्यक्रम र बजेट पारित गरेकाे हाे ।
उपमहानगरपालिकाले लागू गरेकाे करका दर स्थानीय राजपत्रमा प्रकाशित भएपछि लागू हुने कानूनी प्रावधान रहेकाे छ । नगर उपप्रमुख रहने राजश्व परामर्श समितिले करकाे दरमा परिवर्तन नगरी यथावत राख्ने निर्णय गरिएकाे भएपनि नगर सभाबाट दर बढाइएकाेमा व्यवसायी तथा सरोकारवालाकाे विरोध बढ्दै गएकाे छ ।
कर वृद्धिको विरोधमा विगत १० दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघलगायतका दुई दर्जन विषयगत व्यवसायिक संघसंस्थाहरु चरणबद्ध आन्दोलनमा छन् । बुधबार बिहान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा व्यवसायीहरुले उपमहानगरपालिका कार्यालयमा धर्ना दिएका थिए ।व्यवसायीहरुले बिहीबार पनि हेटौंडा उपमहानगरपालिकामा धर्ना दिने र नगर सरकार खोज्दै मैनबत्ती जुलुस गर्ने कार्यक्रम तय गरेका छन् ।
मउबासंघले उपमहानगरले गरेकाे करको दर हेरफेरको विरोधमा आन्दोलनको गरे पनि उपमहानगरपालिका पछाडि नहट्ने देखिएकाे छ । उपमहानगरले १ साउन बाट आर्थिक ऐन, २०८१ लागू गरिसकेकाे अवस्थामा ऐन संशोधन गर्न नसकिने भएकाले व्यवसायीको मागलाई सम्बोधन गर्न नसकिएको उपमहानगरका प्रवक्ता सविन न्यौपाने बताउँछन् ।
‘आर्थिक ऐन जारी भइसकेको अवस्था छ । स्थानीय सरकारले आर्थिक ऐन जारी भएपछि करको दर हेरफेर गर्न सक्दैन ।’ उनले भने । व्यवसायीको माग पूरा गर्न तत्काल सम्भव छैन’ प्रवक्ता न्यौपानेले भने व्यवसायी र उपमहानगरवीचको छलफलमा आगामी वर्षमा कसरी समन्वय गरेर अगाडि बढ्न सकिन्छ भनेर प्रस्ताव गरिने छ ।’
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश कमिटीका इन्चार्ज तथा पार्टी स्थायी कमिटी सदस्य डाक्टर राजन भट्टराईले नेकपा एमाले आन्तरिक द्वन्द्व र लाभको लोभको कारण नेतृत्वमा पछि परेको बताएका छन् ।
केन्द्रिय कमिटीले भट्टराईलाई बागमती प्रदेश इन्चार्ज नियुक्त गरेपछि नेकपा एमाले मकवानपुर जिल्ला कमिटिले हेटौंडामा आयोजना गरेको स्वागत कार्यक्रममा भट्टराईले यस्तो बताएका हुन् । संगठन विस्तार राम्रो र बलियो भएको पार्टीको नेतृत्वमा कमजोर ठहरिनु भनेको जनताको बिचमा पार्टीको सकारात्मक कामको प्रचारप्रसार पाटो समृद्धि बनाउन नसकिएको उनले बताए । “अब एमालेलाई मिसन ८४ मा पछि पर्ने छुट छैन” उनले भने ।
अबको समयमा पार्टीको आन्तरिक समस्या, सम्बन्धलाई बलियो बनाउदै अघि बढ्नु पर्ने उनले बताए । फरकफरक समुदाय, सिकाइ र बुझाईबाट हुर्केकाहरू एकै विचारको कारण एकै ठाउँमा हुंदा कहिले काहीँ चित्त बुझाउनु पर्ने अवस्था पनि हुनसक्ने र यस्तो अवस्थालाई सामान्य रुपमा लिने संस्कार पनि एमालेजनमा हुनुपर्ने उनको भनाइ थियो ।
मिसन २०८४ को लागि ग्रासरुटमा पुग्नको लागि, पार्टी सिस्टम र परिपाटीमा पस्नको लागि उदार भावनाले अघि बढ्नुको विकल्प नै नभएको उनले बताए । राष्ट्रिय राजनीतिमा विगतमा एमालेलाई चौतर्फी घेरबन्दी भएको स्मरण गर्दै डाक्टर भट्टराईले भने “अबको एकता कुनै पनि हालतमा नटुट्ने गरि बलियो बनाउन पर्छ ।” मुलुकलाई शंकट पर्दा एमाले र नेपाली कांग्रेससंगको सहकार्य ऐतिहासिक रहेको र राष्ट्रको लागि आवश्यक भएको उनले बताए ।
“जबजब देशलाई शंकट पर्छ, हामी २ पार्टी संगसंगै रहेर पार लगाएका छौ,अहिले पनि यहि भएको हो” उनले भने । “बागमतीमा एमालेको जीतहारले केन्द्रिय राजनीतिकमा प्रत्येक्ष सरोकार राख्नेछ भएकोलए यहाँ एमालेलाई हार्न छुट नभएको भट्टराईले बताए ।
