मकवानपुर । मकवानपुरको हेटौंडा १३ पदमपोखरीमा साँस्कृतिक महोत्सव हुने भएको छ । हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कार्यालयको आयोजनामा ३ दिने प्रथम पदमपोखरी साँस्कृतिक महोत्सव हुने भएको हो ।
वडा कार्यालयले बुधबार पत्रकार भेटघाट मार्फत आगामी ४-६ फागुनसम्म पदमपोखरीको लोकतान्त्रिक चोकमा महोत्सव हुने जानकारी दिइएको हो । स्थानीय व्यापार, कृषि उपज उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडा सदस्य तथा महोत्सव मूल समारोह समितिकी संयोजक रन्जु गेम्जाले जानकारी दिइन् । महोत्सवले वडाबासीको आर्थिक स्थितिलाई समेत उकास्ने तथा पदमपोखरीको पहिचानसँगै आन्तरिक पर्यटनलाई टेवा पुर्याउने, कला, साहित्य तथा संस्कार, संस्कृति जगेर्ना गर्न सहयोग पुग्ने उनले बताइन् ।
नेपाली राष्ट्रिय मौलिकतालाई झल्कने गरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती, स्थानीय परम्परागत उपभोग्य कृषि उपज मकैको खोस्टाबाट बनेको चकटी, बाबियो/बाँसजन्य सामग्री मान्द्रो, नाङ्लो र परालबाट बनेको गुन्द्री, काठजन्य सामग्री, कृषिजन्य उत्पादन तरकारी, फलफूल, मकै, कोदो, फापर, गहुँ चामलको पिठो महोत्सवको आकर्षण रुपमा रहने बताइएको छ ।महोत्सवमा खानाका विभिन्न परिकारसहित ८० वटा स्टलहरु रहने छ ।
महोत्सवमा रोज मोक्तान, प्रिति आले, प्रकाश तितुङ, बिक्रम लुङ्बा, धिरेन लामा लगायत कलाकारहरुको सांगीतिक प्रस्तुती रहने छ । १३ नम्बर वडाको ४ लाख रुपैयाँ, हेटौंडा उपमहानगरपालिकाको २ लाख रुपैयाँ र बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालयबाट १ लाख रुपैयाँ गरी कुल ७ लाख रुपैयाँको सहयोगमा महोत्सव आयोजना गर्न लागिएको वडा अध्यक्ष पेम्बा लामाले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेश सभाकाे हिउँदे अधिवेशन अन्तरगत बुधबारकाे बैठकमा ५ वटा विधेयक पेश भएको छ । संशोधनका लागि दर्ता भएको ४ र प्रदेश प्रमुखबाट फिर्ता भएको एक विधेयक प्रदेश सभामा पेश भएको हो ।
बैठकमा स्वास्थ्य मन्त्री किरण थापाले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरे । यसैगरी युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेश खेलकुद ऐन संशोधन विधेयक पेश गरेका छन् । त्यस्तै बैठकमा उद्योग वाणिज्य भुमि तथा प्रशासन मन्त्री सुकुमाया तामाङले प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायी सम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेकी छिन् ।
प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश सभामा फिर्ता पठाएकाे प्रदेश कृषि विकास विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पुनः विचारका लागि कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले प्रदेश प्रमुख देवकोटाले औल्याएका कमजोरी र सुझावको प्रतिवेदन सहित संसदमा पेश गरेका हुन् ।
प्रदेश सभामा पेश गरिएका उक्त विधेयकहरु माथि विचार गरियाेस भनी गरिएकाे प्रस्ताव सर्वसम्मत रुपमा स्वीकृत भएकाे छ । ती विधेयकहरु माथिकाे दफाबार छलफल पछि पारित हुनेछ । सो विधेयकहरु प्रदेशसभाको हिउँदे अधिवेशनमा पारित गर्ने तयारी रहेको बताइएकाे । प्रदेश सभाकाे अर्काे बैठक २४ माघ बिहीबार १ बजे बस्ने गरी सभामुख सानु कुमार पाठकले आजकाे बैठक स्थगित गरे ।
मकवानपुर । प्रेस चौतारी नेपाल मकवानपुरले २७ औं स्थापना दिवस मनाएको छ । चौतारीको स्थापना दिवसको अवसरमामा मंगलबार हेटाैडामा शुभकामना आदानप्रदान कार्यक्रम गरिएकाे हाे ।
मकवानपुरका सञ्चारकर्मीहरुबीच शुभकामना आदानप्रदान गर्दै चौतारीले स्थापना दिवस मनाएको हो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजलाई सम्वृद्धितर्फ ल्याउन प्रेस चौतारी मकवानपुरले उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सामाजिक परिवेश बदलिएसँगै नकारात्मक दिशातर्फ लम्किरहेको समाजलाई सही मार्गमा लैजान चौतारीको कलम चल्नुपर्छ’ उनले भने । एमालेकाे मुख्य एजेण्ड समृद्ध भएकाेले यसतर्फ पत्रकारकाे कलम चल्नु पर्ने रानाले बताए ।
