मकवानपुर । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले भवन प्राप्त गरेकाे छ । मन्त्रालय स्थापनाको सय दिन पूरा भएको अवसरमा मन्त्रालयले बुधबार सरकारी भवनबाट सेवा सुरु गरेकाे हाे । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा रहेको तत्कालीन जिल्ला विकास समितिको भवनमा उक्त मन्त्रालय सरेको हो।
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले राज्यलाई आर्थिक भार बढ्ने भन्दै भाडाकाे घरमा मन्त्रालय संचालन गरेनन् । विभागीय जिम्मेवारी पाएको दिनमा नै मन्त्री चित्रकारले भाडाको घरमा मन्त्रालय सञ्चालन नगर्ने घोषणा नै गरेका थिए।
तत्कालिन जिविसकाे जीर्ण अवस्थामा रहेको भवनलाई मर्मतसम्भार गरेर मन्त्रालय सारिएको हाे । मन्त्रालयको भवनमा प्रवेश गर्दै मन्त्री चित्रकारले भने, ‘भाडा लिएकाे घर नयाँ थियाे तर मासिक एक लाखभन्दा बढी भाडा राज्यकाे काेषबाट खर्च हुने हुँदा आर्थिक भार कम गर्न पुरानै भाडा नपर्ने सरकारी भवनमा मन्त्रालय सारिएको हो।’
प्रदेश संरचान निर्माणकाे जग्गा प्राप्ती अन्तिम चरणमा
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलसहितकाे उपस्थितिमा बुधबार उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयकाे भवन प्रवेश कार्यक्रम भएकाे हाे । भवन प्रवेश कार्यक्रममा मुख्यमन्त्री जमरकट्टेलले मन्त्रालयले पुरानै भएपनि सरकारी कार्यालयमा भवन प्राप्त गरेर सरेकोमा खुसी व्यक्त गरे । हेटौंडा–१७ मा प्रदेश सरकारका कार्यालयहरु निर्माण गर्नका निम्ति जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको समेत उनले बताए ।
‘सार्वजनिक क्षेत्रमा खर्च कटौती गर्ने र उत्पादनको क्षेत्रमा बजेट लगानी गर्ने कुरामा प्रयत्नरत छाै’ उनले भने । त्यस्तै प्रदेश नीति तथा योजना आयोग र मुख्य न्यायधिवक्ताको कार्यालय केहिदिन भित्रै अर्काे सरकारी कार्यालयमा सर्न लागेको समेत उनले जानकारी दिए । कृषि क्षेत्रमा जोड दिने र यहि महिना भित्र लगभग ८० वटा पालिकालाई पकेट क्षेत्र घोषणा गर्न लागेको उनले जनाए । हेटौंडामा रहेको मकवानपुर बहुमूखी क्यामपसलाई प्रदेशको सार्वजनिक विद्यालय बनाउने निर्णय भएको उनले बताए ।
मन्त्री रामकृष्ण चित्रकारले गरे १०० दिनको प्रगति विवरण
बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले आफूले कार्यभार सम्हालेको एक सय दिनको अवधिमा भएका प्रगति विवरण सार्वजनिक गरेका छन् । गत श्रावण २१ गते मन्त्री नियुक्ति भई कार्यभारसम्हालेका चित्रकारले सय दिनको अवधिमा राम्रो कामको थालनी गरेकाे दाबी गरे ।
आफ्नाे सय दिनकाे अवधीमा मेला, महोत्सव, प्रदर्शनी सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८० मन्त्रीपरिषदबाट स्वीकृत, प्रदेश औद्योगिक व्यवसाय ऐन तथा प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐनको संशोधन गर्न आवश्यक प्रक्रिया सूरु भएको, संविधान दिवसको अवसरमा हेटौंडामा प्रदेश हस्तकला प्रर्दशनी भएको उनले बताए ।
