काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित प्रतियोगितामा चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तरगत आइतबारकाे खेल २-२ गोलको बराबरीमा सकिएको हो ।
सबै गोल पहिलो हाफमै भएका थिए । काठमाडौंकाे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी फाइनलमा पुगिसकेका दुई टोलीबिचको खेलमा निकै रोमाञ्चक प्रतिस्पर्धा भएकाे थियाे । घरेलु टोली छैटौँ मिनेटमा नै पछि परेको थियो । म्याट नोई खिनको फ्रिकिक गोलमा परिणत भएकाे थियाे । तर, म्यानमारको अग्रता लामो समय टिक्न सकेन ।
११ औँ मिनेटमा साबित्रा भण्डारीको शानदार पासमा सविता रानामगरले नेपाललाई खेलमा फर्काइन् । यद्यपि, १७ औँ मिनेटमा म्यानमारले पुनः अग्रता लियो । मे हेट लुले प्रतियोगितामा गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । खेलमा नेपालले दुईपटक कम्ब्याक गर्दै खेल बराबरी गरेको हो ।
नेपालले ४१ औँ मिनेटमा पुनः कम्ब्याक गर्यो । यसपटक प्रीति राईको पासमा साबित्रा भण्डारीले गोल गर्दै नेपाललाई खेलमा फर्काइन् । खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसरको सदुपयोग गर्न सकेनन् । फाइनल खेल आगामी बुधबार हुनेछ ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकामा भएकाे जिल्लास्तरीय शिक्षक भलिबल प्रतियोगिताको उपाधि शारदा माध्यमिक विद्यालयले हात पारेकाे छ । जितेको छ । पाँचौं संस्करण शिक्षक भलिबल प्रतियोगिताकाे उपाधी मकवानपुरगढी गाउँपालिका ५ स्थित शारदा माविले जितेकाे हाे ।
प्रतियोगिता अन्तरगत आइतबार भएको फाइनलमा बकैया गाउँपालिकाकाे महेन्द्र माध्यमिक विद्यालयलाई ३–० काे सोझो सेटले हराउँदै शारदाले उपाधि जितेको हो । शरदा माविले २५–१४, २५–२२ र २५–१९ को सोझो सेटमा नतीजा आफ्नो पक्षमा पारेको थियाे । उपाधि विजेता बन्दै शारदाले २५ हजार रुपैयाँ हात पारेकाे छ । यसैगरी उपविजेता चित्त बुझाएकाे महेन्द्रले १५ हजार रुपैयाँ प्राप्त गर्याे ।
यसैगरी सेमिफाइनल खेलमा पराजित हेटौंडा–५ काे जीएस निकेतन र मकवानपुरगढी ३ काे भानु माविले ५/५ हजार रुपैयाँ नगद प्राप्त गरे । जिएस निकेतनलाई २५–१८, २५–२२ को सोझो सेटले पराजित गर्दै शारदा फाइनल प्रवेश गरेको हो । यस्तै भानु माध्यमिक विद्यालय मक्रान्चुलीलाई २५–१४ र २५–२२ को सोझो सेटले पराजित गर्दै महेन्द्र फाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै शारदा माविको आशिष घलानले ३ हजार रुपैयाँ पुरस्कार हात पारे । उत्कृष्ट स्पाइकरमा शारदाकै अमर गोले र उत्कृष्ट सेटरमा महेन्द्र माविका प्रकाश थापा मगर हुँदै २/२ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविको सहव्यवस्थापनमा भएकाे प्रतियोगितामा मकवानपुरका २४ वटा विद्यालयले सहभागिता जनाएका शैक्षिक गुणस्तर सुधार समितिका अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहालको अध्यक्षतामा तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका नेता रामेश्वर रानाको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम भएको थियाे । कार्यक्रममा हेटौंडा ४ नम्बर वडाध्यक्ष नवीन सिग्देल, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजकुमार मुक्तान, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईं, प्रतियोगिता संयोजक राजाराम पोखरेल, वडा सचिव पुष्पराज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा कला साहित्य महोत्सव हुने भएको छ । मकवानपुरको साहित्यिक संस्था झरना साहित्यिक परिवारको आयोजनामा बकैया–कला साहित्य महोत्सव–२०८१ हुने भएको हो ।
