मकवानपुर । हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्नमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ४० वर्षीय सुनिल पाख्रिनलाई बुधबार हेटौंडा–९, सिमेन्ट रोडबाट पक्राउ गरेको जनाएको छ । उक्त घटनामा पाख्रिनसँगै पक्राउ पर्नेको संख्या ५ जना पुगेको छ । यसअघि प्रहरीले घटनामा संलग्न रहेका हेटौंडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई गत बिहीबार नै पक्राउ गरेको थियो ।
जिल्ला अदालतले विहीबार पक्राउ परेका ४ जना बाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भदौ २७ बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
सन्चो हस्पिटलमा डेङ्गु संक्रमण उपचार गराएका हेटौंडा १२ का राजेश प्रधानको थप उपचारको लागि भततपुर रेफर गरिएकोमा साउन २५ मृत्यु भएको थियो । प्रधानको मृत्यु हुनुमा सन्चोको लापरबाही भएको परिवार बताउदै आएको छ । सोही आवेगमा प्रधानका परिवार र अन्यले डाक्टर माथी कुटपिट गरेका थिए ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा संबिधान दिवस मनाइएको छ । संबिधान दिवस मुल समारोह समिति, बागमती प्रदेशको आयोजनामा संविधान दिवस असाेज ३ गते मनाइएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयमा भएकाे संविधान दिवसकाे मुल समारोहमा बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जनताद्वारा निर्वाचित प्रतिनिधीहरूले संविधान निर्माण भएकाे यसमा समावेश गरिएकाे विशेषताको वर्णन गरिरहनु नपर्ने बताए । शर्माले संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबै नेपालीकाेको मूल दायित्व भएकाे बताए । संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विष वमन विरोधाभाषपूर्ण विषय हुन् भन्दै उनले अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो ।’
‘यस्तै सुशासनकाे संविधानले परिकल्पना गरेको छ’ उनले भने ‘सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्न सके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुनेछ ।’ संविधानले समाजवादको सुखद् परिकल्पना गरेको उनले बताए ।
‘संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको छ’ उनले भने ‘लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र काेर्न सक्नु पर्छ ।’ शर्माले भने ‘यही संविधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहद् राष्ट्रिय एकताको सुत्रमा हजारौं फूलहरुको एउटै मालाको रुपमा गुथेर राखेको छ ।’ संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यो संविधानले उपलब्ध गराएका नेपाली जनताका नीधि हुन् र भावी पुस्ताका धरोहर भएकाे उनले बताए ।
यसैगरी मुल समारोहकाे अध्यक्ष रहेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संविधानमा व्यवस्था भए अनुसारकाे प्रदेशले पाउनुपर्ने सबै अधिकारी प्राप्त हुनु पर्ने बताएका छन् । ‘संविधानलाई कार्यान्वयन गरेर मात्र समृद्धी र समाजवाद आउने छ’ उनले भने ‘नेपालको संघियतामा आफ्नै बिशेषता रहेको छ ।’