यसैगरी ‘प्रदेश स्तरीय संयुक्त बजार अनुगमन निर्देशिका, २०७५’ लाई विस्थापन गरी ‘प्रदेश स्तरीय संयुक्त बजार व्यवस्थापन अनुगमन निर्देशिका, २०८०’ मन्त्रीपरिषदबाट स्वीकृतिको अन्तिम चरणमा रहेको जानकारी दिए । विद्यमान नीतिगत एवम् कानूनी व्यवस्थाहरुका सम्बन्धमा सरोकारवालाहरुको राय ,परामर्श सुझाव ग्रहण गर्ने कार्यलाइ प्राथमिकता दिइएको, तल्लाे तह देखि उद्योगी व्यवसायीहरुका पीरमर्का तथा गुनासो सुनुवाई, उपभोक्ता हकहित संरक्षण सम्बन्धी कानूनको मस्यौदा तयार गर्ने प्रक्रिया अघि बढाइएको, बर्हिगमन सेवा सहज बनाउन मन्त्रालयबाट निर्मित उद्योग व्यवसाय तथा व्यापार व्यवसाय सम्बन्धी अनलाइन सफ्टवेयरहरुलाई समय सापेक्ष अपग्रेड गरी सेवाग्राहीलाई घरबाटै सेवा दिने सम्बन्धी छलफल भैरहेको उनले बताए ।
त्यस्तै बजार अनुगमनको कार्यलाई नियमित र प्रभावकारी बनाइएको मन्त्री चित्रकारले बताए । उनका अनुसार चाडपर्वको समयमा आकस्मिक तथा अन्य समयमा नियमित रुपमा गरी १ हजार ५ सय १३ वटा व्यवसायिक फर्महरुको अनुगमन गरिएकाे छ । व्यावसायिक फर्मकाे अनजुगमनबाट करिब ६ लाख रुपैँया जरिवाना गराई ४ लाख रुपैँया बराबरका म्याद नाघेका सामग्रीहरु बरामद गरी नष्ट गर्ने कार्य भएको उनले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ ।
यसैगरी चालु आ.व २०८०/८१ मा १३ वटा जिल्लाका घरेलु तथा साना उद्योग कार्यालयहरुबाट करिब २ हजार ३ सय ४० औद्योगिक तथा व्यवसायिक फर्महरु दर्ता भएको, उद्योग स्थापनाका लागि कोरिया, चीन, तथा जापानका व्यवसायीहरुसँग भेटघाट र लगानीतर्फ प्रेरित, हेटौंडाका उद्योगहरुको स्थलगत भ्रमण लगायतका कामहरु भएको उनले जनाए ।
मकवानपुर । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा र प्राध्यापक कल्याणकारी समितिबीच सहमति भएकाे छ । सहमतीसँगै पठनपाठन सुरु भएको छ । प्रतिष्ठान र समितिबीच २ बुँदे सहमति भएसँगै सोमबारबाट पठनपाठन सुरु भएको समिति अध्यक्ष विश्वास सापकोटाले बताए ।
प्राध्यापकहरुले गत कार्तिक २२ गतेदेखि तलबभत्ता समयमै नपाएकोलगायतका विभिन्न ७ बुँदे माग राख्दै पेनडाउन गर्दै आएका थिए । १९ दिनदेखि बन्द रहेकाे प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुचारु गर्न ५ सदस्यीय समिति गठन गरिएकाे छ । पदाधिकारीको तर्फबाट रजिष्ट्रार राजेश प्रसाई, डीन प्रा. दुर्गाकुमारी खड्का मिश्र र प्राध्यापक कल्याणकारी समितिको डाक्टरहरु रोशनकुमार चौधरी, अजय यादव र वीपिन्द्र पाण्डे रहने गरी मागका सन्दर्भमा सुझाव पेश गर्न समिति गठन गरिएको हाे । उक्त समितिले उपकूलपति समक्ष १० दिनभित्र सुझाव पेश गर्नेछ ।
