मकवानपुर/मनमा सकारात्मक संकल्प छ भने, जस्तोसुकै समयमा पनि सकारात्मक योजना बुन्न सकिन्छ । यसको गतिलो उदाहरण बनेका छन्, हेटौंडा उपमहानगरपालिका वडा नं ९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी । उनैको नेतृत्वमा विगतमा डरलाग्दो झाडीको रुपमा रहेको र वर्षायाममा स्थानीयवासीको लागि अभिसाप बनेको खहरेले पार्कको रुप लिदैंछ ।
एक स्थानीय तह एक पार्क निर्माण गर्ने अबधारण अनुसार पार्क निर्माणको खोजिमा रहेको वडा कार्यालयले खहरेको झाडी सफा गरेर पर्यटकीय स्थल बनाएको हो । जहाँ स्थानीय वडावासीदेखि सांसद र प्रदेश सरकारले हेस्टेमा हैंसे गरे ।
यसरी जन्मियो पार्कको अबधारण
पहिलो चरणमा कोरोना भाइरसको प्रकोपले देशव्यापी लकडाउन भयो । दैनिक ज्याला मजदुरी गरेर खाने वर्गहरुको चुल्हो बल्न छाड्यो । छाक टार्नकै लागि दैनिक ज्यालामजदुरीमा जानेहरुको बालबालिका भोकभोकै पर्न थालेपछि सबैजसो स्थानीय तहहरुले खाद्यान्न वितरणको कार्यक्रमहरु अघि सारे । हेटौंडा उपमहानगरपालिका –९ ले पनि खाद्यान्न वितरण ग-यो । स्वार्थ र लोभले भरीएका मानिस कोही न केही जहाँ पनि भेटिन्छन्, यहाँ पनि भेटिए । घरमा खाद्यान्न प्रर्याप्त भएका, काम गर्न लाज मान्नेहरु पनि राहत थाप्न आए । खानै पाइन भन्दै राहत लिन आउनेलाई दिनै प-यो । वडा अध्यक्ष भण्डारीलाई यसरी सही काम भएको लागेन । राहतमा वितरण गरेको चामल गाईलाई खुवाएको आफैंले देखे । “यस्तो चामल हामी खादैनौ, उर्जा खान्छौं भन्दै चामल गाईलाई खुवाए, अनि मैले राहत वितरण गर्ने सोच फेरे” भण्डारी भन्छन् । सित्तैमा पाएपछि लिने र फाल्ने परम्परा हटाउन श्रममा आधारीत राहत वितरण थाले उनले ।

पार्क निर्माणको सपनाले अब मुर्त रुप लिने यहि अवसर बन्न सक्छ भन्ने सोच झ्वाट्ट आयो । बजेटको अभावको कारण डरलाग्दो झाडी फाँड्न सकिएको थिएन । लकडाउनमा खाद्यान्नको समस्या हुनेले आफ्नो घरेलु हतियार प्रयोग गरेर झाडी फाँड्नमा सहभागी हुने र साँझ राहत लिएर फर्कने भन्ने उर्दी टोल विकास मार्फत उनले आफ्नो वडावासीलाई सुनाए । अनि साँच्चै राहत आवश्यक पर्नेहरु काममा आउन थाले । वडा अध्यक्ष भण्डारी आफ्नो निजी गाडीमा राहत बोकेर बाड्न थाले ।
अहिले त्यही विगतको डरलाग्दो झाडी सबैको आकर्षणको केन्द्र विन्दु अर्थात व्यवस्थित दिव्य बाल उद्यान बन्ने क्रममा छ । पिकनिक स्पोट सहितको पार्क । हेटौंडा–९ बेतखोल्सी सामुदायिक वन क्षेत्र र खोलाको किनारमा रहेको १८ बिगाहा जमिन अब विगतको जस्तो पस्नै डराउनु पर्ने झाडी छैन । बरु मन बहालाउने रहर लाग्दो पार्कमा परिणत हुँदै छ । पार्कको केही संरचना निर्माण भैसकेको छ ।

पार्क प्रवेश गर्ने मुख्य गेट निर्माण गरिएको छ । प्रवेश गर्ना साथ विभिन्न रङ्गको वाटर फाउण्डेसन निर्माण सम्पन्न छ । त्यसपछि बनेको छ कम्युनिष्ट नेता मदनकुमार भण्डारी र जीवराज आश्रितको आकर्षक प्रतिमा । यसैगरी शान्तिको प्रतिक गौतम बुद्धको प्रतिमा राखिएको छ ।
केही माथि नेपाल आमाको प्रतिमा राख्ने योजना रहेको वडा अध्यक्ष भण्डारीले बताए । “नेपाल आमाको प्रतिमा हामीले सबै भुगोलको सम्मान दर्शिने गरि राख्ने छौं” भण्डारीले भने । उनलका अनुसार नेपाल आमाको प्रतिमामा हिमाल पाहाड तराईवासीको भेषभुषा झल्कने गरी बनाइने छ । यसै गरी अन्य अन्य राष्ट्रिय बिभुतीहरुको प्रतिमा पनि राखिनेछ ।
