मकवानपुर । निजामती सेवासम्बन्धी कानून संघीय निजामती सेवा विधेयक संसदमा दर्ता भएकाे छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विहीबार संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा दर्ता गर्नु भएकाे हाे ।
५५ वर्ष उमेर पुगेको वा ३० वर्ष सेवा गरिसकेका कर्मचारीलाई अनिवार्य अवकाश दिने गरी विधेयकमा प्रस्ताव गरिएकाे छ । गत मंगलबारकाे मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदमा पेश गर्न स्वीकृत दिएकाे थियाे ।
५५ वर्षमा अवकाश पाउने कर्मचारीलाई अवकाश दिँदा ५८ वर्ष सेवा अवधि मानेर पेन्सन सुविधा दिने व्यवस्था समेत प्रस्तावित विधेयकमा छ । यसैगरी सरकारी कर्मचारीले जागिर छाडेपछि वा अवकाश भएपछि अन्य सरकारी नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने व्यवस्था समेत विधेयक प्रस्ताव गरिएकाे छ ।
विधेयकले निजामती सेवामा रहेको श्रेणीगत प्रणालीलाई तहगत प्रणालीमा रूपान्तरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार विभिन्न श्रेणीलाई तहमा रूपान्तरण गरिनेछ। हाल कायम रहेका कर्मचारीलाई पनि तोकिएको तहमा कायम गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। यसले कर्मचारीको पद र तह निर्धारणमा नयाँ संरचना ल्याउनेछ।
विधेयकले संघीय निजामती सेवाअन्तर्गत ११ वटा सेवा रहने प्रस्ताव गरेको छ। यसमा आर्थिक योजना तथा तथ्याङ्क, इन्जिनियरिङ, कृषि, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, वन, विविध, शिक्षा र सूचना प्रविधि सेवा छन्। केही सेवालाई तेह्रौँ तहसम्म सेवा विशिष्टीकरणका लागि क्लस्टरमा राख्ने प्रस्ताव पनि गरिएको छ। संघ, प्रदेश र स्थानीय तहबीच कर्मचारी व्यवस्थापनमा समन्वय गर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ। तीनै तहका कार्यालयमा संघीय, प्रदेश र स्थानीय सेवाका कर्मचारी संयुक्त रूपमा रहने गरी कार्यालय व्यवस्थापन गर्न सकिनेछ।
यस्तो छ संघीय निजामती विधेयक (पूर्णपाठ)
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनको कार्यतालिका निर्वाचन आयोगमा बुझाएको छ।
देउवाले कांग्रेस सभापतिकै हैसियतमा हस्ताक्षर गरेकाे पत्र मंगलबार निर्वाचन आयोगमा बुझाइएको हो। १५औं महाधिवेशन तयारी समितिका अनुसार असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१-२३ मा केन्द्रीय महाधिवेशन गर्ने विवरण निर्वाचन आयोगमा पेश गरिएको छ।
आयोगलाई बुझाइएको पत्रमा महाधिवेशनको तिथिमिति सहितका विवरण खुलाइएको छ। जस अनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका छ।
यस्तै मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने लागेको छ। कांग्रेसको संस्थापनले भने यही असोज १८ गतेदेखि १५औँ महाधिवेशन गर्दै छ। कांग्रेस आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा कांग्रेसका दुवै पक्षले महाधिवेशनको प्रक्रिया अगाडि बढाएका हुन्।
मकवानपुर । बागमती प्रदेश सरकारकाे चालु आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा तीव्रता दिन मुख्यमन्त्री किरण थापा मगरले निर्देशन दिनु भएकाे छ । मंगलबार मुख्यमन्त्री किरण थापाले प्रदेशका ७ मन्त्री र प्रमुख सचिव कमल प्रसाद भट्टराईसँग औपचारिक रुपमा कार्यसम्पादन सम्झौता गर्दै यस्तो निर्देशन दिनु भएकाे हाे ।
