मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ । बुधबार उक्त वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हो ।
‘बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी’ भन्ने मुख्य उद्देश्यले १२ नम्बर वडालाई बालमैत्री वडा घाेषणा गरिएकाे हाे । हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मिना लामाले वडालाई बालमैत्री निकृष्ट बालश्रम मुक्त, बालबिवाह मुक्त तथा स्थानीय शासन युक्त वडा घाेषणा गरेकी हुन् । घाेषणा कार्यक्रममा नगर प्रमुख लामाले वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने भन्दै बालश्रम र बालविवाह न्यूनीकरण गर्न अभियानको रुपमा अघि बढाइएको बताइन् ।
कार्यक्रममा वडाको प्रतिवेदन वडा सदस्य महेश भट्टराईले प्रस्तुत गरेका थिए । बालमैत्री घाेषणाकाे लागि आवश्यक ५१ वटा सुचक मध्ये ४७ वटा सूचकमा सत प्रतिशत र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम ८० प्रतिशत नतिजा हासिल भएकाेले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको उनले जानकारी दिए ।
वडामा १८ वर्ष मुनिका बालबालिका ३ हजार ७८ जना रहेकोमा १ हजार ५ सय ७८ बालक र १ हजार ५ सय बालिका रहेकाे प्रतिवेदनमा उल्लेख छ । वडामा सामुदायिक र संस्थागत गरी ५ वटा विद्यालय सञ्चालनमा रहेको छ भने २२ वटा बालसमुह र १ वडास्तरीय बाल समुह सञ्जाल रहेका छन् । जसमा ५५० जना बालबालिकाहरु आवद्ध रहेको भट्टराईले बताए ।
हेटौंडा–१२, नम्बर वडाका वडाध्यक्ष अर्जुन तिवारीको अध्यक्षता तथा नगर प्रमुख लामाको प्रमुखको आतिथ्यतामा भएकाे कार्यक्रममा उप प्रमुख राजेश बानियाँ, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, बाल समुहका अध्यक्ष, विद्यार्थी, स्काउट, नेपाल प्रहरी तथा कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

