मकवानपुर । आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरका उम्मेदवारहरुले आ–आफूले जित हासिल गर्ने दावीका साथ चुनावी मैदानमा होमिएका छन् । चुनावी प्रचार प्रसारको क्रममा समेत आफू उम्मेदवार हुनुका कारण सहित जीत पछि विकासका कामको आश्वासन समेत दिने गरेका छन् । स्थानीय मतदाताहरुको माग समेत भूगोल सुहाँउदो रहेको छ । तर उम्मेदवारहरुको चुनावी आश्वासान र स्थानीयका माग विपरित रहेका छन् । स्थानीय आधारभूत आवश्यकता पुरा गर्न माग गरिरहँदा उम्मेदवारहरु विकास पूर्वाधारका कुरामा जोड दिइरहेका छन् ।
यसैबीच मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका महालक्ष्मी उपाध्याय डिनाले जिल्लाको समग्र विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छिन् । नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुन् । उपाध्याय उम्मेदवार बनेसँगै मकवानपुर १ मा उनको चर्चा परिचर्चा बढ्दै गएको छ । उनको यो चौथो पटक चुनावी प्रतिस्पर्धा पनि हो ।
विद्यार्थी कालबाटै कांग्रेसको राजनीतिमा आवद्ध भएकी उनी पार्टीमा पनि उत्तिकै सक्रिय र प्रभावशाली नेतृ मानिन्छन् । सोही सक्रियताका कारण उहाँ समानुपातिकतर्फको पहिलो नम्बरको दावेदार हुँदापनि त्यसलाई त्यागेर प्रत्यक्ष तर्फ उम्मेदवार भएकी हुन् । डिनाले मकवानपुर–१ को जनताको मतबाट अनुमोदन हुन विभिन्न क्षेत्रलाई समेटेर आफ्नो चुनावी संकल्पहरु पनि सार्वजनिक गरेकी छिन् । यस अघिका निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट चुनावमा पराजीत उनी यस पटक सहजै समानुपातिकबाट सांसद हुने निश्चित भए पनि जनतासँग प्रत्यक्ष जोडिएर मकवानपुरको विकास र समृद्धिको कामका लागि चुनावी मैदानमा आएको उनी बताउँछिन् ।
जनताको मत जितेर उच्च मतान्तरका साथ चुनाव जित्ने उनको दावी छ । विगतको जस्तो आगामी निर्वाचनमा चुनौतिको महशुस गरेको छैन– डिनाले भनिन् ‘आगामी निर्वाचनमा मलाई कुनै चुनौती छैन । भारि मतका साथ चुनाव जित्छु । विगतमा आफूले गर्न चाहेका तर सत्ता विहिन हुँदा सम्भव नभएका अधुरा कामहरु पुरा गर्ने उपाध्यायको लक्ष्य रहेको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडा सहित सिंगो मकवानपुरको विकासलाई सहि दिशामा गति दिन आफ्नो उम्मेदवारी रहेको उनले बताइन् ।
लामो समय कम्युनिटहरुले शासन गरेको मकवानपुरमा २०७० मा कांग्रेसले जितेपछि बसालेको विकासको जगलाई थप मजबुद बनाउनु आफ्नो उद्देश्य रहेको उनको भनाई छ । ‘सडक पुल निर्माण विकासको मेरुदण्ड तर त्यो नै विकास होइन, जनताको आवश्यकता र उनीहरुलाई राज्य भएको अनुभूति गराउनु नै विकास हो’, उनले भनिन् ‘हामी विकास विकास भन्छौ अनि बाटो बनाउँछौ, पुल बनाउँछौ तर आम जनताको स्वास्थ्यको पहुँच कतिको छ ? हामी बिर्सन्छौ । शिक्षाको पहुँच कस्तो छ ? भन्ने बारे हाम्रो ध्यान नै पुग्दैन । जनताको जीवन स्तरसँग जोडिएका कुराहरु हामीले सम्बोधन गर्न सकेका छैनौ । जनतालाई सरकारको अनुभूति दिलाउन र उनीहरुले राज्यबाट पाउने सेवामा सहज पहुँच पुर्याउनु मेरो मुख्य काम हो ।’
जनताको दैनिकीसँग जोडिएका कतिपय कुराहरुमा अझै पनि कानुन बाधक बनेको र केही कानुन पुराना भएकाले जनतालाई सेवा दिन नै समस्या भइरहेकोले त्यसको परिवर्तन÷संशोधन गर्नु आफ्नो जिम्मेवारी रहेको डिनाले बताइन् । ‘म यस्तो गर्छु उस्तो गर्छु । यो बनाउँछु त्यो बनाउँछु भन्दिन । म सामान्य काम गर्छु जसले जनताको जीवनस्तरमा प्रत्यक्ष सरोकार राख्छ । महिलाहरुलाई अवसर दिएर अघि बढाउँछु । शिक्षाबाट बञ्चित भएकाहरुलाई विद्यालयसम्म जाने वातावरण कानुनतः निर्माण गर्छु । स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मेरो भूमिका हुन्छ’, उनले भनिन्।