झरना साहित्यिक परिवारको ३१३ औँ साहित्य शृङ्खला एवम् ३२ औँ वार्षिकोत्सवका अवसरमा आगामी १६ र १७ फागुनमा बकैया–कला साहित्य महोत्सव–२०८१ आयोजना गरिने शनिबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
बकैया–५ स्थित कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरू, बकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजक सस्थाका सचिव मसान उपासकले जानकारी दिएको छ ।
कर्मप्राप्ति माविको सहकार्यमा हुने महोत्सवमा बकैया गाउँपालिका सहयोग रहने उपासकले बताए ।
११ विद्याका सम्मान प्रदान गरिने
कला महाेत्सवमा विभिन्न ११ विधामा सम्मान प्रदान गरिने भएकाे छ । साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गगरेकाे होमनाथ–टीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्राडा कपिल लामिछानेलाई प्रदान गरिने भएको छ । उक्त सम्मानकाे राशी नगद २१ हजार १ सय २१ रुपैंया रहेकाे छ ।
त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिता नाममा स्थापना गरेको शिव–सावित्री अधिकारी स्मृति मुक्तक सम्मान–२०८१ इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । १५ हजार ५ सय ५५ रुपैंया राशिको उक्त पुरस्कार चैतको चौथो शनिबार हेटौंडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।
त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार नगद रू. १५ हजार ५ सय ५५ राशिसहितको बाबुलाल–भोजमाया स्मृति साहित्य सम्मान–२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ ।साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्द–मनमाया प्रतिभा सम्मान–२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको उपासकले बताए ।
साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान–२०८१ गजलकार बबी थापालाई प्रदान गरिने छ । साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिको सञ्जीवनी बुटि साहित्य सम्मान–२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने छ ।

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत पत्रकार प्रदान गरिने स्व. गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको ११ हजार १ सय ११ रुपैंया राशिको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान–२०८१ मकवानपुरका पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिने उनले जानकारी दिए ।
बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका ५ हजार ५ सय ५५ रुपैयाँ राशिको झरना–बकैया नवप्रतिभा पुरस्कार–२०८१ पुरस्कार सन्तोष विकलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित ७ हजार ७ सय ७७ रुपैंया राशिकाे खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान–२०८१ गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने भएको छ ।
साहित्यकार जनार्दन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको ७ हजार ७ सय ७७ रुपैंया राशिकाे ऋषेश्वर–रुक्मिणी–लक्ष्मीदेवी खनाल साहित्य सम्मान–२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ । बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान –२०८१ बुद्ध माविका हरि घिमिरेलाई प्रदान गरिने भएको छ ।
