मकवानपुर । हेटौंडामा सुरु भएको खेलकुद महोत्सव अन्तर्गत पहिलो दिन भएको दौड प्रतियोगितामा पुरुषतर्फ सोहन राई र महिलातर्फ रेश्मा थापा विजयी भएका छन् ।
अन्य ३४ खेलाडीलाई पछि पार्दै पुरुषतर्फ राई प्रथम भएका हुन् । दौडमा सन्तोष गौतम द्वितीय र नवराज कार्की तृतीय भएका हुन् । यस्तै महिलातर्फ २६ खेलाडीलाई पछि पार्दै रेश्मा थापा प्रथम भएकी हुन् ।
सजिना स्याङ्तान द्वितीय र सरिता हुमागाईं तृतीय भइन् । महिला र पुरुष दुवैतर्फको प्रथम, द्वितीय र तृतीय भएका खेलाडीले क्रमशः नगद ७ हजार, ५ हजार र ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
शुक्रबार जिल्लास्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेछ । ७ गते जिल्लास्तरीय तेक्वान्दो, ८ गतेबाट अन्तर जिल्ला महिला फुटबल, ९ गते राष्ट्रिय तेक्वान्दो, १० गते क्युकोसिन र आइटिएफ, ११ र १२ गते राष्ट्रिय उसु, १२, १३ र १४ गते पिप्ले क्याम्पा रंगशालामा हक्की, १३, १४, १५ र १६ गते महिला राष्ट्रिय भलिबल प्रतियोगिता, १३ गते महिला र पुरुषको रेस्लिङ तथा १७ गते कबड्डी प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता खेलाडीहरुले नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मकवानपुर । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि हेटौडाकाे भुटनदेवी माविसहित ७ मतदानस्था ताेकेकाे छ । आयाेगले विहीबार आगामी माघ ११ गते हुने निर्वाचनकाे लागि प्रत्येक प्रदेशमा एक–एक वटा मतदान स्थल र सोही मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र ताेकेकाे हाे ।
प्रदेशकाे राजधानी रहेकाे जिल्ला सदरमुकाममा रहने गरी बागमती प्रदेशकाे लागि मकवानपुरकाे हेटौडास्थित श्री भुटनदेवी मा.वि. प्राविधिक शिक्षालय, ब्लक ‘एफ’ कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेस प्रदेशका लागि महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढी, कैलालीलाई मतदान स्थल तोकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मकवानपुर । मकवानपुरकाे हेटौंडा ८ मा हुने कमाने महाेत्सवकाे तयारी पुरा भएकाे छ। हेटौडा उपमहानगरपालिका वडा नम्बर ८ को आयोजनामा पौष ६ र ७ गते कमाने महोत्सव हुदैछ ।
स्थानीय उत्पादनलाई प्रवर्द्धन तथा बजारीकरण गर्ने उद्देश्य तथा वडाभित्रको स्थानीय व्यापार, व्यवसाय, साँस्कृतिक पहिचान, टोल विकास संस्थाको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएकाे महाेत्सव संयोजक विष्णुप्रसाद अर्यालले जानकारी दिए ।
७३ वटा व्यापारिक स्टलहरु रहने प्रदर्शनी हेटौडा ८ कमानेको मुख्य सडकको निमचोकदेखि सागरचोकसम्मको सडक किनारा गरिने अर्यालले बताए । प्रदर्शनीमा स्थानीय उत्पादनको खानाको परिकार, साँस्कृतिक कार्यक्रमहरु समेत हुने महोत्सव आयोजक समितिले जनाएकाे छ ।
“कमानेको किनौं, कमानेलाई चिनौं” मूल नाराका आयोजना हुन लागेको महोत्सवमा ७ लाख रुपैंया खर्च हुने अनुमान गरिएको वडा अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए । महोत्सव अवधिभर सो सडक खण्डमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको व्यवस्था गरिएको महोत्सव आयोजक समितिले जनाएको छ ।



हेटौंडामा बृहत खेलकुद तथा व्यापार महोत्सव सुरु(संस्कृति प्रदर्शन भिडियो सहित)
Tags: No Comments
मकवानपुर । मकवानपुरकाे हेटौडामा विहीबारबाट बृहत खेलकुद तथा व्यापार महोत्सव विहीबारबाट सुरु भएको छ । मकवानपुर जिल्ला खेलकुद विकास समिति र औद्योगिक शान्ति नेपाल काठमाडौंको संयुक्त आयोजनामा सुरु भएको खेलकुद तथा व्यापार महोत्सवकाे बागमती प्रदेशका वन तथा वातावरण मन्त्री मसिना खड्काले महोत्सवको उद्घाटन गरेकी हुन् ।
हेटौंडा–१० स्थित टीसीएन खेल मैदानमा सुरु महाेत्सवकाे उद्घाटन गर्दै वन मन्त्री खड्काले खेलकुद स्वास्थ्य र राज्यको लागि अपरिहार्य रहेको बताइन् । “खेलकुदले व्यक्ति स्वस्थ्य हुनु भनेको राज्यले निरोगी र तन्दुरुस्त जनशक्ति पाउनु हो, यस्ता खेल महोत्सवले खेलाडीलाई प्रोत्साहन पनि गर्छ” उनले भनिन् । खेलकुद तथा व्यापार मेलालेआर्थिक रुपमा समेत सहयोग पुर्याउने उनले बताइन् । मेलाको क्रममा हुने विभिन्न खेलको प्रतियोगिताले खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसर पनि हुने उनले बताइन् ।
