मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
सोमबारको लागि बोलाईएको प्रदेश सभा विश्वासको मत प्राप्त हुने अवस्था नभएपछि ३ पटक सारियो तर पनि संभव भएन । अन्ततः मंगलबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री थापामगरले विभिन्न अफ्ठ्याराहरूको बिच विश्वासको मत लिएका हुन् ।
उपसभामुख अप्सरा चापागाईंका अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मतको पक्षमा ५७ र विपक्षमा शून्य मत परेको छ । थापालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का २६ र नेकपा एमालेका २४ र राप्रपाका ७ जना सांसदले विश्वासको मत दिएका हुन् ।
राप्रपाका उद्धव थापा, राजु विष्ट, गिरबहादुर तामाङ, राजेन्द्र प्रजापति, डम्बर तामाङ, नुरज बज्राचार्य र मोनिका श्रेष्ठले विश्वासको मत दिएका छन् । यसअघि सरकार गठन र मुख्यमन्त्री थापालाई विश्वासको मत दिने सम्बन्धमा राप्रपा विभाजित बनेको थियो ।
प्रदेश सरकारलाई समर्थन गर्ने निर्णय गरेका दल नेता थापासहित मन्त्री बनेका ३ जनालाई राप्रपा केन्द्रले कारबाहीसमेत गरेको छ । उनीहरू चार जनालाई पदमुक्त गर्न राप्रपाले सोमबार प्रदेश सभा सचिवालयलाई पत्राचारसमेत गरेको थियो । राप्रपाका १२ जना सांसदमध्ये ७ जना सरकारको पक्षमा उभिएकाले नेता थापा संसदीय दलमा बहुमतमा रहेका छन् ।
प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आजको प्रदेश सभा बैठक बहिष्कार गरेको छ । सरकार गठनविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा रिट परेको र रिट उपर सोमबार न्यायाधीश बबिता उप्रेतीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो ।
साथै, रिट निवेदक पक्ष र सरकार पक्षलाई अलालतले १० भदौमा छलफलका लागि बोलाएको छ । सरकार गठनकै विषय अदालतमा विचाराधीन रहेका बेला विश्वासको मत लिन लागिएको भन्दै कांग्रेसले प्रदेशसभा बैठक रोक्न माग गर्दै आएको थियो ।
कांग्रेसका प्रमुख सचेतक महर्जनले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफना ३६ जना सांसदलाई ह्वीप जारी गरेका थिए ।
यसैगरी, विपक्षी दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ जना र हाम्रो नेपाली पार्टीका २ जना सांसद पनि बैठकमा अनुपस्थित भए । १०४ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन ५३ जना सांसदको समर्थन आवश्यक थियो ।
मुख्यमन्त्री थापा गत ४ भदौमा एमाले, नेकपा र राप्रपाको समर्थनमा बागमतीको मुख्यमन्त्री नियुक्त भएका थिए । थापाले विश्वासको मत पाएसँगै तत्कालका लागि सरकारमाथि देखिएको संवैधानिक संकट टरेको छ ।
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको राष्ट्रिय कविता प्रतियोगितामा गुठचौर गाउँपालिका-४, जुम्लाका हेमप्रकाश मञ्जिल प्रथम भएका छन्।
‘छुटेपछि देश’ शीर्षकको कविता प्रथम भएको हो। प्रतियोगितामा प्रथम हुँदै कवि मञ्जिलले नगद रु ५० हजार प्राप्त गरे। यसैगरी पालिकाले आइतबार गरेको साहित्यकार तुल्सी थापाको स्मृतिमा आयोजना गरेको कविता प्रतियोगितामा लालबन्दी नगरपालिका-४, सर्लाहीका सुमन घिमिरेको ‘म देश कसरी बनाउँ ?’ शीर्षकको कविता द्वितीय ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
यस्तै अर्जुनधारा नगरपालिका-५, झापाका योगराज पौडेलको ‘मातृगाथा’ कविता तृतीय भई २० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगितामा काठमाडौँका चेतना शर्माको ‘रातो क्यानभास’ कविता र भीमदत्त नगरपालिका-१८, कञ्चनपुरका धीरज नाथको ‘बगैँचा’ कवितालाई प्रोत्साहन स्वरुप १०-१० हजार रुपैयाँ प्रदान गरिएको छ।