प्रदेश सरकारले नतिजामुखी रूपमा कार्यक्रम तथा आयोजना कार्यान्वयन गर्न कार्यसम्पादन करार सम्झौता गरिएकाे हो । मुख्यमन्त्री थापा मगरले प्रदेश सरकारका नीति, कार्यक्रम र बजेट कार्यान्वयनमा सबैले आ–आफ्नो जिम्मेवारीअनुसार सक्रिय भएर काम गर्नुपर्ने बताउनुभयो । ‘मन्त्रीहरूले सचिवसँग तथा सचिवहरूले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गरी सम्झौताअनुसारका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
चालु आर्थिक वर्षको दुई महिना बितिसकेको उल्लेख गर्दै मुख्यमन्त्री थापाले समयभित्र बजेट तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्ने अवस्थासँगै चुनौती समेत रहेको बताउनुभयो। विशेषगरी विकाससँग सम्बन्धित मन्त्रालय तथा कार्यालयहरूले काममा ढिलासुस्ती गरे वार्षिक प्रगति हासिल गर्न कठिन हुने भन्दै काममा तीव्रता दिन निर्देशन दिनुभयो ।
मुख्यमन्त्रीले चालु आर्थिक वर्षमा बजेट कार्यान्वयनका लागि बितिसकेका दुई महिनाको समयलाई समेत ध्यानमा राख्दै आगामी दिनमा कामको गति बढाउन आग्रह गर्नुभयो। मन्त्रालय र मातहतका कार्यालयहरूले बजेटमा समावेश गरिएका कार्यक्रमको नियमित कार्यतालिका बनाएर तदारुकताका साथ कार्यान्वयन गर्नुपर्ने उहाँको भनाई थियो।
मुख्यमन्त्री थापाले प्रदेश सुशासन ऐन, २०७७ को दफा १९ र सुशासन नियमावली, २०७७ को नियम ९ को व्यवस्था अनुसार मन्त्री र प्रमुख सचिवसँग कार्यसम्पादन करार सम्झौता गरेका हुन् । सम्झौता गर्ने मन्त्रीहरुमा आर्थिक मामिला तथा योजना मन्त्री सरल सहयात्री, उद्योग पर्यटन श्रम तथा यातायात मन्त्री राजेन्द्र प्रजापति, स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिर बहादुर तामाङ, खानेपानी उर्जा तथा सिंचाई मन्त्री राजु विष्ट, भौतिक पूर्वाधार विकास मन्त्री भरत बहादुर केसी, र कृषि पशुपन्छी वन तथा वातावरण मन्त्री रमा आले मगर रहेका छन् ।
कार्यसम्पादन सम्झौताले प्रदेश सरकारका कार्यक्रम तथा आयोजनालाई निर्धारित समय, लागत र गुणस्तरमा सम्पन्न गर्दै नतिजामुखी प्रशासन सञ्चालन गर्न सहयोग पुग्ने उहाँको भनाई छ । ‘हामीसँग काम गर्न अब मोटामोटी २०० दिन मात्र बाँकी छ । त्यसमा पनि हप्ताको दुई दिन बिदाका कारण कार्यान्वयन पक्षमा चुनौतीहरु छन्’ उहाँले भन्नुभयो ‘प्रदेश सरकारले गर्नुपर्ने काम निश्चित अवधिभित्र सम्पन्न गर्न, निश्चित परिणाम हासिल गर्न र प्राथमिकताप्राप्त योजनाहरु समयमै कार्यान्वयनमा लैजान नतिजा सूचकमा आधारित कार्यसम्पादन करार गरिएको हो ।’
मकवानपुर । बागमती प्रदेश सरकारकाे प्राथमिकतामा स्वास्थ्य क्षेत्र रहेकाे प्रदेश मुख्यमन्त्री किरण थापा मगरले बताउनु भएकाे छ । चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालको अनुगमन गर्दै उहाँले प्रदेश सरकारले अस्पतालहरूको स्तरोन्नति, जनशक्ति व्यवस्थापन, उपकरण थप तथा सेवा विस्तारलाई निरन्तरता दिएको जानकारी दिनु भएकाे हाे ।
‘जनशक्ति अभाव र पर्याप्त भवन तथा भौतिक संरचना नहुँदा अस्पतालले चाहेजति सेवा विस्तार गर्न समस्या भइरहेको छ’ मुख्यमन्त्री थापा मगरले भन्नुभयो उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै अस्पतालको क्षमता विस्तारमा प्रदेश सरकार केन्द्रित रहेको छ ।’ स्वास्थ्य उपचारका लागि नागरिकले अन्य जिल्ला धाउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेशका अस्पतालहरूमा विशिष्टीकृत तथा विशेषज्ञ सेवा विस्तार गर्न आवश्यक रहेको मुख्यमन्त्री थापा मगरले बताउनुभयो। आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै अस्पतालहरूको सेवा र क्षमता थप विस्तार गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो।
