मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएकाे छ ।
शनिबार ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने नाराका साथ हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाले वडालाई निकृष्ट बालश्रम मुक्त, बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरेर ५१ वटा सूचक पूरा भएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको वडाध्यक्ष सुशील घिमिरेले जानकारी दिए । ४७ वटा सूचकमा शतप्रतिशत र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम प्रतिशत नतिजा हासिल गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हाे ।
वडामा सामुदायिक र संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ९ वटा विद्यालयहरु सञ्चालनमा छन् । यसैगरी २४ वटा बालसमूहहरु र १ वडास्तरीय बाल समूह सञ्जाल रहेको छ जसमा ६०० जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ६४६ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको वडा सदस्य ज्ञानबहादुर थापाले बताए ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह, वन समूहलगायतका विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील रहेको र यहाँ बालबालिकाहरुको उपस्थिती तथा बालसवाल महत्वपूर्ण रुपमा हेर्ने गरिएको वडा सदस्य तथा बालमैत्री स्रोत व्यक्ति रञ्जिता सिलवालले बताइन् ।
पूर्ण खोप वडा घोषणा, पूर्व साक्षर वडा घोषणा, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको यस वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको बाल वचाउ, बाल संरक्षण, बाल विकास, बाल सहभागिता गरि बालअधिकारका चार क्षेत्रको ३६ र संस्थागत विकासको १५ समेत गरि बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरीएको वडाध्यक्ष घिमिरेले बताए ।
जसमा ४७ वटा सूचकहरु १०० प्रतिशत र बाकीं ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्युनतम प्रतिशत नतिजा हासिल गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधी, २०७९ को मार्गदर्शन घोषणा गर्न लागिएको हो । यस वडाले बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणाको लागि तोकिएको सूचकहरु पुरा गरेको वडाध्यक्ष घिमिरेले जानकारी दिए ।
घर धुरी सर्वेक्षण २०७९ अनुसार यस वडामा २ हजार ८७५ घरधुरी रहेका छन् । यस वडाको कुल जनसंख्या १४ हजार १२७ जसमध्ये ७ हजार ९८ महिला, ७ हजार २९ पुरुष रहेका छन् । यस वडामा कुल बालबालिका ३ हजार ७९८ छन् जसमा बालक २ हजार १६ र बालिका १ हजार ७८२ रहेका छन्।
वडाध्यक्ष घिमिरेले २०७९ साल मंसिर १५ गते सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण तथा प्रतिवद्धता जाहेर गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा अभियान अघि बढेको जानकारी दिए । बालमैत्री स्थानीय शासन दिगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थितिपत्र २०८१ र पञ्चवर्षीय रणनीतिक योजना तयार भइसकेको छ ।
बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शनअनुसार २०७९ साल भदौ २४ गते बसेको हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकले वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगरपालिकाका प्रवक्त सविन न्यौपाने, वडाअध्यक्ष, कार्यपालिका सदस्य तथा अन्य जनप्रतिनिधि, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी बाल संजालमा आवद्ध बालबालिका लगायत विभिन्न संघसंस्थाको सहभागिता रहेको थियो ।
म ढुङ्गाले बनेको मूर्तिसँग प्यार माग्दैछु ।
कसैको जीतको लागि म आफ्नो हार माग्दैछु ।
निमोठी फूलको घाँटी सजाई माथमा तिम्रो,
कुनै संसार भत्काई नयाँ संसार माग्दैछु ।
मुखौटो हुन्छ मान्छेको, चिनिन्नन् झट्ट हेर्दामा
चिनिन्छन् दुःख पर्दामा र पो जङ्घार माग्दैछु ।
कुँड्याई धारिलो तरबार रोजेँ शान्तिको बाटो,
तिमी निर्दोष काट्दैछौ, म चाहिँ धार माग्दैछु ।
थियो जे जे सबै सुम्पेँ, स्वयं रित्तो भएँ आज,
चितामा ढल्नको लागि कुनै आधार माग्दैछु ।
१५ औं चितवन महोत्सव – २०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा प्रथम स्थान प्राप्त गजल
फोडेर दुश्मनीको पर्खाल ढाल्न सक्छ ।
पायो भने युवाले सत्ता सम्भाल्न सक्छ ।
टाढा उडेर जाँदा ए भाइ यत्ति बुझ्नु
आकाशले कसैको सिउँदो पखाल्न सक्छ ।
काट्यौ तथापि खुट्टा यी हातले अझै नि,
त्यो सूर्यचन्द्र अङ्कित झण्डा उचाल्न सक्छ ।
जो गर्छ प्रेम तिम्रो केवल शरीरसँग,
उसले लुकी अँगालो अर्कै अँगाल्न सक्छ ।
खाएर जिन्दगीमा लाखौं अनन्त चोट,
अनि बल्ल जिन्दगीले क्यै काम थाल्न सक्छ ।
१५ औं चितवन महोत्सव-२०८१ मा आयोजित राष्ट्रव्यापी खुला गजल प्रतियोगितामा द्वितीय स्थान प्राप्त गजल
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले सम्मकै सबैभन्दा अफ्ठेराे स्थितिमा रहेकाे बताएका छन् ।
बाराकाे जितपुर सिमारा उपमहानगरपालिकामा पार्टीकाे नगर अधिवेशनमा सहभागी हुन जादै गर्दा हेटौंडामा शनिबार कार्यकर्ता भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । अहिलेकाे देशकाे स्थिति सामान्य आँखाले हेर्दा केही देखिन्न तर नदेखिने अस्थिरता रहेकाे अध्यक्ष लिङ्देनले बताए ।
‘कुटनीतिक तथा राजनितिक हिसावले देशमा संकट पैदा भएकाे छ‘ उनले भने । सुशासनकाे नारा दिंदै संविधानमा नमिलेकाे कुरा मिलाउँछु भनेर काङ्ग्रेस र एमालेले सरकार निर्माण गरेकाे उनले बताए । ‘भ्रष्टाचारको कारवाहीबाट जाेगिनका लागि अहिलेकाे सरकार निर्माण भएकाे छ’ लिङ्देनले भने ‘भ्रष्टाचारलाई संस्थागत गर्न सरकार गठन भएकाेले देशलाई जाेगउन याे व्यवस्था र याे नेतृत्वकाे विकल्प चाहिएकाे छ ।’