एक स्थानीय तह एक बाल उद्यान नीति अनुसार यो पार्क निर्माण गर्न लागिएको हो । हालसम्म पार्क निर्माणको लागि गत आर्थिक वर्षमा ४५ लाख र चालु आर्थिक वर्षमा ३२ लाख खर्च भैसकेको छ । पार्क निर्माणको लागि बागमती प्रदेश सरकारले सबैभन्दा बढी लगानी गरेको छ । हेटौंडा उपमहानगरपालिका, ९ नम्बर वडाबाट पनि बजेट लगानी गरिएको भण्डारीले बताए । पार्कमा आन्तरीक तथा बाह्य रुपमा पिकनिक खाने रमाइलो गर्नको लागि स्पोट पनि तयारी रहेको छ ।

पार्क भित्र मानव सेवा आश्रमले गुलाब बगैँचा निर्माण गर्दै छ, जहाँ संसारमा पाइने सबै प्रजातिको गुलाबका फूलहरु फुल्नेछन् । वनस्पति कार्यालय हेटौंडा, सियान पुनस्र्थापना केन्द्र, गोर्खा लहरीले निश्चित स्थान लिएर आकर्षक व्यवस्थापन गर्ने काम जारी छ । “अहिले पनि मर्निङ वाक गर्न आउने आनन्द अनुभुति गर्छन” उनले भने । झाडीको रुपमा रहेको यो स्थानमा कोरोना महामारीको पहिलो लरहमा श्रममा आधारीत राहत वितरण कार्यक्रम गरेर झाडी हटाइएको थियो ।
खोलाको बगर भएकोले बिरुवा हुर्कने माटो भर्न समय लागेको उनले बताए । “बिरुवा हुर्काउन माटोकै अभाव छ, हामी आत्तिएका छैनौ, पानीको पूर्ण व्यवस्था भएकोले पनि अब धेरै समय लाग्दैन” उनले भने ।

“वर्षायाममा गाउँ नै बगाउला जस्तो गरी आउने खहरे खोलाको बगरमा पार्क बनाउने सपना देखेकै थिएनौ” स्थानीय आरबी पौडेलल भने “इच्छा भयो भने सकिने रहेछ ।” खोलाले बस्ती कटान गरेर आजित थियौ, तारबेर गरेर विस्तारै व्यवस्थित गर्दै थियौ अब त पर्यटकीय क्षेत्र बन्यो उनले भने ।
कोरोनाको समयमा दैनिक ३० जनाका दरले भौतिक दुरी कायम गर्दै काम गरिएको उनले सुनाए । झाडी सफा गर्न झण्डै २ सय जनाले श्रमदान गरेको बेतखोल्सी सामुदायिक वनका अध्यक्ष बासु प्याकुरेले बताए । त्यस लगतै लागत सहभागितासहित उपमहानगरपालिकाले प्रदान गरेको बजेटबाट पार्कमा बाटो खोल्ने, कम्पाउन्ड पर्खाल लगाउने कार्य भएका उनले बताए ।
भण्डारीले जहाँ हात हाल्छन्, त्यहाँ उदाहरणीय व्यवस्थापन गर्दछन् । उनले व्यवस्थापन गरेको बेतखोल्सी सावउस र यसै बाल उद्यानसंगै जोडिएको प्राथमिक बिद्यालय सुधार पनि उत्कृष्ट /उदाहरणीय छ।
मकवानपुरमा मानव अधिकार उल्लङ्घनका घटनाहरु बढ्यो
Tags: No Comments
मकवानपुर/
- १२ वर्षीया बालिकालाई जेठ १५ गते बलात्कार गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका–६ का २८ वर्षीय मामालाई प्रहरीले जेठ १७ गते गिरफ्तार ग¥यो । कार्तिक १६ गते बसेको जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले अभियुक्तलाई ६ महिना कैद र २० हजार जरिवानाको फैसला गरेको छ ।
- १५वर्षीया बालिकालाई बन्धक बनाई बलात्कार गरेको आरोपमा हेटौँडा उपमहानगरपालिका–४ बैंकरोडका रुष्तम कोइराला, अख्तर हुसेन, अमर प्रधान, प्रकाश मानन्धर, विनोद घर्ती र चितवन जिल्ला भरतपुर महानगर–६ कासुरेश पौडेललाई प्रहरीले २५ जेठमा गिरफ्तार ग¥यो । आरोपित हुसेनलाई प्रहरीले २६ जेठमा गिरफ्तार ग¥यो । आरोपित रुस्तम कोइराला र अख्तर हुसेन अदालतले जबरजस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ भने अन्य चार जना आरोपितलाई जनही ३०/३० हजार रुपियाँ धरौटीमा रिहा गरेको छ ।
- ७ बर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौंडा उपमहानगरपालिका ११ बस्ने अबधेस पाण्डेलाई असोज २८ गते गिरफ्तार गरेको ग¥यो । आरोपित २ मंसिरदेखि पुर्पक्ष थुनामा छन् ।
यि केही प्रतिनिधि मुलक घटना हुन् । पछिल्लो समय मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरु बृद्धी भइरहेको तथ्याङ्कले देखाएको छ । पछिल्लो वर्ष गत वर्षको तुलनामा १६ वटा घटना बढेको देखिएको छ ।
