मकवानपुर । मकवानपुर प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जना र अवैध चाँदीसहित १ जना गरी ३ जनालाई पक्राउ गरेकाे छ । आइतबार २ सय २२ ग्राम २६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित २ जना र ३२ थान चाँदीको मूर्तिसहित १ जनालाई हेटौडा १५ बाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ का ४१ वर्षीय दामोदर लुईटेल र १८ वर्षीय सन्देश राज धामीलाई २ सय २२ ग्राम २६ मिलिग्राम लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरिएको हाे ।
काकडभिट्टाबाट हेटौंडा हुदैं काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ००६ ख ७४४३ नम्बरको यात्रुबाहक बसलाई रोकेर जाँच गर्दा लागुऔषधसहित लुइटेल र धामीलाई पक्राउ गरिएको प्रहरीले जाएकाे छ । प्रहरीका अनुसार मकवानपुर जिल्ला अदालतबाट १५ दिनको म्याद अनुमति लिई लुइटेल र धामीलाई हिरासतमै राखेर अनुसन्धान सुरु गरिएको छ ।
यसैगरी पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–१५, रातोमाटे चेकपोष्टबाट अवैध चाँदीसहित १ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यका ४८ वर्षीय मनोज कुमार झा रहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
प्रहरी चौकी रातोमाटेकाे प्रहरी टोलीले पथलैयातर्फबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७२६२ नम्बरको बसलाई रोकी जाँच गर्दा झाको साथबाट अवैध चाँदी बरामद गरिएकाे हाे । झाले शरीरको छातीमा फल्स बटम बनाई ल्याएको ३२ थान चाँदीको मूर्तिहरु (२ किलो १९६ ग्राम) बरामद गरेको प्रहरीले जानकारी दिएकाे छ ।
उक्त चाँदीकाे मुर्तिहरु सोमबारको बजार मुल्य अनुसार ३ लाख ६६ हजार ५ सय ४९ रुपैयाँ बराबर रहेकाे बताइएकाे छ । चाँदीको मूर्तिहरुसहित झालाई अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले ३४ औं प्रतिवेदन बुझाएको छ ।
आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाका प्रमुख उमाकान्त आचार्यलगायतको समूहले आयोगको आर्थिक वर्ष २०८०/८१ वार्षिक प्रतिवेदन प्रदेश देवकोटा समक्ष पेश गरेका हुन् ।
‘पारदर्शिता सबैभन्दा अपरीहार्य सवाल भएकोले यसतर्फ सचेत हुनु पर्छ’ प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटा भने ‘आर्थिक तथा अन्य कुनै पनि अख्तियारीमाथिको पारदर्शिताको लागि आयोगले गर्दै आएको काममा पूर्ण साथ रहने छ ।’ प्रतिवेदन अध्ययन गरेर थप सुझाव प्रदान गर्ने उनले बताए ।
आयोगले वर्षभरी गरेको काम कारबाही समेटिएको आर्थिक वर्ष २०८०/०८१ को ३४ औं वार्षिक प्रतिवेदन ६ परिच्छेद र ५२४ पृष्ठ रहेको छ । नेपालको संविधानको धारा २९४ को उपधारा ३ को व्यवस्था बमोजिम आयोगले प्रदेश प्रमुख समक्ष प्रतिवेदन पेस गरिएको हो । यस अवधिमा आयोगबाट भ्रष्टाचार सम्बन्धी उजुरीको प्रारम्भिक छानबिन एवं विस्तृत अनुसन्धान गर्ने, भ्रष्टाचार देखिएका उजुरीउपर विशेष अदालतमा आरोप–पत्र दायर गर्ने तथा विशेष अदालतबाट भएको फैसला उपर चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने गरेको छ।
आयोगको कार्यालय, हेटौंडाको उजुरी दर्ता र फछर्यौट सम्बन्धी विवरण हेर्दा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएकोमा ६९९ उजुरी विभिन्न माध्यमबाट फछ्यौट भएका छन् । त्यसै गरी मधेश प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित २६३, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित १८२ र स्थानीय तहसँग सम्बन्धित १७६१ गरी कुल २२०६ उजुरी दर्ता भएकोमा १५४३ उजुरी फछर्यौट भएका छन्।
सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा आयोगले अनुसन्धान गर्न वा गराउन तथा अनुसन्धानबाट भ्रष्टाचार मानिने कुनै काम गरेको देखिएमा त्यस्तो व्यक्ति र सो अपराधमा संलग्न अन्य व्यक्तिउपर कानूनबमोजिम अधिकार प्राप्त अदालतमा मुद्दा दायर गर्ने कार्य गर्दै आइरहेको छ ।