संविधान दिवस २०८० को अवसरमा बागमती प्रदेश सरकारद्वारा प्रभातफेरी गरिएको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहितको उपस्थितमा हेटौँडाको बुद्ध चोकबाट प्रभातफेरी गरिएकाे हाे । बुद्ध चोकबाट सुरु भएको प्रभातफेरी पिपल बोट, चौकिटोल ओरालो, मानसचोक हुँदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय पुगेर औपचारिक समाराेह गरिएकाे थियाे । प्रभातफेरीमा प्रदेशका मन्त्री तथा सचिव, कर्मचारी विभिन्न सङ्घ संस्था लगायतको उपस्थिति रहेको थियो ।
प्रभातफेरीमा सुरक्षा निकायले व्याण्डबाज प्रस्तुत गरेका थिए भने सामाजिक सङ्घ संस्थाले पञ्चेबाजा संस्कृतिका झाकीहरु प्रस्तुत गरेका थिए ।
बागमती प्रदेश सरकारले भदाै २ गतेदेखि ३ दिन संविधान दिवस मनाउने निर्णय गरेकाे थियाे । साेही अनुसार संविधान दिवस २०८० लाई भब्य रुपमा मनाउन सोमबार देखिनै विभिन्न कार्यक्रमहरु गरेकाे छ । जिल्ला वन कार्यलय मकवानपुरद्वारा असाेज २ गते हेटौडा ६ मा वृक्षारोपण गरेर गाँउ शहर हराभरा बनाउने अभियान सुरु गरेकाे थियाे ।
यस्तै संविधान दिवसका अवसरमा सोमबार बिहानै हेटौडामा खुल्ला ५ किमी दौड प्रतियोगीता सम्पन्न भएको छ । खेलको उदघाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले स्वास्थ्यका लागि खेलकुद महत्वपुर्ण रहेको बताए ।
हेटौंडामा मंगलबार ३८ जनाले रक्तदान गरेका छन् । संविधान दिवसको अवसरमा प्रदेशको स्वास्थ्य मन्त्रालयले रक्तदान कार्यक्रम गरेकामा ३८ जनाले रक्तदान गरेकाे रक्तसंचार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिए। बुधबार हेटौंडा–९ र १ नम्बर वडामा रक्तदान कार्यक्रम हुने भएकाे उनले बताए ।
संविधान दिवस २०८० मा प्रदेश प्रमुखको मन्तव्य
- हामी सबैको मानसपटलमा ताजै छ–नेपाली जनताको लामो संघर्षको पृष्ठभूमिमा अदम्य साहस, अविस्मरणीय बलिदान र अकल्पनीय त्यागको राप र तापमा संविधानसभा निर्वाचनको आधारभूमि तयार भएको हो । त्यही संविधानसभाबाट जनताद्वारा निर्वाचित प्रतिनिधीहरूले विद्यमान संविधान निर्माण गरेका हुन् । यसरी निर्मित संविधान जारी भएको आजको ऐतिहासिक दिन, अर्था्त असोज ३ गतेलाई हामी हर्षोल्लासपूर्ण वातावरणमा संविधान दिवस मनाई रहेका छौं ।
- सर्वप्रथम नेपालीहरूको त्याग र बलिदानको अमरगाथा बोकेको यो गौरवपूर्ण दिनको सुखद् अवसरमा समस्त देशबासी दाजु–भाई, दिदिबहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु । र साथै, अविस्मरणीय योद्घाहरुका स्वर्णिम सपनाको भावभूमिमा उठेका आन्दोलनहरुमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण वीर शहीदहरूप्रति अन्तरहृदयको गहिराइबाट उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