विजयी सबैलाई गाउँपालिकाका अध्यक्ष हिदम लामाले पुरस्कार प्रदान गरेका थिए । पालिकाले नेपाली साहित्यको उत्थानमा साहित्यकार तुल्सी थापाको योगदानको स्मरणसहित राष्ट्रियस्तरको कविता प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिताको लागि सातै प्रदेशबाट प्राप्त ४९२ मध्येबाट छानिएका उत्कृष्ट १० कविता वाचन गराएर नतिजा प्रकाशन गरिएको थियो । पालिकाले गत साउन १२ गते सूचना प्रकाशित गरी प्रतियोगितामा सहभागी हुन आह्वान गरेको थियो।
पालिकाको आयोजना एवं बुढ्यौली साहित्य समाज नेपाल, मकवानपुरको व्यवस्थापनमा भएको प्रतियोगितामा कवि श्रवण मुकारुङ्, साहित्यकार आभाषलगायत उपस्थिति थियो।

थापाको अर्धकदको प्रतिमा अनावरण
मकवानपुरको भैसेमा जन्मनु भएका तुल्सी थापाको तेस्रो स्मृति विवसको अवसरमा अर्ध कदको प्रतिमा अनावरण गरिएको छ ।
साहित्य, शिक्षा र सामाजिक सेवाको क्षेत्रमा योगदान गर्नुभएका थापाको भीमफेदी गाउँपालिका–२, भैँसेस्थित कृष्ण माध्यमिक विद्यालय परिसरमा अर्धकदको प्रतिमा स्थापना गरिएको हो ।
थापाले साहित्यकारसँगै शिक्षा र सामाजिक सेवाको क्षेत्रमा पनि उल्लेखनीय योगदान गरेका छन् । थापाले साहित्यको नाटक विधा र नवसिर्जनामा पनि दाना कविता लेख्नु भएको र नाटक लेखनसँगै निर्देशन समेत गरेका थिए ।
थापाले कृष्ण माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्नुभएको थियो ।
मकवानपुर । बि.स २०५७ सालदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुन सन्चालनमा ल्याउने तयारी स्वरुप परीक्षण थालिएको छ। २६ बर्षदेखी माकुराको जालो र धुलोले ढाकिएर थन्केका औजार अहिले चम्किने, टल्किने मात्रै हैन चल्ने र उत्पादन दिने भएका छन् ।
मेसिन नेपाल सरकारको पहलमा नेपाली सेनाले मर्मत गरी सञ्चालन गरेपछि २० वटा लुम (कपडा बुन्ने तान) बाट परीक्षण उत्पादन सुरु गरिएको हो। कुल ४८८ मेसिनमध्ये अन्य मर्मतको क्रममा छन् । सरकारले गत असार १८ गते उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि परीक्षण उत्पादनको काम अघि बढाइएको हो। उद्योगमा सरसफाइ, विद्युत् प्रणाली तथा मेसिन मर्मतको काम नेपाली सेनाले गरेको हो। परीक्षणका लागि सरकारले ३३ लाख रुपैयाँ बजेटसमेत उपलब्ध गराएको छ।
हाल बाहिरबाट धागो ल्याएर पुराना लुममार्फत कपडा बुन्ने परीक्षण भइरहेको छ। परीक्षणबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई दीर्घकालीन रूपमा कसरी सञ्चालन गर्ने भन्ने मोडालिटी तय गरिनेछ। त्यसपछि आवश्यक नयाँ मेसिन तथा प्रविधि थप गरी उत्पादन विस्तार गर्ने सरकारको तयारी छ। हेटौंडा कपडा उद्योग पुनः सञ्चालनको प्रक्रिया अघि बढिरहेका बेला संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अबको केही महिनाभित्र उद्योगका सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन थालिने बताउनुभयो ।
शनिबार उद्योगको निरीक्षण गर्दै मन्त्री यादवले लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि सरकारले अघि बढाएको काम देखिन थालेको बताउनु भयो। ‘सरकारले स्टन्टबाजी गरिरहेको भनेर चर्चा छ’ मन्त्री यादवले भन्नुभयो ‘अवस्था त्यस्तो होइन, मेसिन मर्मत गरेर परीक्षण उत्पादन सुरु भइसकेको छ। अबको केही महिनाभित्र सबै लुम सञ्चालनमा ल्याएर कपडा उत्पादन गर्छौँ।’
‘सरकारी उद्योग सञ्चालनमा आउन थालेपछि केही निजी उद्योगीहरूले रोक्नका लागि विभिन्न तत्त्व प्रयोग गरिरहेका छन्,’ उहाँले बताउनुभयो ।हेटौंडा कपडा उद्योगमा नेपाली सेनाको प्राविधिक टोलीले बिग्रिएर थन्किएका मेसिन मर्मत गरेपछि पुनः सञ्चालनको प्रक्रिया अघि बढेको हो।उद्योगमा अहिले २० वटा लुम सञ्चालनमा ल्याएर कपडा उत्पादनको परीक्षण भइरहेको छ।