स्वागत कार्यक्रम एमाले बागमती अध्यक्ष कैलाश ढुङ्गेलले पार्टीको योगदान निर्वाचनबाट नदेखिनुमा दु:खद भएको बताए । नेकपा एमाले मकवानपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा अस्थिरता रोक्ने,संविधानको रक्षा गर्न, अर्थतन्त्रमा सुधार ल्याउन,सुशासन कायम गर्न एकता बलियो बनाउँ कस्ता कामा प्राथमिकता रहेको टिप्पणी गरिएको थियो ।
यसैगरी आन्तरिक सुदृढीकरण, जनप्रतिनिधिलाई संगठित बनाउने, समयबद्ध योजना निर्माणमा जोडदिने ,पार्टीभित्र प्रभावकारी समन्वयको आवश्यकता रहेको, कार्यकर्ताहरूलाई कामद्वारा अगाडि बढ्न निर्देशन समेत प्रोत्साहन गरिएको थियो। यसैगरी कार्यकर्तालाई निर्देशन दिन पार्टी नीतिप्रति दृढ विश्वास रहन आग्रह गरिएको थियो । अवसरहरूको सदुपयोग गर्दै जनतामा प्रभाव पार्ने कार्यहरूमा केन्द्रित हुन पालिकाका नेतृत्वलाई आग्रह गरिएको थियो ।
जिल्ला अध्यक्ष श्रीधर पोखरेको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सभा सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।
मकवानपुर । नेकपा एमाले बागमती प्रदेश इन्चार्ज राजन भट्टराईले प्रदेशमा एमालेबाट नियुक्त भएका मन्त्रीहरूलाई प्रदेशको औचित्य पुष्टि हुने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार हेटौंडामा एमालेका नेता भट्टराईले मन्त्रीहरूलाई प्रदेशप्रति देखिएको नकारात्मक धारणा हटाउन उत्कृष्ट कार्यसम्पादन गरेर जनतामा आशा जगाउन गरी कार्य गर्न आग्रह गरे। उनले मन्त्रीहरूलाई आफ्नो योग्यता, क्षमता र इमान्दारिता प्रदर्शन गर्ने अवसर आएको बताउँदै जनतासँग नजिक रहेर काम गर्न सुझाव दिए।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अहिलेकाे सरकार निर्वाचन अघिसम्म रहने बताउँदै मन्त्रीहरुले “सुनौलो बागमती” निर्माणको लागि कार्यकुशलता पूर्वक कार्य गर्नु पर्ने बताए । प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मन्त्रीहरूलाई परिणाममुखी काम गर्न निर्देशन दिए।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले वर्तमान गतिविधिबारे जानकारी गराए। कार्यक्रममा एमालेका वरिष्ठ नेताहरू पार्वत गुरुङ, डोरमणि पौडेल, बाबुराम थापा, दावादोर्जे लामा लगायतकाे उपस्थिति रहेको थियो।
मकवानपुर । हेटौडा उपमहानगरपालिकाको वडा नं. ७ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुने भएकाे छ । आगामी १ भाद्र शनिबार औपचारिक रूपमा वडालाई बालमैत्री घोषणा गरिने मंगलबार पत्रकार भेटघाट गरी जानकारी दिइएकाे हाे ।
‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराको साथ बालमैत्री नगर वडा घोषणाकाे चरणमा रहेकाेले वडालाई बालमैत्री वडा घोषणा गर्न लागिएको हेटौंडा–७ का वडाध्यक्ष दामोदर गौतमले जानकारी दिए ।
बालमैत्री वडा घोषणाकाे लागि वडाध्यक्ष गौतमको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । उक्त समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेकाे बताइएकाे छ ।
गौतमका अनुसार, बालमैत्री स्थानीय शासन वडा घोषणा गर्नका लागि पूरा गर्नुपर्ने ५१ वटा सुुचकमध्ये ४६ वटा सुचकहरु पूर्ण रुपमा, १ वटा सुचक ९८ प्रतिशत, १ वटा सुचक ८५ प्रतिशत, १ वटा सुचक ९५ प्रतिशत, १ वटा सुचक ९९ प्रतिशत र १ वटा सुचक ९९.७३ प्रतिशतसम्म हासिल गरेकाे छ ।
वडामा १८ वर्षमुनिका १,८९८ बालबालिका रहेका छन्। १० वटा बाल समूह र एक वडास्तरीय बाल सञ्जाल गठन गरिएको छ । जसमा २५० जना बालबालिका आबद्ध छन्। विभिन्न संरचनागत समितिहरूमा समेत २६२ जना बालबालिकाको प्रत्यक्ष सहभागिता रहेको छ।
