मकवानपुर । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने रकमकाे सिमा ताेकेकाे छ । १६ मंसिर २०८१ मा हुने उप निर्वाचनकाे लागि विभिन्न पदकाे उम्मेदवारहरुकाे खर्च सिमा ताेकिएकाे हाे ।
आयोगले महानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले सात लाख ५० हजार र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले पाँच लाख ५० हजार खर्च गर्न पाउने गरी सिमा निर्धारण गरेकाे छ। यसैगरी नगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले चार लाख ५० हजार र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारले तीन लाख ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने गरी सिमा ताेके आयोगका प्रवक्ता नारायणप्रसाद सापकोट जानकारी दिए ।
सापकाेटाका अनुसार जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख पदका उम्मेदवारले ५० हजार रुपियाँसम्म खर्च गर्न पाउने सिमा ताेकिएकाे छ भने महानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले तीन लाख रुपियाँ खर्च गर्न पाउने भएका छन् । यसैगरी उपमहानगरपालिकाका वडा अध्यक्ष पदका उम्मेदवारले दुई लाख रुपियाँ खर्च गर्न पाउने सिमा निर्धारण गरिएकाे छ । गाउँपालिका वडा अध्यक्ष पदका उम्मेदवारले खर्च गर्न पाउने रकमकाे सिमा एक लाख ५० हजार रुपियाँ निर्धारण गरेकाे छ ।
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ तथा स्थानीय तह निर्वाचन नियमावली, २०७३ को नियम ४० बमोजिम उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा भएको अवधिसम्मका लागि खर्चको सिमा निर्धारण गरिएकाे हाे ।
जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, गाउँपालिका वडाध्यक्ष ९, नगरपालिका प्रमुख १, उपप्रमुख १ र वडाध्यक्षका २१ सहित स्थानीय तहका ३९ पद रिक्त छन्। नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा पदावधि समाप्त नहुँदै पद रिक्त भएमा र एक वर्षभन्दा बढी समय बाँकी रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ।
स्थानीय तह उपनिर्वाचनका लागि २५ वटा दल दर्ता भएका छन् । २०७९ सालका स्थानीय तह निर्वाचनमा भाग नलिएकाे राष्ट्रिय स्वतन्त्र (रास्वपा) ले समेत उप निर्वाचनकाे लागि दल दर्ता गराएकाे आयोगले जनाएकाे छ ।

