मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै शनिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ ।
ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर दुई युवकको मृत्यु भएको घटनाको विरोध गर्दै प्रदर्शन गरिएको रास्वापा मकवानपुरले जनाएको छ । रास्वपाले जिल्ला पार्टी कार्यालय हेटौडा भुटनदेवी मन्दिरराेडबाट ब्यानरसहित विरोध र्याली गर्दै हेटौंडाको मुख्य बजार क्षेत्र बुद्ध चोकसम्म प्रदर्शन गरेको थियो ।
प्रदर्शन पछि विरोध सभाको आयोजना गरेको थियो पार्टीकाे कार्यक्रममा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकार समेतकाे सहभागिता रहेको थियो । प्रदर्शनमा पार्टीका नेता तथा कार्यकर्ताहरुले ‘हत्यारा सरकार जवाफ दे, गठबन्धन सरकार चाहिदैन, जनता मार्न पाइदैँन, निरकुंश गृहमन्त्री जवाफ दे,’ लगाएतका नारा लगाएका थिए । विरोध प्रदर्शनमा प्रतिनिधि सभा सदस्य विन्दवासिनी कंशाकारको पनि सहभागिता रहेको थियो ।
मकवानपुर । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा पुस्कल नेपाल चयन भएका छन् । संघको शनिबार हेटौँडामा भएको प्रथम वार्षीक साधारण सभा तथा अधिवेशनले नेपालको अध्यक्षतामा ९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो ।
साधारणसभाबाट समितिको प्रथम उपाध्यक्ष केशव मुड्वारी, द्वितीय उपाध्यक्ष भोजराज पराजुली, सचिव अमीर चौलागाईं, कोषाध्यक्षमा अमृत मगर, सचिब अर्चना कार्की, सदस्यमा रोशन खनाल, मिलन अधिकारी र केशव हुमागाई चयन भएका छन् ।
निवर्तमान अध्यक्ष विज्ञान रिमालको अध्यक्षता तथा संघका पूर्वअध्यक्ष एवम् केन्द्रीय समिति सहकोषाध्यक्ष किरणबाबु न्यौपानेको प्रमुख आतिथ्यमा साधारणसभा भएकाे हाे । सभामा पूर्वअध्यक्षद्वय नवीन पौडेल र अजित थापाको आतिथ्यता रहेको थियो ।
साहित्य सङ्गम मकवानपुरको ३३८औं सन्ध्या, अक्षयकोष सहयोगी सम्मानित
Tags: No Comments
मकवानपुर । साहित्य सङ्गम मकवानपुरको ३३८औं नियमित साहित्य सन्ध्या शनिबार हेटौंडामा भएको छ । साहित्य सन्ध्यामा संगमको अक्षयकोष निर्माण अभियानमा सहयोग गरेका ६४ जनालाई सम्मानित गरिएको छ । ३३८ औं साहित्य सन्ध्यामा सहयोगी दातालाई सम्मानसहित, रचना वाचन र गायन कार्यक्रम गरिएकाे हो । सङ्गमको नियमित गतिविधि सञ्चालनार्थ अक्षयकोष निर्माण अभियानमा सहयोगी दातालाई सम्मान गरिएको सङ्गमले जनाएको छ ।
कार्यक्रममा हेटौडा उपमहानगरपालिका ४ नम्बर वडा सचिव नविन सिग्देलले साहित्य सङ्गमको यस अभियानमा सम्बन्धित वडाको साहित्यिक, शैक्षिकलगायतका गतिविधि सञ्चालन र सञ्चारमा महत्वपूर्ण भूमिका खेलेकाे बताए । उनले सबै साहित्यिक संस्थाहरूलाई आफ्नै कार्यक्रमका रूपमा अपनत्व लिँदै निरन्तर सरसहयोग र सहकार्य गर्दै आइरहेको बताउँदै सङ्गमको अक्षयकाेष निर्माण अभियान १० लाख पुर्याउने लक्ष्य नपुग रकम सहयोग गर्ने जानकारी दिए । संङ्गमले संचालन गरेकाे कार्यक्रम निरन्तरता दिन सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष सिग्देलले बताए । उनले विभिन्न विद्यालयबाट सहभागी नवसर्जकहरूलाई लेखनका लागि हौसला दिन र नयाँ पाठक तथा स्रोता बनाउन समेत सर्जकहरूसँग आग्रह गरे ।
