मकवानपुर । बागमती प्रदेशसभाको बैठक ६ असोज आइतबारकाे लागि आह्वान गरिएको छ । १६ साउनदेखि स्थगित भएको प्रदेशसभा बैठक डेढ महिनापछि बस्न लागेको हो ।
विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेसँगै १६ साउनमा स्थगित गरिएकाे प्रदेशसभा बैठक ६ असोज आइतबार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा संसदीय समितिहरूबाट पारित भएका विधेयकका प्रतिवेदनहरू प्रस्तुत हुने कार्यसूची रहकाे बताइएकाे छ । बैठकको कार्यसूची तय गर्न ५ असोज शनिबार कार्यसम्पादन समितिको बैठक समेत आह्वान गरिएको छ । शनिवार दिउँसो ३ बजे बस्ने बैठकले सभाकाे कार्यसूची तय गर्ने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।
गुप्ताका अनुसार ६ असोजमा बस्ने प्रदेशसभा बैठकमा शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट पारित भएको दुई वटा र उद्योग पर्यटन तथा वातावरण समितिबाट पारित भएको एउटा प्रतिवेदन संसदमा प्रस्तुत हुनेछन् । बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा स्वास्थ्य तथा कृषि समितिबाट प्रदेश स्वास्थ्य ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन, प्रदेश कृषि विकास सम्बन्धमा बनेको विधेयकको प्रतिवेदन र उद्योग, पर्यटन तथा वातावरण समितिले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन रहेका छन् ।
समितिहरूबाट दफावार छलफल गरी संशोधनसहित पारित भएका विधेयकका प्रतिवेदनहरू प्रदेशसभा सचिवालयमा दर्ता भइसकेको र तीनै विधेयकका प्रतिवेदनहरूमाथि सदनमा छलफल हुने सचिवालयले जनाएको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबार ४ खेल खेलाइएकाे छ । मंगलबारकाे पहिलो खेलमा वडा नम्बर ४, दोस्रो खेलमा वडा नम्बर ११, तेस्रो खेलमा वडा नम्बर १९ र चौथो खेलमा वडा नम्बर १० विजयी भए ।
मंगलबार पहिलो चरणको ४ खेलहरु सम्पन्न भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । हेटौंडा–८ कमानेस्थित चन्द्रोदय माध्यमिक विद्यालयको खेलमैदानमा वडा नम्बर ४, ११, १९ र १० विजयी भएसँगै प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको हो ।
हेटौडा वडा नम्बर ४ ले वडा नम्बर १ लाई ६६ रनले हरायाे । यस्तै वडा नम्बर ११ ले वडा नम्बर ५ ‘बी’ लाई ७३ रनले हराउँदा, वडा नम्बर १९ ले वडा नम्बर ६ लाई ५३ रनले पराजीत गरेकाे हाे । यसैगरी वडा नम्बर १० ले १२ नम्बर वडालाई ७४ रनले पाखा लगाएकाे थियाे ।
टस जितेर पहिले व्याटिङ रोजेकाे ४ नम्बरले १४ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो । १ सय ७५ रनको लक्ष्य पछ्याएको १ नम्बर वडाले १७ ओभर ५ बलमा १ सय ८ रन बनाएर अल आउट भयाे । म्यान अफ द म्याच वडा नम्बर १ का शिषिर पौडेल भए ।
दोस्रो खेलमा टस जितेर पहिले व्याटिङ रोजेरकाे ११ नम्बरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७६ रन बनायो जवाफी व्याटिङ गरेको वडा–५ ‘बी’ ले १७ ओभरमा सबै विकेट गुमाएर १ सय ३ रन मात्रै जोड्न सफल भयो । म्यान अफ द म्याच ११ नम्बर वडाका असिम श्रेष्ठ घोषित भएका छन् ।
मंगलबारको तेस्रो खेलमा १९ नम्बर वडाले ६ नम्बर वडालाई ५३ रनले हरायो । टस जितेर पहिले व्याटिङ गरेको वडा नम्बर १९ ले १३ ओभरमा सबै विकेट गुमाएर १०३ रन जोड्यो । जवाफी व्याटिङ गरेको ६ नम्बर वडाले १२ ओभर ३ बलमा सबै विकेट गुमाएर ५० रन मात्रै बनायो । म्यान अफ द म्याच १९ नम्बरका विशेष थापा घोषित भए ।