प्रतिष्ठानका तर्फबाट शिक्षाध्यक्ष डा. सुरेन्द्र शेरचन र प्राध्यापक समितिका तर्फबाट अध्यक्ष सापकोटाले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । आइतबार प्रतिष्ठानका कूलपति तथा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र प्राध्यापक कल्याणकारी समितिबीच छलफल पश्चात सहमति भएको थियाे । सहमतिअनुसार प्रतिष्ठानका कूलपति जम्कट्टेलले पुस ११ गतेसम्ममा भुक्तानी हुनुपर्ने रकम प्रतिष्ठानलाई उपलब्ध गराउने मौखिक सहमति भएको अध्यक्ष सापकोटाले बताए । उक्त सहमतिअनुसार आफूहरुको माग पूरा नभए आन्दोलनलाई निरन्तरता दिइने उनले जानकारी दिए ।
प्रतिष्ठानमा कार्यरत प्राज्ञिक जनशक्तिहरुको स्थायित्व तथा वृत्तिविकासका लागि हाल रहेको ऐन तथा नियमावलीमा केही संशोधन गर्नका लागि आवश्यक पहल गर्ने सहमति समेत भएको छ ।
राजनीतिक खिचातानीकाे कारण प्रदेश सरकार मातहत रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ४ वर्षमै चलखेलको सिकारमा परेकाे छ । त्यसकाे असर हस्पतालकाे सेवा प्रवाह र पठनपाठनमा पर्दै आएकाे छ ।
पूर्व मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले २०७६ मा प्रदेशसभाबाट प्रतिष्ठान ऐन जारी गरेर संरचना खडा गरेका थिए । स्थापनाको १ वर्षपछि प्रतिष्ठानमा पदाधिकारी नियुक्त गरी काम सुरु गरिए पनि सत्ता समीकरण परिवर्तनसँगै द्वन्द्व पनि बढेको हो ।
सुरुवाती चरणमा हेटौँडा अस्पताललाई प्रतिष्ठान मातहत ल्याएसँगै सुरु भएको विवाद अझै साम्य हुन सकेको छैन । सरकार परिवर्तनसँगै ऐन संशोधन गर्दै प्रतिष्ठान र अस्पताललाई एक अर्काबाट अलग गर्ने र सँगै राख्ने काम पटक पटक हुँदै आएकाे छ । राजनीतिक अन्योलका बिचमै प्रतिष्ठानले शैक्षिक कार्यक्रम अघि बढाए पनि संरचनागत स्थायित्वका लागि अझै कुनै काम हुन सकेको छैन ।
प्रतिष्ठानले हाल चिकित्सा शिक्षा आयोगबाट अनुमति प्राप्त गरी ४ वटा विषयमा अध्यापन गरिरहेको छ । प्रतिष्ठानले स्नातक तहको नर्सिङ, फार्मेसी, पब्लिक हेल्थ र ल्यावरोटरी विषयमा आयोगले तोकेको कोटामा विद्यार्थी सहभागी गराएर अध्यापन गरिरहेको छ । प्रतिष्ठानमा अहिले २४ जना प्राध्यापकहरु कार्यरत छन् भने २ सय जना विद्यार्थीहरु अध्ययनरत छन् ।
मकवानपुर । पालुङ जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम सहित मनाउने भएको छ । थाहा नगरपालिकामा क्रियाशिल जेसीजले मंसिर १५ देखि ३ दिन ७ वटा कार्यक्रम गरी सप्ताहव्यापी कार्यक्रम बनाउन लागेकेा हाे । मंसिर १७ गतेसम्म बिभिन्न सातवटा कार्यक्रम गरी जेसीज सप्ताह मानउन लागिएको पालुङ जेसीज बर्ष २०२३ का कार्यकारिणी उपाध्यक्ष एवम् सप्ताह मूल कार्यक्रम संयोजक अञ्जय प्रधानले बताए ।
विहीबार पालुङ जेसीजको सातौं बोर्ड बैठकले बिभिन्न ७ वटा कार्यक्रमको कार्यक्रम मिति, स्थान सहित कार्यक्रम संयोजकहरु चयन गरेकाे हाे । जेसीज कोषाध्यक्ष माधव कार्कीका अनुसार मंसिर १५ गते जेसीज सप्ताह सुभारम्भ हुने दिन ३ वटा कार्यक्रम हुनेछन् । शुक्रबार बिहान पालुङ्ग जेसीज हलमा जेसीज सप्ताह कार्यक्रमको उद्घाटन कार्यक्रम अजित कार्कीको संयोजकत्वमा हुनेछ । यसैगरी सेतीगणेश निमाबि थाहा ३ मा हरचिन्द्र कार्कीको संयोजकत्वमा भरत–रत्न छात्रवृत्ति बितरण कार्यक्रम हुनेछ । यस्तै रचना बस्नेतको संयोजकत्वमा थाहा ४ किटेनीमा रहेको किराँतेश्वर जेष्ठ नागरिक मिलन केन्द्रमा निशुल्क आँखा शिविर हुनेछ ।