समिति अध्यक्ष वेष खड्कीको सभाध्यक्षता तथा मन्त्री खड्काको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न धर्म संस्कृतिका झाँकी तथा महिलाहरुद्धारा पञ्चेबाजा प्रदर्शनी समेत गरिएको थियो । मेला अवधिभर किनमेल, सांगीतिक प्रस्तुती, नृत्यसहित दैनिकरुपमा खेलकुद प्रतियोगिता समेत आयोजना हुनेछ ।
समिति अध्यक्षा खड्कीले महोत्सवभर राष्ट्रिय, प्रदेश तथा स्थानीय गरी १३ वटा विभिन्न विधामा खेलकुद प्रतियोगिता हुने बताए । उनका अनुसार मेला स्थलमै राष्ट्रिय महिला भलिबल प्रतियोगिता सञ्चालन हुनेछन् । महिलाको राष्ट्रिय उसु प्रतियोगिता, महिलाकै राष्ट्रिय भलिबल, कबड्डीीतर्फ महिला पुरुष दुवै विधाको प्रदेशस्तरीय प्रतियोगिता, कराँतेको जिल्लास्तरीय प्रतियोगिता, फुलकन्ट्याक्ट कराँतेको जिल्ला स्तरीय, आर्चारीको खेल प्रदर्शन, रेस्लिङको आमन्त्रित र कुस्तीको अन्तर्राष्ट्रिय प्रदर्शन गर्ने आयोजकको तयारी छ । ब्याड्मिन्टनको खुला प्रतियोगिता, आइटीएफ तेक्वान्दो र हक्कीको प्रदेशस्तरीय प्रतियोगिता र महिलाको लागि ७ ए साइड फुटबल प्रतियोगिता हुनेछ । सबै प्रतियोगिताको विजेता उपविजेताले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
खेलकुद महोत्सवबाट कम्तिमा २५ लाख रुपैयाँ खेलकुद विकास समितिले बचत गर्ने लक्ष्य राखेको छ । महोत्सवबाट प्राप्त हुने रकम खेलकुद समितिमै राखेर खेल र खेलाडीको बृत्तिविकासमा लगाउने योजना रहेको छ । महोत्सवमा खेलकुदको स्पर्धासँगै कृषि, पर्यटन, हस्तकला, खेलकुद सामग्री, धार्मिक, सामुदायिक, स्वास्थ्य, जनचेतनामुलक, खानाखाजाका स्टल समेत रहनेछ । यस्तै बाल उद्दान, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, खुला नृत्य प्रतियोगिता र लाइभ दोहोरी समेत आयोजना हुने आयोजकले जानकारी दिएको छ । २ सय ६० वटा स्टल रहेकाे महोत्सवमा कृषि, पर्यटन, हस्तकला,अटोमोबाइल साथै बाल उद्यान समेत राखिएको छ । महोत्सवमा दैनिक नेपालका चर्चित राष्ट्रिय कलाकारको सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
कार्यक्रममा प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ, हेटौंडा उपमहानगरका प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, पुर्व नगर प्रमुख हरि बहादुर महत, हेटौंडाका वडा अध्यक्षहरु, शिक्षाविद् पुरन बहादुर जोशी, सुरक्षा निकायका प्रमुखहरु, विभिन्न खेलकुदसम्बन्ध संघसंस्थाका अध्यक्षहरु, खेलका प्रशिक्षकहरु, औद्योगिक शान्ति नेपाल संस्थाका प्रमुख सन्दिप महत लगायत विभिन्न युवा क्लब तथा टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।
संस्कृति प्रदर्शनको भिडियो यहाँ हेर्न सक्नुहुन्छ
मकवानपुर । मकवानपुरकाे हेटौडामा सडक खाना महाेत्सव हुने भएकाे छ । होटल एसोसिएसन मकवानपुरको आयोजनामा तीन दिन सडक खाना महोत्सव हुने भएको हाे ।
आगामी पुस १३ गतेदेखि १५ गते हेटौंडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गरिने एसोसिएसनले विहीबार पत्रकार भेटघाट गरी जानकारी गराएकाे दिएकाे हाे । २०६५ सालदेखि गरिँदै आएको महोत्सव २०७६ सालयता हुन नसकेकाेमा याे वर्ष आयाेजना गर्न लागिएकाे एसोसिएसनका कार्यवाहक अध्यक्ष विष्णुगोपाल महर्जनले जानकारी दिए ।
इस्वी सम्वतकाे नयाँ वर्षको अवसरमा एसोसिएसनले आयोजना गर्ने सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवर्द्धन समेत हुने अपेक्षा गरिएकाे महर्जनले बताए । महोत्सवमा सहभागी व्यवसायीले आफ्नो सेवाकाे समेत प्रवर्द्धन गर्ने अवसर पाउने छन् ।
सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं भन्ने नारासहित आयोजना गर्न लागिएकाे महोत्सवमा ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयाेजकले गरेकाे छ । महोत्सव आयोजनामा ४० वटा स्टलहरु रहने बताइएकाे छ । महाेत्सवमा हेटौँडा उपमहानगरपालिकाले पनि सहयोग गर्ने महर्जनले बताए । ३० हजार भन्दा बढीकाे महोत्सव सहभागिता रहने अनुमान आयोजकले गरेकाे छ ।