लाग्छ अझै मैले लेखेको चिठी, शहर पुगेको छैन ।
गाउँमा अस्पताल पुगेको छैन, डाक्टर पुगेको छैन ।
उ ! त्यो तुइनमा झुन्डिएको देशको भविष्य हो बाबू,
कोही विद्यालय पुगेको छैन, कोही घर पुगेको छैन ।
गाउँमा विकास नगरेर पनि, सरकार ठिकै गरेछस्,
आमा खुशी नै छिन्, छोरो मरेको खबर पुगेको छैन ।
छोरी ! अघाउन सिक भोकमा, देख्न सिक अँध्यारोमा,
त्यो कर्णाली हो, चामल पुगेको छैन, नजर पुगेको छैन ।
ए लोकतन्त्र ! तिमी नपग्लनु, केहिबेर स्खलित नहुनु
मलाई अझै एक सन्तान जन्माउने रहर पुगेको छैन ।
१५ औं चितवन महोत्सव – २०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा तृतीय स्थान प्राप्त गजल
मकवानपुर । वर्षौदेखि जग्गाको पुर्जा माग गर्दै आएका मकवानपुर मनहरी ४ का वनकरिया समुदायले सरकारसँग आफूहरु थाकेको गुनसो गरेका छन् । वनकरिया समुदायकी अगुवा सन्तोषी वनकरियाले वनकरिया जाति भूमी पुजक भएर पनि जग्गा नपाएपछि सरकारसँग संघर्ष गर्दागर्दै थाकेको बताइन् ।
२०६२ सालमा २० बर्षको लागि दिइएको कागजको समय २०८२ बैशाखमा सकिदै छ । त्यसपछि आफूहरुको वासस्थान कहाँ भन्ने टुङ्गो नभएपछि उनीहरुमा निराशा सँगै आक्रोशित छन् । “वनले हामीलाई पक्कै हटाउँछ, अनि हामी कहाँ जाने ?” सन्तोषिले भनिन् ।
“मैले साबुन उत्पादन गर्ने सीप सिकेको थिएँ । जानेको सीपको प्रयोग गरेर व्यवसायी बनौं न त भन्दा लालपुर्जा नभएर प्यान दर्ता गर्न पाइनँ” उनले भनिन् । व्यवसाय दर्ता गर्न नपाएपछि काम नै तीन महिना रोकिएको उनले बताइन् । स्थानीय वडाध्यक्ष प्रकाश थापाले आफ्नो जग्गा राखेर उद्योग दर्ता गर्ने वातावरण मिलाइदिएपछि उनले उद्योग दर्ता गरेर काम गर्दै आएकी छिन्। “सधैं हामी यसरी नै कतिञ्जेल चल्ने ?” उनले प्रश्न गरिन् ।
स्थानीय संगिता वनकरियाले आफ्नो समुदायको लागि भत्ता होइन,जग्गा र रोजगारी चाहिएको बताइन्। जग्गाको पुर्जा र रोजगारी भए सरकारले आफूहरुलाई भत्ता नदिएपनि त्यो भन्दा बढी हुने उनले बताइन् । “सरकारले बालबालिकालाई १० कक्षासम्म निःशुल्क पढाइदिएको छ भन्छन्, तर हाम्रो बालबालिकाको महिनैपिच्छे शुल्क बुझाइरहेका छौं” उनले भनिन् “यसको लागि हामीले कस्लाई भन्नुपर्ने हो ?” महिनाको ४ हजार रुपैंया भत्ता ३÷३ महिनाको अन्तरमा प्राप्त हुदाँ त्यसले उपचार गर्न, खान र बालबच्चा पढाउन निकै समस्या भएको उनले बताइन् ।
यसैगरी स्थानीय राम वनकरियाले आफूहरु बसोबास गर्ने स्थानमा बाटोको पनि असुविधा रहेको बताए । बाटो पनि छैन । बर्षामा खोलाको बाटो हिड्नै सकिदैनँ, बालबालिकाहरुलाई विद्यालय पुग्न मुस्किल छ, भएको कच्चीबाटोमा बर्षभरी गाडि चल्ने व्यवस्था मिलाइदिन पर्यो” उनले भने “स्थानीय सरकार र प्रदेश सरकारले हाम्रो समस्यामा पनि ध्यान दिनुपर्यो।”
यस्तै अर्का स्थानीय बिष्णुबहादु प्रजाले विद्यालय टाढा रहेको कारण वनकरिया बालबालिकाहरुको पढाइ छुट्ने गरेको बताए । “निकुञ्जका कारण बस्न पनि निकै समस्या भइरहेको उनले बताए । आर्मीहरु घर घेर्न आउँछन्, यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?” उनले भने ।
मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा रहेको वनकरिया वस्तिमा संवादको लागि पुगेका प्रदेश सभा सदस्यसँग उनीहरुले आफूहरुको पीडा सरकारले वर्षौदेखि सम्बोधन नगरेको गुनासो गरे ।