चौथो खेलमा हेटौंडा–१० ले हेटौंडा–१२ लाई ७४ रनले हराउँदै विजयी भयो । टस हारेर पहिले व्याटिङको निम्तो पाएको हेटौंडा–१० ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १० रन बनायो । २११ रनको लक्ष्य पछ्याएको १२ नम्बर वडाले १८ ओभर ३ बलमा १० विकेट गुमाएर १ सय ३६ रन मात्रै जोडेकाे थियाे ।
बुधबारबाट क्वार्टरफाइनल चरणको खेलहरु सुरु हुने आयोजक समिति सदस्य गोकर्ण तिवारीले जनाकराी दिए । बुधबारकाे पहिलो खेलमा आयोजकले वडा नम्बर ४ काे सामना गर्नेछ भने दोस्रो खेल ९ नम्बर वडा र ७ नम्बर वडाका बीच हुनेछ । यस्तै तेस्रो खेलमा ८ नम्बर वडा र १६ नम्बर वडा बीच प्रतिस्पर्धा हुनेछ ।
नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा प्रतियोगितामा १९ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
अध्यक्ष कालाखेतीले बनाइदिए एकल महिलाकाे लागि घर
Tags: No Comments
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफूले पाउने सेवा सुविधाकाे रकमले मनहरी गाउँपािलकाका एक जना एकल महिलाकाे लागि घर बनाइ दिएका छन् । मनहरी ५ बसन्तपुरकी एकल महिला सोनी राईलाई एककोठे घर निर्माण गरेर उनले मंगलबार हस्तान्तरण गरे।
गत स्थानीय तह निर्वाचनका बेला कालाखेतीले घोषणा गरेका थिए निर्वाचित भएपछि सुविधाकाे रुपमा पाइने राज्यको रकम आफूले नलिएर जनताको सेवामा खर्च गर्ने। सोही अनुसार गाउँपालिका अध्यक्ष कालाखेतीले सुविधा वापत प्राप्त गर्दै आएकाे रकम सामाजिक सेवामा खर्च गर्ने गरेका छन्।
साेही अनुसार उनले मनहरी ५ बसन्तपुरमा लामो समयदेखि आवासविहीन रहँदै आएकी राईलाई पक्की घर बनाएर हस्तान्तरण गरिएको हो। सेवा सुविधा जम्मा गर्नका लागि कालाखेतीले व्यक्तिगत बैंक खाता प्रयोग नगरी अध्यक्ष सामाजिक सुरक्षा कोष खडा गरेका छन्। सोही कोषबाट उनले आफ्नो सेवा सुविधा वापतकाे रकमले मनहरीकै एकल महिला राईलाई घर बनाइदिएर हस्तान्तरण गरेका हुन्।
८ वर्ष अघि सोनीका श्रीमान काठ काट्न जाँदा लडेर मृत्यु भएकाे थियाे । उनी लामो समयदेखि बसन्तपुरमा सानो छाप्रोमा जीवनयापन गर्दै आएकी थिइन्। घामपानी समेत नछेक्ने छाप्रोमा बस्दै आएकी उनलाई अध्यक्ष कालाखेतीले घर बनाइदिए पछि दंग छिन् । ‘ज्याला मजदुरी गरेर जसोतसो जीवन धान्दै आएकी सोनी बस्दै आएकाे छाप्रोमा पानी चुहिन्थ्यो। हावाहुरीले समस्या पार्थ्यो। तपाईंहरू सबैको सहयोगले घर बन्यो एकदमै खुसी छु,’ सोनीले भनिन्।
सोनुलाई ओत लाग्ने घर नभएको र आफैँ बनाउन सक्ने अवस्था नभएको भन्दै उनका छिमेकीहरूले अध्यक्ष कालाखेतीलाई जानकारी गराएका थिए। उक्त पक्की घर २ लाख १५ हजार रुपैयाँ खर्चिएर बनाइएको हाे । सोनीको परिवारमा उनीबाहेक कोही छैनन् । गाउँपालिका अध्यक्ष कालाखेतीले एकल महिला बर्खामा चुहिने छाप्रोमै दिन काटिरहेको खबर पाएपछि सेवा सुविधाकाे रकमले नै घर बनाइदिने निर्णय गरेको बताउँछन्। ‘स्थिती निकै दयनिय देखेपछि स्थानीयहरुले जानकारी गराए। म उहाँको घरमै गएर हेरेँ। स्थिती निकै दयनिय देखेपछि आफ्नाे सेवा सुविधाकाे रकम जम्मा हुने कोषको रकमले उहाँलाई एककोठे पक्की घर बनादिएकाे हुँ’ उनले भने ।
निर्वाचित भएपछि उनले सेवा सुविधा वापतको रकम विपन्न परिवारका लागि उपचारमा सहयोग, विभिन्न चाडपर्वमा रासन सामग्री हस्तान्तरण लगायतका सामाजिक कार्यमा सहयोग गर्दै आएका छन्।
चितवन । चितवनकाे भरतपुरस्थित औद्योगिक प्रदर्शनीमा बडादशैँ स्वदेशी जुत्ता चप्पल व्यापार मेला मंगलवारदेखि सुरु भएको छ । असोज २४ गतेसम्म सञ्चालन हुने मेलाको बागमती प्रदेशको उद्योग वाणिज्य, भूमि व्यवस्था तथा प्रशासनमन्त्री सुकमाया तामाङले उद्घाटन गरिन् ।
