थानेश्वर न्यौपाने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासन युक्त स्थानीय तह घोषणाको अन्तिम तयारीमा पुगेको छ ।
विहीबार वडा कार्यालयले पत्रकार भेटघाट गर्दै बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणाको तयारी पुरा भएको जानकारी गराएको हो ।
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ आगामी शनिवार हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ लाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष सुशिल घिमिरेले जानकारी दिए ।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ९ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसैगरी २४ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ६०० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ६४६ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूहलगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको र यहाँ बालबालिकाहरुको उपस्थिती तथा बालसवाल महत्वपूर्ण रुपमा हेर्ने गरिएको वडा सदस्य तथा बालमैत्री स्रोत व्यक्ति रञ्जिता सिलवालले बताइन् ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बाल वचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बालअधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरीएको अध्यक्ष घिमिरेले बताए ।
जसमा ४७ वटा सूचकहरु १०० प्रतिशत र बाकीं ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अवस्थामा आईपुगेका छौं । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधी, २०७९ को मार्गदर्शन घोषणा गर्न लागिएको हो ।
यस वडाले बालमैत्री स्थानीय शासन युक्त पालिका घोषणाको लागि तोकिएको सूचकहरु पुरा गरेको अध्यष घिमिरेले बताए । घर धुरी सर्वेक्षण २०७९ अनुसार यस वडामा २ हजार ८७५ घरधुरी रहेका छन् । यस वडाको कुल जनसंख्या १४ हजार १२७ जसमध्ये ७ हजार ९८ महिला, ७ हजार २९ पुरुष रहेका छन् । यस वडामा कुल बालबालिका ३ हजार ७९८ छन् जसमा बालक २ हजार १६ र बालिका १ हजार ७८२ रहेका छन्।

