मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मकवानपुरगढी वडा नम्बर ८ ईपाखहरे बस्ने ३७ वर्षीय दिक्पाल स्याङ्तान रहेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय राम बहादुर घिसिङको बारीमा रहेको बिजुलीको पोलमा करेन्ट लागेर स्याङ्तानको मृत्यु भएको हो ।
शव पोष्टमार्टमका लागि हेटौंडा अस्पताल ल्याएको प्रहरीले जनाएको छ ।
मकवानपुर । बागमती प्रदेश सरकारलाई दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशलेले भनेकाे छ ।
मंगलबार दलका नेता जगन्नाथ थपलियाले एक बिज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ ।
‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं’ जारी बिज्ञप्तीमा भनिएको छ ।
यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना मन्त्रीहरुले असार २४ गते मुख्यमन्त्री समक्ष राजिनामा दिएकाे तथा सरकारलाई दिएकाे समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सत्ताकाे लागि नेकपा एमाले र नेपाली काँग्रेसकाे समिकरणकाे लागि १७ असार २०८१ मध्य राती सहमति भए अनुसार केन्द्रीय सरकारबाट समेत एमाले अलग भएकाे छ भने त्यसकाे असर प्रदेशमा समेत देखिएकाे हाे । तर मुख्यमन्त्री जम्कट्टेलले राजिनामा नदिने प्रदेश सभाकाे फेस गर्ने यस अघि नै बताइ सकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पदबाट राजिनामा नदिने बताउँदै असार २८ गते संसदकाे फेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले पनि प्रधानमन्त्रीकै पदचाप पक्षाउने भएका हुन् ।
मकवानपुर । औद्योगिक क्षेत्रमा स्थापना गरिएका उद्योगको जग्गा भाडादर बढाएपछि मारमा पर्दै आएका उद्योगिहरुले बढाइएको भाडादर कार्यान्वयन नगर्न माग गरेका छन् ।
उद्योग संघ मकवानपुरको नेतृत्वमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडा, मकवानपुर मार्फत औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौलाई सोमबार ज्ञापन पत्र बुझाएको छ ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड संचालक समितिको ५ मंसिर २०७५ को बैठकले जग्गाको भाडा वृद्धिको निर्णय गरेको थियो । सोही समयमा औद्योगिक क्षेत्र उद्योग महासंघको असहमती हुँदाहुदै पनि एकतर्फी रुपले भाडा बढाएको उद्योगिहरुको दाबि छ ।
उद्योगिहरुको विरोधपछि ९ मंसिर २०७५ मा तत्कालीन मन्त्रीस्तरीय निर्णयले तत्कालको लागि सो निर्णयलाई कार्यान्वयनमा रोक लगाएको थियो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले २२ असार २०७९ मा २०७५ सालदेखिकै वृद्धि भाडा असूल गर्नेगरी अर्को निर्णय गरेपछि यसको विरुद्ध उद्योगिहरु अझै विरोधमा छन् ।
जसबारे हाल अदालतहरुमा मुद्दाहरु विचारधीन छन् । सर्वोच्च अदालतमा २७ असार मिति २०८१ को लागि पेशी रहेको छ । उच्च अदालत हेटौंडामा २४ जेठ ०८१मा दर्ता भई विचारधीन रहेको अवस्थामा सो मुद्दाहरुलाई प्रभावित पार्ने गरी औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १५ असार २०८१ मा पुनः २०७५ सालदेखिकै उक्त वृद्धि गरिएको भाडा असूल गर्ने निर्णय गरेको छ।
यसको लागि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाबाट सो निर्णय कार्यान्वयन गर्न मिति १८ असार २०८१ मा उद्योगीहरुलाई पत्राचार गरिएको थियो । यसपछि उद्योगिहरु पुन विरोधमा उत्रेका हुन् ।
“औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय हेटौंडाले पत्रकाटेपछि उद्योगीहरु फेरी हतोत्साहित बनेका छन्” उद्योग संघ मकवानपुरका कार्यकारी निर्देशक शम्भुप्रसाद नेपालले भने ।
२०७२ कारण उत्पन्न आर्थिक मन्दीको कारण उद्योगहरुमा अत्यन्तै नकारात्मक प्रभाव परेकोले यस्तो निर्णय कार्यान्वयन नगर्नको लागि आफूहरुले विरोज जनाएको उद्योग संघ मकवानपुरका वरिष्ठ उपाध्यक्ष श्रीहरि मास्केले बताए ।
मास्केले हेटौंडा औद्यागिक क्षेत्र व्यवस्थापनका निमित्त प्रमुख ई संगिता कुवरलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझ्दै कुवरले आफ्नाेतर्फबाट सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
हेटौंडा औद्योगिक क्षेत्रभि रहेका उद्योगिहरुबाट हाल २३ करोड १८ लाख ६८ हजार ५५१ रुपैयाँ भाडा वापतको पैस उठ्न बाँकी रहेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापक कुवरले बताइन् ।
यस्तो छ ज्ञापन पत्रः

मकवानपुर । संघीय सरकार सञ्चालनमा राजनीति गठबन्धन फेरबदल आएसँगै बागमती प्रदेशमा पनि यसको प्रभाव देखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको राजिनामा मागिरहेको नेकपा एमाले पार्टीबाट बागमती सरकारमा रहेका ५ जना मन्त्रीहरुले सामूहिक राजिनामा दिएका छन् ।
नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएसँगै यहाँको सरकार अल्पमतमा परेको छ । केही बेर अघि मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा बुझाएका हुन् । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बागमती एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।
आर्थिक मन्त्रालयको नेतृत्व गरिरहेका थपलियाको नेतृत्वमा बागमती एमाले संसदीय दलका नेता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासँगै प्रदेशको, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोखरेल, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ, खानेपानी ऊर्जा तथा सिँचाइमन्त्री एकालाल श्रेष्ठ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री प्रकाश श्रेष्ठले राजिनामा दिएका हुन् ।
केन्द्रमा एमाले र कांग्रेसबीच भएको सहमतिअनुसार एमालेले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थपलियाले बताए ।