मंसिर १६ गते शनिबार विहान सुबिन्द्रमान प्रधानको संयोजकत्वमा जेसीज मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता कभर्डहल थाहा ४ मा हुनेछ भने छ भने दिउँसो जेसीज सभाहल परिसरमा नारायण तामाङको संयोजकत्वमा जेसीज बगैचा निर्माण कार्यक्रम हुने कार्यक्रम संयाेजक प्रधानले जानकारी दिए ।
सप्ताह कार्यक्रमको अन्तिम दिन मंसिर १७ गते बिहान जनकल्याण मावि थाहा ३ मा ‘जीवन परिवर्तन’ बिषयक सेमिनार बिराज थापाको संयोजकत्वमा हुनेछ । यस्तै दिउँसो ‘डाडाघरे बा’ को होमस्टे थाहा २ मा समापन तथा पुरस्कार वितरण कार्यक्रम मान सिं दोङको हुने प्रधानले बताए ।
सामाजिक उत्तरदायित्व सहितको कार्यमा युवाहरुको क्षमता बिकासका लागि पालुङ जेसीजले विविध रचनात्मक कार्यक्रमहरु सञ्चालन गर्दे आएको पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष एवम् नेपाल जेसीज बर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्षका उम्मेद्वार संगम कार्कीले जानकारी दिए ।
मकवानपुर । बागमती प्रदेशकाे राजधानी हेटौंडामा अन्तर्राष्ट्रिय अपाङ्ग दिवस साताव्यापी कार्यक्रम सुरु भएको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल बागमती प्रदेशले सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकासँगको सहकार्यमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसमा विभिन्न कार्यक्रमको आयोजना गर्ने भएकाे छ ।
सोमबार हेटौडामा पत्रकारसँग भेटघाट गरी महासंघले साताव्यापी कार्यक्रम सुरु भएको जनाएको छ । ‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपांगता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने नाराको साथ दिवस मनाउन लागिएकाे हाे । दिवसको साताव्यापी कार्यक्रम मंसिर १७ गतेसम्म चल्ने महासंघ बागमती प्रदेश अध्यक्ष अश्विन लम्सालले बताए ।
सप्ताहव्यापी कार्यक्रममा अभिमुखीकरण, विचार गोष्ठीदेखि रक्तदानलगायतका ९ वटा कार्यक्रम हुने लम्सालले जानकारी दिए साेमबार पहिलो दिन पत्रकारसँग भेटघाट गरी सुरु भएको कार्यक्रम मंगलबार दोस्रो दिन हेटौंडाको बसपार्क र बुद्धचोकमा ब्यानर मार्फत प्रचार प्रसार गरिने छ । त्यस्तै अपाङ्गता अधिकारको सवालमा विद्यमान कानून कार्यान्वयनको अवस्था विषयमा रेडियो / टेलिभिजन सम्वाद, अपाङ्गता भएका व्यक्तिहरुको राजनैतिक अधिकारको सवालमा राजनैतिक दलहरूसँग विचार गोष्ठी, रक्तदान कार्यक्रम र ब्लड प्रेसर जाँच हुनेछ ।