श्रम स्वीकृति लिएर ६१ लाख युवाहरु बैदेशिक राेजगारी रहेकाे बताउँदै उनले भने ‘गैरकानुनी रुपमा जाने कति हाेलान? हाम्राे युवाहरु वेचिएर आएकाे रेमिटेन्सकाे भरमा अर्थतन्त्र चलेकाे छ ।’ ‘देशकाे समस्या भनेकै २०४६ सालपछि सिमित पार्टी र सिमिति व्यक्ति र उनीहरुद्वारा ल्याएकाे व्यवस्था हाे’ उनले भने । साढे तीन दशकदेखि उनीहरुले ल्याएकाे व्यवस्था नभत्काएसम्म देश सहज बाटाेका हिड्न नसक्ने उनले बताए ।
‘राष्ट्रियता कमजाेर भएकाे छ, नेतृत्व तहकाे केटाकेटी व्यवहारकाे कारण देश दलदलमा फसेकाे छ’ उनले भने ‘भूराजनीतिक चक्रव्युकाे सिकार बन्ने अवस्थामा देश रहेकाेले अब जनताले आशा गरेकाे पार्टी भनेकै राप्रपा हाे ।’ राजनीतिलाई पेशा मान्ने एकै हुने बताउँदै उनले भने ‘हामी पूर्ण रुपमा सुशासनकाे बाटाेमा छाै, राष्ट्रियता प्रजातन्त्र र शुसासनका लागि राप्रपा छ, राष्ट्रियताकाे सवालमा हामी कहिल्यै चुकेका छैनाै ।’ देशकाे प्रधानमन्त्री पनि जनताले मत हालेर छान्न पाउनु पर्ने उनले बताए ।
लिङ्देनले हिजाे व्यक्तिकाे नामबाट पार्टीकाे मान्छे चिनिन्थ्याे तर हाल एउटै पार्टीकाे नामबाट मात्र चिनिने बताए । हाल राप्रपाकाे कार्यकर्ता भनेपछि ठाडाे शिर बनाएर हिड्न सक्छ, कमल थापाले पार्टी छाेडेर हिड्दा पार्टी बिग्रियाे त ? उनले प्रश्न गरे । दशा लागेरै थापाले पार्टी छाेडेर हिड्नु भएकाे हाे, दशा नै लागेसी के गर्न नसकिने उनले बताए । व्यक्तिबाट बल्ल हामी पार्टीकाे मान्छे भएका छाै उनले भने ‘पशुपति समशेर गुट, सुर्य वहादुर थापा गुट भन्ने हाल छैन । मकवानपुरलाई नसाेधी केन्द्रीय निर्णय पनि केही हुदैन ।’
हामी प्रजातन्त्रमा विश्वास गर्छाै, प्रदेश खारेजी गर्ने भन्ने कुरामा भ्रम सिर्जना हुन दिन नहुने उनले बताए । ‘हामीले प्रदेशमा सहभागी भएकाे जनताले नरुचाएकाे छैन, प्रदेशमा सहभागी नहुदैमा प्रदेश खारेज हुदैंन’ उनले भने । हामी प्रदेशमा सहभागी नहुँदा पार्टी कमजाेर हुने उनकाे भनाई थियाे । ‘व्यवस्थाकाे हरेक निर्वाचन प्रक्रियामा सहभागी हुनु पर्छ, भएका छाैं’ उनले भने ‘हामीले परिवर्तन गर्न खाेज्ने हाे । नसकेकाे खण्डमा अहिलेकाे व्यवस्थाकाे उपयाेग गरेरै लड्नुकाे विकल्प छैन।’
लिङ्देनले २०८२ बैशाखसम्ममा नगर, जिल्ला अधिवेशन सकिसक्ने याेजना अनुरुप नगर अधिवेशनमा सहभागी हुने बताए । संगठनलाई उच्च प्राथमिकतामा राखेर वडा तहकाे अधिवेशन सकाएर जिल्ला अधिबेशन गर्नुपर्ने जिम्मेवारी पूरा गर्न हरेक जिल्लामा निर्देशन पठाइसकेकाे उनले जानकारी दिए ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हाल देश दाेसाँधमा अड्किएकाे बताए । पार्टीमा गुट उपगुट नभएकाे बताउँदै जसले गुटकाे नेतृत्व गर्न खाेज्छ उसलाई कारवाही गर्दै आएकाे उनले बताए । ‘हामी एक ढिक्का भयाै भने २०८१ मै केही गर्न सक्छौं उनले भने । सहकारीकाे प्रसंगमा सिंहले भने ‘सहकारीले गरीव जनताकाे पैसा व्याज सहित फिर्ता गर्नुपर्छ ।’ सम्पत्ति शुद्धिकरण गरेर ठुलाे रकम खाएर डकार्नेलाई अगाडि ल्याउनुपर्ने बताउँदै उनले भने ‘राष्ट्र जतना र देश बचाउनका लागि मकवानपुरका जनता लागिपरिरहेका छन् ।’ अबकाे विकल्प राप्रपा बाहेक अरु कुनै पार्टी नभएकाे उनले बताए ।