मुख्यमन्त्री थापा मगरका अनुसार हाल बागमती प्रदेशमा स्वास्थ्य क्षेत्रमा कुल बजेटको करिब ४.५ प्रतिशत मात्र विनियोजन भएकाे छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को मापदण्डअनुसार स्वास्थ्य क्षेत्रमा बजेटको हिस्सा १० प्रतिशत पुर्याउने लक्ष्यसहित आगामी बजेटमा स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने उहाँले बताउनुभयो।
बकुलहर रत्ननगर अस्पतालको नयाँ भवन निर्माणको म्याद सकिए पनि निर्माण कार्य पूरा नगरेको र निर्माण व्यवसायी सम्पर्कमा समेत नआएको विषयमा प्रदेश सरकारले आवश्यक प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो। निर्माण व्यवसायीको ठेक्का रद्द गरी कानुनी कारबाही अघि बढाउने तथा बैंक ग्यारेन्टी रोक्ने प्रक्रिया अगाडि बढाइने उहाँले बताउानु भयो। स्वास्थ्य चौकीकाे रूपमा सेवा दिदै आएकाेमा बकुलहर अस्पताल प्रादेशिक अस्पतालमा स्तरोन्नति भएपछि सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेकोले प्रदेशका सरकारी अस्पतालप्रति नागरिकको विश्वास र बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो।
अस्पतालमा हुने सामान्य घटनालाई लिएर तोडफोड गर्ने वा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने प्रवृत्ति रोक्नु पर्ने उहाँकाे भनाई थियाे । स्वास्थ्य संस्थामा कुनै समस्या देखिएमा संवाद र सहजीकरणमार्फत समाधान खोज्नुपर्ने भन्दै उहाँले समाजका बुद्धिजीवी, जनप्रतिनिधि तथा सरोकारवालालाई त्यस्ता विषयमा सहजीकरण गर्न आग्रह गर्नुभयो। स्वास्थ्य सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने कामसमेत अघि बढिरहेको उहाँले बताउनु भयो। स्वास्थ्य मन्त्रालयलाई डिजिटल प्रणालीमा लैजाने क्रममा डिजिटल एप्स, अनलाइन टिकट तथा इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) मार्फत स्वास्थ्य सेवालाई पेपरलेस बनाउने सुरुवात भइसकेको उहाँले जानकारी दिनुभयो।
‘बागमती प्रदेशका प्रादेशिक अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुरु गरिएको छ’ उहाँले भन्नु भयो ’आधारभूत अस्पतालहरूमा रहेको जनशक्ति र उपकरणको अभावलाई प्रविधिमार्फत सम्बोधन गर्ने प्रयास भइरहेको छ ।’ हेटौंडा, भक्तपुर र सिन्धुली अस्पताललाई टेलिमेडिसिन हबका रूपमा विकास गरी २४ घण्टा परामर्श सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो।
मकवानपुर । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ । आज पहिलो दिन अर्थात प्रतिपदा तिथि श्राद्ध गर्नुपर्ने छ ।
आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने गरिन्छ । सोह्र दिनसम्म यो क्रम चल्ने भएकाले सोह्रश्राद्ध भनिएको हो । यो समयलाई अपर, प्रेत पक्ष आदि नामले पनि बुझिन्छ । चाडपर्व यज्ञयागादि तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।