मेलाको उद्घाटन गर्दै मन्त्री तामाङले नेपाल धेरै वस्तुको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने सम्भावना रहेको बताइन् । ‘स्थानीय स्रोत साधन उपयोग हामी सबै लाग्नु पर्छ’ मन्त्री तामाङले भनिन् ‘मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा जोड दिन जरुरी छ ।’
चितवन उद्योग संघले स्वदेशी उत्पादनलाई प्रवर्दन गर्ने उदेश्यले मेला २०८१ अन्तर्गत स्वदेशी जुत्ताचप्पल व्यापार मेला आयोजना गरेको हो । फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसनका अध्यक्ष रुद्र न्यौपानेले जुत्ता चप्पलको चोरी पैठारी रोकिने हो भने नेपाल १८ महिनामा आत्मनिर्भर बन्न सक्ने बताए । ‘सिंहदरबारभित्र पनि नेपाली जुत्ता चप्पलको प्रयोग गर्नु पर्छ’ उनले भने । उत्पादकले पनि इमानदारपूर्वक गुणस्तरमा ध्यान दिएर काम गर्नु पर्ने उनले बताए ।
चितवन उद्योग संघका अध्यक्ष सूर्यप्रसाद न्यौपानेले संघले बिगत २०४७ सालदेखि उद्यमशिलता विकास र राज्यलाई मजबुत बनाउने उद्धेश्यले विभिन्न कामहरु गर्दै आएको बताए। राज्यले लिएको औद्योगिक अभियानलाई संघले सँधै साथ दिइरहेको उनले जनाकारी दिए ।
मेला दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने मेलाको सहआयोजक संस्था वेश ग्लोबल प्रालिका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए । मेलामा आठ कम्पनीका तीन हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा पाउन सकिन्छ । मेलामा ४० वटा स्टल छन् । नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु महिला, पुरुष, बच्चा सबैलाई समेटिनेगरी आकर्षक छुटमा खरिद गर्न सकिने उपाध्यायले बताए ।
मेलामा ३५ हजार जोर जुत्ताचप्पलको बिक्री हुने र दुई करोड रुपैयाँको आर्थिक कारोबार हुने अपेक्षा आयोजकले गरेकाे छ । त्यस्तै मेलाको करिब एक लाख ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको गरिएकाे छ । प्रत्येक दिन जुत्ताचप्पल खरिद गर्ने ग्राहकहरुलाई कुपनको व्यवस्था गरिनेछ । जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ । साथै असोज २१ गते लक्की ड्र मार्फत खोलिने कुपन मध्येबाट एक जनालाई २५ हजार रुपैयाँ बराबरको उपहार प्रदान गरिनेछ ।
मकवानपुर । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले दाना उद्योगको निरीक्षण गरेकी छिन् ।
मंगलबार चितवन भरतपुर महानगरपालिका-६ स्थित चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले सन्चालन गरेको उधोगको मन्त्री तामाङले निरीक्षण गरेकी हुन् । उद्योग निरीक्षणको क्रममा मन्त्री तामाङले उद्योगलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । आफू सधैं उद्यमीको पक्षमा रहेर काम गर्ने बताउदै उनले भनिन् दाना उद्योगको लागि आवश्यक बजेट बिनियोजन गर्न पहल गर्छु ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले दाना उद्योग सन्चालन गर्नका निमित्त दाना परीक्षण गर्न ल्याब र दाना राख्न गोदाम घरको आवश्यक रहेको बताउदै सहयोग गर्न आग्रह गरेका थिए ।
२०७८ सालमा करिब ५३ लाख लगानीमा संघले संचालन गरेको दाना उद्योगले दैनिक ८ टन दाना उत्पादन हुने गरेको बगालेले जानकारी दिए । उनका अनुसार संघले बार्षिक ७ करोडको कारोबार हुने गरेको छ ।
११४ वटा सहाकरी आबद्ध रहेको उक्त संघले जिल्लाका एक सय सहाकारीमा दाना उपलब्ध गराउने गरेको संघ ब्यबस्थापक जनार्दन पौडेलले जानकारी दिए ।