सन् २०२१ मा मकवानपुरमा मानवधिकार हनन तथा ज्यादतीका ७८ वटा घटनाहरु भएको अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले पनि जनाएको छ । इन्सेकको अभिलेखालयमा गत सन् २०२० मा मकवानपुरमा ६२ ओटा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा ५० जना महिला, १२ जना पुरुष र एक लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएका थिए ।
मकवानपुर जिल्लामा भएका उक्त घटनामध्ये ७३ जना महिला र ५ जना पुरुष पीडित भएका छन् । जसमध्ये ३४ जना बालिकाहरु छन् । बालिकाहरु मध्ये २८ जना बलात्कारबाट, ५ जना यौन दुव्र्यवहार र १ जना बेचबिखनको प्रयासबाट पीडित भएको इन्सेक मकवानपुर प्रतिनिधि पुष्प अधिकारीले बताए ।
यसैगरी २१ जना महिला बलात्कारको घटनाबाट, ५ जना बलात्कार प्रयासबाट, १ जना यौन दुव्र्यवहार र ६ जना बहुबिबाहको घटनाबाट गरी ३३ जना महिलाहरु पीडित भएका तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको हो । यस अवधिमा १० ओटा हत्याका घटना भएका छन् । जसमा ५ जना महिला छन् । गतबर्षको तथ्याङ्कसंग यस बर्षको घटना तुलना गर्दा जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको देखिन्छ ।

८ वर्षीया बालिकालाई १७ जेठमा यौन दुव्र्यवहार गरेको आरोपमा मकवानपुर थाहा नगरपालिका–६ बज्रबाराहीका राजु बलामी ७ असारदेखि पुर्पक्ष थुनामा छन् । १४ वर्षीया बालिकालाई बेचबिखनको प्रयास गरेको आरोपमा प्रहरीले २० मङ्सिरमो पर्सा महादेवपट्टी घरभई हेटौंडा ८ मा डेरागरी बस्ने ५२ वर्षीय मादाराज हजरा दुसाद, २६ बर्षका बिजय पासवान र भारत बिहार बेतिया राजपुर ४ सुभद्राथाना बस्ने ३६ बर्षका राजेन्द्र महतोलाई गिरफ्तार गरेको थियो । प्रहरीले पीडितपक्षको जाहेरीका आधारमा आरोपितहरुलाई गिरफ्तार गरी मकवानपुर जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत मुद्दा दर्ता गरेको छ, भने पिडित बालिका अहिले पनि माइती नेपाल मकवानपुरको संरक्षणमा रहेकी छिन् ।
घटना आफ्नै परिवारजनबाट समेत हुने गरेको प्रहरीले जनाएको छ । बालिकाहरु बलात्कार जस्ता घटनाहरुमा एकाघर परिवार र आफन्तहरु नै बढी संलग्न रहने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक चुडाकुमारी खड्काले बताइन् ।
४३ बर्षीय भाउजुलाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर मनहरी गाउँपालिका ७ का ४० बर्षीय देवरलाई २१ बैशाख २१ गते गिरफ्तार गरेको उनले बताइन्। यसै गरी २६ वर्षीय महिलालाई २६ जेठमा बलात्कार गरेको आरोपमा प्रहरीले ३२ वर्षीय जेठाजुलाई जेठ २७ गते गिरफ्तार गरेको र आरोपितलाई जिल्ला अदालतका न्यायाधीश कमलराज विष्टको एकल इजलाशले २१ असारमा पुर्पक्षका लागि थुनामा पठाएको प्रहरी निरीक्षक खड्काले बताइन् ।
इन्सेक बागमती प्रदेश कार्यालय हेटौंडाले नेपाल माव अधिकार वर्ष पुस्तक २०२२ को पूर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुर सभापति रघुनाथ खुलालले विकसित देशमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुने गरेको र यो सकारात्मक सन्देश नभएको बताए ।
यसैगरी उपप्रमुख भगवती पुडासैनीले अभिभावकको संरक्षणमा बालबालिका नहुदा हिंसा बढेको बताइन् । बालमैत्री घोषणा भएका गाउँपालिकामा समेत बाल हिंसा बढेको उनले बताइन् ।
