मकवानपुर । मकवानपुरको हेटौंडामा वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको छ । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाको आयोजना तथा शैक्षिक सुधार समिति वडा नम्बर– ४ को व्यवस्थापनमा प्रथम वडा स्तरीय खेलकुद प्रतियोगिता हुने भएको हो ।
आगामी माघ २६ र २७ गते हेटौंडाको हुप्राचौरमा वृहत खेलकुद प्रतियोगिता हुने शुक्रबार हेटौंडामा पत्रकार भेटघाट गरि जानकारी दिएको हो । ४ नम्बर वडामा रहेको सामुदायिक र सस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने प्रतियोगितामा माघ २५ गतेसम्म नाम दर्ता गराउनु पर्ने ४ नम्बर वडा अध्यक्ष नवीन सिग्देलले जानकारी दिए । प्रतियोगितामा एथलेटिक्स, रिलेदौड, लङ्गजम्प, ट्रिपल जम्प, सटपुट, भलिबल, फुटबल र क्रिकेटलगायतका खेलहरु हुनेछन् ।
अध्यक्ष नवीन सिग्देलले विद्यालय स्तरबाटनै खेलाडीहरु उत्पादन गर्नसके मात्र खेलकुदलाई प्रबर्द्धन गर्न सकिने बताए । प्रतियोगिताकामा विजेताहरुलाई प्रमाणपत्र मात्र वितरण गरिने उनले जानकारी दिए । कार्यक्रमको अन्त्यमा उत्कृष्ट विद्यालयलाई पुरस्कृत गरिने बताईएको छ ।
४ नम्बर वडाले सस्थागत र सामुदायिक विद्यालयबिच समन्वयन गरेर विद्यालय स्तरका कार्यक्रमहरु गरिरहँदा विद्यालयहरुबिचको विभेद अन्त्य गरेको उनले दाबी गरे ।
खेलकुद प्रतियोगिता पश्चात वडाले जिल्ला स्तरीय शिक्षक भलिवल, शिक्षक उत्प्रेरणा तथा शैक्षिक अन्तक्रिया, ईसीडी शैक्षिक सामाग्री निर्माण तालिम लगाएतका कार्यक्रमहरु आयोजना गर्ने तयारीमा गरिएको शैक्षिक सुधार समिति अध्यक्ष श्रीराम दाहालले जानकारी दिए ।
वडाले यसअघि वृहत शैक्षिक प्रदर्शनी, नृत्य तथा गायन प्रतियोगिता गरेको बताईएको छ ।
चितवन। स्वामी परमानन्द सरस्वतीजी महाराजको वार्षिक पुण्यतिथिको पूर्वसन्ध्यामा माघ १९ गते परमानन्द-काव्य-सरिताको १५औं शृङ्खला हुने भएको छ । राष्ट्रसन्त ब्रह्मलीन सरस्वती महाराजकाे पुण्यतिथिको श्री परमानन्द संस्कृत छात्र कल्याण परिषद्वारा साहित्य सङ्गीत र कलाको त्रिवेणी परमानन्द-काव्य-सरिता आयाेजना गरिएकाे हाे ।
खासगरी छन्द कविता रुचाउने व्यक्तिहरूलाई उक्त कार्यक्रम निकै महत्त्वपूर्ण हुने कार्यक्रमका संयोजक सोमनाथ अर्यालले बताए । सोही अवसरमा नाटककार गोविन्दगोपाल खतिवडाद्वारा लिखित तथा सुनील उपाध्यायद्वारा निर्देशित `जनावर सम्मेलन´ नामक नाटक पनि मञ्चन हुने संयोजक अर्यालले बताए ।
हरिहर सन्यास आश्रमका पीठाधीश श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजको प्रमुख संरक्षकत्व एवम् प्राडा माधवप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न हुन गइरहेको उक्त कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त थुप्रै स्रष्टाहरू, काव्य साधनामा तल्लीन गुरुकुलका छात्रहरू तथा साहित्यानुरागी महानुभावहरूको समेत सहभागिता रहनेछ ।
त्यसैगरी माघ २० गते माघ कृष्ण अष्टमीका दिन ब्रह्मलीन स्वामीज्यू महाराजको वार्षिक पुण्यतिथिमा बृहत् गुरु भण्डाराको आयोजना गरिएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई आमन्त्रण गरिएको श्री हरिहर सन्यास आश्रमका सचिव मुक्तानन्द सरस्वती जी महाराजले बताए ।
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले विद्यालयको अनुगमन गरेका छन् । मन्त्री लामाले मकवानपुरकाे हेटौंडा उपमहनागरपालिका –१४ मा रहेको भृकुटी माध्यमिक विद्यालयमा अनुगमन गरेका हुन् ।
विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी लिन मन्त्री लामाले विद्यालयको प्रत्येक कक्षाकोठामै पुगेर अनुगमन गरेका थिए । उनलाई विद्यालयका प्रधानाध्यापक अच्युतकृष्ण रिजाल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुमार मोक्तानले विद्यालयकाे अवस्थाकाे जानकारी गराएका थिए ।
अनुगमनका क्रममा मन्त्री लामाले भविष्यका कर्णधार बनाउने जिम्मेवारी शिक्षकको काँधमा रहेको भन्दै गम्भीर भएर लाग्न निर्देशन दिए । उनले शिक्षक, तथा विद्यार्थीहरुले थप परिश्रम गरि नमूना विद्यालयको रुपमा स्थापित गराउन आग्रह गर्दै मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सार्वजनिक शिक्षा सुधार गर्ने प्रदेश सरकारको लक्ष्य रहेको भन्दै उनले विद्यालयका शिक्षक, विद्यार्थीकाे भूमिका शैक्षिक क्षेत्र सुधारमा नमूना हुने विश्वास व्यक्त गरे ।
२०७२ को भुकम्पपछि युएसएडको सहयोगमा एनआरएस परियोजना अन्तर्गत बनेको भवन एनआरएस परियोजना प्रमुख रामजी थापाले विद्यालयलाई हस्तान्तरण गरेका हुन् । १८ करोड लगानीमा निर्माण भएको विद्यालयकाे २२ कोठा रहेकाे छ । विद्यालय भवनलगायतका संरचना अपाङमैत्री रहेकाे थापाले बताए ।
यसैगरी विद्यालय भवन वातावरणमैत्री समेत रहेकाे छ । घाम कक्षाकोठामा नलाग्ने र गर्मी मौसममा गर्मी नहुने साथै चिसोमा चिसो नहुने गरी विद्यालयको भौतिक संरचना निर्माण भएको विद्यालयका प्रअ रिजालले बताए । हाल विद्यालयमा ३ सय ५० विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयमा २५ वटा कम्युटर सहित ल्यावको समेत व्यबस्था रहेको प्रअ रिजालले जानकारी दिए ।
मकवानपुर । स्वास्थ्य संस्थाहरुको स्तरोन्नती गर्ने तर स्रोत साधनको कारण सेवामा सुधार नभएको गुनासो आइरहेको बेलामा बागमती प्रदेशमा पहिलो पटक बायोमेडिकल वर्कसप स्थापना गरिएको छ । अब स्वास्थ्य जाँचको क्रममा प्रयोग भएका सामग्रीहरुको गुणस्तरको बारेमा समेत जाँच गर्न सकिने भएको छ ।
प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा बायोमेडिकल वर्कसपको स्थापना गरिएको हो । वर्कसप विहीबारबाट सुरु भएको छ । बायोमेडिकलको वर्कसप स्थापना भएसँगै अब बागमती प्रदेशका अस्पतालहरूका लागि स्वास्थ्य जाँचको उपकरणहरुमा आउने समस्याबाट केही राहत मिल्ने भएको छ । वर्कसपबाट अबदेखि बागमती प्रदेशका अस्पतालमा बिग्रिएका स्वास्थ्य उपकरणहरूको मर्मत गरिने भएको छ। निग साइमन इन्स्टिच्युटको सहयोगमा वर्कसपमा आवश्यक सामग्रीको व्यवस्थापन गरिएको छ ।
वर्कसपको उद्घाटन गर्दै बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सरकारी अस्पतालमा भएका ल्याबका उपकरणहरू धेरै छिटो बिग्रने समस्या रहेको बताउँदै यस्तो किन भइरहेको छ भन्ने बारे प्रश्न गरे । यो वर्कसपबाट अब बिग्रिएका उपकरणहरू मर्मत गर्नका लागि सहयोग पुग्ने उनले बताए । “उस्तै प्रकारका सामनहरु सँगै प्रयोगमा ल्याउँदा पनि निजी तर्फकाले राम्रो काम दिने र हाम्रोतिरका बग्रेर थन्किने अनि सेवामा समस्या आउने कारण मन्त्रालयले पनि थाहा पाउनु पर्छ” मन्त्री जोशीले भने “अब यही वर्कसपबाट यस्ता कारण र बेथितीहरु समेत पत्ता लाग्ने अपेक्षा राखेका छौं ।” सामना बिग्रेर प्रयोगमा नआएको हो वा निजी संस्था चलाउने द्यय हो अब बुझिने उनले बताए ।
यसैगरी स्वास्थ्य मन्त्रालयका सचिव बद्री बहादुर खड्काले प्रदेशका अस्पतालहरूमा स्तरोन्नति गरिएकाले यसका लागि भएका सामानको मर्मत गर्दै प्रयोगमा ल्याउनुपर्ने बताए । स्वास्थ्य उपकरणहरुमा समस्या आएकै कारण सेवा प्रवाहमा अवरोध हुन नदिने उद्देश्यले वर्कसपको स्थापना गरिएको हो । “अस्पतालको भौतिक स्तरोन्नती मात्रै भएर हुँदैन” खड्काले भने “जनशक्ति, स्रोत साधनको पनि स्तरोन्नती आवश्यक छ ।”
