मकवानपुर । मकवानपुर थाहा नगरपालिकामा खानेपानी आयोजनाकाे साधारणसभामा जग्गादातालाई सम्मानित गरिएकाे छ । थाहा नगरपालिका वडा नम्बर ६ स्थित बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाको प्रथम साधारणसभामा जग्गादातालाई सम्मान गरिएकाे हाे ।
साधारणसभाको अवसरमा खानेपानी आयोजना निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने सुर्य बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । शनिबार थाहा नगरपालिका ६ को कार्यालय परिसरमा खानेपानीकाे साधारणसभा भएको हो । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलले नगरका सबै खानेपानी आयोजनाहरुलाई एकीकृत रुपमा बोर्ड मार्फत व्यवस्थापन गर्न नीतिगत रुपमै प्रक्रिया अघि बढाइएको बताए ।
उनले नगरबासीहरुलाई सर्वसुलभ र स्वच्छ खानेपानी वितरणका लागि बोर्डले काम गर्ने जानकारी दिए । ‘हाल उपभोक्ताहरुले पाउँदै आएको सेवामा कमी नगरी थप सुविधा दिन सकिने गरी बोर्ड मार्फत खानोपानी आयोजनालाई व्यवस्थित गरिनेछ’–भुजेलले भने ।
६ नम्बर वडाका पूर्व वडाध्यक्ष तथा खानेपानी बोर्डका संस्थापक सदस्य शशीधर सुवेदी वडाबासीले निकै दुःखका साथ निर्माण सम्पन्न भएको योजना स्थानीयकै सम्पत्ती भएको बताए । सुवेदीले खानेपानी आयोजनाको दीगो व्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार बन्नु पर्ने बताए ।
अहिलेसम्म उपभोक्ताहरुले व्यवस्थापन गर्दै आएको योजनालाई थप व्यवस्थित गर्न नगरपालिकाकै संरचनाको रुपमा रहेको खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवार बनाइ सहज र स्वच्छ खानेपानी विरणको व्यवस्था मिलाउन उनले आग्रह गरे । सानोतिनो मर्मत सुधारका काम उपभोक्ताहरुले गर्दै आएको बताउँदै सुवेदीले भने–‘आयोजनामा ठूलो क्ष्ति हुन पुगे नागरिकलाई पानी खुवाउने दायित्व नगरकै हुन्छ, त्यसैले खानेपानीको दीगो व्यवस्थापनतर्फ नगरपालिकाले ध्यान दिनै पर्छ ।’
बज्रवाराही वृहत बलामीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुविनभक्त श्रेष्ठले सञ्चालन गरेका थिए । साधारण सभाले खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष चित्र बहादुर बलामीको प्रगती प्रतिवेदन, कोषाध्यक्षको आम्दानी खर्चको प्रतिवेदन पास गरेको छ ।
सभाले पुनः चित्र बहादुर बलामीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत पुर्नगठन गरेको छ । समितिको सचिव सविन भक्त श्रेष्ठ, कोषाध्यक्ष जानकी श्रेष्ठ, सदस्यहरु सुर्य बहादुर श्रेष्ठ, भरत गोपाली, रमिता बलामी, सुभद्रा महर्जन, नकुल बलामी, सोनु श्रेष्ठलगायत चयन भएका छन् । कार्यक्रममा समिति अन्तर्गतका कर्मचारीहरु तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो । साधारणसभामा आयोजनालाई दीगो व्यवस्थापनका लागि थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने छलफल भएको छ । त्यस्तै बक्यौता महशुल पौष महिनाभित्रमा भुक्तानी नगर्ने ग्राहकको खानेपानी धाराको लाइन काट्ने समेत निर्णय गरेको छ ।