यसैगरी इन्सेकका प्रदेश कार्यक्रम संयोजक गणेश भण्डारीले प्रदेशको राजधानी बढेपछि घटनाहरू बढ्न थालेकाले सचेतना अभिवृद्धिको कार्यक्रम पनि आवश्यक भएको बताए । जिल्ला र प्रदेशको तथ्याङ्कमा समेत बाल बिबाहको घटना पनि बढेको तर, अभिभावकले उजुरी नगरेको कारण रेकर्डमा राख्न नसकिएको भण्डारीले बताए । पछिल्लो समय महिला र बालिकाहरुमाथी हुने घटना र ज्यादती बढेको उनले बताए ।
कार्यक्रममा सहभागीहरुले लिभिङ टुगेदरको कारण आउने घटनाहरूको क्रम बढेको बताएका थिए । लिभिङ टुगेदरको कारण बढेको हिंसाको उजुरीको पनि कानुनी आधार नभएको कारण पीडितले न्याय नपाउने गरेको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् ।
कार्यक्रममा जिल्ला बार एसोसिएसनका अध्यक्ष अधिवक्ता इश्वरी अधिकारी, सिविन मकवानपुरका प्रमुख झबिन्द्र ज्ञावली, अधिवक्ता ध्रुब चौलागाईं, माइती नेपाल मकवानपुर फिल्ड सुपरभाइजर मन लामा, मानव अधिकार तथा जातीय भेदभाव सरोकार केन्दद्रका कमलकुमार बिश्वकर्मा, गैसस मकवानपुर उपाध्यक्ष रमिला सापकोटा पत्रकारहरूको उपस्थिति रहेको थियो ।
अदालतको आँखाबाट देखिने समाज
Tags: No Comments
पर निर्भरता नै हिंसाको प्रमुख जड हो । हिंसाले अत्यन्तै व्यापक विषयलाई छोएको छ । अहिले म परिभाषातिर जाँदिन । अदालतमा आउने अधिकांश अझै भनौ सबैजसो केसहरु केही न केही रुपमा कुनै न कुनै प्रकारको हिंसासँगै जोडिएर आएका हुन्छन् । सामान्यतः अदालतको केस हेर्ने हो भने अहिले पारिवारीक केस नै बढी छन् । जस्तो कि सम्बन्ध विच्छेद, शोषण, बलात्कारको केस बढी छन् । बैदेशिक रोजगारको कारण जोडिएका हिंसाहरु छन् ।
समाजमा गरिबी व्याप्त छ, यसलाई समाधान गर्न बैदेशिक रोजगारमा जाने प्रचलन बढी छ । बैदेशिक रोजगारमा जाँदा केही हदसम्म आर्थिक अभावको कारण हुदैं आएको हिंसाको निराकरण भएको पाइन्छ । तर, त्यहीनेर अरु हिंसा सुरु हुने गरेको छ । एकजना पुरुष बैदेशिक रोजगारमा गएर कमाइ श्रीमतीलाई पठाउँदा आमाबुबासँगको सम्बन्ध बिग्रने, आमाबुबालाई पठाउँदा श्रीमतीसँगको सम्बन्ध बिग्रने गरेको छ । यस्तै महिला बैदेशिक रोजगारीमा गएको अवस्थामा पठाएको पैसा हिनामिना गर्ने, आपसी शंका, अविश्वास गर्ने जस्ता कारण परिवारमा एकदमै ठुलो समस्या हुने गरेको र अन्ततः सम्बन्ध विच्छेद, अंश मुद्दा र बहुविवाह जस्ता मुद्दाहरु एकदमै बढेर आएको छ पछिल्लो समय ।
जबसम्म सशक्तिकरण राम्रो हुँदैन तबसम्म समाजमा हिंसा रहन्छ । सबैभन्दा पहिलो कुरा शिक्षा हो। स्कुल जाने उमेरका बालबालिका कुनै पनि हालतमा स्कुल जानै पर्ने संस्कार नै बसाउनु पर्छ । हिजोको दिनमा स्कुल पढ्ने र आजको दिनमा स्कुल पढ्नेलाई सेवा सुविधामा धेरै फरक छ । स्कुल र घरको दुरी, भौतिक सुविधा, सरकारले शिक्षा आर्जनको लागि गरेको लगानी धेरै राम्रा राम्रा अवसरहरु छन् आज । तर स्कुल छाड्ने प्रवृतिहरु मकवानपुर मै पनि व्यापक देखिन्छ । सानै उमेरमा स्कुल छाड्नु भनेको उसले धेरै कुरा गुमानु हो जीवनमा । सबैभन्दा ठुलो कुरा उसले आफ्नो बारेमा निर्णय गर्ने क्षमता नै हराउँछ । भविष्य प्रति आशावादी हुन नसकेका वा हुर्कदा उचित वातावरण नपाएका बालबालिका हिंसामा पर्ने तथा हिंसा गर्ने जोखिम समूहमा पर्छन् ।
त्यही स्कुल छाडेको कारण सबै प्रकारको हिंसा उसको जीवनमा आइपरिरहन्छ । मकवानपुरकै सन्दर्भमा भन्ने हो भने स्कुल छोडेर याताायात, क्रसरहरुमा रोजगारी पाइने गरेको मैले देखें । स्कुल नजादा पनि रोजगारी पाइने २/४ पैसा कमाइने रहेछ भनेर पनि स्कुल छाड्ने गरेको मैले देखें ।
उनीहरुको सानै उमेरमा विवाह हुने गरेको, सानै उमेरमा आमाबुबा हुनेगरेको, सक्षम नहुँदै परिवारको दायित्व निर्वाह गर्न नसकेको, परिवारप्रति इमान्दार बन्न नसकेको कारण हिंसामा परेको देखें । यसैले हिंसाको कारण व्यक्तिमा सशक्तिकरण कै अभाव हो।