यो समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पुरा हुनाका साथै पितृऋणबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहेको छ। आश्विन शुक्ल पञ्चमीपछिका अष्टमी, द्वादशी र औँसी, भरणी नक्षत्र र व्यतिपात योग परेका दिन जुनसुकै तिथि परेपनि रोकिएको सोह्रश्राद्ध गर्न सकिने शास्त्रीय विकल्पसमेत निर्णयसिन्धु, धर्मसिन्धुलगायत धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएकाे छ ।
त्यसपछि पनि सोह्रश्राद्ध गर्न नसकिएमा सक्नेले आफैँ नसक्नेले ब्राह्मणमार्फत् दैनिक १०८ मन्त्र जप गर्न सकिने शास्त्रीय विकल्प रहेको छ । विधिपूर्वक यस्तो जप १० महिनासम्म गर्नुपर्छ । यो विधिबाट पनि पितृले तृप्ति प्राप्त गर्ने धार्मिक विश्वास छ । पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दसैँ सुरु हुन्छ । बडादसैँ मनाउनुअघि पितृ तृप्तिका लागि सोह्र श्राद्ध गर्ने गरिएको धर्मशास्त्रीय मत छ । ठूला पर्व वा चाड मनाउनुअघि पितृतृप्तिको कर्म गर्ने वैदिक सनातनी परम्परा रही आएको छ ।
यस्तो छ शास्त्रीय विधान
प्रतिपदा, द्वितीया, तृतीया, चतुर्थी, पञ्चमी, षष्ठी, सप्तमी, अष्टमी, नवमी, दशमी, एकादशी, द्वादशी, त्रयोदशी, चतुर्दशी, औंसी र पूर्णिमा यी सबै तिथिहरूमा पितृहरूको तर्पण र श्राद्ध गरिन्छ, जसबाट पितृहरूको आत्माको शान्ति प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ ।
जसलाई आफ्ना परिजनहरूको मृत्यु तिथि थाहा हुँदैन, तिनीहरूले पनि यसै पितृपक्षको पञ्चमी, अष्टमी, द्वादशी वा आमावास्य तिथिका दिन श्राद्ध गर्ने चलन छ ।
कुन पितृको श्राद्ध कुन दिन गर्ने भन्ने कुरा कहिले मृत्यु भएको थियो र त्यस समयमा कुन तिथि थियो त्यही तिथिकै आधारमा तय गरिन्छ । तत् पश्चात पितृहरूलाई तर्पण र पिण्डदान र भोजन अर्पण गरिन्छ, जसलाई उनीहरूको आत्माको तृप्तिका लागि गरिन्छ । यो कर्म सामान्यतया गाईको दूध अनि खिरबाट बनाइएका पिण्डलाई स्वधा (पितृहरूको पत्नी) उचारण गर्दै गुरु पुरोहितको निर्देशन अनुसार पिण्ड अर्पण गरिन्छ ।
पवित्र जलले पितृहरूको नाममा अर्पण गर्ने कर्म तर्पण हो। यसलाई गङ्गाजल वा अन्य पवित्र जलमा पञ्चामृतसहित कुश, जउ, तिल, फूल, चन्दन आदि स्रोतहरूबाट सम्पन्न गरिन्छ । हिन्दू धर्मग्रन्थहरूमा सोह्र श्राद्धको गहिरो व्याख्या गरिएको पाइन्छ । विशेष गरी ‘गरुड पुराण’, ‘विष्णु पुराण’, र ‘महाभारत’ जस्ता ग्रन्थहरूमा पितृपक्ष र श्राद्ध कर्मको महत्त्व बताइएको छ ।
एकोद्दिष्ट (वार्षिक तिथिका दिन गरिने) श्राद्ध मध्याह्न कालमा, पार्वण श्राद्ध (पितृपक्षमा गरिने श्राद्ध) अपराह्नमा र आभ्युदयिक श्राद्ध प्रातःकालमा गर्ने शास्त्रीय विधान छ । प्रत्येक गृहस्थीले श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ । सहरी क्षेत्रमा अरूको घरमा डेरा गरी बस्ने श्राद्ध कर्ताले श्राद्ध र तर्पणादि कार्य सकेसम्म नजिकको तीर्थक्षेत्र, नदि, मन्दिरमा या तुलसीको मठमा गर्नु उपयुक्त हुन्छ ।
सोह्रश्राद्धमा पितृहरू पितृलोकबाट पृथ्वीतलमा आगमन गर्ने विश्वास गरिन्छ, यसै पक्षमा आफूले पञ्चभौतिक शरीर त्याग गरेको तिथिमा आफ्ना सन्तान तथा सन्ततिहरूबाट तर्पण, पिण्डदान, श्राद्ध आदि कर्मको आशा राखेका हुन्छन् । पितृहरू आफ्ना सन्तानले तर्पण, पिण्डदान, श्राद्ध, भोजन र दान श्रद्धापूर्वक गरेर खुसी पार्न सकुन भन्ने चाहन्छना राख्नसका साथै श्राद्धकर्तालाई वंश वृद्धि हुने, परिवारमा सुख छाउने, शान्ति मिल्ने, समृद्धि प्राप्त हुने र धनसम्पत्तिको आशीर्वाद दिएर पितृलोक फर्कन्छन् भन्ने शास्त्रोक्त कथन छ ।