साधारणसभासंगै भएको उपभोक्ताहरुसंगको छलफलमा उठेका सवालहरुमा ६ नम्बर वडाका पूर्व अध्यक्ष शशीधर सुवेदी, समितिका अध्यक्ष चित्रबहादुर बलामी, सचिव सुविन भक्त श्रेष्ठ तथा खानेपानी बोर्डका सुरज कुमार भुजेललगायतले सहजीकरण गरेका थिए ।
बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष बलामीको अध्यक्षतामा भएको साधारण सभा थाहानगर खानेपानी व्यवस्थापन बोर्डका भुजेलको प्रमुख आतिथ्यता र खानेपानी बोर्डका संस्थापक सदस्य सुवेदीको विशेष आतिथ्यतामा भएको थियो ।कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक ध्रुर्वप्रसाद विडारीलगायतकाको आतिथ्यता रहेको थियो ।
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले असहाय बेवारीसे नागरिको अभिभावक प्रदेश सरकार बन्ने बताएका छन् । हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्कट्टेलले कोही नभएका नागरिकको अभिभावकत्व प्रदेश सरकारले गर्ने बताए ।
प्रदेश सरकारले मानव सेवामा समर्पित संस्थाहरुलाई सहयोग गर्दै मानवताका र असहाय नागरिकको संरक्षणमा काम गरिरहेको उनले बताए । प्रदेश सरकार स्थापना देखि हालसम्म मावन सेवा आश्रमको व्यवस्थापनका लागि विभिन्न कार्यत्तम अन्तर्गत बजेट विनियोजन गर्दै आएको उनको प्रदेश सरकारले स्थापना कालदेखि हालसम्मको अवस्थामा ४ करोड रुपैयाँ भन्दा बढी रकम सहयोग स्वरुप लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत प्रदेश सरकारले ४० लाख रुपैयाँ सवारी खरिदका लगि विनियोजन गरेको उनको भनाई छ ।
प्रदेश सरकारको स्रोत साधनले भ्याएसम्म आगामी दिनमा पनि आश्रमका विभिन्न काममा प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । मुख्यमन्त्री जम्कट्टेलले नागरिकहरुको सहायताका विभिन्न विषयमा प्रदेश सरकारले लगानी गरिरहेको र मानव सेवाका काममा पनि निरन्तर रुपमा लगानी गर्ने सोच रहेकाले उचित योजनाका साथ प्रस्ताव पेश गर्न आग्रह गरे ।
‘सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार’ सामाजिक विकासमन्त्री मोक्तान
यसैगरीमासामाजिक विकास मन्त्री कुमारी मोक्तानले सडक मानवमुक्त प्रदेश निर्माणको अभियानमा प्रदेश सरकारले रहेकाे बताएकी छिन् । अभिभावक नभएका बालबालिका तथा असाहय नागरिक तथा वृद्धवृद्धाहरुको साथमा प्रदेश सरकार विगतदेखि नै रहँदै आएको र आगामी दिनमा पनि विभिन्न माध्यम मार्फत् क्रियाशिल रहने उनले बताएन् ।
संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकमा संविधानले व्यवस्था गरे अनुसारको अधिकार जनतालाई दिलाउन राज्यका हरेक अंग तयार रहनु पर्छ उनले भनिन् । प्रदेश सरकार मानव सेवा आश्रममार्फत सडक मानवमुक्त प्रदेश बनाउने अभियान अघि बढिरहेको उनले बताइन् ।
आश्रममा आश्रित नागरिकहरुको विभिन्न समस्या समाधानमा प्रदेश सरकारले निरन्तर रुपमा सहयोग गर्दै आएको र नागरिकता लगायतका विषयमा रहेका जटिलता हटाउन संघीय सरकारसंग नियमित छलफल तथा समन्वय भइरहेको उनले जानकारी दिइन् ।
‘राजनीतिक दल मानवतावाद तर्फ केन्द्रीत हुनु पर्छ’–सभापति बानियाँ
नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले राजनीतिक दलहरुको मानवतावाद तर्फ केन्द्रीत हुनु जरुरी भएको बताएका छन् ।
शनिबार हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा बोल्दै सभापति बानियाँले राजनीति पनि मानव सेवा कै लागि हुनु पर्नेमा जोड दिदैं राजनीतिक मुल्य र मान्यता अन्य वादहरुमा भन्दा पनि मानवतावादसँग जाेडिनु पर्ने बताएका हुन् । ‘मानव सेवा नै महान धर्म हाे । मन्दिर, गुम्बा, मस्जिद तथा चर्चहरु धर्मको आस्थाको केन्द्र भएपनि सबै धर्मको सार मानव सेवा नै रहेको छ’ उनले भने ।
मानवसेवा आश्रमको माध्यमले हेटौँडाबाट मानवतावादी सन्देश विश्वभर फैलिएको उनले बताए । ‘राज्यले गम्भीर ढंगबाट मानव सेवाको कामलाई अघि बढाउन जरुरी रहेको छ’ उनले भने ‘सडक मानव मुक्त देश निर्माण अभियानमा राज्यले आफ्ना योजनाहरु केन्द्रीत गर्नुपर्छ ।’ उनले मानवसेवा आश्रमको अभियानलाई सरकारले साथ दिदै देशकै ध्यान मानवतावाद तर्फ केन्द्रित हुनु पर्ने बताए ।
‘मानव सेवा आश्रमले हेटौंडालाई विश्वभर चिनाएकाे छ’ उपप्रमुख बानियाँ
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले मानव सेवा आश्रमले हेटौंडालाई विश्वभर चिनाएकाे बताएका छन् । शनिबार हेटौंडामा मानव सेवा आश्रमको नवनिर्मित भवनको उद्घाटन कार्यक्रममा उपप्रमुख बानियाँले हेटौंडाबाट मानवताको सन्देश विश्वभर फैलिएकोले गरिमा बढेको बताए ।
मानवताको शहरको रुपमा हेटौडा चिनाउन भूमिका खेल्ने मानव सेवा आश्रम तथा संस्थापक अध्यक्ष रामजी अधिकारीलाई भएकाेले आश्रमको समस्या समाधनमा हेटौंडा उपमहानगरपालिकाले निरन्तर सहयोग उपलब्ध गराउने जानकारी दिए ।
पैसाले मात्र सबै कुरा किन्न पाईदैन भन्ने सन्देश आश्रम अध्यक्ष अधिकारीले सिकाएको बताउदै सबैलाई एकतावद्ध बनाउन सामाजिक कामले मात्र सकिने बताए । हेटौंडा बजार क्षेत्रको सडक विस्तारको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराउँदै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गर्न जरुरी रहेको समेत बताए ।
सडक विस्तारको मुद्दा सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा रहेको औल्याउदै उनले उचित निर्णय,निकास दिन आग्रह गरे । बारम्बर हेटौंडा बजार क्षेत्रको सडक विस्तारको नाममा जनता आतकिंत भएको भन्दै उनले तत्कालै नागरिकहरुको उचित व्यवस्थापन हुने गरी निर्णय गरिदिन प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षककाे परीक्षा लिएको छ । परीक्षामा सहभागी कुनै पनि शिक्षक उत्तीर्ण या अनुत्तीर्ण भने हुने छैनन् ।
शनिबार मावि र निमावि तहमा कार्यरत २० जना शिक्षकको लिखित परीक्षा र अन्तरवार्ता लिएर सक्षमता परीक्षण गरिएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाले निजी स्रोतमा कार्यरत पालिकाका शिक्षकहरुको वर्गीकरण गरेर उनीहरुको क्षमता विकासका लागि आवश्यक तालिम सञ्चालन गर्न परीक्षा लिएको हाे
