मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकाले शिक्षककाे परीक्षा लिएको छ । परीक्षामा सहभागी कुनै पनि शिक्षक उत्तीर्ण या अनुत्तीर्ण भने हुने छैनन् ।
शनिबार मावि र निमावि तहमा कार्यरत २० जना शिक्षकको लिखित परीक्षा र अन्तरवार्ता लिएर सक्षमता परीक्षण गरिएको गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाले निजी स्रोतमा कार्यरत पालिकाका शिक्षकहरुको वर्गीकरण गरेर उनीहरुको क्षमता विकासका लागि आवश्यक तालिम सञ्चालन गर्न परीक्षा लिएको हाे
पालिकाका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका ५५ जना शिक्षकहरुको परीक्षा लिएर सक्षमता परीक्षण गरिने स्रोत शिक्षक विदुर थापाले बताए । आइतबार प्राथमिक तहका शिक्षकको सक्षमता परीक्षण गरने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिए । ‘निजीस्रोतका शिक्षकको सक्षमता परीक्षण गरी दुई तहमा स्तरीकरण गर्दैछौ’ स्रोत शिक्षक थापाले भने ‘ स्तरीकरणपछि पूर्ण र आंशिक तालिम प्रदान गर्नेछौं ।’
६ जना विज्ञ शिक्षकमार्फत निजी स्रोतका शिक्षकको वर्गीकरण गरी विज्ञ शिक्षककै सुझावका आधारमा क्षमता विकासका लागि आवश्यक तालिमको व्यवस्थापन गरिने शिक्षा शाखा प्रमुख पराजुलीले बताए ।