वडाले बालबालिकाको विकासका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ। दुई विद्यालयमा बाल विकास केन्द्र सञ्चालनमा छन् भने विद्यालयहरूमा छात्र-छात्राका लागि अलग-अलग शौचालय, सेनेटरी प्याड वितरण, र खेलकुद सामग्री वितरण गरिएको छ।
वडाध्यक्ष गौतमले बालबालिका भविष्यका कर्णधार मात्र नभई वर्तमानका साझेदारको रूपमा विकास गर्न प्रयत्नशील रहेको बताए। उनले बालमैत्री वडा घोषणापछि पनि यसको दिगोपनाका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।
बालमैत्री वडा घोषणा कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गर्ने गौतमले जानकारी दिए । उक्त दिन स्थानीय सामुदायिक एवम् संस्थागत विद्यालयका विद्यार्थीहरु, विभिन्न टोलविकास संस्थाका सदस्यहरु, विभिन्न संघ–संस्थाको प्रतिनिधिहरुको सहभागितामा वडा कार्यालयको प्राङ्गनबाट प्रभातफेरी सहित वडा परिक्रमा गरिने र त्यसपछि औपचारिक कार्यक्रम हुने बताइएकाे बताए ।
हेटौडाकाे ७ नम्बर वडा नगरकाे तेस्रो बालमैत्री स्थानीय शासनयुक्त वडा हुने छ । यसअघि हेटौंडाकाे ८ र २ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे छ ।
मकवानपुर । बागमती प्रदेश उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले उद्योग व्यवसायीको हकहितका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको बताएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकाले राजस्वमा एक्कसी वृद्धि गरेपछि आन्दोलनरत व्यवसायीसँगको भेटमा मन्त्री तामाङले यस्तो बताएकी हुन् । मंगलवार उद्योग वाणिज्य संघ मकवानपुरकाे ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले प्रदेश सरकार व्यवसायीहरुको पक्षमा रहेको बताएकी हुन् ।
मन्त्री तामाङले ब्यवसायीलाई मर्कामा पर्ने कुनै पनि काम नगर्ने समेत प्रतिवद्धता जनाईन् । “व्यवसायीहरुको हकहितका लागि मेरो सँधै समर्थन रहन्छ, व्यवसायीहरुको समस्यालाई समाधान गर्न संघसँग समन्वय गरेर सहजीकरण गर्नेछु” मन्त्री तामाङले भनिन् ।
‘व्यवसायीहरुले व्योहोर्नु परेका झण्झटीलो प्रणालीलाई पनि एकद्वार प्रणालीबाट लैजान प्रयास रहने उनले बताइन् । मन्त्री तामाङले व्यवसायीहरुलाई ढाँड सेक्नेगरी करबृद्धि नगर्न समेत स्थानीय तहलाई समेत आग्रह गरिन् ।
व्यवसायी, उद्यमी चरम मारमा रहेका बेला हेटौंडा उपमहानगरपालिकाले अस्वभाविक रुपमा राजश्वको दर वृद्धि गरेको भन्दै व्यवसायीहरू आन्दोलित छन् । संघको अगुवाईमा मकवानपुरका व्यवसायीले आन्दोलनको घोषणा समेत गरेका छन् । संघले नगर सरकार खोज्दै मैनबत्ति जुलुस, कार्यालयमा धर्नादेखि व्यवसाय नै बन्द गरेर चाँबी बुझाउनेसम्मको आन्दोलनका कार्यक्रम तय गरेको छ ।
असार ७ मा भएको उपमहानगरको १५ औं नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो । उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१।०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व बृद्धि गरेको हो । व्यवसायीहरुले उपमहानगरपालिको उक्त निर्णयविरुद्ध यसअघि नै ध्यानाकर्षण गराएका थिए ।
उवासंघ मकवानपुरका अध्यक्ष कृष्ण गुप्ता अग्रवालको नेतृत्वमा ज्ञापन पत्र बुझाएको कार्यक्रममा निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बाल गोपाल कँडेल , होटल एशोसिएसन मकवानपुरका अध्यक्ष दिलिश गोविन्द जोशी र उद्योग वाणिज्य महासंघ मकवानपुरका उपाध्यक्ष उज्वल चौलागाईं लगायतको उपस्थिती रहेको थियो ।