हेटौँडा उपमहानगरलाई समृद्ध बनाउन औद्योगिकीकरणमा जोडदिँदै युवाहरुको लागि रोजगारको अवसर सृजना गर्नु आफ्नो पहिलो पहिलो प्राथमिकता रहेको उनी बताउँछिन् । समान अवसर, न्यायपूर्ण समाजको निर्माण र महिलाको सम्मान, सम्मानित स्वस्थ जीवन र सुरक्षा, ज्येष्ठ नागरिकको हेरचाह, शिक्षा, स्वास्थ्य, कृषि, सहकारी र उद्योग कलकारखानाको विकास र विस्तार, हेटौंडालाई सफा, सुन्दर, हरियाली र भौतिक पूर्वाधार सम्पन्न प्रदेश राजधानी बनाउने, सुशासन, दिगो विकास र राष्ट्र निर्माणमा आफ्नो योगदान रहने उनको दावी रहेको छ ।
उनले आर्थिक समृद्धिका लागि पनि आफुले पार्टी र सदनबाट महत्वपूर्ण भूमिका खेल्ने बताइन् । मकवानपुरको भूगोलको पहिचान गरेर विकास र समृद्धिको नमूना निर्माण गरिसकेकाले त्यसको सफल कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी
रहेको उनको भनाई छ ।
मकवानपुर । राजावादीसँग स्वतन्त्र पार्टीको घाँटी जोडिएको छ मकवानपुर क्षेत्र नम्बर २ प्रदेश सभा ख का उम्मेदवार इन्द्र बहादुर बानियाँ बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् लोकतान्त्रिक वाम गठबन्धनबाट उम्मेदवार बानियाँले राजावादीहरुसँग राष्ट्रिय स्वतन्त्र पार्टीको साँठगाँठ रहेको दावी गरेका छन् । गणतन्त्र र धर्मनिरपेक्षताविरोधी तत्वसँग आफूहरु स्वतन्त्र हौं भन्ने रवि लामिछानेको ‘घाँटी जोडिएको’ बानियाँले बताएका हुन् ।
मकवानपुरकाे मनहरी गाउँपालिकामा भएकाे गठबन्धनको संयुक्त चुनावी भेलालाई सम्बोधन गर्दै बानियाँले भने–‘रवि लामिछानेको स्वतन्त्र पार्टीको राजावादीसँग घाँटी जोडिएको छ । लामिछानेले संघीय ब्यवस्था हटाउन प्रदेशमा उम्मेदवारी नदिएकाे समेत बाँनियाले आराेप लगाएका छन् । ‘कांग्रेस हुँ भन्दै अरु नै चिन्ह लिएर उठ्नेहरुसँग भ्रममा नपर्नुहोला’ बाँनियाले आफ्नाे क्षेत्रमा प्रचार प्रसारमा भने– देशको व्यवस्था बदलिएको छ अब जनताको अवस्था बदल्न लोकतान्त्रिक बाम गठबन्धनले भूमिका खेल्नेछ ।
एमाले नीति, नियत र नेता ठिक नभएको नक्कली कम्युनिष्ट भएको भन्दै अबको चुनावमा जनताले गठबन्धनको पक्षमा भारी मत प्रदान गर्ने बानियाँले विश्वास व्यक्त गरे । उनले भने ‘केपी ओली नेतृत्वको एमालेलाई देशबाटै परास्त गरेर जनताको अवस्था परिवर्तन गर्न यो लोकतान्त्रिक बाम गठबन्धन लागि पर्नेछ ।’ ‘यो गठबन्धन जे बोल्छ, त्यो गरेरै छाड्छ, गरिब, दीन दुःखीको अवस्था परिवर्तन गर्न नै यो क्षेत्रमा दोस्रोपटक आएको हुँ’ बानियाँले भने–‘पहिलोपटक यो क्षेत्रमा निर्वाचित भएपछि धेरै बोलेको पूरा गरेको छु ।’
नेपाली कांग्रेस मनहरी ४ का सभापति आइतराम तितुङको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकीकृत समाजवादीका पोलिट्ब्यूरो सदस्य एवम् मकवानपुर क्षेत्र नम्बर २ का उम्मेदवार विरोध खतिवडा, माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली, कांग्रेस जिल्ला सभापति बुद्ध लामा, माओवादी बागमती प्रदेश कमिटी सदस्य ओम घलान, कांग्रेस महासमिति सदस्य उमा दाहाल, मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौला, माओवादी केन्द्रका मनहरी अध्यक्ष सञ्जिव पाठकलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
मकवानपुर । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यकाे निर्वाचनमा मतदाताले परिचय खुल्ने कागजातकाे आधारमा समेत मददान गर्न पाउने भएका छन् ।
निर्वाचन आयाेगले मंगलबार प्रेश विज्ञप्ति प्रकाशित गरी मतदाता नामावलीमा नाम समावेश भएका तर मतदाता परिचयपत्र हराएको वा नासिएको अवस्थामा परिचय खुल्ने आधिकारिक कागजातकाे आधारमा समेत मददान गर्न पाउने जनाएकाे छ ।