सरकारले क्रमशः सबै लुम सञ्चालनमा ल्याउने तयारी गरेको जनाएको छ। ‘उद्योगमा रहेका कुल ४८८ वटै मेसिनहरू क्रमशः सञ्चालनमा ल्याइनेछ । नेपाली सेनाले यसको व्यवस्थापन र सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ’ मन्त्री यादवले भन्नुभयो ‘विगतमा ९ करोड रुपैयाँ खर्च हुँदा पनि प्रशासनिक काममै सकियो । तर अहिले हामीले मात्र ३३ लाख रुपैयाँको लगानीमा २० वटा मेसिन तयार पारेका काम गरेर देखाएका छौँ र यसको मूल्याङ्कन जनताले गर्नेछन् ।’
उद्योगका लागि आवश्यक कच्चा पदार्थ (कपास) नेपालकै विभिन्न स्थानबाट सङ्कलन गरिने र स्वदेशी उत्पादनलाई प्राथमिकता दिइने बताईएको छ। सरकारले उद्योगको मर्मत, पुनःस्थापना र सञ्चालनको जिम्मेवारी नेपाली सेनालाई दिएपछि उद्योगले पुनर्जीवन पाएको प्रतिक्रिया आउन थालेको छ।हाल नेपाली सेनाको उत्पादन निर्देशनालयका करिब ४० जना प्राविधिक तथा विभिन्न दर्जाका सैनिक उद्योग सञ्चालनको तयारीमा खटिएका छन्।
यसअघि उद्योग सञ्चालनसम्बन्धी अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन गर्ने र त्यसको परिणामका आधारमा दीर्घकालीन रूपमा पूर्ण क्षमतामा सञ्चालन गर्ने खाका सरकारलाई बुझाएको थियो । उद्योगभित्रको विद्युत् प्रणाली मर्मतको कामसमेत सम्पन्न भएको जनाइएको थियो । यसअघि सरकारले हेटौंडा कपडा उद्योगलाई चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने तयारी गरेको बताएको थियो ।
चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको हेटौंडा कपडा उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो । उद्योग पुनः सञ्चालनको प्रयास भने नयाँ होइन । यसअघि पनि विभिन्न सरकारले पटक–पटक उद्योग सञ्चालन गर्ने घोषणा र अध्ययन गरेका थिए । २०७३ सालमा उद्योग पुनः सञ्चालनबारे विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ सालमा सरकारले उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको अध्ययन प्रतिवेदनसमेत तयार गरेको थियो। त्यतिबेला उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ खर्च आवश्यक पर्ने र विभिन्न मोडालिटीबाट सञ्चालन गर्न सकिने सुझाव दिइएको थियो ।
त्यसैगरी, २०७५ सालमै नेपाली सेनालाई समेत संलग्न गराएर उद्योग पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो । पछिल्लो पटक २०८१/८२ को बजेटमा पनि हेटौंडा कपडा उद्योगलाई सार्वजनिक-निजी साझेदारीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो । यस अघि गत साउन २३ गते शनिबार उद्योगमा पुराना मेसिन मर्मत गरी सफल परीक्षण उत्पादन सुरु गरिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक संजालमा लेखेका थिए ।
लामो समयदेखि थन्किएका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा फेरि कपडा बुन्ने तानको ‘खट्खट्’ आवाज सुनिन थालेको परियारले आफ्नो सामाजिक सञ्जालमा तान चलेको भिडियो सामग्री राख्दै उल्लेख गरेका छन् ।
उद्योग पुनःसंचालनको लागि गरिएका सरकारी प्रयासहरु
२०६२/०६३ को जनआन्दोलनपछि बनेका विभिन्न सरकारले हेटौडा कपडा उद्योग पुनः सञ्चालनका लागि पटक-पटक पहल गरेका थिए । धेरैजसो घोषणा, अध्ययन, समिति गठन र केही बजेट उद्योगका पुराना मसिनहरु मर्मत र परिक्षणमै सीमित रहे तर सञ्चालन भने हुन सकेन।
