मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले स्थानीय तह सदस्य निर्वाचन २०७९ मा मकवानपुर जिल्लामा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गर्ने भएको छ ।
शनिबार कांग्रेस मकवानपुरकाे कार्यसम्पादन समितिको बैठकले साउनको दोश्रो साता मकवानपुरमा कांग्रेसबाट निर्वाचित प्रमुख, उपप्रमूख र सदस्यहरुलाई सम्मान गर्ने निर्णय गरेकाे हाे । यसैगरी निर्वाचनमा प्रत्यासी उम्मेदवारहरुलाई हौसला प्रदान गर्ने कार्यक्रम गर्ने निर्णय गरेको पार्टी प्रवक्ता अर्जुन चौलागाईंले जानकारी दिए ।
त्यसैगरी बैठकले दुवै मिर्गौलाले काम नगर्ने भइ उपचाररत कांग्रेस मकवानपुरका पूर्व जिल्ला सदस्य रामकृष्ण प्रजाको उपचारको व्यवस्था र आर्थिक संकलनको लागि ३ सदस्यीय समिति समेत बनाएको छ । कांग्रेस मकवानपुर संगठन विभाग प्रमुख शैलेन्द्र बानियाँको संयोजकत्वमा जिल्ला सदस्य कालू घलान र खेम चेपाङ सहित ३ सदस्यीय समिति बनाएकाे हाे ।
नेता प्रजाको उपचार व्यवस्था तथा आर्थिक सहयोग संकलन समिति बनाईएको प्रवक्ता चौलागाईंले बताए । बैठकमा स्थानीय तह निर्वाचनको सम्बन्धमा समिक्षाको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।
मकवानपुर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या ५ सय १ सदस्सीय राख्ने विषयमा बस्ने भएकाे छ । केन्द्रिय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ ।
केन्द्रीय समिति सदस्यमा काे काे रहने त्यसका लागि नाम संकलन गर्ने कार्य गरिरहेको लाेसपाले जनाएकाे छ । लोसपा नेपालले सो बिवरण निर्वाचन आयोगमा पेश गर्दैछ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह १ बजे बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ ।
उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखी त्यसको नेतृत्वको ’मा पनि बैठकले छलफल गर्नेछ भने केही समय अघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता बिद्येयकलगायतको बिषयलाई समेत समेटेर बुझाएको ज्ञापनपत्रलाई कार्यान्वयन नगरेको विषयमा पनि बैठक केन्द्रित रहने बुझिएकाेछ ।
मकवानपुर । नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री बन्ने लगभग पक्का भएकाे छ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे सरकारको नेतृत्व छाड्न सकारात्मक भएसँगै बानियाँ मुख्यमन्त्री बन्ने भएका हुन् ।
बागमती प्रदेशमा एकीकृत समाजवादी सरकारको नेतृत्व छाड्न सकारात्मक देखिएको छ । मुख्यमन्त्री पाण्डे विरुद्व सत्तागठबन्धनमै रहेका माओवादी र कांग्रेसले आआफ्ना सांसदहरूको हस्ताक्षर संकलनको तयारी गरिरहेकाे बेला पाण्डेले ग्रीन सिग्नल दिएका हुन् ।
मओवादी र काँग्रेसले मुख्यमन्त्री पाण्डे विरुद्ध हस्ताक्षर संकलन गर्ने तयारी गरेपछि दबाबमा परेका मुख्यमन्त्री पाण्डे नेतृत्व छाड्न सकारात्मक देखिएका हुन् । पछिल्लो समय पाण्डेले केन्द्रको आदेश बिना सरकार नछोड्ने प्रतिक्रिया दिंदै आएका थिए ।
