मकवानपुर । मकवानपुरमा बिहानैबाट वर्षा भइरहेको छ । असोज १९ गते बुधबार पनि बिहानै वर्षा भएको थियो । दसैंको टिकाको दिन दिउँसो वर्षा कम हुँदै गए पछि दसैंको टीका लगाउनेको चहल पहल बढेको थियो ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हिजो केही समय वर्षा कम भएको भएपनि पुन: पानी पर्न सक्ने तर्फ सजक रहन आग्रह गरेको थियो ।
राती बाट नै देशभर हल्का देखि मध्यम वर्षा भइरहेको छ महाशाखाले जनाएको छ । अहिले नेपालमा दक्षिण-पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेकोले अझै केही दिन हल्का तथा मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले बुलेटिन मार्फत जानकारी दिएको छ ।
हाल मौसमको अवस्था
हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले भनेको छ ।
अहिले भइरहेको वर्षा पश्चिममा बढी हुने समेत महाशाखाले जानकारी दिएको छ । २-३ दिन मौसममा बदली हुने तथा क्रमश: कम हुँदै जाने बताइएको छ । दसैंको टीका लगाउने क्रम जारी रहेकोले टाढा टाढा आफ्न्त तथा मान्यजनकोमा टीका लगाउन जाने तरखरमा रहेकाहरुलाई वर्षाले समस्या बनाएको छ ।
आगामी ३ दिनको मौसम
आज असोज २० गते बिहीवार
प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा सामान्य देखि पूर्ण बदली रहनेछ । बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै ,बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
असोज २१ गते शुक्रवार
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश का केही, कर्णाली प्रदेशका थोरै र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानहरुमा भारी देखी धेरै भारी वर्षाको समेत संभावना रहेको छ।
असोज २२ गते शनिवार
कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै साथै लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ।
यसैगरी सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही , गण्डकी प्रदेशका थोरै, बागमती प्रदेश,मधेश प्रदेश र प्रदेश नं १ का एक-दुई स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्छ ।
सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ। नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन समेत महाशाखाले अनुरोध गरेको छ।