पालिकाका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका ५५ जना शिक्षकहरुको परीक्षा लिएर सक्षमता परीक्षण गरिने स्रोत शिक्षक विदुर थापाले बताए । आइतबार प्राथमिक तहका शिक्षकको सक्षमता परीक्षण गरने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिए । ‘निजीस्रोतका शिक्षकको सक्षमता परीक्षण गरी दुई तहमा स्तरीकरण गर्दैछौ’ स्रोत शिक्षक थापाले भने ‘ स्तरीकरणपछि पूर्ण र आंशिक तालिम प्रदान गर्नेछौं ।’
६ जना विज्ञ शिक्षकमार्फत निजी स्रोतका शिक्षकको वर्गीकरण गरी विज्ञ शिक्षककै सुझावका आधारमा क्षमता विकासका लागि आवश्यक तालिमको व्यवस्थापन गरिने शिक्षा शाखा प्रमुख पराजुलीले बताए ।
मकवानपुर । पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटेको छ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।
निगमले शुक्रबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो ।
मूल्य समायोजनपछि काठमाडौं, पोखरा र दिपालय क्षेत्रमा पेट्रोलको लिटरको १ सय ६७ रुपैयाँ तथा डिजल तथा मट्टीतेल लिटरको १ सय ५७ रुपैयाँ कायम भएको छ ।
यस्तै चारआली, विराटनगर जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटरसम्मको क्षेत्रमा खुद्रा मुल्य पेट्रोलको लिटरको १ सय ६४ रुपैयाँ ५० कायम भएको छ । डिजल तथा मट्टीतेलको लिटरको १ सय ५४ रुपैयाँ ५० पैसा पर्नेछ ।
यसैगरी सुर्खेत र दाङ डिपोको १५ किलोमिटर सम्मको क्षेत्रमा पेट्रोलको लिटरको १ सय ६६ रुपैयाँ, डिजल तथा मट्टीतेल लिटरको १ सय ५५ रुपैयाँ कायम गरिएको आयल निगमले जनाएको छ ।
इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएका कारण नेपाली बजारमा समेत मूल्य समयोजन गरिएको निगमले जनाएको छ । कर्पोरेशनले शुक्रबार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर ३.०७ र ३.१६ रुपैयाँ घटाएर पठाएको थियो ।

मकवानपुर । मकवानपुर प्रहरीले ४ सय ८० ग्राम सुन सहित २ जना नियन्त्रण लिएको छ ।
शुक्रबार प्रहरीले मकवानपुर हेटौडा उपमहानगरपालिका १५ स्थित रातोमाटेबाट भारत अमृतसार पंजाब बस्ने बर्ष ३४ को तर्सिम सिंह र धनुषा सबेला नगरपालिका वडा नं. २ बस्ने बर्ष ३९ को हितेश कुमार शाहलाई ४ सय ८० ग्राम ०८३ मिलिग्राम सुन सहित नियन्त्रणमा लिएकाे हाे ।
काठमाडौबाट बिरगंजतर्फ जादै गरेको ना ५ ख ६२१७ नम्बरकाे बसमा सवार सिंहको साथबाट ७४ हजार ५ सय २३ रुपैया बराबरकाे सुनको सिक्री २ थाान (सुन खाद कट्टी कटाएर ७ ग्राम २६८ मि.ग्राम ), २ लाख ३२ हजार १ सय ४३ रुपैया बराबरकाे बेरिएको बाला १ थान र स -सना २ थान ( २२ ग्राम ६४० मिलिग्राम) गरी जम्मा ३ लाख ६ हजार ६ सय ६६ रुपैया काे सुन बरामद गरिएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
यसैगरी बागमती प्रदेश ०३-००१ ख १७२७ नम्बरको बसमा सवार शाहको साथबाट ४६ लाख १५ हजार ९ सय ५९ रुपैया बराबरकाे सुनको ब्रास्लेट ९ थान ( ४५० ग्राम १७५ मिलिग्राम) सुन बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएकाे छ ।
उनीहरुकाे साथबाट ४९ लाख २२ हजार ६ सय २५ रुपैया बराबरकाे ४ सय ८० ग्राम ०८३ मिलि ग्रामकाे सुन बरामद गरिएकाे प्रहरीले जनाएकाे छ । बराबरको अबैध सुन सहित सिंह र शाहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको मकवानपुर प्रहरीले जनाएकाे छ ।