केन्द्रीय अध्यक्ष लिङ्देनकाे प्रमुख आतिथ्यता तथा पार्टी जिल्ला अध्यक्ष शिवराम थापाकाे सभाध्यक्षता भएकाे कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य रामबहादुर थाेकर, रामहरी न्याैपाने, प्रशिक्षण विभाग उपप्रमुख खुस्वु वली, बागमती प्रदेश सचिव गुन्जन बहादुर न्याैपाने, जिल्ला वरिष्ठ उपाध्यक्ष सागर थापा, महिला केन्द्रीय सचिव सरस्वति थिङ केसीलगायतकाे उपस्थिति रहेकाे थियाे ।
बुटवल । प्रीति आत्रेय ज्ञवालीकाे “मणिराम” मुक्तकसङ्ग्रह बुटवलमा लोकार्पण गरिएकाे छ । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीको आयोजनामा नेपालकै पहिलो महिला राशिफल लेखिका तथा स्तम्भकार प्रीतिद्वारा लिखित “मणिराम” मुक्तकसङ्ग्रह लोकार्पण गरिएकाे हाे ।
वटुकहरुको स्वस्तिवाचनबाट शुरु गरिएकाे कार्यक्रमको प्रतिष्ठान अध्यक्ष पुरुषोत्तम पाण्डेले अतिथिहरुलाई स्वागत गर्दै प्रतिष्ठान सदैव भाषा, कला, संस्कृतिको संरक्षणका क्षेत्रमा अघिबढिरहेको छ बताए । साहित्यकार बुँद रानालगायतले मुक्तक संग्रहकाे विमाेचन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका रानाले मणिराम कृतिकालाई प्रीतिलाई बधाई तथा कृतिकारका ससुराबुबा मणिरामलाई जन्मोत्सवका अवसरमा बिसासय आयुको शुभकामना दिए । उनले प्रीतिले कृतिमार्फत पितृभक्ति र सामाजिक सद्भावको अभियन्ता बनेको बताए । मुक्तककार प्रीतिले ससुराबुबा मणिराम ज्ञवालीको जन्मदिनको अवसरमा मणिराम मुक्तकसङ्ग्रह विमोचन गराएर ससुराप्रति सम्मानोपहार प्रदान गरेकाे बताइन् ।
कृतिका समीक्षक समेत रहेका डा. मुरारी पराजुलीले ऋग्वेदको मुक्तकीय आयाम, भर्तृहरि, अग्निपुराण आदिमा चर्चा गरिएको मुक्तकको प्रसंग र यसको गुणवत्ताको बारेमा प्रष्ट उल्लेख भएको जानकारी दिए । मुक्तकले हृदयलाई चमत्कृत गर्न सक्नुपर्ने, मुक्तक सुनेर, पढेर मनमा स्वतस्फूर्त अहा ! को भाव प्रस्फुटित हुनुपर्ने र छोटो भएर पनि मुटुभेदन गर्न सक्ने हुनुपर्छ भन्ने विचार राख्दै अहिले त्यस्ता मुक्तक सुन्न, पढ्न कमै पाइने गरेको उनले बताए ।
‘कृतिकार प्रीतिकाे अंग्रेजी र संस्कृत भाषामा राम्रो दख्खल भएको, पारिवारिक विरासतको रुपमा बौद्धिकता प्रवल हतियार भएको र त्यो बौद्धिक क्षमता र पूर्वीय चिन्तन मुक्तकमा प्रशस्त रहेको छ’ उनले भने । मुक्तकमार्फत कृतिकार नीति प्रवचकका रुपमा देखिएको भन्दै मुक्तकले समाजमा व्याप्त बेथिति, भ्रष्टाचार, कुशासन, राजनैतिक स्खलनलगायतका विरुद्ध आवाज उठाएको उनले बताए ।