५ हजार रूपैयाँमाथि सहयोगी दाताहरूलाई सम्मान गरिएको सङ्गम अध्यक्ष डीबी बर्तौलाले बताए । ‘सङ्गम मकवानपुरको नयाँ कार्यसमिति चयनपछि वाचन, विमोचन, बहस, कार्यशाला लगायतका कार्यक्रम सञ्चालनका लागि अक्षयकोष बनाउन अभियानै चलाइएकाे हाे उनले भने ‘अक्षयकाेष स्थापना हुन सके संस्थाका गतिविधिले निरन्तरता पाउने हुँदा पहिलो चरणमा दाताहरू सम्मान गरिएको छ ।’ शनिबारकाे कार्यक्रममा ६४ जना सहयाेगीलाई सम्मानित गरिएकाे र बाँकी सहयोगीहरुलाई अर्काे कार्यक्रममा सम्मान गरिने उनले जानकारी दिए । केही दाताहरुले नाम उल्लेख नगर्ने र सम्मान ग्रहण नगर्ने शर्तमा समेत सहयोग दिनु भएको उनले बताए ।

कार्यक्रममा सहयोगी दाताहरू सुदर्शनप्रसाद अधिकारी, दिनेश भण्डारी, विनोद सुवेदी, अमुल श्रेष्ठ, डीबी बर्तौला, ठाकुरराम भण्डारी, सुभाषचन्द्र पौडेल, विश्वास क्षेत्री, दीपक गौतम, सुदीप बर्तौला, मनोज पोखरेल, उमा मैनाली, भानुभक्त आचार्य, रामहरि न्यौपाने, उमेश आचार्य, रामकृष्ण तिमल्सिनालगायतलाई सम्मानित गरिएकाे हाे । साहित्य सर्जक तुलसी घिमिरेले साहित्य सङ्गम सुरूवातकाे प्रसङ्ग राख्दै कविता वाचन गरेकाे कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको तर्फबाट बालजागृती ईङ्लिश सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल विनोद सुवेदी र सुदर्शनप्रसाद अधिकारीले मन्तव्य राखेका थिए ।
बालजागृति स्कुलका विद्यार्थीहरू सायुज्य देवकोटाले भजन शिरोमणि भक्तराज आचार्य तथा प्रसिद्धी लामिछानेले स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको गीत गाएका थिए। देवकाेटा र लामिछानेकाे गायनलाई सङ्गीत प्रशिक्षक घनश्याम ढकाल र मनोज शाहीले सहजीकरण गरेका थिए । साहित्य सर्जकहरू सुवास सजल, रचना भण्डारी, रजनी पौडेल, कृतिका लौडारी, स्वस्तिका बानियाँ, इभानी रानाभाट, छवि अनित्य, किसन पौडेल, देवराज तिवारी, सुदर्शन अधिकारी, चेतप्रसाद पौडेल, विष्णु गौतम, ठाकुरराम भण्डारी, शोभा थापा, मिथिला अधिकारी, केशव न्यौपानेलगायतले साहित्यक रचना वाचन गरेका थिए ।
हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता, साहित्यकार तुलसी घिमिरेकाे विशिष्ट आतिथ्यता र सङ्गमका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षतामा भएकाे कार्यक्रमलाई सङ्गम सचिव मनोज पोखरेलले सहजीकरण गरेका थिए । कार्यक्रममा भावना सापकोटा, भवानी तिमल्सिना, श्रीराम अधिकारी, मुक्तिगोविन्द वैद्य, दिनेश भण्डारी, राजकुमार लामिछाने, मधु ढुङ्गाना, ईन्द्र नेपाल लगायतका साहित्य सर्जक, साहित्यसेवीको उपस्थिति रहेको थियो ।
मकवानपुर । मकवानपुरकाे हेटाैंडामा जारी खेलकुद तथा व्यापार महाेत्सवमा शानिबार लोकगायिका बबिता बानियाँ जेरी र लोक गायक प्रदीप रोक्काले प्रस्तुती दिएका छन् ।
उनीहरुकाे लाइभ दोहोरी प्रश्तुतीमा मकवानपुरेहरुले मज्जा लिए । मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौंडाको टिसिएन चौरमा जारी महोत्सव अन्तर्गत उनीहरुको प्रश्तुती रहेको थियो । लोक गायनको क्षेत्रमा चर्चित यी जोडीको प्रस्तुतीमा दर्शकहरुले नाचेर साथ दिएका थिए ।
अन्य दिनको तुलनामा शनिबार दर्शकको बाक्लो उपस्थिती रहेको थियो । शनिबारै चर्चित गायिका रचना रिमाल, कमल के क्षेत्री र सुमन नेपाली ब्याण्डको लाइभ प्रस्तुती रहेको थियो । गायिका रिमालले आफ्ना निकै चर्चित गीतहरु प्रश्तुत गरेकी थिइन् ।
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा दैनिक राष्ट्रिय तथा स्थानीय कलाकारले सांगीतिक प्रस्तुती दिइरहेका छन् । महोत्सवमा आइतबार गायिका राधिका हमाल, गायक उर्गेन दोङ, कमल खत्री, एन्जिला रेग्मी र द शिल्ड ब्याण्डको प्रस्तुती रहने छ । महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल समेत भैरहेको छ ।
महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजित महोत्सव सफलतापूर्वक सञ्चालन भैरहेको जानकारी दिए ।
महोत्सवमा करिब २६० वटा स्टलहरु छन् । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटोमोबाइलका साथै बाल उद्यान रहेको छ । वर्षभर विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्नका लागि रकमको जोहो गर्ने उद्देश्यले औद्योगिक शान्ति नेपाल संस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरिएको उनले बताए ।
महोत्सवमा खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगिता जारी रहेको छ । १६ गतेसम्म सञ्चालन हुने भलिबलको विजेताले २ लाख, उपविजेताले १ लाख, सेमिफाइनलमा पराजित हुने दुई टोलीले नगद ५०/५० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले १५ हजार तथा विधागत उत्कृष्ट खेलाडीहरुले जनही ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्ने खड्गीले बताए ।
मकवानपुर । मकवानपुरको मनहरी गाउंपालिकामा पछिल्लो दुइसातामा डेढ दर्जन बढि घरमा क्षती पुर्याएको छ ।
जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार मध्यरात थप तीन वटा घरमा क्षति पुर्याएको हो । हात्तीले धान र चामल पनि खाईदिएको छ । शुक्रबार राती ११ बजे मनहरी गाउँपालिका वडा नं.७ शान्तिटोलका संजय साह, लक्ष्मी परियार र र वडा नं.८ सिमपानी शिबलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर १ बोरा धान र परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको १ साईडको भित्ता भत्काएको छ । त्यस्तै प्रजाको ब्लकले बनेको जस्ताले छाएको १ तले घरको छानो र १ साईडको भित्ता भत्काएर १ बोरा चामल खाएको प्रहरीले जनाएको छ ।
खानेकुरा खोज्दै मनहरीको बस्तीमा पल्केको हात्तीलाई स्थानीय, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले जंगलतर्फ लखेटेका थिए । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
हालसम्म जंगली हात्तीले करिब दर्जन बढी घरहरुमा क्षति गरिसकेको हो । हात्तीकै आक्रमणबाट गत शनिबार राती मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो ।
हात्तीको कारण गाउँबासीमा त्रास बढेको छ भने रातमा राम्रोसंग सुत्न पाएका छैनन् । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गर्दै आएको छ । हात्ती नियन्त्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ ।
दिउँसो सरोकारवालासंग छलफल हुन्छ,राती हात्तीले बितण्डा मच्चाउँछ” मनहरीका पत्रकार शिवकुमार काशीले भने “यो क्षेत्र आरक्षको कारण स्थानीय आजित छन् ।”
गत पौष १ गते राती हात्तीले चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घरमा पूर्णरुपमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । यसै गरि उक्त हात्तीले स्थानीय राम बहादुर तामाङको गोठमा समेत आंशिक क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी पुस ७ गते मकवानपुरको मनहरीमा जंगली हात्तीले आक्रमण गर्दा १ जना घाइते बनाएको थियो ।
हात्तीको आक्रमणबाट मनहरी ७ बिजौना बस्ने ५१ वर्षीय कान्छिमाया तमाङ घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । तमाङ घरबाट बाहिर निस्कदा अचानक जंगली हात्तिले आक्रमण गर्दा ढाडमा चोट लागि बेहोस भएकी थिइन् ।