समाज र परिवारको बुझाइमा स्कुल त कुनै पनि हालतमा जानुपर्छ जानुपर्छ, स्कुल छाड्ने सवालमा कुनै पनि बाहानाबाजि चल्दैन भन्ने बुझाइ हुनुप-यो।निश्चित उमेरसम्म कुनैपनि हालतमा स्कुल जानै पर्छ, स्कुल बाहेक अन्यत्र जाने ठाँउ नै हैन भन्ने हाम्रो सामाजिक संस्कार कै विकास हुनु पर्छ ।
जबसम्म व्यक्तिले आफ्नो जीवनको कार्ययोजना बनाउँन सक्दैन, समाजिक बनोट, सामाजिक दबाबहरु बारे बुझ्न सक्दैनन् तब समस्या सुरु हुन्छ । यहाँनेर सबैभन्दा ठुलो गल्ति स्कुल छाड्नु नै हो । मैले देखेको अचम्मको कुरा के हो भने, यहाँ स्कुल छाड्ने प्रवृत्तिलाई संस्कारको रुपमा लिइयो । ‘स्कुल किन छाडेको भन्दा, हाम्रो तिर यस्तै हो, अरुले पनि छाड्छन्, हाम्रोले पनि छाड्यो’ भनेर सामान्य रुपमा लिने गरेको पाएँ । यो विषयलाई सामान्य रुपमा लिइयो यो विल्कुलै राम्रो हैन । स्कुल छोड्नै हुदैन भनेर न समाजले दबाब दिन सक्यो न परिवारले, न त सामाजिक संघसंस्थाले नै।
स्कुल छोड्ने कुरालाई समाजले स्वीकार गर्नै हुदैनथ्यो । सामाजिक दबाब यस्तो हुनु पर्ने किः स्कुल छोड्नु भनेको कुनै पनि हालतमा गर्नै नहुने काम हो । यहाँ त आमप्रचलनको रुपमा लिइयो यो नै गलत हो ।
यो नै बालबालिका, महिला प्रति हिंसाको जरो हो । अदालतमा आएका मुद्दाको आधारमा देखिएको हिंसाको जरो नै यही हो । अदालतको ऐनबाट हेर्दा हिंसाको सबैभन्दा प्रमुख कारण नै बैवाहिक दायित्व बहन गर्न नसकेको कारण उब्जेको छ । जुन सशक्तिकरण नभएर र शिक्षा आर्जन नगरेर नै हो । विवाहको दायित्व बहन गर्न सक्ने क्षमता नभएको कारण उब्जिएको मुद्दाहरु बढी छन् ।
आधाभूत शिक्षा नलिएकै कारण जीवनमा धेरै अवसरहरु गुमेका छन् । परिवारले आफ्ना सन्तानलाई शिक्षामा जोड दिएको देखिदैन । कानुनसँग विवादमा परेर अदालत आएका बालबालिकाको केसले यस्तो देखाउँछ।चोरीको केस,यौनजन्य हिंसाको केस,बलात्कारसँग जोडिएको केसमा उनीहरुको आमाबुबालाई बोलाएर छलफल गर्दा धेरैजसोको बाबाआमा नै सम्बन्ध विच्छेद गरिएका, बाबा आमा वैदेशिक रोजगारीमा रहेका, पैसा पाएका तर उचित अभिभावकत्व नपाएका, स्कुल छाडेकाहरु बढी छन् । राम्रोसँग स्कुलिङ नभएको कारणले गर्दा कस्तो काम कानूनसँगत र कस्तो काम गैरकानूनी भनेर बुझ्न नसकेको कारण घटना भएका छन् । राम्रो शिक्षा प्राप्त गर्न नसकेको कारण नै समस्यामा परेका छन् ।
अदालतमा आएका बालबालिकाहरुको केस हेर्दा स्कुल छोड्नु र गैरकानूनी क्रियाकलापमा संलग्न हुनुको बिचमा प्रत्यक्ष सम्बन्ध छ । यसलाई रोक्ने जिम्मेवारी कस्को ? सबैभन्दा पहिले हामीले हिंसालाई विविधिकरण गरेर परिभाषित गरेर त्यही अनुसारको कार्यक्रम बन्नु आवश्यक छ । जस्तो शिक्षा एउटा कुरा हो, जुन छोड्ने प्रवृति छ भने यहाँ समाजिक दबाब हुनु प-यो कि स्कुल छाड्नु भनेको एकदमै ठुलो मौका गुमाउनु हो भन्ने धारणा समाजको हुनुप-यो । समाज र परिवारको बुझाइमा स्कुल त कुनै पनि हालतमा जानुपर्छ जानुपर्छ, स्कुल छाड्ने सवालमा कुनै पनि बाहानाबाजि चल्दैन भन्ने बुझाइ हुनुप-यो।निश्चित उमेरसम्म कुनैपनि हालतमा स्कुल जानै पर्छ, स्कुल बाहेक अन्यत्र जाने ठाँउ नै हैन भन्ने हाम्रो सामाजिक संस्कार कै विकास हुनु पर्छ ।
