मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएकाे दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी शोणितपुर डोजाङ काठमाडौंले जितेको छ । शुक्रबार र शनिबार भएको प्रतियोगितामा ७ स्वर्ण, ६ रजत र ६ कास्य पदकसहित शोणितपुर तेक्वान्दो डोजाङले प्रथम स्थान हासिल गरेकाे हाे ।
प्रतियोगितामा आयोजक क्रियटिभ तेक्वान्दो एकेडेमी मकवानपुर ७ स्वर्ण, ३ रजत र ८ कास्यसहित द्वितीय भएको छ । यस्तै तेस्रो स्थानमा रहेको चितवनले ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक हात पारेको छ । प्रतियोगिताका विजेता टोलीले क्रमशः २० हजार, १५ हजार र १० हजार नगदसहित ट्रफी प्राप्त गरेका छन् ।
विजेताहरूलाई हेटौंडा उपमहानगरपालिका १७ का अध्यक्ष उद्धव सत्यालले पदक तथा प्रमाणपत्र विरतण गरेका थिए । शुक्रबारदेखि हेटौंडा १७, हटियामा सुरु भएको दोस्रो राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा ४० विधामा १८ समुहका ३४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताकाे लागि करिब १३ लाख रुपैयाँ खर्च भएको प्रतियोगिता संयोजक भोजराज पराजुलीले जानकारी दिए ।
पराजुलीका अनुसार प्रतियोगिताकाे लागि हेटौंडा उपमहानगरपालिका, भीमफेदी गाउँपालिका, हेटौंडाका विभिन्न वडाहरूसहित संघसंस्था तथा खेलप्रेमीहरूको सहयोग रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा ३ फागुनमा हेटौंडा आईडल गायन प्रतियोगिताको अडिसन हुने भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सव–२०८१ काे अवसरमा हेटौंडा आईडल गायन प्रतियोगिता हुने भएकाे हाे ।
३ फागुनमा निर्माण व्यवसायी संघ मकवानपुरको भवनमा हेटौंडा आइडल गायन प्रतियोगिताको अडिसन हुने प्रतियोगिता संयोजक दिपेश श्रेष्ठले जानकारी दिए । हेटौंडा आइडल गायन प्रतियोगितामा सहभागीको लागि २ फागुनसम्म फारम र एकप्रति फोटोसहित कार्यालयमा बुझाउनु संघले सूचना जारी गरेको छ ।
अडिसनमा छनौट भएकाले ६ फागुनदेखि १८ फागुनसम्म आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा ब्यापार महोत्सवमा प्रस्तुति दिनेछन् । उनीहरुकाे प्रस्तुति पछि निर्णायक र भोटिङको आधारमा हेटौंडा आइडल घोषणा गरिने श्रेष्ठले बताए । प्रतियोगितामा गायक कृष्णगोपाल सिंह, सुनिता बुर्लाकोटी र किशोर खड्काले निर्णायकको भूमिकामा रहने छन् । प्रतियोगितामा विजयी हुनेलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
हेटौंडा–१० स्थित टिसिएन चौरमा हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवमा निर्माण उपकरण तथा सामग्रीहरुको प्रदर्शनी एवम् बिक्री हुनेछन् । यस्तै बहुराष्ट्रिय कम्पनीहरुको उत्पादनको प्रदर्शनी एवम् बिक्री, सूचना प्रविधि प्रदर्शनी, कृषि उत्पादनको प्रदर्शनी तथा कृषि प्रतियोगिता, दैनिक राष्ट्रिय/स्थानीय कलाकारहरुको प्रस्तुती, शैक्षिक, घरजग्गा, अटो तथा खाना महोत्सव, मनोरञ्जनात्मक बाल उद्यान, नविनतम उपकरणहरुको प्रदर्शनी, नयाँ/नौलो प्रबिधिको प्रदर्शनी हुने आयोजकले जनाएकाे छ ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आधारभूत तह तथा माध्यमिक तहको प्रश्नपत्र निर्माणसम्बन्धी तालिम भएकाे छ । विज्ञान शिक्षक समाज नेपाल मकवानपुरको आयोजनामा शनिबार विज्ञान शिक्षकहरुकाे लागि तालिम आयोजना गरिएकाे हाे ।
हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा सम्पन्न गरिएकाे कार्यक्रममा जिल्लाका ६३ जना विज्ञान शिक्षकहरूले सहभागिता जनाएका थिए । तालिमकाे विज्ञान शिक्षक भरत पोखरेल, दुर्गा पराजुली, खेम बिक र ओमप्रकाश सापकोटाले सहजीकरण गरेका थिए । आधारभूत तह र माध्यमिक तह गरी दुई समूहमा विभाजन गरी तालिम सञ्चालन गरिएको हाे ।
तालिमबाट विशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्न ध्यान पुर्याउनुपर्ने, संज्ञानात्मक तहहरू पहिचान गरी त्यस अनुसार प्रश्नपत्र निर्माण गर्ने सीपको विकास र प्रश्नपत्र निर्माणपूर्व तय गर्नुपर्ने नमुना मेट्रिक्स निर्माण लगायतका विषयमा शिक्षकहरुलाई प्रशिक्षित गरिएकाे विज्ञान शिक्षक समाज नेपाल मकवानपुरका सचिव सुवास खनालले जानकारी दिए ।
प्रशिक्षार्थीहरूको तर्फबाट गीतावर आधारभूत विद्यालय बकैया ५ की अमृता लामिछाने र मत्स्यनारायण मावि थाहा नगरपालिकाका राजेश तिमल्सिनाले यस्ता तालिम कार्यक्रमहरु समय समयमा आयोजना भइरहनुपर्ने बताए । प्रशिक्षक शिक्षक तथा सहभागी शिक्षकलाई प्रमुख अतिथि लगायतले प्रमाणपत्र प्रादन गरेका थिए ।
कार्यक्रमको समापन समाजका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित बहादुर घलानको प्रमुख अतिथ्यतामा भएकाे तालिम कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख सुदीप गिरीको विशिष्ट आतिथ्य रहेकाे थियाे । समापन कार्यक्रममा सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सागरप्रसाद खतिवडा, विज्ञान शिक्षक रामकुमार ठाकुर, विनोदप्रसाद गुप्ता, मनिलकुमार कर्ण, ग्यालेक्सी बुक्स सेन्टरका अमृत मगर, लिंकेज टेक्निकल एकेडेमीका कमल कोइरालालगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशसभाकाे शनिबारकाे बैठकबाट एउटा विधेयक पारित भएकाे छ भने ४ वटा विधेयक छलफलका लागि सम्बन्धित समितिमा फिर्ता पठाइएकाे छ । गत बुधबारकाे सभामा पेश गरिएका ५ वटा मध्ये एउटा विधेयक मात्रै पारित भएकाे हाे । अन्य चार वटा विधेयक सम्बन्धित समितिमा फिर्ता पठाइएकाे प्रदेश सभा सचिवाललयले जनाएकाे छ ।
सभाले प्रदेश खेलकुल विकास ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । शनिबारको प्रदेशसभा बैठकले उक्त ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतीले पारित गरेको हो । प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले विधेयक माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । प्रदेशसभाको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले निर्णायार्थ पेश गरेकाे उक्त संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो ।
उक्त विधेयक माथिकाे छलफलमा प्रदेश सभा सदस्यद्वय रत्नप्रसाद ढकाल, छिरिङ दोर्जे लामाले भाग लिएका थिए । ढकाल र लामाले विधेयक माथि उठाएका प्रश्नकाे मन्त्री महर्जनले जवाफ दिएका थिए । आसन्न दशौं राष्ट्रिय खेलकुदलाई लक्षित गर्दै उक्त विधेयक संसदीय समिति फिर्ता नपठाइ सभाबाट पारित गरिएको बताइएकाे छ ।
प्रदेशसभा सचिवालयका अनुसार विधेयकमा अन्य विषयहरु संशोधन नरहेको र मन्त्रालयको नामको विषय मात्र सशोधन रहेकाले पारित गरिएकाे हाे । २ जेठ २०८१ को मन्त्रिपरिषद्को निर्णयबाट साविकको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेकाे युवा तथा खेलकुदसम्बन्धी कार्यलाई जिम्मेवारी सहित युवा तथा खेलकुद मन्त्रालयको स्थापना भएको थियो । युवा तथा खेलकुद मन्त्रालयकाे कार्य सामाजिक विकास मन्त्रालय मातहतमा रहेकाेले उक्त व्यवस्थालाई सच्याउन विधेयक संशोधन गरिएको बताइएकाे छ ।
