मकवानपुर । बागमती प्रदेश सरकारलाई दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशलेले भनेकाे छ ।
मंगलबार दलका नेता जगन्नाथ थपलियाले एक बिज्ञप्ति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ ।
‘देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं’ जारी बिज्ञप्तीमा भनिएको छ ।
यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना मन्त्रीहरुले असार २४ गते मुख्यमन्त्री समक्ष राजिनामा दिएकाे तथा सरकारलाई दिएकाे समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं थपलियाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
केन्द्रीय सत्ताकाे लागि नेकपा एमाले र नेपाली काँग्रेसकाे समिकरणकाे लागि १७ असार २०८१ मध्य राती सहमति भए अनुसार केन्द्रीय सरकारबाट समेत एमाले अलग भएकाे छ भने त्यसकाे असर प्रदेशमा समेत देखिएकाे हाे । तर मुख्यमन्त्री जम्कट्टेलले राजिनामा नदिने प्रदेश सभाकाे फेस गर्ने यस अघि नै बताइ सकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पदबाट राजिनामा नदिने बताउँदै असार २८ गते संसदकाे फेस गर्ने तयारी गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलले पनि प्रधानमन्त्रीकै पदचाप पक्षाउने भएका हुन् ।