अर्को कुरा बैदेशिक रोजागारीले यति धेरै समस्या ल्याएको छ, त्यसलाई सम्बोधन गर्न के गरियो ? महिलालाई विदेश जान नदिने नकरात्मक उपाय बाहेक केही गरिएन । यसलाई सकारात्मक रुपमा काम गर्न सकिन्छ । जस्तो बैदेशिक रोजगारीमा जान कसलाई प्रमोट गर्ने भन्नेबारे ।विवाह गर्नु पूर्व नै विदेश जानलाई किन प्रेरित नगर्ने, उनीहरुलाई जानु पहिले नै सिप सिकाउनु पर्छ ताकी राम्रोसँग काम गर्न सकोस् । यसले ढीलो विवाह हुन्छ अर्थात बाल विवाह रोकिन्छ । संगै केही कुरा देखेर सिकेर आएपछि पारिवारीक जिम्मेवारी बुझ्ने हुन्छ । अर्को कुरा विवाहित जोडिलाई बालबालिका हुनु अगावै वैदेशिक रोजगारीमा पठाउन व्यवस्थित गर्न सकिन्छ। एउटै देशमा एउटै कम्पनीमा विवाहित जोडिलाई पठाउन कसरी सहजिकरण गर्न सकिन्छ । त्यता पनि सोच्नुुपर्छ । हाम्रो देशमा कर्मचारीतन्त्रमा यस्तो अभ्यास छंदैछ । बालबालिकाले गुमाउँदै आएको अभिभावकत्वको कारण उब्जेको समस्या यसबाट समाधान हुन्छ । यो एउटा उदाहरण मात्रै हो ।
हिंसाको विविधिकरण गरेर, कारणमाथि अनुसन्धान गरेर उपाय अबलम्बन गर्नु पर्छ । प्रत्येक व्यक्तिलाई सबल बनाउने दायित्व राज्यको हो । अहिले ३ तहको सरकार छ, सेवा दिनको लागि धेरै राम्रो व्यवस्था बनेको छ । हरेक व्यक्ति आफ्नो बारेमा आफैंले सही निर्णय गर्न सक्ने क्षमतावान हुनु प-यो नि, यसको लागि प्रारम्भिक कदम त शिक्षा नै हो ।
चिन्तनको कारण पनि हिंसाहरु समाजमा गडेर बसेको छ । जस्तो कि पार्टीगत चिन्तन, धार्मिक चिन्तन, सामाजिक चिन्तन (मेरो समुदाय तेरो समुदाय) छ । सबैभन्दा पहिले त मान्छेलाई मान्छैकै रुपमा सम्मान गर्ने संस्कारको विकास हुनु जरुरी छ । सामाजिक सेवा लिने विषयमा पनि यस्तै छ । सरकारले दिने सेवा सुविधा मान्छे भएकै कारणले पाउनु प-यो। कुनै पार्टीको कार्यकर्ता भएको कारण, कुनै समुदायको भएको कारण हैन । सरकारी सुविधा प्राप्त गर्नको लागि कतै न कतै आड लिनुपर्ने कारण व्यक्तिलाई सवलिकरण हुनुभन्दा पनि परआश्रित नै बनाउँछ, अन्तत्वगत्वा यसले पनि हिंसा नै जन्माउँछ ।
नेपालको संविधान विश्वमा नै अग्रगामी छ । पीडितलाई सामाजिक पुर्नस्थापना र क्षतिपुर्ति सहितको न्याय प्राप्त गर्ने अधिकार हुने छ भनेर संवैधानिक ग्यारेन्टी निसर्त गरिएको छ । यो संसारको बहुतै कम संविधानले ग्यारेन्टी गरेको कुरा हो । यसलाई अझै व्यवस्थित गर्न अपराध पीडित संरक्षण ऐन २०७५ आएको छ । यसले पनि वृहत रुपमा पीडितको परिभाषा गरेको छ। यसले प्रत्यक्ष पीडितमात्रै हैन, प्रभावितलाई पनि सम्बोधन गरेको छ । तर कार्यान्वय पक्ष राम्रो छैन।
कुनै नेताले पाउने सुविधा नपाउँदा चै अचम्म मान्ने हामी पीडितले क्षतिपुर्ति नपाउँदा किन सामान्य मान्छौ ? मानौं कि प्रधानमन्त्रीले चढ्ने गाडी पाएन रे, त्यो सुन्दा हामी अचम्मित हुन्छौ, भने एउटा पीडितले पीडापछि न्याय र क्षतिपुर्ति नपाउँदा पनि त्यहि तहमा किन सोच्दैनौ ? हाम्रो समाजमा यो विषय न त मिडियाको लागि अचम्मको विषय छ, न संघसंस्थाहरुको लागि ।
गतसाल जिल्ला अदालत मकवानपुरले ६९ लाख क्षतिपुर्ति भरायो । जसमा क्षतिपुर्ति भराई पाउँ भनेर साँढे १३ लाख रुपियाँ बरारबको निवेदन प-यो । तर, जम्मा ९ लाख मात्रै भराइएको छ । संविधान र कानुनले नै व्यवस्था गरेको अधिकार पनि सबैले दावि गरेका छैनन् । अदालत पुगेर क्षतिपुर्ति दाबि गर्नै नसक्नेलाई सम्बोधन गर्न बनाइएको कानुन खै व्यवहारीक ? पीडितलाई खोज्दै अदालत नै जाने संयन्त्र बनाइनु प-यो । पीडित आफू आउन सकेन, यसले गर्दा कार्यान्वयनमा फितलो भयो । यसले पनि हिंसा पीडितलाई उचित राहत भएन ।
