मकवानपुर । मकवानपुरको हेटौंडा १९ नेवारपानीमा कन्टेनर र ट्रक ठोकिदा १ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ६ बजेको समयमा हेटौडा १९ नेवारपानी स्थित पुर्व पश्चिम सडकखण्डमा हेटौडाबाट चितवनतर्फ जादै गरेको ना ४ ख ९९२३ नम्बरको कन्टेनर (टेलर) गाडी र चितवनबाट बिरंगंजतर्फ जान आउदै गरेको बा.प्र. ०३-००१ ख ०३९८ नम्बरको ट्रक एकआपसमा ठोकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त दुर्घटनामा मृत्यु हुनेमा कन्टेनर चालक सर्लाही बरहथवा १५ पिपराभिट्टा घर भई हाल पर्सा बिरंगज २ छपकैया बस्ने ३८ वर्षीय गोबिन्द चौधरी रहेका छन् । घाईते भएका चौधरीको सीएमसी चुरेहिल अस्पताल ल्याइएकोमा डाक्टरले उपचारको क्रममा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
ट्रक चालक चितवन खैरेनी ९ बस्ने ४२ वर्षीय धनेश्वर चौधरी सकुशल रहेकोमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।
मकवानपुर । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर वितरण गर्ने भएको छ ।
शुक्रबारबाट उपभोक्तासम्म ग्यासको पहुँच बढाउन १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डर वितरण गर्न लागिएको जानकारी दिए।
अमेरिका र इजरेल तथा इरान द्वन्द्वले पेट्रोलियम पदार्थ आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने गरि नेपाल आयल निगमको बिहीबारको सञ्चालन समितिको बैठकले निर्णय गरेको हो ।
१० वर्ष अघि केपी ओली प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीको समयमा ग्यास अभाव भएपछि आधा सिलिन्डर बिक्री वितरण गरिएकाे थियो । शुक्रबारबाट उपभोक्ताले आधा मूल्य तिरेर ७.१ केजी ग्यास प्राप्त गर्न सक्नेछन् ।
यो व्यवस्थाले ग्यासको वितरणलाई केही सहज बनाउने अपेक्षा निगमले लिएको छ । निगमका अनुसार देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् ।
मकवानपुर । मकवानपुरगढी १ लेनडाँडामा २ वटा ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको छ । बुधबार भएको उक्त घटनामा १ जना घाइते भएका छन् ।
बुधबार राती साढे ११ बजेको समयमा हेटौंडा- काठमाडौ जोड्ने कान्तिलोकपथ सडक खण्ड अन्तरगत लेनडाँडामा काठमाडौ तर्फ जाँदै गरेको म.प्र.०३-०० २ ख ४६४१ नं.को सिमेन्ट लोड ट्रक र बिपरित दिशा काठमाडौ तर्फ बाट हेटौडा तर्फ आउदै गरेको म.प्र.०३-०० २ ख ४५०१ नं.को खालि ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ४६४१ नं.को ट्रक चालक सिन्धुली दुधौली न.पा.१४ बस्ने २४ वर्षीय टुल्कु सिंह तामाङको घाईते अवस्थामा उद्वार गरी हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएको छ । ४५०१ नं. को ट्रक चालक मकवानपुर बागमती ७ बस्ने ४३ वर्षीय बेल कुमार स्याङतानलाई प्रहरीको नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार दुवै ट्रक घटनास्थलमै रहेको तथा बाटो एक तर्फी सुचारु रहेको छ ।
मकवानपुर । मकवानपुरकाे हेटौडामा आगामी फागुन २९ गतेदेखि सुरु गर्न लागिएको दोस्रो खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारी तिव्र पारिएको छ ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडा १० स्थित टिसिएनको चौरमा महोत्सव हुन लागेको हो । जिल्लाको खेलकुद क्षेत्रको विकासका लागि आयोजना गर्न लागिएको महोत्सवको तयारीलाई तिव्रता दिइएको आयोजकले जनाएको छ ।
जेन्जी आन्दोलनको क्रममा भएको भौतिक क्षति पुनःस्थापना तथा खेलकुद सामग्री खरिद एवम् खेलकुद क्षेत्रको विकासका लागि महोत्सवको आयोजना गर्न लागिएको खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष राजकुमार मोक्तानले जानकारी दिए ।
‘दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवको तयारीलाई तिव्र पारिएको हो । अहिले महोत्सव स्थलको घेराबारासहित स्टल निर्माण, खेलकुद प्रतियोगिता आयोजनास्थलको मर्मत सम्भारलगायतका कार्य भैरहेको छ’, अध्यक्ष मोक्तानले भने । महोत्सवबाट बचेको रकमले मकवानपुर जिल्ला खेलकुद विकास समितिको भवन निर्माण र खेल सामग्री खरिद गरिनेछ ।
महोत्सव सञ्चालनमा करिब ८० लाख रुपैयाँ खर्च हुने बताइएको छ । ४ सयवटा व्यावसायिक स्टल रहने महोत्सवमा खेल, व्यापार, कृषि र पर्यटनलाई एउटै थलोमा जोड्ने उद्देश्य राखिएको अध्यक्ष मुक्तानले बताए ।
महोत्सवमा राष्ट्रिय महिला भलिबल, राष्ट्रिय तेक्वान्दो, जिल्लास्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र कराँते प्रतियोगिता, १० किलोमटिर महिला तथा पुरुष दौड प्रतियोगिता हुनेछ । महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन समेत हुने बताइएको छ ।
महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगीतिक प्रस्तुति समेत रहने खेलकुद विकास समितिका सदस्य मदन उप्रेतीले बताए । खेलकुद महोत्सवमा खेल क्षेत्रका १० जनालाई जनही नगद २५ हजार रुपैयाँसहितम सम्मान समेत गर्ने आयोजकको तयारी रहेको छ ।
खेलकुद विकास समितिले यसअघि पनि महोत्सवको आयोजना गरेको थियो । महोत्सवबाट बचेको रकम खेलाडीको हितका लागि कोषमा राखिएको छ ।