मकवानपुर । मकवानपुर थाहा नगरपालिकामा खानेपानी आयोजनाकाे साधारणसभामा जग्गादातालाई सम्मानित गरिएकाे छ । थाहा नगरपालिका वडा नम्बर ६ स्थित बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाको प्रथम साधारणसभामा जग्गादातालाई सम्मान गरिएकाे हाे ।
साधारणसभाको अवसरमा खानेपानी आयोजना निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराउनुहुने सुर्य बहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो । शनिबार थाहा नगरपालिका ६ को कार्यालय परिसरमा खानेपानीकाे साधारणसभा भएको हो । थाहानगर खानेपानी व्यवस्थापन बोर्डका सुरज कुमार भुजेलले नगरका सबै खानेपानी आयोजनाहरुलाई एकीकृत रुपमा बोर्ड मार्फत व्यवस्थापन गर्न नीतिगत रुपमै प्रक्रिया अघि बढाइएको बताए ।
उनले नगरबासीहरुलाई सर्वसुलभ र स्वच्छ खानेपानी वितरणका लागि बोर्डले काम गर्ने जानकारी दिए । ‘हाल उपभोक्ताहरुले पाउँदै आएको सेवामा कमी नगरी थप सुविधा दिन सकिने गरी बोर्ड मार्फत खानोपानी आयोजनालाई व्यवस्थित गरिनेछ’–भुजेलले भने ।
६ नम्बर वडाका पूर्व वडाध्यक्ष तथा खानेपानी बोर्डका संस्थापक सदस्य शशीधर सुवेदी वडाबासीले निकै दुःखका साथ निर्माण सम्पन्न भएको योजना स्थानीयकै सम्पत्ती भएको बताए । सुवेदीले खानेपानी आयोजनाको दीगो व्यवस्थापनका लागि स्थानीय सरकार जिम्मेवार बन्नु पर्ने बताए ।
अहिलेसम्म उपभोक्ताहरुले व्यवस्थापन गर्दै आएको योजनालाई थप व्यवस्थित गर्न नगरपालिकाकै संरचनाको रुपमा रहेको खानेपानी व्यवस्थापन बोर्डलाई जिम्मेवार बनाइ सहज र स्वच्छ खानेपानी विरणको व्यवस्था मिलाउन उनले आग्रह गरे । सानोतिनो मर्मत सुधारका काम उपभोक्ताहरुले गर्दै आएको बताउँदै सुवेदीले भने–‘आयोजनामा ठूलो क्ष्ति हुन पुगे नागरिकलाई पानी खुवाउने दायित्व नगरकै हुन्छ, त्यसैले खानेपानीको दीगो व्यवस्थापनतर्फ नगरपालिकाले ध्यान दिनै पर्छ ।’
बज्रवाराही वृहत बलामीको अध्यक्षतामा भएको कार्यक्रम सचिव सुविनभक्त श्रेष्ठले सञ्चालन गरेका थिए । साधारण सभाले खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष चित्र बहादुर बलामीको प्रगती प्रतिवेदन, कोषाध्यक्षको आम्दानी खर्चको प्रतिवेदन पास गरेको छ ।
सभाले पुनः चित्र बहादुर बलामीको अध्यक्षतामा नयाँ समिति सर्वसम्मत पुर्नगठन गरेको छ । समितिको सचिव सविन भक्त श्रेष्ठ, कोषाध्यक्ष जानकी श्रेष्ठ, सदस्यहरु सुर्य बहादुर श्रेष्ठ, भरत गोपाली, रमिता बलामी, सुभद्रा महर्जन, नकुल बलामी, सोनु श्रेष्ठलगायत चयन भएका छन् । कार्यक्रममा समिति अन्तर्गतका कर्मचारीहरु तथा उपभोक्ताहरुको उपस्थिती रहेको थियो । साधारणसभामा आयोजनालाई दीगो व्यवस्थापनका लागि थाहानगर खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गर्ने छलफल भएको छ । त्यस्तै बक्यौता महशुल पौष महिनाभित्रमा भुक्तानी नगर्ने ग्राहकको खानेपानी धाराको लाइन काट्ने समेत निर्णय गरेको छ ।
साधारणसभासंगै भएको उपभोक्ताहरुसंगको छलफलमा उठेका सवालहरुमा ६ नम्बर वडाका पूर्व अध्यक्ष शशीधर सुवेदी, समितिका अध्यक्ष चित्रबहादुर बलामी, सचिव सुविन भक्त श्रेष्ठ तथा खानेपानी बोर्डका सुरज कुमार भुजेललगायतले सहजीकरण गरेका थिए ।
बज्रवाराही वृहत खानेपानी तथा सरसफाई आयोजनाका अध्यक्ष बलामीको अध्यक्षतामा भएको साधारण सभा थाहानगर खानेपानी व्यवस्थापन बोर्डका भुजेलको प्रमुख आतिथ्यता र खानेपानी बोर्डका संस्थापक सदस्य सुवेदीको विशेष आतिथ्यतामा भएको थियो ।कार्यक्रममा साना किसान कृषि सहकारी संस्थाका व्यवस्थापक ध्रुर्वप्रसाद विडारीलगायतकाको आतिथ्यता रहेको थियो ।

