मकवानपुर । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछाने नेपाल आइपुगे लगत्तै प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको छ ।
उनी कतार एअरवेजको क्यू.आर ६४८ नम्बरको जहाजबाट स्वदेश फर्किएका सन्दीपलाई प्रहरीले त्रिभुवन विमानस्थलबाटै पक्राउ गरेको हो ।
यसअघि सन्दीपले सामाजिक सञ्जालमार्फत् आज बिहान १० बजे नेपाल आइपुग्ने र प्रहरीसमक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।
सन्दीपले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलत्कारको जाहेरी दिएकी थिइन् ।
सन्दीपको क्रिकेट यात्रा
२२ वर्षीय सन्दीपले छोटो समयमै सफलता प्राप्त गरे । विश्वभरीकै फ्रेन्चाइज्ड लिग खेल्ने अवसर पाउनु, करोडौ आम्दानी अनि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तान जस्तो जिम्मेवारी, यो सबै सन्दीपले निकै छोटो समयमै पाएको सफलता हो ।
तर सफलता प्राप्तिसँगै उनी पछिल्लो समय विवादित समेत बन्दै आएका थिए । अझ बलात्कारको आरोप लागेपछि सन्दीपले विदेशी फ्रेन्चाइज्ड लिगमात्र गुमाएका छैनन्, नेपाल क्रिकेट संघ (क्यान) ले उनको जिम्मेवारी खोस्नुका साथै उनलाई निलम्बन समेत गरेको छ ।
सन्दीपको स्थायी घर स्याङ्जा हो । उनले सन् २०१६ मा १६ वर्षकै उमेरमा नेपाली राष्ट्रिय क्रिकेट टिममा स्थान बनाए । बंगलादेशमा भएको आईसीसी यू-१९ क्रिकेट विश्वकपका क्रममा आयरल्यान्डविरुद्ध ह्याट्रिक लिएपछि उनको चर्चा चुलियो ।
त्यसपछि उनले सन् २०१६ को हङकङ टी-ट्वान्टी ब्लिज खेल्दा गरेको प्रदर्शनका कारण अष्ट्रेलियन क्रिकेटर माइकल कलार्कले अष्ट्रेलियामा क्रिकेट खेल्ने अवसर जुराइदिए ।
सन् २०१८ मा सन्दीप इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सका लागि आवद्ध भए । आईपीएल खेल्ने उनी पहिलो खेलाडी बने । उनी सन् २०२० सम्म दिल्लीमा आवद्ध भए ।
२०१८ मै उनले क्यारेवियन प्रिमियर लिग, ग्लोबल टी-ट्वान्टी क्यानाडा, बीग बास लिग तथा बंगलादेश प्रिमियर लिग खेल्ने अवसर पाए । सन् २०१९ मा पाकिस्तान सुपर लिगका लागि छनोट भए । विदेशी लिगहरुको यात्रा अझैसम्म जारी थियो । तर बलात्कारको आरोप लागेपछि उनलाई भर्खरै क्यारेवियन प्रिमियर लिग क्लबले टिमबाट निकाल्यो ।
त्यतिमात्र नभएर क्यानले गत डिसेम्बरमा सन्दीपलाई नेपाली राष्ट्रिय टिमको कमान्ड दिएको थियो । सन्दीपकै कप्तानीमा नेपालले ओमानमा आईसीसी पुरुष टी-ट्वान्टी विश्वकप छनोट खेल्यो भने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ पनि खेलिरहेको थियो ।
सन्दीपले ३० वटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल्दै ६९ विकेट लिएका छन् । उनले एकदिवसीयको एकै इनिङ्समा ११ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारेका छन् । ४४ टी-ट्वान्टी अन्तर्राष्ट्रियमा ८५ विकेट हात पारेका सन्दीपले एकै इनिङ्समा ९ रन खर्चेर सर्वाधिक ५ विकेट लिएका छन् ।
अब उनको क्रीकेट यात्रा लागेको आरोप छिटो प्रामाणित नभए मात्र अघाडी बढने देखिन्छ ।