पहिले त कसैले पीडा पाउनु नै भएन, पीडा पाइसक्यो, पीडित भैसक्यो भने त क्षेतिपुर्ति पाउनु पर्छपर्छ भन्ने सवाल छ । कानुनले भनिसकेको कुरा किन कार्यान्वयनमा आएन? जसरी जागिर दिएपछि तलब दिनुपर्छ भन्ने कुरा सामान्य हो, पीडित भएपछि क्षतिपुर्ति पाउनु पर्छ भन्ने कुरा पनि त्यही हो । क्षतिपुर्ति पाइन्न र ? यसको लागि पनि निवेदन दिनुपर्छ र ? भनेर चाँही अचम्मित हुनुपर्नेमा हामी पाइन्छ र ? भनेर चाही दंग हुन्छौ । पीडितलाई क्षेतिपुर्ति दिनु भनेर सरकारी कर्मचारीलाई तलब दिएर सरकारले खटाएको हो । किन त्यै कर्मचारी चाही तलब खाने तर, पीडितले चाही किन नपाउने क्षतिपुर्ति ?
कुनै नेताले पाउने सुविधा नपाउँदा चै अचम्म मान्ने हामी पीडितले क्षतिपुर्ति नपाउँदा किन सामान्य मान्छौ ? मानौं कि प्रधानमन्त्रीले चढ्ने गाडी पाएन रे, त्यो सुन्दा हामी अचम्मित हुन्छौ, भने एउटा पीडितले पीडापछि न्याय र क्षतिपुर्ति नपाउँदा पनि त्यहि तहमा किन सोच्दैनौ ? हाम्रो समाजमा यो विषय न त मिडियाको लागि अचम्मको विषय छ, न संघसंस्थाहरुको लागि । त्यसैले पीडितहरु संधै पीडित नै छन् ।
अदालती आँखाले हेर्दा कमजोरी यत्रतत्र देखिन्छ । सबैभन्दा पहिले मान्छेले मान्छेलाई मान्छेको रुपमा स्वीकार गर्न प-यो, सम्मान गर्न प-यो । पद पाएको कारण, हैसियतको कारण व्यक्तिले स्वीकार र सम्मान पाउने समाजिक सोच र बनावट छ। यो नै विभेदको कारण हो, र हिंसाको जड हो । समाजमा आफूले राम्रो गरेर देखाउने भन्दा पनि आफूभन्दा अर्कोलाई कमजोर कसरी देखाउने भन्ने होड चल्यो । यो हिंसाको कारण हो ।
त्यसैले मुख्य खाँचोको सवाल सवलिकरण नै हो । र अर्को कुरा सेवा प्रदायकहरुको संयन्त्रमा पनि कमजोरी छन्, सुधार आवश्यक छ । पुराना ढर्राहरुमा नयाँरुप आवश्यक छ । पीडितलाई न्याय दिने सवालमा पनि कसैलाई सजाय दिने भन्दा सत्य अनुसन्धान गर्ने र सेवा दिने संयन्त्र बलियो हुनुपर्छ ।
- सहीखबर सम्पादक सरिता दाहालसँग गरिएको कुराकानीमा आधारीत (लैङ्गिक हिंसा विरुद्व १६ दिने अभियान विशेषाङ्क सहीखबर साप्ताहिककाे प्रिन्ट सस्करणबाट साभार)
मकवानपुर /बागमती प्रदेशको राजधानी मकवानपुरको हेटौंडा बजार घर भएकी १४ वर्षीया बालिकालाई बेचिदै गर्दा उद्वार गरिएको छ ।
बेचविखनमा संलग्न ३ जनालाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियमन्त्रणमा लिएर हिरासतमा राखेको छ । विगत ३ महिनादेखि बालिकालाई विभिन्न प्रलोभनमा पार्दै आएको र २० मंसिरमा घरबाट भारतको लागि प्रस्तान गर्दै गर्दा परिवार समेतको संलग्नतामा प्रहरी, माइती नेपाल र साना हातहरु नेपाल नामक गैरसरकारी संस्थाको सहयोगमा उद्वार गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा दर्ता भएको जाहेरी अनुसार सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर स्थायी ठेगाना भई हाल मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका ८ कमाने सनउड कोलनी बस्ने ति बालिकालाई उद्वार गरिएको थियो ।
आरोपित ३ जनालाई मानव बेचबिखन तथा ओसार पसार कसूरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बेचविखनमा संलग्न रहेको आरोपमा प्रहरीले पर्सा जिल्ला जिराभवानी गाउँपालिका– ८ घर भई हाल हेटौडा उउपमहानगरपालिका –८ मा कमानेमा डेरा गरी बस्ने ५२ को मादाराज हजरा दुसाद र सोही स्थानमा बस्ने निजकै छोरा २६ वर्षीय बिजय पासवानलाई नियन्त्रणमा लिएको छ । यसैगरी सोही मुद्दमा प्रत्यक्ष संलग्न भएको आरोपमा भारत विहार वेतिया जिल्ला राजपूर वडा –४ सुभद्रा थाना बस्ने ३६ वर्षीय राजेन्द्र महतोलाई पनि नियन्त्रणमा लिएर हिरासतमा राखिएको छ ।