मणिराम मुक्तकसङ्ग्रहमा भूमिका लेखेका मुक्तककार रुद्र ज्ञवालीले मुक्तकमा काव्यिक चेत, आध्यात्मिक चेत, रुवाइशैली, पाश्चात्य सभ्यताको अन्धानुकरणको विरोध, चरित्रवान मानिस र आदर्श पारिवारिक परिवेश निर्माणमा मुक्तकले जोड दिएको बताए । विष्णुराज आत्रेय प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद भण्डारीले प्रतिष्ठानको गतिविधि उल्लेख गर्दै प्रा. डा. विष्णुराज आत्रेय (लाटोसाथी) को शालिक स्थापना गर्ने योजना रहेको बताए ।
प्रा. डा. हिरण्यलाल ज्ञवालीले कृतिले पुत्रबधूले आफ्ना ससुराबुबाको सम्मानमा उदाहरणीय काम गरेको बताए । कृतिकार प्रीतिले कृतिको रचनागर्भको बारेमा बताउँदै आफ्ना ससुराबुबाको जन्मोत्सवमा आशिर्वाद लिन र पितृऋण चुक्ता गर्न उहाँकै नामको कृति जन्मदिनमा लोकार्पण गराएको बताए । कृतिमा प्रयोग भएका केही शब्दका सम्बन्धमा उठेका जिज्ञासाको उत्तर समेत उनले दिएका थिए ।
लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष ऋषि आजादले लुम्बिनी प्रदेशका बाह्रओटै जिल्लामा क्रियाशील संस्थाको परिचय दिँदै यसको गतिविधि र भावी कार्ययोजनाबारे पनि जानकारी गराएका थिए ।
प्रीतिको यस अघी पुष २०८० मा नवौं कृति चुटुक्क मुक्तक संग्रह काठमाडौंमा लोकार्पण गरिएकाे थियाे । भाद्र २०७९ मा कविता संग्रह “अनुभूतिको इन्द्रेनी” सार्वजनिक गरेकी उनका गीतहरू “आफ्नो त मन छ माइतीघरतिरै (तीज गीत २०७५) ” र “तिमी मेरो पूजा (प्रणय गीत २०७७)” युट्युबमार्फत प्रसारित छन् । उनका बिबिसि, साहित्यपोस्ट, हिमालय टाइम्स, कान्तिपुर, नेपाल समाचारपत्र, नेपालनाम्चा, सहीखबर, संसारन्यूज, वैजयन्ती साहित्यिक पत्रिका, हाम्रो पुरुषार्थ, नारी, कल्पतरु, दायित्व आदि विभिन्न पत्रपत्रिका तथा अनलाइनहरूमा विभिन्न समसामयिक विषयसित सम्बन्धित लेख रचनाहरू प्रकाशित भएका र हुँदै गरेका छन् ।
कम्बोडियालाई कर्मभूमि बनाएकी आत्रेय प्रवासमा रहेर साहित्यसँगै ज्योतिष फलादेशको माध्यमबाट पनि समाजसेवा क्रियाशील छिन् । उनी नेपालकै पहिलो नारी राशिफल लेखिका पनि हुन् । हामी र हाम्रो कृति समूहकी आजीवन सदस्य रहेकी उनको पछिल्लो कृति ‘मणिराम’ दशौं कृतिका रूपमा सार्वजनिक भएको हो ।
कार्यक्रममा उद्योग वाणिज्यसंघका हरिप्रसाद अर्याल, ऋषिराम भुषाल, साहित्यकार वनमाली निराकार, दौंघा रुपन्देही सम्पर्क समाजका अध्यक्ष भीमलाल ज्ञवाली, साइनो वाङ्मय चौतारीका सल्लाहकार धातानन्द शर्मा गैरेले कृतिले पारिवारिक समन्वय र प्रेम, सभ्य, सुसंस्कृत आदर्श समाजको विषयलाई उजागर गरेको बताउँदै कृति सफलताको शुभकामना दिएका थिए ।
राजेन्द्रकुमार आचार्य, कृष्णप्रसाद कोइराला, दीपक भण्डारी, शिव प्यासी, कृतिकारका ससुरा मणिराम ज्ञवाली, सासु लक्ष्मी ज्ञवाली, आमा आर्या आत्रेयलगायतले शुभकामना दिएकाे कार्यक्रममा संस्थाका नयाँ आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल, रुपन्देहीका अध्यक्ष पुरुषोत्तम पाण्डेको अध्यक्षता तथा साहित्यकार बुँद रानाको प्रमुख आतिथ्यमा भएको कार्यक्रमकाे उपाध्यक्ष कृष्ण गाउँलेले सहजिकरण गरेका थिए ।