आर्थिक वर्ष २०६५/६६ मा माओवादी नेतृत्वको सरकारका अर्थमन्त्री डा. बाबुराम भट्टराई बजेट वक्तव्यमै उद्योग पुनः सञ्चालन गर्ने घोषणा गरेका थिए ।सेना, प्रहरी र निजामती कर्मचारीका पोसाकका लागि स्वदेशी कपडा उत्पादन गर्ने योजना सहित उनले गरेकाे बजेट भाषणमा करिब ९ करोड रुपैयाँ बजेट विनियोजन भएकाे थियाे ।
त्यसपछिकाे २०६६ साल कार्तिकमा सरकार परिवर्तन भएपछि माधवकुमार नेपाल नेतृत्वको सरकारले कपडा उद्योग खारेज गर्ने निर्णय गरकेा थियो । माओवादीकाे सरकार हुँदा बिनयोजन भएकाे बजेट खर्च भए पनि नेपाल नेतृत्वकाे सरकारमा निरन्तरता पाउन सकेन ।
त्यसपछि बनेकाे उद्योग मन्त्रीहरू अष्टलक्ष्मी शाक्य, महेन्द्रप्रसाद यादव, अनिलकुमार झा, महेश बस्नेत, नविन्द्रराज जोशी लगायतका उद्योगकाे अनुगमन र र पुनः संचालनकाे घोषणा गरेका थिए । २०७३ सालमा विस्तृत अध्ययनका लागि समिति गठन समेत गरियो । २०७५ सालमा सरकारी अध्ययनले करिब ३० करोड लगानीमा विभिन्न मोडालिटीबाट सञ्चालन सम्भव भएको निष्कर्ष निकालेकाे थियाे । नेपाली सेनाले सामान्य मर्मतबाट उद्योग चलाउन सकिने प्रस्ताव समेत गरेकाे थियो ।
आर्थिक वर्ष २०७९/८० मा अर्थमन्त्री जनार्दन शर्मा बजेटमा रुग्ण उद्योग सञ्चालन नीतिकाे घोषणा गरे । २०८०/०८१ मा पुष्पकमल प्रचण्डकाे सरकारले नीति तथा कार्यक्रममा कपडा उद्योग पुन संचालनलाई समावेश गरी सेनासँग छलफल समेत गरेका थिए । सेनाको अध्ययन प्रतिवेदनले उद्योग पूर्ण सञ्चालनका लागि प्रारम्भिक १ अर्ब ९३ करोड लागत, वार्षिक सञ्चालन खर्च करिब ७८ करोड र ९ वर्षपछि लागत प्रतिस्थापन गरी नाफामा जाने अनुमान सहित सेनाको कल्याणकारी कोषबाट लगानी गर्न सकिने प्रस्ताव सरकारलाई गरेकाे थियाे ।
आ.व. २०८१/८२ बजेटमा सार्वजनिक-निजी साझेदारी (PPP) मोडलमा उद्योग सञ्चालन घोषणा गरियो । घोषणाहरू प्रायः कार्यान्वयनमा आएनन्। उद्योगको सम्पत्ति औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड (IDM) मा हस्तान्तरण भएकाे थियो। २०८२/८३ सालमा सरकारले पुनः सक्रियता देखाउँदै पुनः संचालनकाे लागि परीक्षण संचालन गरेकाे छ ।
उद्योग पुनः संचालनकाे लागि बजेट विनियोजनसहित प्रारम्भिक काम २०६५ सालमा माओवादी सरकार ले गरेको हाे । तर राजनीतिक अस्थिरताले रोकेको यसले पूर्णता पाएन ।
यसैगरी सरकारले हेटौंडा कपडा उद्योग सञ्चालनमा आएसँगै नेपालमै आवश्यक पर्ने कपास उत्पादन बढाउन जोड दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यवसायी तथा निजी क्षेत्रलाई कपास खेतीमा लगानी गर्न आह्वानै गरेको छ ।
नेपालमा कपडा उद्योगका लागि आवश्यक कच्चापदार्थ कपास ठूलो मात्रामा आयात गर्नुपर्ने अवस्था अन्त्य गर्दै स्वदेशमै कपास उत्पादन र कपडा उद्योगको कच्चापदार्थ आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले मन्त्रालयले व्यवसायीलाई कपास खेतीतर्फ आकर्षित हुन आग्रह गरेको हो ।
उद्योग पुनः सञ्चालनको महत्वपूर्ण सुरुवात भए पनि उद्योगलाई दीर्घकालीन रूपमा प्रतिस्पर्धी र दिगो बनाउने चुनौती सरकार सामू बाँकी नै छ । उद्योगका पुराना मेसिन तथा प्रविधि, उत्पादन लागत र निजी क्षेत्रसँगको प्रतिस्पर्धा महत्वपूर्ण हुन्छ । पुरानो प्रविधिबाट उत्पादन गर्दा आधुनिक उद्योगसँग प्रतिस्पर्धा गर्न कठिन हुने र नयाँ प्रविधिमा ठूलो लगानी आवश्यक पर्ने विज्ञ तथा उद्योगसम्बद्ध अधिकारीहरूको धारणा छ ।
हेटौंडा कपडा उद्योगलाई दिगो बनाउन कपास र धागोको आपूर्तिलगायत कच्चा पदार्थको सुनिश्चिततासमेत महत्वपूर्ण हुने विषय विगतदेखि उठ्दै आएको छ । लामो समयदेखि बन्द रहेकाे उद्योगका तान फेरि चल्नुले पूर्ण व्यावसायिक सञ्चालन हुनेमा आशावादी हुन सकिन्छ ।
