मकवानपुर । मकवानपुरको मनहरी गाउंपालिकामा पछिल्लो दुइसातामा डेढ दर्जन बढि घरमा क्षती पुर्याएको छ ।
जंगली हात्तीले मकवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार मध्यरात थप तीन वटा घरमा क्षति पुर्याएको हो । हात्तीले धान र चामल पनि खाईदिएको छ । शुक्रबार राती ११ बजे मनहरी गाउँपालिका वडा नं.७ शान्तिटोलका संजय साह, लक्ष्मी परियार र र वडा नं.८ सिमपानी शिबलाल प्रजाको घरमा क्षति गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार साहको घरको ढोका भत्काएर १ बोरा धान र परियारको ब्लकले बनेको जस्ताले छाएको एक तले घरको १ साईडको भित्ता भत्काएको छ । त्यस्तै प्रजाको ब्लकले बनेको जस्ताले छाएको १ तले घरको छानो र १ साईडको भित्ता भत्काएर १ बोरा चामल खाएको प्रहरीले जनाएको छ ।
खानेकुरा खोज्दै मनहरीको बस्तीमा पल्केको हात्तीलाई स्थानीय, प्रहरी र पर्सा राष्ट्रिय निकुञ्जको नेपाली सेनाको टोलीले जंगलतर्फ लखेटेका थिए । घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
हालसम्म जंगली हात्तीले करिब दर्जन बढी घरहरुमा क्षति गरिसकेको हो । हात्तीकै आक्रमणबाट गत शनिबार राती मनहरी गाउँपालिका–७ बिजौना बस्ने ५१ बर्षीया कान्छिमाया तामाङलाई आक्रमण गरी घाइते बनाएको थियो ।
हात्तीको कारण गाउँबासीमा त्रास बढेको छ भने रातमा राम्रोसंग सुत्न पाएका छैनन् । किसानले खेतबारीमा लगायतको अन्नबाली समेत क्षति गर्दै आएको छ । हात्ती नियन्त्रण गर्न निकुञ्जले चासो नदेखाएको मनहरीबासीको गुनासो छ ।
दिउँसो सरोकारवालासंग छलफल हुन्छ,राती हात्तीले बितण्डा मच्चाउँछ” मनहरीका पत्रकार शिवकुमार काशीले भने “यो क्षेत्र आरक्षको कारण स्थानीय आजित छन् ।”
गत पौष १ गते राती हात्तीले चेपाङको ढुङ्गा र जस्ताले बनेको १ तले घरमा पूर्णरुपमा क्षति पुर्याएको मकवानपुर प्रहरीले जनाएको छ । यसै गरि उक्त हात्तीले स्थानीय राम बहादुर तामाङको गोठमा समेत आंशिक क्षति पुर्याएको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी पुस ७ गते मकवानपुरको मनहरीमा जंगली हात्तीले आक्रमण गर्दा १ जना घाइते बनाएको थियो ।
हात्तीको आक्रमणबाट मनहरी ७ बिजौना बस्ने ५१ वर्षीय कान्छिमाया तमाङ घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । तमाङ घरबाट बाहिर निस्कदा अचानक जंगली हात्तिले आक्रमण गर्दा ढाडमा चोट लागि बेहोस भएकी थिइन् ।