पत्रकार सम्मेलनमा आयोजक संस्थाका अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने लगायतकाे उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा ४ स्थित हुप्राचौरमा मगर सांस्कृतिक फुड फेस्टिवल हुने भएकाे छ । नेपाल मगर संघ जिल्ला समन्वय समितिकाे आयाेजनाका १५ फागुनमा फुड फेस्टिवल हुने भएकाे हाे ।
१५ फागुनमा मनाइने मगर दिवसकाे ४३ ओैं स्थापना अवसरमा हेटौंडा उपमहानगरपालिका ४ स्थित हुप्राचाैरमा मगर सांस्कृतिक फुड फेस्टिवल हुने शनिबार हेटौंडामा पत्रकार भेटघाट गरी जानकारी गराइएकाे हाे ।
१० वटा स्टलहरु रहने फेस्टिवलमा मगर समुदायका परिकारहरु राखिने मगर संघ मकवानपुर अध्यक्ष सन्देश तुम्सिङ्ग मगरले जानकारी दिए । दिवसका अवसरमा साँस्कृतिक कार्यक्रम समेत आयोजना गरिने उनले बताए । फुड फेस्टिवलकाे हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले गर्ने भएकी छिन् ।
कार्यक्रममा राष्ट्रिय कलाकारहरु राधिका हमाल, शशी पुन मगर आउने आयोजकले जनाएकाे छ । फेस्टिवलकाे लागि करिव ५ लाख रुपैया खर्च हुने अनुमान गरिएकाे छ । अध्यक्ष तुम्सिङ्गका अनुसार १९ वटा समिती, १८ वटा मगर गुठी, ५ भातृ सङ्गठन, १ बौद्ध सेवा समाज आवद्धता संस्था तथा १० स्थानीय तहकाे कार्यक्रममा सहभागिता रहने छ ।
कार्यक्रमका लागि हेटौंडा उपमहानगरपालिका, राक्सिराङ,मनहरी गाउँपालिका तथा हेटौंडाका ३,४,५,८ वडाबाट आर्थिक सहयाेग रहने पत्रकार भेटघाटमा उनले जनाकारी दिए । २०७८ सालकाे जनगणना अनुसार मगरहरुकाे संख्या २० हजार ८२१ जना रहेकाे बताइएकाे छ । कार्यक्रमकाे दिन बिहान हेटौंडाको बुद्धचोकबाट सिमाचोक, सितलमहल चोक हुदै हुप्राचौरमा भेला हुने तालिका रहेकाे उनले बताए ।
मगर संघ मकवानपुर अध्यक्ष तुम्सिङ्ग मगरकाे सभाध्यक्षतामा भएकाे पत्रकार भेटघाटमा मगर संघ जिल्ला काेषाध्यक्ष डेमिज थापा मगर, सहसचिव भुपेन्द्र राना, पत्रकार महासंघ जिल्ला अध्यक्ष वालकृष्ण अधिकारी, संचारिका समुह नेपाल मकवानपुरकी अध्यक्ष निशा गुरुङ लगायतकाे उपस्थिति रहेकाे ।
मकवानपुर । मकवानपुर हेटौंडाकाे भएकाे यु–१६ फुटबल प्रतियोगिताको उपाधि हेटौंडा १५ नम्बर वडाले हात पारेकाे छ । उपमहानगरपालिका स्तरीय अनुपम घलान स्मृति प्रतियाेगिता अन्तरगत शनिबारकाे फाइनलमा हेटौडा १८ नम्बर वडालाई सडन डेथमा पराजीत गर्दै हेटौंडा–१५ ले उपाधि जितेको हो ।
खेलकाे निर्धारित समय गोलरहित बराबरीमा राेकिएपछि टाइब्रेकरमा धकेलिएकाे थियाे । टाइब्रेकरमा दुबै टोलीबाट ४–४ गोल गरेपछि नतिजाकाे लागि सडन डेथकाे साहारा लिइएकाे थियो । सडन डेथमा हेटौंडा–१५ विकास थिङले प्रहार गरेको बल गोलमा परिणत भएसँगै उस्ले उपाधि माथि कब्जा जमाएकाे हो । उपाधिसँगै हेटौंडा–१५ ले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
उपविजेतामा चित्त बुझाएकाे हेटौंडा–१८ ले ७० हजार रूपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै हेटौंडा–१८ का अभिराज थापा मगरले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको हेटौंडा १५ का उत्कृष्ट प्रशिक्षक उज्जव वाईवा, उत्कृष्ट फरवार्ड रेहान घलान, उत्कृष्ट गोलरक्षक विकेश थिङ, उत्कृष्ट डिफेन्डर नविन लो घोषित भए ।
हेटौंडा–१८ का साजन लोप्चन उत्कृष्ट मिडफिल्डर घोषित भए । विधागत उत्कृष्ट प्रशिक्षक तथा खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरे । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिकाे आयोजना गरेको प्रतियोगितामा १० वटा वडाकाे टिमको सहभागिता रहेको थियो ।