बागमती प्रदेशका उद्योग, पर्यटन तथा वातावरण समितिका सभापती आनन्द कुमार श्रेष्ठ, पूर्व मन्त्री तथा बागमती प्रदेशसभाका सदस्य कुमारी मुक्तान, प्रदेशसभाका सदस्यहरु समिता खड्गी, सुना परियार, गिरबहादुर तामाङले उनीहरुको समस्या सुनेका थिए । समस्या सुनेर मात्रै फर्कने नभइ समाधानको पहल आफूहरुले गर्ने आश्वासन दिएका छन् ।
कार्यक्रममा युएनडिपिका नीति तथा कार्यक्रम समर्थन व्युरो उपसहायक प्रशाशक र उपनिर्देशक डाक्टर फ्रान्सिन पिकअपले
वनकरिया समुदायका समस्याहरु सांसदहरु र आफुले बुझेको बताए । अब नीति निर्माण तहमा काम गर्नेमा आफूले विश्वास लिएको बताए ।
लोपोन्मुख जाती वनकारिया समुदायको समस्याका बिषयमा बागमती प्रदेश सभा र प्रदेश सभाको समिति मार्फत समाधान गर्ने प्रतिवद्धता जनाइएको छ । वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताबीच अन्तरसंवाद कार्यक्रममा सहभागी प्रदेश सांसदहरुले
वनकरिया समुदायको न्यायका लागि पहलकदमी चाल्ने प्रतिवद्धता गरेका छन् ।
निकुञ्ज क्षेत्रको जमिनमा बसोबास गर्दै आएका वनकरिया समुदायलाई जग्गा धनी पुर्जा उपलब्ध गराइदिन गरेका उनीहरुको मागको सम्बोधन गर्दै प्रदेश सभा सांसद तथा प्रदेश समितिका सभापति र सदस्यहरुले उनीहरुको न्यायका लागि सदन र समितिमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।
सभापति आनन्द श्रेष्ठले वनकरियाबीचमा आफू पहिलो पटक उपस्थित भएको बताउँदै उनीहरुको न्यानको लागि आफूले आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने बताए।वनकरिया समुदायको हक अधिकारको लागि सम्वन्धित क्षेत्रको जनप्रतिनिधि नै सक्रिय हुनुपर्ने बताए ।
“प्रदेश सभाको समितिको तर्फबाट गर्नुपर्ने कामलाई हामीले हेरिहरेका छौ” उनले भनें । यस्तै, शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सदस्य तथा प्रदेशको पूर्व मन्त्री कुमारी मोक्तानले यस बस्तीमा यो भन्दा धेरै समस्या रहेको स्मरण गरिन् ।
यस समुदायमा यो भन्दा पहिला धेरै समस्या थियो, उनले भनिन् “पछिल्लो समय वनकरियालाई विभिन्न सेवा सुविधाहरु उपलब्ध गराएको छ, जग्गा प्राप्तीको लागि पनि निकै प्रयत्न गरिरहेको छ,प्रदेश सरकारले जमिनको बिषयमा बोल्न सक्छ ।” तर संघको अधिनमा भएकोले अपनत्व लिन नसकिने उनले बताइन् ।
यता, सार्वजनिक लेखा समिति सदस्य गिर बहादुर तामाङले वनरिया बस्तीको संरक्षण र अधिकारको लागि आफ्नो समितिमा आवाज उठाउँने र सदनबाट कानुन बनाउने बताइन् । अर्थ समितिकी सदस्य सुना परियारले वनरिया समुदायको पीडा सुनेको भन्दा आफनै आँखाले देख्दा निकै दुखदायी रहेको बताइन्।
यसअघि वनकरिया जातीको बिषयमा सदन र समितिमा कहिल्यै अवाज नउठाएको स्वीकार गर्दै उनले भनिन् “यसअघि यसरी बुझ्ने मौका पाइएको थिएन,अब वनकरियाको दुख बुझ्ने मौका पायौ, पक्कै पनि सदनमा कुरा उठाउनेछु ।” यस्तै, शिक्षा स्वास्थ्य तथा कृषि समिति सदस्य समिता खड्कीले वनकरिया समुदायका हितका लागि यसअघि केही नगरे पनि आगामी दिनमा यस समुदायको अधिकारको लागि सधैं आवाज उठाउने बताइन् ।
मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा २ को आयोजना, नर्बेजियन दुतावास काठमाडौं तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को सहकार्यमा वनकरिया समुदायका विविध सवालहरुमा जनप्रतिनिधि र जनताका बीच अन्तरसम्वाद कार्यक्रम गरिएको हो ।
थानेश्वर न्यौपाने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणाको अन्तिम तयारीमा पुगेको छ ।
