मकवानपुर । आज आइतबार आश्विन शुक्ल पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमा । आजबाट यस वर्षको बडादशैंलाई बिदा गरिदैछ । टाढा टाढाका आफन्तहरु आज सम्म टीका लगाउन तथा आशिर्वाद लिन आउने गर्छन । टीकाको दिन टीका लगाउन छुटेका हरुले समेत आजै टीका ग्रहण गर्ने चलन छ ।
घटस्थापनाका दिन राखिएको जमरा तथा टीकालाई बिसर्जन गरेर आज पूर्णिमाबाट बडादशैं समापन गरिन्छ । कोजाग्रत पुर्णिमाको दिन रातभर जाग्राम रहेर दीपावली गर्दा दीपावली भएको घरमा लक्ष्मीको बास भइ धनधान्यले पूर्ण बनाउँछिन् भनेर राती जाग्राम बस्ने चलन पनि छ ।
यस रात जाग्राम बसेका मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ । यसैले पनि आजको दिनलाई कोजाग्रत पूर्णिमा भनिएको हो ।
माता दुर्गाका तीन रुपमध्ये एक महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ ।
आइतबारका दिनदेखि सौभाग्य, सम्पत्ति, श्रेय प्राप्तिका लागि आकाशदीप दान पनि सुरू गरिन्छ । आकाशदीप दानका लागि पाएसम्म बाँस, नपाएमा पलाँस, खयर, पीपल आदिको लिङ्गो ठड्याईन्छ र आकाशदीप भगवान विष्णुलाई समर्पण गरी बालिन्छ ।
आश्विन शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नान गरी घरघरमा विशेषरूपमा गरिने तुलसी पूजा पनि आजको पूर्णिमा दिनदेखि सुरू गरिन्छ ।