आयाेग सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ ‘मंसिर ४ गते आइतबार हुने निर्वाचनको लागि आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारीचालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ ।¹

मकवानपुर । आज कार्तिक शुक्ल पूर्णिमा बेलुकी ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्दैछ । बेलुकी ५ बजेर ११ मिनेटमा चन्द्रग्रहण सुरु हुने बताइएकाे छ । चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो ।
ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ५:१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिने छ । बेलुकी ५:२७ बजे ग्रहणको उन्मीलन हुने छ । बेलुकी ६:३४ बजे ग्रहण सकिनेछ । चन्द्रग्रहणको नौ घण्टा अघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् बताउँछन् ।
ग्रहणको सुतक बार्नेले आज बिहान ०८:११ बजेदेखि भोजन गरेका छैनन् । शास्त्रीय रूपमा बाल, वृद्ध र बिरामी बाहेकलाई भोजन निषेध गरिएको छ । बेलुकी ०६:३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुन्छ ।ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय बचन छ ।
भरणी नक्षत्र र मेष राशिलाई कष्ट
आजको ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको समितिले जनाएको छ । चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ ।
यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि उल्लेख गरिएको समितिका कार्यकारी निर्देशक ढुङ्गेलले जानकारी दिए ।
ग्रहणमा के गर्नु हुन्छ ? के गर्नु हुँदैन ?
ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ । अन्न खान बाहेक ग्रहण र यसको सुतकका बेला नित्य कर्म गर्छन् । ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् बताउँछन् । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकैको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।
ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ ।
निद्रायां जायते व्याधि मुत्रे दारिद्रमाप्नुयात् ।
पुरिषे कृमियोनिश्च मैथुने ग्रामसुकरः ।।
अभ्यञ्जने भवेत्कुष्ठि भोजने स्यादधोगति ।
बन्धने च भवेत् सर्पे वधे च नरकं व्रजेत् ।।
अर्थात् ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लेखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् सुनाउँछन् । सुतक लागेपछि भोजन गर्नु नहुने धार्मिक विश्वास छ । ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ । घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ । ग्रहण निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ ।
कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो । आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लाग्दैछ । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
मकवानपुर । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका उम्मेदवार रहेका बिरोध खतिवडा भोट माग्ने क्रममा पिटिएका छन् ।
इलाका प्रहरी कार्यालय मकवानपुर नेवारपानीका अनुसार खतिवडालाई स्थानीयले भोटमाग्ने क्रममा पिटेका हुन् । मकवानपुर मनहरी गाउपालिका ४ गोलघर स्थित गठबन्धनको चुनाबि कार्यक्रममा गेका प्रतिनिधि सभा सदस्य मकवानपुर क्षेत्र नं.२ को उम्मेद्धार बिरोध खतिवडा पिटिएका हुन् ।
उनी पुर्ब स्वास्थ्य मन्त्रि समेत हुन् । गाडीबाट झरी कार्यकर्ता लाई भेटघाट गर्ने क्रममा हेटौडा उ.म.न.पा.२ चौकिटोल बस्ने बर्ष अन्दाजि ५० को पुरुषोत्तम खड्काले पिटेको प्रहरीले जनाएको छ । खतिवडालाई खड्काले २ झापड हानेको प्रहरीले जनाएको छ ।
खड्काले पुरानो रिसईबिको कारण पिटेको हुनसक्ने प्रहरीले जनाएको छ । खड्कालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याईएको छ ।