मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम हुने भएकाे छ । हेटौंडा १० वडाले ११ र १२ माघमा दोस्राे घरेलु उत्पादन प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम आयोजना गरिने बुधबार पत्रकार भेटघाटमार्फत जानकारी दिइएको हो।
वडाध्यक्ष फूर्वा दोर्जे तामाङका अनुसार स्थानीय उत्पादनको प्रवर्द्धन, बजारीकरण र स्वरोजगार सिर्जनाको लक्ष्यसहित प्रदर्शनी आयोजना गर्न लागिएकाे हाे । नगरका १९ वटै वडाका घरेलु तथा हस्तकला, कृषि र ढाका कपडाका सामग्री प्रदर्शनी र बिक्रीमा राखिने छ। एक सय वटा निःशुल्क स्टलहरू व्यवसायीहरूलाई उपलब्ध गराइने उनले जानकारी दिए ।
अध्यक्ष तामाङका अनुसार स्थानीय संस्कृति र परम्पराको संरक्षणका लागि सांस्कृतिक नृत्य प्रतियोगिता पनि आयोजना गरिने छ। प्रतियोगितामा सबै वडाका इच्छुकले भाग लिन सक्ने बताइएकाे छ । नृत्य प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेले ५० हजार रुपैंया, द्वितीय स्थान प्राप्त गर्नेले ३५ हजार रुपैंया र तृतीयले २० हजार रुयैंया पुरस्कार प्राप्त गर्ने छन्। साथै सान्त्वना पुरस्कार स्वरुप ४ समूहलाई प्रत्येक समूहलाई ५/५ हजार रुपैंया प्रादन गरिने उनले जानकारी दिए ।
कार्यक्रम आयोजनाका लागि ५७ सदस्यीय मूल समिति र ६ वटा उपसमितिहरू गठन गरिएको छ। टोल विकास संस्था, नगर समन्वय समिति, उद्योग वाणिज्य संघ, विद्यालय, जाल्पादेवी उद्यमी महिला केन्द्र, स्थानीय क्लब र राजनीतिक दलहरूको सहकार्यमा कार्यक्रम सञ्चालन हुने वडाध्यक्ष तामाङले जानकारी दिए।