मकवानपुर । बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री किरण थापा मगरले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री थापाले भदौ ८ गते सोमबार १ बजे संसदबाट विश्वासको तय भएकाे हाे ।
एमाले, नेकपा र राप्रपाको समर्थनमा बिहीबार मुख्यमन्त्रीमा नियुक्ति भएका थापाले विश्वासको मत लिन संसद सचिवालयलाई पत्राचार गरेका छन् । नेपालको संविधानको धारा १६८ को २ बमोजिम सरकारको नेतृत्व गरेका थापालाई बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनलाई पद तथा गोपनीयताको सपथ गराएका थिए ।
मुख्यमन्त्री थापाले आगामी भदौ ८ गते विश्वासको मत लिने भएपछि प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै भदौ ८ गते मुख्यमन्त्री थापाले विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको जनाएकाे छ । भदौ ८ गते दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मत लिने सम्बन्धी कार्यसूची रहेको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ ।
उपसभामुख अप्सरा चापागाईंले प्रदेश सभाको आठौं अधिवेशनको १८ औं बैठक बस्ने गरी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम सोमबार दिनको १ बजेको समय निर्धारण गरेका हुन् । उक्त बैठकमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ बमोजिम विश्वासको मतको प्रस्ताव पेस हुने बताइएकाे छ ।
मुख्यमन्त्रीमा नियुक्ति भएको १ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यबस्था छ ।

मकवानपुर । बुधबार बहुमतसहित बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका नेकपा एमालेका किरण थापाकाे नियुक्ति र सपथ बिहीबार मात्रै हुने भएकाे छ । उनले प्रदेशसभाका नेकपा र राप्रपा समेतकाे ६३ जना सदस्यकाे समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
एमालेका थापालाई एमालेका २५ (उपसभामुख सहित), नेकपाका २६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२ सांसदले समर्थन गरेका छन् । तीन दलको संसदीय दलका नेताको हस्ताक्षरमा नेपालको संविधानको धारा १६८ को (२) बमोजिमको सरकार गठनका लागि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा समक्ष दाबी गरे पनि उनको नियुक्ति र शपथ ग्रहण भने बिहीबार मात्रै हुने भएको छ । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कानुनी विवाद हुने भन्दै तत्कालै नियुक्ति प्रक्रिया अघि नबढाएकाे कानून अधिकृत राजेश तामाङले जानकारी दिए ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सोमबार मात्रै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय सीमा बिहीबार दिउँसो ४ बजेसम्मकाे लागि तोकेका थिए । उक्त समय अगावै नियुक्ति गर्दा कानुनी जटिलता आउन सक्ने भएकाेले बिहीबार ४ बजेपछि मात्रै थापालाई मुख्यमन्त्री नियुक्त गर्ने र लगत्तै शपथ गराउने तयारी गरेकाे तामाङले बताए । तामाङका अनुसार बिहीबार ४ बजेको समय सीमा सकिए लगत्तै प्रदेश प्रमुख देवकोटाले थापालाई मुख्यमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
केन्द्रीय सत्ता समीकरणमा फेरबदल भएसँगै बागमतीमा एमालेले नेतृत्व पाउने सहमति भएको थियो । मंगलबार बसेको एमाले संसदीय दलको बैठकले दलको नेतामा जगन्नाथ थपलियालाई नै कायम राख्ने र थापालाई मुख्यमन्त्रीको रूपमा अगाडि बढाउने सहमति गरेपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो । ११० सदस्यीय प्रदेश सभामा हाल १०४ सदस्य कायम छन् । बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ ।