मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा गत १५ फागुनमा चोरको शंकामा प्रतिकार गर्दा मृत्यु भएका भरथकुमार भ्लोनका आमाबाबुलाई मकवानपुर प्रहरीले हिरासतमा राखेकाे छ ।
मकवानपुर प्रहरीले इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ अदुवाबारीमा भएकाे उक्त घटनको अनुसन्धानका लागि भरतका बुबा ६४ वर्षीय मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई हिरासतमा राखेकाे जनाएको छ । चोरकाे शंकामा कुटपिटबाट घाइते भएका भरतको उपचारको क्रममा चितवनस्थित भरतपुर अस्पतालमा गत शनिबार मृत्यु भएको थियो ।
उक्त घटनमा घाइते भएका भ्लोन दम्पतीलाई उपचारकाे लागि भक्तपुरस्थित इवा मुरा अस्पताल पठाइएकाे थियाे । उपचारपछि उनीहरुलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको प्रहरी प्रवक्ता डीएसपी श्यामु आर्यलले जानकारी दिए । उनीहरूमाथि आफ्नै ३९ वर्षीय छोरा भरथको हत्या गरेको आरोप लागेको प्रहरीले जनाएकाे छ ।
‘मृतक भरथका आमाबुबालाई ज्यान सम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमती लिइएकाेमा उनीहरुमाथि हिरासतमा राखेर घटनाको बारेमा अनुसन्धान गर्छौं’ डीएसपी अर्यालले भने । प्रहरीका अनुसार गत १५ फागुन बिहीबार राति घरमा चोरी गर्न आएको भन्दै भ्लोन दम्पतीले आफ्नै छोरा भरथमाथि घरेलु औजारले आक्रमण गर्दा घाइते भएका थिए ।
चोरी गर्ने उद्देश्यले घरभित्र छिरेका भरथले खाना खाइरहेकाे आमाबुबाकाे आँखामा खुर्सानीको धुलो छरेको थिए । त्यसपछि उनीहरूबिच केहीबेर घम्साघम्सी भएको थियो । छोराले खुर्सानीको धुलो छरी चोरी गर्न लाग्दा भ्लोन दम्पतीले भान्सामा प्रयोग हुने घरेलु सामानले प्रतिकार गर्दा दुबै पक्षबिच कुटाकुट हुँदा भरथको टाउकोमा चाेट लाग्दा ब्लड जमेकोमा गम्भीर घाइते भएका थिए । उनकाे उपचारको क्रममा १६ फागुनमा मृत्यु भएको थियाे । भ्लोन दम्पती मध्ये मिनबहादुरकाे हात, मुख र टाउकोमा चोट लागेकाेमा अवस्था मध्यम रहेकाे तथा देवीमायाकाे हात र आँखा नजिक चोट लागेकाेमा अवस्था मध्यम रहेकाे थियाे ।
थाहानगर। राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटी अध्यक्षमा सुमन रायमाझी चयन भएका छन् । बुधबार भएकाे थाहा नगर अधिवेशनले रायमाझीको नेतृत्वमा ३१ सदस्यीय कमिटी सर्वसम्मत निर्वाचित भएकाे हाे ।
निर्वाचन मण्डलका अध्यक्ष प्रतिमा श्रेष्ठका अनुसार युवा संघ थाहा नगर कमिटी उपाध्यक्षमा प्रविण घलान, सचिवमा धनबहादुर गोले, उपसचिवद्धयमा सुशान कार्की, यार्साङ बल र कोषाध्यक्षमा रोजन बस्नेत निर्विरोध भएका छन् ।
यसैगरी कमिटीको सदस्यहरुमा रेशिम प्रधान, विष्णु बहादुर गोले, संजिव श्रेष्ठ, विराज थापा, संग्राम कार्की, सुरेन्द्र बर्तौला, सुमन गोले, सुवास पाख्रिन, मिनबहादुर पाख्रिन, नवराज विडारी, पुष्कल थापा मगर, सुमन गर्तौला, विवश थिङ, देवेन्द्र घलान, दिपक थिङ, प्रशान्त बस्नेत, अनिल श्रेष्ठ, मनोज गमाल, अमिर गोपाली, सुमन गोले, शक्तिमान गोले, बुद्ध स्याङ्तान र सुकराम बल चयन भएका हुन् ।
यसैगरी साइवर सर्कल प्रमुखमा सुरज केसी र प्रचार विभाग प्रमुखमा विराजन बस्नेत चयन भए । नवनिर्वाचित कमिटीलाई नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज प्रतिमा श्रेष्ठले पद तथा गोपिनियताको शपथ गराएकी थिइन् । अधिवेशनमा प्रमुख अतिथि प्रतिमा श्रेष्ठ, अतिथिहरु बरिना बल, सुरेश रुम्बा, राजेश नगरकोटी, शशीधर सुवेदी, विमलकुमार ढकाल, सुरेन्द्रमान प्रधान, हेमकुमार थिङ, सुजनकुमार रायमाझी र देवेन्द्र थोकरले युवा संघको आवश्यकता औंल्याएका थिए ।
अधिवेशन आयोजक कमिटी संयोजक देवेन्द्र थोकरको अध्यक्षता र राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय सदस्य एवम् मकवानपुर ईञ्चार्ज प्रतिमा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएकाे अधिवेशनमा युवा संघका केन्द्रीय सदस्य राजन थोकर, प्रदेश सदस्य तथा थाहा ईञ्चार्ज सुरेश रुम्बा, जिल्ला अध्यक्ष राजेश नगरकोटी, युवा संघ केन्द्रीय निर्वाचन आयोग सदस्य रुपेश श्रेष्ठ, केन्द्रीय लेखा आयोग सदस्य सुनिल खत्री, एमाले प्रदेश सदस्य बरिना बल, पूर्व प्रदेश सदस्यहरु श्यामभक्त श्रेष्ठ, बुद्धरत्न मानन्धर, जिल्ला सदस्यहरु शशीधर सुवेदी, विमल कुमार ढकाल, हरि गोपाली, सुनिता दोङ, तुलसा विष्ट, पार्टी नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, उपाध्यक्ष हेमकुमार थिङ, सचिव सुजनकुमार रायमाझी, पूर्व जिल्ला सदस्य शिवराम थापा, नगर कमिटीका सदस्यहरु, जनवर्गीय संगठनका अध्यक्ष लगायतको आतिथ्यता थियो ।
युवा संघले गर्यो विरामीलाई सहयोग
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल थाहा नगर कमिटीले अधिवेशनकै दिन विरामीलाई आर्थिक सहयोग गरेको छ ।नगर अधिवेशनको अवसरमा थाहा ७ का मृगौला रोग पीडित जुनु तमाङलाई १७ हजार ७ सय ७० रुपियाँ आर्थिक सहयोग गरेको नवनिर्वाचित अध्यक्ष सुमन रायमाझीले जानकारी दिए ।
अध्यक्ष रायमाझीले अधिवेशनमा संकलन भएकाे उक्त रकम पीडित तमाङका भिनाजू शरण मोक्तानलाई बुझाएका हुन् ।पीडित जुनु तमाङलाई थप सहयोग गर्न युवा संघले अपिल पनि गरेको छ ।
मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले प्रदेशका सबै जिल्लामा रहेका खेलकुद पूर्वाधारहरुकाे सम्पत्ती खोजी गरिरहेकाे बताएका छन् । मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १४ मा युनिक बक्सिङ क्लब भवनको शिलन्यास कार्यक्रममा मन्त्री महर्जनले यस्तो बताएका हुन् ।
मन्त्री महर्जनले बागमती प्रदेशका १३ जिल्लामा रहेका पूर्वाधारहरु र सम्पत्तीकाे आफूले अध्ययन गरिरहेको बताए । ‘हामीले सबै जिल्लाका पूर्वाधार सहितका सम्पत्तीको खोजी गरिरहेका छौं’ उनले भने ‘ति कस्तो अवस्थामा छन् जानकारी समेत लिने काम शुरु भएकाे छ ।’ उनले खेलाडीहरुका लागि छात्राबास र मार्सल आर्टकोे सुविधासम्पन्न भवन निर्माणको योजना बनाएको बताए ।
हेटौंडा ६ स्थित गौरीटार रंगशाला भित्र निर्माण भएका पुर्वाधारहरुको उचित उपयोग हुन नसकेको प्रति लक्षित गर्दै मन्त्री महर्जनले भने ‘यहाँका खेल पूर्वाधारहरु मनोमानी ढङले बनेका तथा चलेका भन्ने सुनेकाे छु । खेलाडी उत्पादन गर्ने मात्रै ठाउँ हो अरु गर्ने छुट छैन् । ‘विगतमा सामाजिक विकास मन्त्रालयभित्र खेलकुद राखिएकाे भए पनि युवा तथा खेलकुद मन्त्रालय छुट्टै भएकाे छ, अब खेल क्षेत्रकाे व्यवस्थित विकासका लागि काम गर्नु पर्छ’ उनले भने ।
उनले खेलकुद सँगै यूवा स्वरोजगार कार्यक्रमलाई समेत व्यवस्थित रुपमा अघि बढाउने बताए । जिल्लामा रहेका खेलकुदका भौतिक सम्पत्तीलाई खेलाडी र युवाको उपयोगमा ल्याउने गरी योजना अघि सारिएको उनले जनकारी दिए । उक्त भवनकाे आगामी तीन महिनाभित्रै निर्माण सकिने बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक लामाले बताए । ‘खेलकुद परिषद्को युनिक बक्सिङ क्लब भवनको शिलान्यास हुनु हाम्रा लागि खुःशी हो” उनले भने ।
हेटौंडा उपमहानगरपालिकाको २५ लाख रुपैंया लागतमा युनिक बक्सिङ क्लबको भवन निर्माण गर्न लागिएकाे हाे ।
काठमाडौं । लघुकथा समाज नेपालले यो वर्षको बाटुली–खिलध्वज लघुकथा पुरस्कार लघुकथा चौतारी मकवानपुरका संयोजक किशन पौडेललाई प्रदान गर्ने निर्णय गरेको छ । समाजले बर्सेनि प्रदान गर्दै आएको उक्त पुरस्कार सँगै ‘सावित्री केशर कथा पुरस्कार २०८१ काे समेत घोषणा छ ।
२१ हजार रुपैयाँ राशीकाे उक्त पुरस्कार पौडेललाई प्रदान गरिने निर्णय भएकाे लघुकथा समाजका अध्यक्ष गोपाल अस्कले बताए । गत बिहीबार बसेको समाजको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।
उनका खुसी र अन्तर्दृष्टि लघुकथा संग्रह प्रकाशित छन् । अन्तर्दृष्टि हिन्दी भाषामा अनूदित लघुकथा सङ्ग्रह हाे । साथै गजल, मुक्तक र कविता विद्यामा कलम चलाउँदै आएका पौडेलको ‘कहर’ गजल सङ्ग्रह समेत प्रकाशित छ । उनी मातृभूमि साहित्य समाज हेटौंडाका सचिव छन् ।
यसैगरी समाजको बिहीबार नै बसेको बैठकले ‘सावित्री केशर कथा पुरस्कार–२०८१’ अग्रज कथाकार ध्रुव सापकोटालाई प्रदान गर्ने निर्णय गरेकाे छ । कथाकार सापकोटाको उपन्यास र कथा गरेर १० वटा पुस्तक प्रकाशित छन् ।
मकवानपुर । मकवानपुरकाे मनहरीमा नवजात शिशुको शव फेला परेको छ । मनहरी गाउँपालिका वडा नम्बर–७ स्थित डम्पिङसाईटमा नवजात शिशु (छोरी) को सालनाल सहितकाे शव फेला परेको मकवानपुर प्रहरीले जनाएकाे छ ।
नवजात शिशुकाे शव प्राप्त भएकाे जानकारी इलाका प्रहरी कार्यालय मनहरीमा प्राप्त भएकाेमा प्रहरी निरीक्षक विशाल सापकोटासहितकाे टोली खटिइ अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ । ‘शव कस्ले फालेको हो भन्ने खुलेको छैन’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले भने ‘एक, दुइ दिन अगाडी मात्रै जन्माएर फालेको हुनसक्ने देखिएकाे छ ।’
प्रहरीका अनुसार शिशुको शव सालनाल सहित रहेको तथा थप अनुसन्धान कार्य भईरहेको छ ।