त्यस्तै अपांगता भएका विद्यार्थीहरु बीच सिर्जनात्मक कार्यक्रम , युएनसीआरपीडी र एसडीजीको अन्तर सम्बन्ध विषयमा अभिमुखीकरण, दीप प्रज्वलन र डिसेम्बर ३ अर्थात अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन र्याली सहित कोणसभा र पुरस्कार वितरण कार्यक्रम हुने छ भने अन्तिम दिन बागमती प्रदेश प्रमुख, मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीसमेतकाे उपस्थितिमा समापन गरिने कार्यक्रम तय गरिएको अध्यक्ष लम्सालले बताए ।
संयुक्त राष्ट्र संघले ३ डिसेम्बरलाई विश्व अपाङ्गता दिवस घाेषणा गरे अनुसार हरेक वर्ष विश्वभर अपाङ्गता दिवस मनाउँदै आएकाे छ । राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन अनुसार बागमती प्रदेशमा अपाङ्गता भएकाहरुकाे संख्या १ लाख २४ हजार १ सय जना रहेको छ ।
चितवन । लामो समयदेखि अलपत्र रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई नेपाल सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर अघि बढाउने निर्णय गरे संगै निर्माणले गति लिने बताइएकाे बेला रंगशालाकाे सरसफाइ गरिएकाे छ ।
बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले सहकार्य गरी रंगशाला बनाउने निर्णय समेत गरेका छन् । सरकारका तीन वटै निकायले रंगशाला निर्माणमा चासो देखाएपछि अलपत्र परेको रंगशालामा सरसफाइ अभियान सुरु गरिएको हो ।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भरतपुर महानगरपालिकाले सरसफाइ अभियान सुरु गरेको हो । चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको जग्गामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला लामो समयदेखि अलपत्र हुँदा काँसघारीमा परिणत भएकाे छ ।
सरसफाइमा स्थानीय, विद्यार्थी, सामाजिक अभियन्ता, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो । सरसफाइ अभियनमा भरतपुर महानगरपालिकाकी नगर प्रमुख रेनु दाहालले रंगशालालाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेकाले अब रंगशाला बन्नेमा ढुक्क हुन सबैलाई आग्रह गरिन् ।
भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले सरकारले राष्ट्रिय गौरवमा राखेपछि अब स्थानीय सरकार र स्थानीयहरुले पनि यसलाई आफ्नो सम्झेर सहयोग गर्नुपर्ने बताए । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले निर्माण सँगसँगै सञ्चालनमा ल्याउने गरी काम गरिनु पर्ने बताए । उनले निर्माण पनि भइरहने विभिन्न खेलकुद प्रतियोगिता पनि भइरहने गरी काम अघि बढाउनुपर्ने बताए ।
३ अर्ब लागत अनुमानसहित जनस्तरबाटै सहयोग उठाएर निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकाे धुर्मुस सुन्तली फाउण्डेशनले २०७५ सालमा क्रिकेट रंगशाला निर्माणको थालनी गरेको थियो । ५० करोडभन्दा बढी रकम खर्च भइसकेको, १८ करोड ऋण रहेको र थप सहयोग जुट्न नसकेको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिकालाई रंगशालाको जिम्मेवारी सुम्पेर २०७८ पुसमा कामबाट हात झिक्यो । त्यसयता रंगशाला निर्माणको काम अघि बढ्न सकेको छैन ।