मकवानपुर । मकवानपुरगढी १ लेनडाँडामा २ वटा ट्रक एक आपसमा ठोकिएर दुर्घटना भएको छ । बुधबार भएको उक्त घटनामा १ जना घाइते भएका छन् ।
बुधबार राती साढे ११ बजेको समयमा हेटौंडा- काठमाडौ जोड्ने कान्तिलोकपथ सडक खण्ड अन्तरगत लेनडाँडामा काठमाडौ तर्फ जाँदै गरेको म.प्र.०३-०० २ ख ४६४१ नं.को सिमेन्ट लोड ट्रक र बिपरित दिशा काठमाडौ तर्फ बाट हेटौडा तर्फ आउदै गरेको म.प्र.०३-०० २ ख ४५०१ नं.को खालि ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ४६४१ नं.को ट्रक चालक सिन्धुली दुधौली न.पा.१४ बस्ने २४ वर्षीय टुल्कु सिंह तामाङको घाईते अवस्थामा उद्वार गरी हेटौडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर जानकारी दिएको छ । ४५०१ नं. को ट्रक चालक मकवानपुर बागमती ७ बस्ने ४३ वर्षीय बेल कुमार स्याङतानलाई प्रहरीको नियन्त्रणमा लिएको बताइएको छ ।
प्रहरीका अनुसार दुवै ट्रक घटनास्थलमै रहेको तथा बाटो एक तर्फी सुचारु रहेको छ ।