माओवादी र कांग्रेसले सरकारमा रहेका आफ्ना मन्त्री फिर्ता बोलाउने तयारी समेत गरिरहेको बेला पाण्डे सरकारको नेतृत्व छाड्न तयार भएका हुन् । सरकार छाड्नैपर्ने अवस्था सिर्जना भएपछि मुख्यमन्त्री पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् ।
शनिबार बस्ने गरी पार्टीले बैठक बोलाएको नेकपा एकीकृत समाजवादी संसदीय दलका सचेतक मुनु सिग्देलले जानकारी दिइन् । “गठबन्धनभित्र सरकार फेरबदलको विषयमा छलफल हुनेछ, अब बन्ने सरकारमा हाम्रो कतिजना मन्त्री रहने भन्ने बारेमा छलफल हुन बाँकी छ” सिग्देलले भनिन् “हामीले संसदीय दलको बैठक बस्ने तयारी गरेका हौँ ।” ११ कात्तिकमा मुख्यमन्त्री बनेका पाण्डेको सरकारमा एकीकृत समाजवादीका चारजना मन्त्री छन् ।
‘सरकार फेरबदलको विषय शीर्ष नेतृत्वबाट टुंगिनुपर्ने र आफूहरु प्रदेशले अफ्ठ्यारो अवस्था सिर्जना नगर्ने उनले बताइन् ।
पाण्डेको नेतृत्वमा सरकार गठन गर्दा समाजवादी, कांग्रेस र माओवादीबीच सरकार ६/६ महिना नेतृत्व गर्ने भद्र सहमति भएको थियो । सहमति कार्यान्वयन गर्न पाण्डे अनिच्छुक देखिएपछि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले लगातार दबाब दिएका थिए । “सहमति अनुसार पाण्डे नेतृत्वको सरकारले बजेट प्रस्तात ग-यो र पारित पनि भयोे, अबको पालो काँग्रेसको हो” एक काँग्रेस नेताले भने ।
ससदीय दलको बैठक
सरकारको नेतृत्व छोड्नु पर्ने अवस्था आएपछि मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदीय दलको बैठक बोलाएका छन् । शनिबार बिहान ११ बजे बस्ने गरी दलको बैठक बोलाएको नेकपा एकीकृत समाजवादीका बागमती प्रदेश सांसद कुसुम कार्कीले जानकारी दिए ।
समसामयिक विषयमा छलफल गर्न मुख्यमन्त्रीले दलको बैठक बोलाइएको हो । एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष रहेका पाण्डे गत ११ कात्तिकमा गठबन्धनका दलहरु कांग्रेस, माओवादी केन्द्र र जसपाको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
मुख्यमन्त्री पाण्डेलाई तत्कालिन समयमा बागमती प्रदेशका कुल १०९ जना सांसदमध्ये ५९ सांसदको समर्थन रहेको थियो । मुख्यमन्त्री पाण्डेलाई माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक सांसदको समर्थन गरेका थिए ।
मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति असार २७ गते बस्ने भएकाे छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
पाैडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने जनाएका छन् । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।
यसैबीच कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएकाे कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।
पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।
बालबालिकाको अवस्था सुधार्न स्थानीय सरकार जिम्मेवार हुनुपर्ने
Tags: No Comments
मकवानपुर । बालबालिकाहरुको विद्यमान अवस्थामा सुधार ल्याउन स्थानीय सरकार जिम्मेवार हुनुपर्ने बताइएको छ ।
संविधानले बालबालिकाको संरक्षण, उनीहरुको वृद्धि विकास तथा हितको लागि महत्वपूर्ण व्यवस्था गरेको भए पनि स्थानीय स्तरसम्म आइपुग्दा कार्यान्वय पक्ष फितलो भएको कारण बालबालिकाको विद्यामान अवस्थामा सुधार नआएको सरोकारवालाहरुले बताएका छन् ।