- हाम्रा सामु संविधान नै भएपछि यसमा सन्निहित विशेषताको वर्णन गरिरहनु सान्दर्भिक नहोला । यसर्थ, संविधानका मर्म र भावनाहरुको पालना गर्न प्रतिबद्धता व्यक्त गर्नु नै हामी सबैको मूल दायित्व हो । संविधानप्रतिको ओठेभक्ति र संघीयताप्रतिको विष वमन विरोधाभाषपूर्ण विषय हुन् । अन्तरवेदनाको असह्य पीडामा उत्सर्जित उच्छवास जनताको आँखाबाट बलिन्द्र धारा आँसु बनेर बहन्छ । ति आँसु पुछिदिने, अन्तरनादलाई मत्थर पार्न राहत दिने र आश्वस्त पार्ने शासकीय प्रणाली सुशासन हो । यस्तो सुशासनमा करप्सनको कोरले विभत्स अनुहारलाई करेन्सीको कस्मेटिक सर्जरीद्वारा दिइएको आकर्षणप्रति विकर्षणको तीब्र वेग हुनुपर्छ । हाम्रो संविधानले परिकल्पना गरेको यस्तै सुशासन हो । आजको दिन हामी सबैले संविधानको पालना, रक्षा र कार्यान्वयनमा अटल एवम् अविचल रहने दिनको रूपमा अङ्गीकार गर्नसके लोकतान्त्रिक आन्दोलनप्रति सम्मान र वीर शहीदहरुप्रति श्रद्घाञ्जली हुनेछ । हाम्रो संविधानले समाजवादको सुखद् परिकल्पना गरेको छ र यसबाट समृद्ध नेपाल निर्माण गर्दै सुखी नेपालीको हसिलो मुहार हेर्ने अपेक्षा गरेको छ ।
- यो संविधानले न्याय, समानता र जनजीविकाको हक स्थापित भएको छ र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली निर्देशित शासन व्यवस्थामार्फत दिगो शान्ति, सुशासन र विकासको मार्गचित्र कोरेको छ । यही संविधानले केन्द्रीकृत एकात्मक राज्य व्यवस्थाले सिर्जना गरेका सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरिदिएको छ । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक एवम् भौगोलिक विविधतायुक्तनेपाली समाजलाई बृहद् राष्ट्रिय एकताको सुत्रमा हजारौं फूलहरुको एउटै मालाको रुपमा गुथेर राखेको छ । यस सन्दर्भमा संघीयता, गणतन्त्र तथा धर्मनिरपेक्षता यो संविधानले उपलब्ध गराएका नेपाली जनताका नीधि हुन् र भावी पुस्ताका धरोहर पनि
- यो संविधानको लचकताको प्राङ्गणमा उभिएर यसैमाथि प्रहार हुने जमर्को हुन लागेको आभाष हुन थालेको छ । हाम्रो समाजका बोधविक्रम अधिकारीको दन्त्य कथाका पाठकहरु स्मसानको नलिहाडलाई तान्त्रिक विधिद्धारा प्राण प्रतिष्ठा गर्ने कसरतमा लागेका छन् भन्ने झिनो स्वरमा चर्चा सुनिन थालेका छन् । तर हाम्रो समाज र हामी नेपाली विधिले व्यवस्थित गरेको सिद्धान्त र विचारको जगमा उभिएर सहभागितामूलक विकासका लागि उपलब्ध श्रोत साधनहरुको समुचित उपयोग गर्दैै वान्छित उदेश्य प्राप्तिका लागि अनवरण प्रयत्नरत छौ । न्याय र समानताको आधारमा प्राप्त उपलब्धिको संरक्षण–प्रर्वद्घन गर्दै थप उपलब्धिका लागि कृयाशील रहने र ती उपलव्धीहरुको न्यायोचित वितरण गर्दै समतामुलक समाजको आधारमा शोषणरहित समाजको निर्माण गर्ने, राष्ट्रिय अर्थतन्त्रलाई स्वतन्त्र, आत्मनिर्भर एवम् समुन्नत पार्दै समाजवादतर्फ लक्षित गर्ने उद्देश्य यो संविधानले निर्देशक शिद्धान्तको रुपमा अङ्गीकार गरेको छ ।
- त्यसैगरी सहिष्णुतामा आधारित सामाजिक, सांस्कृतिक मूल्यहरुको विकास गर्ने तथा सांस्कृतिक विविधताको सम्मान गर्दै सामाजिक सद्भाव, ऐक्यबद्धता र सामञ्जस्य कायम गरी राष्ट्रिय एकता सुदृढ गर्ने राज्यको सामाजिक र सांस्कृतिक उद्देश्य रहने विषयलाई समेत संविधानमा समेटिएको छ ।
- सविधानको उद्देश्य अनुरुप यस प्रदेशभित्र रहेका स्रोत र साधनहरुको अधिकतम् उपयोग गरी जनताको जीवनस्तरमा परिवर्तनको अनुभुती हुने काम गर्न प्रदेश सरकार सक्षम हुनेछ भन्ने मैले विश्वास लिएको छु ।
