काठमाडौं । मकवानपुरकाे इन्द्रसरोवर गाउँपालिकामा स्थित सिस्नेरीमा रहेका एन्फा एकेडेमी घटनाकाे उच्चस्तरीय छानबिनकाे माग गरेका छन्।
असोज दोस्राे साता भएकाे अविरल वर्षाकाे कारण फुटबल खेलाडीको दुःखद निधनको विषयमा पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । भेटमा उनीहरुले घटनाकाे उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाहीको लागि ध्यानाकर्षण गराएका छन्।
एन्फाद्वारा सञ्चालित वत्सलादेवी माध्यमिक विद्यालयककाे होस्टेलमा बस्दै आएका ६ जना बालबालिकाको गत असोज १२ गते बाढीपहीरोमा परी मृत्यु भएको थियो। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा पीडित परिवारले घटनाको उच्चस्तरीय छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेका हुन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाको सहजीकरणमा भएको भेटमा परिवारले कुलेखानी ड्याम खोल्ने पूर्व सूचना र लगातारको वर्षाका बीच पनि विद्यार्थीलाई सुरक्षित स्थानमा नसारिएको भन्दै लापर्वाहीको आरोप लगाएका छन्। साथै, मृतक बालबालिकाको सम्झनामा अक्षय कोष स्थापना गरी खेलकुद क्षेत्रको विकास गर्न पनि आग्रह गरिएको छ।
पीडित परिवारले मृतक बालबालिकाका नाममा अक्षय कोष स्थापना गरी खेल क्षेत्रको प्रर्वद्धन गर्न समेत आग्रह गरेका छन् । पीडित परिवारका तर्फबाट ललितबहादुर घलान, भक्तबहादुर बलम्पाकी, कमला रेग्मी, टीकाराम आचार्य, हेमबहादुर योञ्जन, र दिपा बानियाँले प्रधानमन्त्रीलाई संयुक्त ध्यानाकर्षणपत्र बुझाएका थिए ।
प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै यसको यथार्थ छानबिन गर्ने र पीडित परिवारको पक्षमा सरकार रहने प्रतिबद्धता जनाउनु भएकाे बर्तौलाले जानकारी दिए ।
प्रधानमन्त्रीसँगकाे भेटमा बागमती प्रदेशका पूर्व मुख्यमन्त्री शालिकराम जम्मरकट्टेल, प्रदेश सांसद कुमारी मोक्तान, पूर्व संविधानसभा सदस्य सुवास ठकुरी र नेपाली काँग्रेस मकवानपुरका जिल्ला सभापति बुद्धशरण लामा लगायतको उपस्थिति थियो।