सिविन बाल हेल्प लाइन मकवानपुरले आयोजना गरेको बालश्रमको विद्यमान अवस्था, न्यूनीकरणका प्रयास, चुनौती र भावीकार्यदिशमा विषयक प्रदेश स्तरीय सरोकारवालसँग कार्यशाला गोष्ठीमा सहभागीहरुले यस्तो बताएका हुन् ।
बालमैत्री स्थानीय शासन लागु भएका स्थानीय तहहरुमा समेत बालमैत्री संरचनाहरु नभएको, बालमैत्री स्थानीय शासनको पूर्ण कार्यान्वयन नभएको, स्थानीय तहका जनप्रतिनिधिहरुले बालमैत्री अभियानमा सहकार्य गर्न राम्रो चासो नदिने गरेको बाल क्लबका प्रतिनिधिहरुले गुनासो गरेका छन् । बालबालिकाहरुको अवस्थामा सुधार ल्याउन स्थानीय तहको वडा सदस्य, वडा अध्यक्षदेखि नै जिम्मेवार बन्नु पर्ने उनीहरुले बताए ।
“हाम्रो सवालमा साथ दिनुभन्दा हाम्रो अभियानमा भाँचो हाल्ने काम सम्म भएका छन्” मकवानपुर जिल्ला मनहरी गाउँपालिका स्तरीय बाल क्लब सञ्जालका अध्यक्ष आशिस बुढाथोकीले भने ।
गाउँपालिका स्तरीय बालक्लब सन्जाल अध्यक्ष बुढाथोकीका अनुसार मनहरी गाउँपालिकामा ८८ वटा बाल क्लब संजाल छन् । जसको अगुवाइमा १०० भन्दा बढी बालबालिका रोकिएको उनले बताए । “विगतमा सबै जनप्रतिनिधिको साथ पाउन गाह्रो भयो, आशा छ अब हालै निर्वाचित भएर आउनु भएका जनप्रतिनिधिबाट साथ होला ।”
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर प्रमुख ललित घलानले सबैलाई कर्तव्यबोध गराउन ध्यान दिनुपर्ने बताए । जनप्रतिनिधिहरुलाई कर्तव्य बोध गराउनमा आफूले पनि निर्देशन गर्ने उनले बताए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले महिला र बालबालिकाको क्षेत्रमा काम गर्न अझै धेरै बुझाउनु पर्ने अवस्था रहेको बताइन् । “जसरी भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सबैको मत सहजै जुट्छ, बालबालिका महिलाको क्षेत्रमा काम गर्न त्यो सहमति जुटाउनै संघर्ष गर्नुपर्छ” उनले भनिन् ।
कार्यक्रममा सिविन नेपाल अध्यक्ष माधब प्रधानले संविधानमा भएको कुरालाई कार्यान्वयनमा ल्याउने स्थानीय तहबाटै रणनीति र कार्यनीति आवश्यक भएको बताए ।
कार्यक्रममा अधिवक्ता सागर भण्डारीले कानुनी चुनौती तथा विवादित बुँदाहरुको कारण बालबालिकाहरुको अवस्थामाथि सुधार ल्याउन समस्या भएको बताए । स्थानीय तहमा बालकल्याण अधिकारी नियुक्ति नहुंदा समस्या भएकोले तत्काल यस्तो पदपुर्ति हुनुपर्ने उनले बताए ।
बालबालिका सम्बन्धि स्थिति पत्र प्रकाशन गर्ने, सबै पालिकामा १०९८ संचालन गर्ने, सामूहिक लगानीमा अस्थायी गृह बनाएर, बैकल्पिक स्याहारको व्यवस्था गर्ने जस्ता विषयमा गोष्ठिमा सहभागी सरोकारवालाहरुले सुझाव दिएका थिए ।
बागमती प्रदेशको ८ स्थानीय तह र मकवानपुर जिल्लाको ३ स्थानीय तह हालसम्म बालमैत्री स्थानीय शासन लागु भएको घोषणा भैसकेको छ । सिविन नेपाल अध्यक्ष माधब प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर जिल्लाको १० स्थानीय तहका प्रतिनिधिहरु, सामाजिक विकास मन्त्रालय, स्वास्थ मन्त्रालय, जिल्ला समन्वय समिति, बाल अधिकारको क्षेत्रमा कार्यरत गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व रहेको थियो ।