- यस मन्तव्यको अन्त्यमा, संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा निरन्तर अघि बढ्न यो दिवसले हामी सबैलाई प्रेरित गरोस् भन्ने कामना गर्दै पुनः एकपटक संविधान दिवस २०८० को उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
- धन्यवाद ।
मिति २०८० आश्विन ३ गते बुधवार
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएका छन् । बुधबार संविधान दिवसको अवसरमा सरकारले कैद मिनाह गर्दा भीमफेदी कारागारका १४ जना कैदी थुनामुक्त भएको कारागार प्रशासनले जनाएकाे छ ।
भीमफेदी कारागारमा कैदी जीवन बिताइरहेका तथा मंगलबारसम्ममा तोकिएको कैदको ५० र ४० प्रतिशत भुक्तान गरेका, असल आचरण भएका १४ जना कैदी थुनामुक्त भएका हुन् । थुनामुक्त हुनेमा मकवानपुरका ६ जना, ७ जना अन्य जिल्लाका र १ जना भारतका रहेका प्रशासक तिर्थराज पौडेलले जानकारी दिए ।
देशभरका ६ सय ७० जनाको कैद मिनाहा हुँदा भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका मकवानपुरका ६ सहित १४ जनाकाे कैद मिनाहा भएकाे हाे । ठगी मुद्दामा कारागारमा रहेका हेटौंडा–११ का पुर्णभक्त लामा, डाँका मुद्दाका मकवानपुरगढी– ८ का प्रेम बहादुर स्याङ्तान, चोरी मुद्दाका इन्द्रसरोवर गाउँपालिका–३ का अष्ट वाईबा, हेटौंडा–११ का राजकुमार तामाङ, राक्सिराङ गाउँपालिका–८ का कृष्णलाल थिङ र इन्द्रसरोवर गाउँपालिका–३ का बुद्धिमान सिंह भोलन रहेकाे कैदा मिनाहा भएकाे छ ।
यस्तै कर्तव्य ज्यान मुद्दामा सजाय पाइ कारागारमा रहेका तनहुँको भानु नगरपालिका–६ का सुक बहादुर नेपाली, खुन–डाँका मुद्दाका नवलपरासीको रामग्राम नगरपालिका–१६ का बृजनन्दन राजभर, कर्तव्य ज्यान मुद्दाका धनुषाको नगराइन नगरपालिका–८ का ललन पासवान र लमजुङको राइनास नगरपालिका–८ का प्रकाश नेपालीकाे पनि कैदा मिनाह भएकाे पौडेलले जानकारी दिए ।
यस्तै कैदा माफी मिनाह हुनेमा कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ का बसन्त खड्का, नकवजनी चोरी मुद्दामा सजाय काटिरहेका नवलपरासीको देवचुली नगरपालिका–१५ का अर्जुन थापा मगर, चोरी मुद्दामा सजाय काटिरहेका काठमाडौंको चन्द्रगिरी नगरपालिका–७ का संजित बहादुर बाग्दास र चोरी मुद्दामा सजाय काटिरहेका भारतका जाफिर खान रहेकाे पौडेलले बताए ।
मकवानपुर । मकवानपुरकी बक्सिङ खेलाडी राेशनी घलान काजकिस्तानमा हुने बक्सिङ प्रतियोगितामा सहभागी हुने भएकी छिन् । एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगिताको लागि घलान छनौट भएको प्रशिक्षक लाल बहादुर पौडेलले जानकारी दिए ।
घलान ५० केजी तौल समूह अन्तर्गत नेपालको राष्ट्रिय छनौट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गरी प्रथम स्थान गर्दै उक्त प्रतियाेगिताकाे लागि छनौट भएकी हुन । घलान काजकिस्तानको आस्ताना सहरमा अक्टुबर २१ देखि हुने एशियन जुनियर तथा युथ बक्सिङ प्रतियोगितामा भाग लिने छिन् ।