मकवानपुर । मकवानपरे साहित्यकार डीबी बर्तौलाको मुक्तक संग्रह ‘उज्यालोका बाछिटा’ को हेटौडामा विमोचन गरिएकाे छ । शनिबार साहित्य संगम मकवानपुरको आयोजनामा बर्तौलाको मुक्तक संग्रह विमोचनसँगै परिचर्चा गरिएको हो ।
संगमकाे ३४८ औं नियमित साहित्य सन्ध्यामा मुक्तक मञ्च मकवानपुरका संस्थापक अध्यक्ष तथा साहित्य संगम मकवानपुरका अध्यक्ष बर्तौलाको तेस्रो मुक्तक संग्रहको विमोचन गरिएको हो । यसअघि पन्जाबको पिंगलवाडा अमृतसरमा अन्तर्राष्ट्रिय लघुकथा सम्मेलनमा भाग लिन जादाँ यात्राकै क्रममा रेलमै उक्त कृति विमोचन गरिएकाे थियाे ।
यसअघि बर्तौलाको मुक्तक संग्रह ‘आगतको आँगनी’(२०७५) र ‘पसिनाको आभा’ (२०७८) सालमा प्रकाशित छन्। इन्डिगो इन्कद्वारा प्रकाशित १०८ पृष्ठको ‘उज्यालोका बाछिटा’ मा ९२ वटा मुक्तक सामवेश छन् । कृति विमोचन कार्यक्रमा बर्तौलाले ‘उज्यालोका बाछिटा’ बाट ३ वटा मुक्त वाचन गरेका थिए ।
हेटौंडा–२, स्थित मकवानपुर बहुमुखी क्यापसका उपप्राध्यापक घनश्याम घिमिरेले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । यसैगरी आयुष्मा भण्डारीले पाठकीय टिप्पणी गरेकी थिइन् । साहित्य संगम मकवानपुरका उपाध्यक्ष सानु खनालको सभाध्यक्ष तथा साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा विमोचन कार्यक्रम भएको हो ।
काठमाडौं । मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकामा स्थित सिस्नेरीमा रहेका एन्फा एकेडेमी घटनाकाे उच्चस्तरीय छानबिनकाे माग गरेका छन्।
असोज दोस्राे साता भएकाे अविरल वर्षाकाे कारण फुटबल खेलाडीको दुःखद निधनको विषयमा पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । भेटमा उनीहरुले घटनाकाे उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाहीको लागि ध्यानाकर्षण गराएका छन्।
एन्फाद्वारा सञ्चालित वत्सलादेवी माध्यमिक विद्यालयककाे होस्टेलमा बस्दै आएका ६ जना बालबालिकाको गत असोज १२ गते बाढीपहीरोमा परी मृत्यु भएको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पीडित परिवारले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा भएको भेटमा परिवारले कुलेखानी ड्याम खोल्ने पूर्व सूचना र लगातारको वर्षाका बीच पनि विद्यार्थीलाई सुरक्षित स्थानमा नसारिएको भन्दै लापर्वाहीको आरोप लगाएका छन्। साथै, मृतक बालबालिकाको सम्झनामा अक्षय कोष स्थापना गरी खेलकुद क्षेत्रको विकास गर्न पनि आग्रह गरिएको छ।
पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रर्वद्धन गर्न समेत आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, र दिपा बानियाँले प्रधानमन्त्रीलाई संयुक्त ध्यानाकर्षणपत्र बुझाएका थिए ।
प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै यसको यथार्थ छानबिन गर्ने र पीडित परिवारको पक्षमा सरकार रहने प्रतिबद्धता जनाउनु भएकाे बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्रीसँगकाे भेटमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, पूर्व संविधानसभा सदस्य सुवास ठकुरी र नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामा लगायतको उपस्थिति थियो।
महोत्तरी । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका -३ भटौलियामा सशस्त्र प्रहरीले प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको छ ।
८ असोज गते राति ११ बजेको समयमा सशस्त्र प्रहरी बल, नेपाल एकडारा चेकपोष्टबाट सइ राम गणेश महतोको कमाण्डमा खटिएको मोबाइल गस्तीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलोग्राम गाँजा बरामद गरेको हो ।
सशस्त्र प्रहरीको टोलीलाई देखी उक्त प्रतिबन्धित गाँजा भारततर्फ लैजाँदै गरेका ४ जना व्यक्तिहरू गाँजा छाडी भागेका छन् । फरार व्यक्तिहरूको खोजी भइरहेको जलसागर स्थित सशस्त्र प्रहरी बल,नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीको जनाएको छ ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक विकास अधिकारीले जानकारी दिएका छन् ।