मकवानपुर । ‘युद्ध प्रसाद स्मृति साहित्य सम्मान – २०८० बाट पुरुषोत्तम आचार्य सम्मानित भएका छन् । प्रगतिशील लेखक संघ, मकवानपुरद्वारा प्रत्येक बर्ष प्रदान गर्दै आएकाे उक्त सम्मानबाट प्रगतिवादी युवा कवी आचार्य सम्मानित भएका हुन् ।
प्रगतिशील लेखक संघ, मकवानपुरले शनिबार युद्ध प्रसाद स्मृति साहित्य सम्मान तथा जुनेली खण्डकाव्य गृह विमोचन कार्यक्रम गर्दै २२ हजार राशीकाे उक्त सम्मान आचार्यलाई प्रदान गरिएकाे हाे । ‘युद्ध प्रसाद स्मृति साहित्य सम्मान मकवानपुरे साहित्यकार तथा हास्य व्यङ्ग्यकार आरसी रिजालले स्थापना गरेका हुन् ।
कार्यक्रमकाे प्रमुख अतिथि साहित्यकार नवराज शर्माले उक्त सम्मानबाट सम्मानित गरेका थिए । मकवानपुरकाे हर्नामाडी जन्मस्थान रही मकवानपुरलाई नै कर्म थलो बनाउँदै आएका उनले साहित्यकाे प्रगतिवादी धारमा अनवरत रुपमा कलम चलाउँदै आएका छन् । आचार्यका हालसम्म ५ वटा कृतिहरु प्रकाशित छन् । उनकाे भोको मझेरी – मुक्तक संग्रह २०६८, मुटु र गीतहरू – गीत संग्रह २०७०, Roaring flames – संयुक्त कविता संग्रह- २०७७, छैनौ कसोरी तिमी- ऊर्जाकाव्य २०७९, जुनेली – खण्डकाव्य, २०८० प्रकाशित भएका छन् ।
माध्यमिक तहमा नेपाली विषय अध्यापन गराउदै आएका उनकाे आफ्नै शब्द संगीत र आवाजमा केहि गीत गजलहरू समेत स्वरबद्ध छन् । २०७८ सालबाट प्रगतिशील लेखक संघ मकवानपुरले २०७८ सालबाट प्रदान गर्दै आएकाे युद्ध प्रसाद स्मृति सम्मानबाट यस अघि डा. पशुपतिनाथ तिमल्सिना र जनगायक रामेश श्रेष्ठ सम्मानित भइसकेका छन् ।