यसैबीच मकवानपुर उद्योग वाणिज्य संघले एक कार्यक्रमकाबीच बक्सिङ खेलाडी घलानलाई १० हजार रुपैया प्रोत्साहन स्वरुप प्रदान गरेकाे छ । संघका अध्यक्ष कृष्ण कुमार गुप्ताले जीतको लागि शुभकामना दिदै प्रोत्साहन रकम हस्तान्तरण गरेका हुन् । यस्तै थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकालले पनि घलानलाई सहयाेग गरेका छन् ।
थाहानगर उवासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत
मकवानपुर उद्योग वाणिज्य संघले थाहानगर उद्योग वाणिज्य संघको नवनिर्वाचित पदाधिकारीलाई हेटौंडामा स्वागत गरेको छ । मउवासंघका अध्यक्ष गुप्ताले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिए । मउवासंघको स्थापना,आर्थिक क्रियाकलाप,संघले विगतदेखि वर्तमानसम्म गरेका कार्यहरुकाे थाहा उवासंघका पदाधिकारीलाई गुप्ताले जानकारी गराएका छन् ।
त्यसैगरी थाहानगर उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुरुषोत्तम ढकालले मउवासंघका पूर्व अध्यक्ष केशव श्रेष्ठको कार्यकालबाट मउवासंघको उत्तरी क्षेत्र समिति गठन प्रक्रिया प्रारम्भ भएको र सोही उत्तरी क्षेत्र समिति हाल थाहानगर उद्योग वाणिज्य संघको रुपमा स्थापित भएको बताए । थाहानगर उद्योग वाणिज्य संघको वर्तमान भवन मकवानपुर उद्योग वाणिज्य संघकै सहयोगमा निर्माण भएकोमा थाहानगर उद्योग वाणिज्य संघको मातृसंस्थाको रुपमा मकवानपुर उद्योग वाणिज्य संघलाई अफूले लिएको उनले जानकारी दिए ।
‘थाहा नगर कृषि क्षेत्रमा परिचित र पर्यटकीय गन्तव्यकाे रुपमा सम्भावना बाेकेकाे क्षेत्र रहेको छ’ ढकालले भने ऋषेश्वर,गोरखनाथलगायतका धेरै धार्मिक स्थल थाहा नगरमा रहेकाेले धार्मिक पर्यटनको समेत प्रसस्त सम्भावना देखिन्छ ।’
मकवानपुर । मकवानपुरमा जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । बसामाडी जेसीजको आयोजनामा जिल्लास्तरीय खुला रनिङशिल्ड भलिबल प्रतियोगिता असोज २४ गतेबाट हुने भएको हो ।
जेसीजले मगलबार हेटौंडामा पत्रकार भेटघाट गर्दै २१ औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता असोज २४ देखि २७ गतेसम्म संचालन गरिने जानकारी गराएको हो ।
जेसीआई बसामाडीका अध्यक्ष जनक भण्डारीले २० वर्षबाट निरन्तर रुपमा भइरहेको स्वर्गीय लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्ला स्तरीय भलिवल प्रतियोगिता निरन्तरताको लागि असोज २४ गतेबाट हुने जानकारी दिए ।
प्रतियोगितामा जिल्लाका १२ देखि १५ वटा टिमको सहभागिता रहने भण्डारीले बताए । प्रतियोगिताको प्रथम हुने टिमले नगद ६० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दा उपविजेता टिमले नगद ३० हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए ।
जेसीआई बसामाडीको २० औं संस्करणको लक्ष्मीमाया बज्राचार्य स्मृति जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि आग्रा स्पोर्ट्स क्लबले हात पारेको थियो ।
यस्तै प्रतियोगिताभर विधागत उत्कृष्ट खेलाडीलाई समेत नगदसहित ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भलिबल प्रतियोगिताको लागि करिब साढे ४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितालाई हेटौंडाको स्वर्ण भण्डारका सञ्चालक ज्योतिरत्न बज्राचार्यले प्रायोजन गर्दै आएका छन् ।