आरोपित बिजय र मादाराजले बालिकालाई ३ महिना पहिलादेखि भारत वेतियामा विवाह हुने ठाउँमा डान्स गर्ने काम लगाई दिने र त्यस बापत मासिक आईसी १० हजार तलब दिने भनेर प्रलोभनमा पार्दै आएको बालिकाले जाहेरीमा बताएकी छिन् ।
करिब एक हप्तादेखि दैनिकजसो आर्थिक प्रलोभनमा पार्दै आएको र राजेन्द्र महतोलाई भारत बेतियाबाट हेटौंडा बोलाएर बालिकालाई पठाउने तयारी गरिएको जाहेरीमा उल्लेख छ । बिजय र मादाराजले हेटौंडा बोलाएपछि राजेन्द्रलाई १९ मंसिरमा आफ्नै डेरामा बास बसाएका थिए । आरोपित ३ जनाले बालिकालाई चितवन जिल्ला हुदै ठोरीबाट भारत वेतियामा लगि बेच बिखन गर्ने योजना सोही रात बनाएका बुझिएको छ । २० मंसिरको विहान ८ बजे घरबाट झोला बोकी घर बाहिर निस्कन लाग्दा बालिकाको आमाले सोधिखोजि गरेपछि घटना बाहीरीएको थियो ।
आर्थिक रुपमा विपन्न ति बालिकाको बुबा निर्माण मजदुर हुन । आमा अरुको घरमा सरसफाइको काम गर्ने र स्वयम बालिका पनि बालश्रममा संलग्न हुँदै आएको पाइएको छ । आर्थिक विपन्नताकै कारण कक्षा ८ सम्म पढेर स्कुल छोडि काममा लागेको बालिकाले बताइन् । ‘अरुको घरमा काम गरेर बस्नु भन्दा राम्रो तलब पाइने भए, परिवारभन्दा टाढा बस्न परे पनि बस्छु भन्ने लाग्यो’ ति बालिकाले भनिन् । उद्वारपछि बालिकालाई माइती नेपाल मकवानपुरको संरक्षणमा राखिएको माइती नेपाल मकवानपुर प्रमुख माया लामाले बताइन् । मंसिर २३ गतेको सहीखबर साप्ताहिकको पृन्ट संस्करणबाट
मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
गठबन्धनमा रहेको कुल ५९ मत मध्ये सबै (५९) मत प्राप्त भएको हो । मतदानमा १०४ जना प्रदेश सदस्यहरुले उपस्थिती जनाएका थिए । विपक्षमा ४३ मत प्राप्त भएको थियो भने २ जना सदस्यहरु तटस्थ रहेका थिए ।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए । यो प्रदेश सभामा कायम सदस्य सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त भएको सभामुख श्रेष्ठले घोषणा गरेका थिए ।
बागमती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२ र नेकपा (एकीकृत समाजवादी)का १३ र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका हुन् । नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका हुन्। त्यस्तै, दुई जना सांसद तटस्थ बसेका छन्। प्रदेश सभाको बैठकमा १०४ जना सांसद उपस्थित थिए ।
सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुत्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने बारे प्रस्तावमा मुख्यमन्त्री पाण्डेले लामो समयसम्म सरकारको नेतृत्व गर्नेहरुबाट जनताको हितका लागि कुनै पनि काम हुन नसकेको दाबि गर्दै आफूले विश्वासको मत पाएमा आफ्नो नेतृत्वमा बागमती प्रदेशले काँचुली फेर्ने दावि गरेका थिए ।
उनले बजेट विनियोजनमा सांसद बिच पक्षपात नगर्ने, असंभव योजनामा हात हालेर समय र बजेटको बर्बाद नगर्ने, नदि किनारको उत्खनन् गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्रै काम गर्ने, फजुल खर्च रोक्ने, विनियोजित बजेट तोकिएकै समयमा खर्च गर्नको लागि क्यालेण्डर बनाएर काम गर्ने, स्वास्थ्य शिक्षा कृषि पर्यटनको विकास गर्न ध्यान दिने, काम हुन नसके के कारणले हुन सकेन त्यसको विश्लेषण गर्ने पाण्डेले बताए ।
“संविधान अनुसार नै आफू चल्ने छौ, जनताको मन जित्ने गरी काम गर्ने छौं” उनले भने । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले बताए । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।