विधेयक पारित भएसंगै खेलकुद क्षेत्र र खेलाडीहरुको हितमा काम गर्न रहेको कानुनी अड्चन हटेको छ । प्रदेशसभाबाट पारित भएको विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि राजपत्रमा प्रकाशित हुनेछ र ऐनकाे रुपमा लागु हुनेछ ।
४ वटा विधेयक समितिमा फिर्ता
प्रदेशसभाको बैठकबाट ४ वटा विधेयक छलफलका लागि सम्बन्धित संसदीय समितिमा फिर्ता पठाइने भएकाे छ । शनिबारकाे बैठकले ४ वटा संशोधनसहितका विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको हाे ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री किरण थापा मगरको तर्फको श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पेस गरेको ‘मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ लाई शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको हो । उद्योग, वाणिज्य भूमि तथा प्रशासनमन्त्री शुकमाया तामाङले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’लाई पर्यटन तथा वातावरण समितिमा पठाइएको छ ।
यसैगरी आजको बैठकमा प्रदेश प्रमुखकाे कार्यालयबाट सन्देशसहित फिर्ता आएकाे कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठले पेस गरेकाे आएको ‘प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि दफाार छलफलका लागि शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा पठाइएको छ । समितिमा फिर्ता पठाइएका विधेयक सम्बन्धित समितिकाे बैठकले सर्वसम्मतिले स्वीकृति प्रदान गरेको थियो ।
सभामुख पाठकले प्रदेश सभाकाे अर्को बैठक सूचना जारी नभएसम्मका लागि स्थगित भएको सदनलाई जानकारी दिएका छन्।
मकवानपुर । मकवानपुरकाे हेटौंडामा आयोजना हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन संघीय गृहमन्त्री रमेश लेखकले गर्ने भएका छन्। नेपाल निर्माण व्यवसायी महासंघ र निर्माण व्यवसायी संघ मकवानपुरकाे आयोजनामा १० वर्षपछि हुन लागेको महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्ने संघ अध्यक्ष बालगोपाल कंडेलले जानकारी दिए ।
६ फागुन ६ देखि १८ फागुनसम्म आयोजना हुने महोत्सव संघ मकवानपुरकाे भवन निर्माणका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजना गर्न लागिएकाे उनले बताए ।
महोत्सवमा ३५० स्टल रहने छन् । जसमा निर्माण उपकरण, औद्योगिक उत्पादन, हस्तकला, महिला उद्यमीका सामग्रीहरू प्रदर्शनी तथा बिक्री गरिने छ। मकवानपुरका उद्योगी तथा व्यापारीहरूलाई स्टल भाडामा ५० प्रतिशत छुट दिइने संघ महासचिव राजेन्द्र चौलागाईंले जानकारी दिए ।महोत्सवले निर्माण सामग्री उत्पादक, बिक्रेता र उपभोक्ताबीच समन्वय बढाउने बताइएकाे छ। यसले गुणस्तरीय प्रतिस्पर्धा गर्दै व्यवसायीहरूबीच अन्तरक्रिया तथा चुनौतीबारे छलफलको अवसर समेत प्रदान गर्ने आयोजकले विश्वास लिएकाे छ ।
महोत्सवलाई थप आकर्षक बनाउन विभिन्न सांस्कृतिक कार्यक्रम समेत आयोजना गरिने भएकाे छ। गायन क्षेत्र प्रवर्द्धन गर्न ‘हेटौँडा आइडल’ प्रतियोगिता आयोजना हुनेछ । जसमा मकवानपुरका प्रतिभाहरूकाे प्रस्तुति रहनेछ।
महोत्सवका लागि २ सय ५१ सदस्यीय मूल समारोह समिति र ११ सदस्यीय स्टेरिङ कमिटी गठन गरिएको संघले जनाएकाे छ । यस अघि संघले २०७१ सालमा महोत्सव आयोजना गरेको थियो ।