मकवानपुर । हेटौंडा–१ स्थित सञ्चो अस्पतालका डाक्टर कुटपिट घटनामा संलग्नमध्ये थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले हेटौंडा–१२, सिग्रेनीका ४० वर्षीय सुनिल पाख्रिनलाई बुधबार हेटौंडा–९, सिमेन्ट रोडबाट पक्राउ गरेको जनाएको छ । उक्त घटनामा पाख्रिनसँगै पक्राउ पर्नेको संख्या ५ जना पुगेको छ । यसअघि प्रहरीले घटनामा संलग्न रहेका हेटौंडा–१२ की रमा प्रधान, रमिला प्रधान, रोहन प्रधान र अनुप प्रधानलाई गत बिहीबार नै पक्राउ गरेको थियो ।
जिल्ला अदालतले विहीबार पक्राउ परेका ४ जना बाहेक घटनामा संलग्न थप ५ जनाको नाममा आइतबार पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकाहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
भदौ २७ बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलमा बिरामीको उपचार गरिरहेका चिकित्सक जनरल फिजिसियन डा. विकास थापा र एनेस्थेसिया डा. प्रशान्त विडारीमाथि कुटपिट भएको थियो ।
सन्चो हस्पिटलमा डेङ्गु संक्रमण उपचार गराएका हेटौंडा १२ का राजेश प्रधानको थप उपचारको लागि भततपुर रेफर गरिएकोमा साउन २५ मृत्यु भएको थियो । प्रधानको मृत्यु हुनुमा सन्चोको लापरबाही भएको परिवार बताउदै आएको छ । सोही आवेगमा प्रधानका परिवार र अन्यले डाक्टर माथी कुटपिट गरेका थिए ।

