मकवानपुर । निर्वाचन आयोगले आगामी संसदीय निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले १३४ पृष्ठकाे नामावली सार्वजनिक गरेकाे हाे । जसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फ दलहरूले बुझाएको बन्दसूची समावेश छ ।
प्रतिनिधिसभा र प्रदेशसभामा गरी कूल ६४९३ जना समानुपातिकतर्फ उम्मेदवार रहेका छन् । आयोगका अनुसार प्रतिनिधिसभामा ४८ दलले बुझाएको सूचीमा जम्मा दुई हजार ४३६ जना उम्मेदवार रहेका छन् ।
यहाँ हेर्नुहाेस् नामावली
मकवानपुर । आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैंलाई बिदा गरिदैछ । टाढा टाढाका आफन्तहरु आज सम्म टीका लगाउन तथा आशिर्वाद लिन आउने गर्छन । टीकाको दिन टीका लगाउन छुटेका हरुले समेत आजै टीका ग्रहण गर्ने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर आज पूर्णिमाबाट बडादशैं समापन गरिन्छ । कोजाग्रत पुर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भइ धनधान्यले पूर्ण बनाउँछिन् भनेर राती जाग्राम बस्ने चलन पनि छ ।
यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । यसैले पनि आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।
माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आइतबारका दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आकाशदीप दान पनि सुरू गरिन्छ । आकाशदीप दानका लागि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि आजको पूर्णिमा दिनदेखि सुरू गरिन्छ ।
मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगे लगत्तै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।
उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् ।
सन्दीपको क्रिकेट यात्रा
२२ वर्षीय सन्दीपले छोटो समयमै सफलता प्राप्त गरे । विश्वभरीकै फ्रेन्चाइज्ड लिग खेल्ने अवसर पाउनु, करोडौ आम्दानी अनि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जस्तो जिम्मेवारी, यो सबै सन्दीपले निकै छोटो समयमै पाएको सफलता हो ।
तर सफलता प्राप्तिसँगै उनी पछिल्लो समय विवादित समेत बन्दै आएका थिए । अझ बलात्कारको आरोप लागेपछि सन्दीपले विदेशी फ्रेन्चाइज्ड लिगमात्र गुमाएका छैनन्, नेपाल क्रिकेट संघ (क्यान) ले उनको जिम्मेवारी खोस्नुका साथै उनलाई निलम्बन समेत गरेको छ ।
सन्दीपको स्थायी घर स्याङ्जा हो । उनले सन् २०१६ मा १६ वर्षकै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाए । बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपका क्रममा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनको चर्चा चुलियो ।
त्यसपछि उनले सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिज खेल्दा गरेको प्रदर्शनका कारण अष्ट्रेलियन क्रिकेटर माइकल कलार्कले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर जुराइदिए ।
सन् २०१८ मा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि आवद्ध भए । आईपीएल खेल्ने उनी पहिलो खेलाडी बने । उनी सन् २०२० सम्म दिल्लीमा आवद्ध भए ।
२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । विदेशी लिगहरुको यात्रा अझैसम्म जारी थियो । तर बलात्कारको आरोप लागेपछि उनलाई भर्खरै क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट निकाल्यो ।
त्यतिमात्र नभएर क्यानले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपकै कप्तानीमा नेपालले ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट खेल्यो भने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ पनि खेलिरहेको थियो ।
सन्दीपले ३० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६९ विकेट लिएका छन् । उनले एकदिवसीयको एकै इनिङ्समा ११ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका छन् । ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारेका सन्दीपले एकै इनिङ्समा ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका छन् ।
अब उनको क्रीकेट यात्रा लागेको आरोप छिटो प्रामाणित नभए मात्र अघाडी बढने देखिन्छ ।
मकवानपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका २२ स्थित अमलेखगञ्ज तीन नम्बर पूल नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ ।
विहीबार नारायणगढबाट हेटौंडा हुदै बिरगंज जादै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना अमलेखगञ्ज ३ नम्बर पुलमा दुर्घटना भएको प्रहरीले जनाएकाे हो । दुर्घटनामा २० जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरूलाई सिमरस्थित अल्पाइन र हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनाका गम्भीर घाइते हेटौँडा अस्पताल ल्याईएको ५ महिला तथा ७ पुरुष तथा चुरेहिल अस्पतालमा १ जना गरि १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बसमा रहेको यात्रु संख्या तथा दुर्घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
मकवानपुर । मकवानपुरमा बिहानैबाट वर्षा भइरहेको छ । असोज १९ गते बुधबार पनि बिहानै वर्षा भएको थियो । दसैंको टिकाको दिन दिउँसो वर्षा कम हुँदै गए पछि दसैंको टीका लगाउनेको चहल पहल बढेको थियो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हिजो केही समय वर्षा कम भएको भएपनि पुन: पानी पर्न सक्ने तर्फ सजक रहन आग्रह गरेको थियो ।
राती बाट नै देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ महाशाखाले जनाएको छ । अहिले नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले अझै केही दिन हल्का तथा मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत जानकारी दिएको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले भनेको छ ।
अहिले भइरहेको वर्षा पश्चिममा बढी हुने समेत महाशाखाले जानकारी दिएको छ । २-३ दिन मौसममा बदली हुने तथा क्रमश: कम हुँदै जाने बताइएको छ । दसैंको टीका लगाउने क्रम जारी रहेकोले टाढा टाढा आफ्न्त तथा मान्यजनकोमा टीका लगाउन जाने तरखरमा रहेकाहरुलाई वर्षाले समस्या बनाएको छ ।
आगामी ३ दिनको मौसम
आज असोज २० गते बिहीवार
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
असोज २१ गते शुक्रवार
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश का केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
असोज २२ गते शनिवार
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्छ ।
सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।