चाैतारी जिल्ला अध्यक्ष सरिता दाहालकाे अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश किमिटी सदस्य तथा बागमती प्रदेश सरकारका पर्व मन्त्री एकालाल श्रेष्टले सञ्चारकर्मीले चाहेको खण्डमा सामान्यमान्छेकाे जीवन उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । सञ्चारकर्मीले समाजका गरिबी, पिछडिएका वर्ग लक्षित कलम चलाउनु पर्ने श्रेष्ठले बताए ।
कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख उज्वल चाैलागाई प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य धर्मेन्द्र दाहाल नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरलगायतले पत्रकारिता क्षेत्र मर्यादितका साथै व्यवसायिक हुनु जरुरी रहेको बताए ।
कार्यक्रममा प्रेस सेन्टर बागमती प्रदेश महासचिव तथा नेपाल पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारीले सञ्चार संगठनहरु विभाजित हुँदै जादाँ यसले पत्रकारहरुको हित नहुने बताए । पत्रकार निकट संस्थाहरुले श्रमजीवि पत्रकारहरुको मुद्दामा साझा धारणा निर्माण गर्न केन्द्रीत हुनुपर्ने उनले बताए ।
कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास बिडारी, स्वतन्त्र पत्रकार संघ नेपाल उपमहासचिव सुरेश श्रेष्ठ मकवानपुरका अध्यक्ष गोकुल अधिकारीले राजनीतिक दलको हावि पत्रकारिता क्षेत्रमा चिन्ताजनक विषय भएको बताए । संस्थागत विकास नभए पत्रकारको अवस्था नसुध्रिने बताए ।
प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालले समाजमा विचार स्थापना गर्न समाजलाई सशक्त पार्नकाे लागि मिडियाकाे तर्फबाट याेगदान रहेने प्रतिबद्धता व्यक्त गरिन् । माघ १९ मा सम्पन्न जिल्ला अधिवेशनबाट सर्वसम्मत चयन भएकाे चाैतारी जिल्ला कमिटीले सञ्चार तथा अभिव्यक्ति स्वतन्त्रताको लागि सधैं तत्पर रहने दाहालले बताइन् ।
नयाँ समितिले मगलबार नै पदभार ग्रहण गरे पश्चात पहिलाे बैठकबाट महत्वपुर्ण निर्णय गरेकाे र आगामी दिनमा सबैकाे सहकार्यमा सञ्चारकाे क्षेत्रमा रचनात्मक काम गर्ने सचिव नविन तिमल्सिनाले बताए ।
मकवानपुर । बागमती प्रदेश सभाको बैठक बुधबारबाट सञ्चालन हुने भएको छ । मंगलबार बसेको सर्वदलीय बैठकले संसद् सञ्चालन गर्ने सहमति जुटाए पछि बैठक संचालन हुने भएकाे हाे ।
सत्तापक्ष र प्रतिपक्ष बीचको विवाद समाधानका लागि मंगलबारकाे लागि सभामुख भुवन कुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका थिए । बैठकले विभिन्न विषयमा छलफल गर्दै सभा सञ्चालनको लागि प्रतिपक्ष र सत्तापक्षबिच माैखिक सहमति जुटाएको हो । बुधबार बस्ने प्रदेश सभाकाे बैठकमा प्रतिपक्षको अवरोध नरहने गरी सहमति भएको सभामुख पाठकले जानकारी दिए । बुधबारको बैठकमा निर्धारित कार्यसूची अनुसार विधेयकहरू प्रस्तुत हुनेछ ।
सरकारको तर्फबाट प्रतिपक्षले उठाएको मागका सन्दर्भमा अनुकूलताको आधारमा सम्बोधन गर्नेगरी बैठकमा छलफल भएको छ । प्रतिपक्ष दलले विगतको सहमति र विपद् प्रभावित क्षेत्रको पुनः निर्माण लगायतका विषयमा सरकारले क्रमशः सम्बोधन गर्नेगरी प्रतिबद्धता गरेको छ । प्रतिपक्ष दल माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सर्वदलीय बैठकमा लिखित सहमति नभएकाे बताउँदै मौखिक प्रतिबद्धता भने सरकारबाट आएको बताए । उनले भने ‘ सत्तापक्षबाट मौखिक प्रतिबद्धता आएको छ । हामी केही समय पर्ख र हेरको स्थितिमा छौं।’
