मकवानपुर । सत्तारुढ दल नेपाली कांग्रेसकाे केन्द्रीय समिति असार २७ गते बस्ने भएकाे छ । कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले असार २७ गते केन्द्रीय समिति बैठक बोलाइएको बताए ।
पाैडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवनमा बस्ने जनाएका छन् । बैठकमा केन्द्रीय समितिका पदाधिकारी र सदस्यलाई उपस्थितिका लागि निर्देशन दिइएको छ । मुख्य सचिव पौडेलले बैठकमा स्थानीय तह निर्वाचन–२०७९ को समीक्षा र अगामी चुनावका विषयमा छलफल बताएका छन् ।
यसैबीच कांग्रेसका नेता शेखर कोइराला पक्षको भेलाले पार्टी सभापति शेरबहादुर देउवा एकलौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा भएकाे कोइराला पक्षको बैठकले देउवाले महाधिवेशनपछिको प्रतिवद्धता विपरित एकलौटी रुपमा अघि बढिरहेको निष्कर्ष निकालेको हो ।
पार्टीमा छलफल र सरसल्लाह गरेर अघि बढ्छु भनेर देउवाले महाधिवेशनपछि गरेको प्रतिवद्धता पूरा नगरेको कोइराला पक्षको आरोप छ । भ्रातृ संस्थामा नियुक्त गर्दा देउवाले आफूखुसी नियुक्ति गरेका थिए ।

