मकवानपुर/बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले संसदबाट विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
गठबन्धनमा रहेको कुल ५९ मत मध्ये सबै (५९) मत प्राप्त भएको हो । मतदानमा १०४ जना प्रदेश सदस्यहरुले उपस्थिती जनाएका थिए । विपक्षमा ४३ मत प्राप्त भएको थियो भने २ जना सदस्यहरु तटस्थ रहेका थिए ।
सोमबार प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ५९ मत परेको सभामुख सानुकुमार श्रेष्ठले बताए । यो प्रदेश सभामा कायम सदस्य सङ्ख्याको बहुमत भएकाले विश्वासको मत प्राप्त भएको सभामुख श्रेष्ठले घोषणा गरेका थिए ।
बागमती प्रदेश सभामा अहिले १०९ सदस्य छन्। विश्वासको मत प्राप्त गर्न कम्तीमा ५५ सांसदको समर्थन आवश्यक पर्छ ।
मुख्यमन्त्री पाण्डेको विश्वासको मतको पक्षमा नेकपा (माओवादी केन्द्र)का २३, नेपाली कांग्रेसका २२ र नेकपा (एकीकृत समाजवादी)का १३ र जनता समाजवादी पार्टीका एक सांसदले मत दिएका हुन् । नेकपा (एमाले) र विवेकशील साझा पार्टीका सांसदले विपक्षमा मतदान गरेका हुन्। त्यस्तै, दुई जना सांसद तटस्थ बसेका छन्। प्रदेश सभाको बैठकमा १०४ जना सांसद उपस्थित थिए ।
सभामुख सानुकुमार श्रेष्ठको अनुमतिमा पाण्डेले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए । संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पाण्डेले संविधानअनुसार नियुत्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । विश्वासको मत लिने बारे प्रस्तावमा मुख्यमन्त्री पाण्डेले लामो समयसम्म सरकारको नेतृत्व गर्नेहरुबाट जनताको हितका लागि कुनै पनि काम हुन नसकेको दाबि गर्दै आफूले विश्वासको मत पाएमा आफ्नो नेतृत्वमा बागमती प्रदेशले काँचुली फेर्ने दावि गरेका थिए ।
उनले बजेट विनियोजनमा सांसद बिच पक्षपात नगर्ने, असंभव योजनामा हात हालेर समय र बजेटको बर्बाद नगर्ने, नदि किनारको उत्खनन् गर्दा वातावरणीय प्रभाव मुल्याङ्कन गरेर मात्रै काम गर्ने, फजुल खर्च रोक्ने, विनियोजित बजेट तोकिएकै समयमा खर्च गर्नको लागि क्यालेण्डर बनाएर काम गर्ने, स्वास्थ्य शिक्षा कृषि पर्यटनको विकास गर्न ध्यान दिने, काम हुन नसके के कारणले हुन सकेन त्यसको विश्लेषण गर्ने पाण्डेले बताए ।
“संविधान अनुसार नै आफू चल्ने छौ, जनताको मन जित्ने गरी काम गर्ने छौं” उनले भने । भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न आफ्नो नेतृत्वको सरकारले प्रमुख प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेले बताए । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेश संसदीय दलको नेता पाण्डे ४ दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।