बजेट माथिको विवादका कारण प्रदेशसभाको १८ माघकाे लागि आह्वान गरिएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची अन्तिम समयमा स्थगित गरिएको थियो । १८ गते प्रदेशसभा स्थापना दिवस भएकाले मन्तव्यको कार्यसूचीपछि बैठक स्थगित गरिएकाे थियाे । प्रदेश सरकारले ल्याएका चार वटा विधेयक तथा विभिन्न समितिमा छलफल भई प्रतिवेदन तयार भएका केही विधेयकलाई छलफल तथा पारित गर्नुपर्ने भएकाले सर्वदलीय बैठक बसेकाे हाे ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले लोकतन्त्र प्राप्त गर्न रेडियोको योगदान रहेको बताएका छन् । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारीको २७ औं स्थापना दिवसको अवसरमा उनले यस्तो बताएका हुन् ।
रेडियाेकाे सप्ताहव्यापी कार्यक्रमको समापन तथा सामुदायिक सम्मान कार्यक्रममा उनले सञ्चार माध्यम नै प्रजातन्त्रको सम्पत्ति भएको बताए ।
‘प्रदेशको सञ्चार माध्यमको वृत्ति विकासका लागि सरकार सदैव तयार रहेको छ’ उनले भने । ‘मुलुकको परिवर्तनका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण योगदान छ’ उनले भने, ‘सञ्चार क्षेत्रको सशक्त माध्यम रेडियो हो । अझै सामुदायिक रेडियोले समाज परिवर्तनमा छुट्टै योगदान दिन सक्छ ।’
फरक क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरेर रेडियो मकवानपुरले सामुदायिक रेडियोको कतव्र्य निर्वाह गरेको भन्दै उनले प्रशंसा गरे । पछिल्लो समय नेपालमा सञ्चार माध्यमले फड्को मारेको उल्लेख गर्दै मुख्यमन्त्री लामाले सञ्चार माध्यमले दिने सूचना सत्यतथ्य र विश्वसनीय हुनुपर्नेमा जोड दिए ।
यस्तै जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले भूगोल र बजार अनुसारको मिडिया हुन जरुरी रहेको बताए । ‘पछिल्लो समय सञ्चार माध्यमको दर्ता र सञ्चालन बढ्दो क्रममा रहेको छ’ उनले भने संख्यात्मक वृद्धीले गुणस्तरीयता नआउने भएकाेले यस विषयमा पनि सोच्नुपर्ने बेला आएको छ ।’ मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सामाचार लेखेकै कारण कुनै पत्रकार तथा सञ्चार माध्यम डरत्रासमा बस्नु नपर्ने बताए । ‘पत्रकारसहित आम सर्वसाधारणलाई शान्ति सुरक्षा प्रदान गर्नका लागि जिल्ला प्रशासन कार्यालय सदैव तयार रहेको छ’ उनले भने ।

सामुदायिक सम्मानद्वारा कार्की र उप्रेती सम्मानित
सगरमाथा आरोही विक्रम कार्की र अमर माविका प्रधानाध्यापक मालती उप्रेतीलाई रेडियो मकवानपुरले सामुदायिक सम्मान, २०८१ बाट सम्मानित गरेको छ । रेडियोको १५ औं वार्षिकोत्सवको समापनका क्रममा बकैया ४ का कार्की र हेटौंडा १ की उप्रेतीलाई नगद १० हजार रुपैयाँसहित सम्मान गरिएकाे हो ।
कार्कीले सगरमाथासहित नेपालको ३० वटा हिमालको सफल आरोहण गरिसकेका छन् । उनी मकवानपुरकै एकमात्र सगरमाथा आरोही हुन् । यस्तै अमर माविको प्रधानाध्यापकको रुपमा कार्य गर्दै आएकी उप्रेतीलाई शैक्षिकस्तर सुधार गरी उत्कृष्टता प्रदर्शन गरेकाेमा रेडियोले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीलगायतले उनीहरुलाई नगद, सम्मानपत्र र दोसल्ला सहित सम्मान गरेका हुन् ।
यसैगरी रेडियोले उत्कृष्ट कर्मचारीको रुपमा प्राविधिक शाखा प्रमुख एनिस लुइँटेललाई नगद ७ हजार रुपैयाँसहित सम्मान गरेको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई समेत सम्मान गरिएको थियो ।
रेडियोको वार्षिकोत्सव एवम् सहकारीको स्थापना दिवसको अवसरमा माघ १६ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको थियो । यस वर्ष सहिद बासुदेव घिमिरेको परिवारलाई सम्मान, संस्कृत वेद विद्यालय हेटौंडा १० लाई खाद्यान्न हस्तान्तरण, सिद्धस्थली अस्पतालसँगको सहकार्यमा मकवानपुरगढी ४ मा निःशुल्क स्वास्थ्य शिविर, अमर माविमा सेनेटरी प्याड सहयोग हस्तान्तरण, मिडिया कप फुट्सल प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
रेडियो मकवानपुर सञ्चालक समितिका अध्यक्ष आनन्दराम पराजुलीको अध्यक्षतामा वार्षीक उत्सव कार्यक्रम भएकाे हाे ।