विहीबार वडा कार्यालयले पत्रकार भेटघाट गर्दै बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणाको तयारी पुरा भएको जानकारी गराएको हो ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ आगामी शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष सुशिल घिमिरेले जानकारी दिए ।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ९ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसैगरी २४ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ६०० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ६४६ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूहलगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको र यहाँ बालबालिकाहरुको उपस्थिती तथा बालसवाल महत्वपूर्ण रुपमा हेर्ने गरिएको वडा सदस्य तथा बालमैत्री स्रोत व्यक्ति रञ्जिता सिलवालले बताइन् ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बाल वचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बालअधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरीएको अध्यक्ष घिमिरेले बताए ।
जसमा ४७ वटा सूचकहरु १०० प्रतिशत र बाकीं ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेका छौं । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधी, २०७९ को मार्गदर्शन घोषणा गर्न लागिएको हो ।
यस वडाले बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणाको लागि तोकिएको सूचकहरु पुरा गरेको अध्यष घिमिरेले बताए । घर धुरी सर्वेक्षण २०७९ अनुसार यस वडामा २ हजार ८७५ घरधुरी रहेका छन् । यस वडाको कुल जनसंख्या १४ हजार १२७ जसमध्ये ७ हजार ९८ महिला, ७ हजार २९ पुरुष रहेका छन् । यस वडामा कुल बालबालिका ३ हजार ७९८ छन् जसमा बालक २ हजार १६ र बालिका १ हजार ७८२ रहेका छन्।
मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । हेटौंडा १० वडाले ११ र १२ माघमा दोस्राे घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिने बुधबार पत्रकार भेटघाटमार्फत जानकारी दिइएको हो।
वडाध्यक्ष फूर्वा दोर्जे तामाङका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र स्वरोजगार सिर्जनाको लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएकाे हाे । नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि र ढाका कपडाका सामग्री प्रदर्शनी र बिक्रीमा राखिने छ। एक सय वटा निःशुल्क स्टलहरू व्यवसायीहरूलाई उपलब्ध गराइने उनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार स्थानीय संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ। प्रतियोगितामा सबै वडाका इच्छुकले भाग लिन सक्ने बताइएकाे छ । नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ५० हजार रुपैंया, द्वितीय स्थान प्राप्त गर्नेले ३५ हजार रुपैंया र तृतीयले २० हजार रुयैंया पुरस्कार प्राप्त गर्ने छन्। साथै सान्त्वना पुरस्कार स्वरुप ४ समूहलाई प्रत्येक समूहलाई ५/५ हजार रुपैंया प्रादन गरिने उनले जानकारी दिए ।
कार्यक्रम आयोजनाका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरू गठन गरिएको छ। टोल विकास संस्था, नगर समन्वय समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब र राजनीतिक दलहरूको सहकार्यमा कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष तामाङले जानकारी दिए।