मकवानपुर । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि सरकारले उपभोक्तालाई आधा सिलिन्डर वितरण गर्ने भएको छ ।
शुक्रबारबाट उपभोक्तासम्म ग्यासको पहुँच बढाउन १४.२ केजीको सट्टा ७.१ केजी ग्यास भरेर सिलिन्डर बिक्री गर्ने नेपाल आयल निगमले जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले ग्यास आपूर्ति सहज बनाउन आधा सिलिन्डर वितरण गर्न लागिएको जानकारी दिए।
अमेरिका र इजरेल तथा इरान द्वन्द्वले पेट्रोलियम पदार्थ आयात प्रभावित भएपछि खाना पकाउने एलपी ग्यास आधा सिलिन्डर मात्र बिक्री गर्ने गरि नेपाल आयल निगमको बिहीबारको सञ्चालन समितिको बैठकले निर्णय गरेको हो ।
१० वर्ष अघि केपी ओली प्रधानमन्त्री हुँदा भारतले लगाएको नाकाबन्दीको समयमा ग्यास अभाव भएपछि आधा सिलिन्डर बिक्री वितरण गरिएकाे थियो । शुक्रबारबाट उपभोक्ताले आधा मूल्य तिरेर ७.१ केजी ग्यास प्राप्त गर्न सक्नेछन् ।
यो व्यवस्थाले ग्यासको वितरणलाई केही सहज बनाउने अपेक्षा निगमले लिएको छ । निगमका अनुसार देशभर करिब १ करोड ५० लाख ग्यास सिलिन्डर प्रयोगमा छन् ।