आपूर्ति व्यावस्थापन केन्द्रका प्रमख बसन्त अधिकारीका अनुसार अस्पतालहरुमा पुन प्रयोगमा आउने सामन बिग्रेको र प्रयोगमा नआएको कारण सेवामा हुने अवरोध÷समस्यालाई अब धेरै हदसम्म कम गर्न सकिने छ । सेवा चुस्त हुनेछ, सक्षम सामग्रीहरुले सेवा प्रवाहलाई सहजीकरण र सबल बनाउने छ । यहाँ प्रादेशिक अस्पताल, आयुर्वेद स्वास्थ केन्द्र सबैतिर सामग्रीको गुणस्तर जाँच र मर्मत गरिने छ ।
निग साईमण्ड ईन्स्टिच्युट कार्यकारी निर्देशक अर्चना अमात्यका अनुसार संस्थाले ७१ लख रुपैयाँ बजेट सहयोग गरी वर्कसपमा स्पेयर पार्ट, फर्निचर, ¥याम्पहरू समेत निर्माण गरेको छ । किगले अबको कम्तीमा ५ बर्ष नियमित सहजीकरण गर्ने, आवश्यता अनुसार जनशक्तिलाई तालिम समेत गर्नेछ । ईन्स्टिच्युले यस अघि नेपालको गण्डकी, लुम्बिनी सुदुरपश्चिम र कर्णाली प्रदेशमा बायोमेडिकल वर्कसप स्थापना गरिसकेको छ ।
अस्पतालहरुमा एक्सरे मिसेन, ल्याबहरुको विभिन्न सामग्रीहरुनमा समस्या भएपछि बिरामी जाँचको क्रममा अस्पतालहरुले रिफर गर्ने गरेका छन् । जसका कारण सरकारी अस्पतालबाट पाइने सस्तो सर्वसुलभ सेवाको बदला निजीको महड्डो मारमा सर्वसाधारणहरु पर्ने गरेका छन् ।
मकवानपुर । समाजवादी आन्दोलनमा नेतृत्व गर्ने कम्युनिष्ट नेताहरुले विवाह, ब्रतबन्ध जस्ता कार्यक्रमको सन्दर्भमा ठुलो रकम खर्च गर्ने गरेको आरोप बेला बेलामा लाग्ने गरेको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सवालमा पनि सामाजिक सञ्जालमा विभिन्न टीका टिप्पणी आए ।
विवाह लगायतको सामाजिक कार्यक्रम गर्दा सहभागी हुन संङख्या र खर्चको दायरा तोकिए पनि यसलाई नीति निर्माताहरुले नै अनुसरण गर्ने गरेको पाइदैन । तर मकवानपुरका एक सञ्चारकर्मीले आफ्नो छोराको विवाह भोजको खर्च काटेर धार्मिक पर्यटकीय स्थलमा बुद्धको मुर्ति स्थापना गरेका छन् ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका ४, कमलडाँडा नीवासी पत्रकार प्रताप विष्टले छोरा डा. घोषणा विष्ट र बुहारी सुजता कार्कीको विवाहको खर्च कटौति गरेर हेटौंडा–९ स्थित कुष्माण्ड सरोबर त्रिवेणीधाममा गौतम बुद्धको अष्टधातुको मूर्ति स्थापना गरेका हुन् ।
धार्मिक पर्यटनको गन्तव्यको रुपमा विकास गरिएको त्रिवेणी धाममा उनीहरुले ५ फिट अग्लो, २ सय ६० केजी तामा र पित्तल मिसिएको मूर्ति स्थापना गरेको हुन् । करिब १२ लाख रुपैयाँ खर्चमा निर्माण गरिएको मूर्तिको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा तथा उपप्रमुख राजेश बानियाँ अनावरण गरे ।
सामाजसेवी तथा बुद्धिजीवी देव श्रेष्ठले फजुल खर्च गरी विवाह गर्ने परम्परा बढिरहेको समयमा यस जोडीले उदाहरणीय काम गरेको बताए । “यस्ता कार्यले समाजको नेतृत्वकर्तालाई थप जिम्मेवार बन्न प्रेरणा दिन्छ” वृद्ध श्रेष्ठले भने “बाटो देखाउनेहरुले गर्ने यस्तै काम हो ।”

घोषणा विष्ट सञ्चारकर्मी प्रताप विष्टका कान्छा छोरा हुन् । विष्टले २०७४ सालमा आफ्नो ज्येष्ठ छोराको विवाह खर्च कटाएर मानव सेवा आश्रमलाई ५ लाख ११ हजार १११ सय रुपैयाँ तथा नेपाल पत्रकार महासंघ मकवानपुर शाखामा एकलाख रुपैयाँ पुस्तकालय स्थापनाका लागि प्रदान गरेका थिए । “दुबै सन्तानको विवाहमा मैले सकेको सामाजिक काम गरे, परिवारको पनि साथ रह्यो” विष्टले भने “भोज खुवायो, एक दिनको लागि, त्यसमा पनि सबैको मन बुझाउन सकिदैन ।”
धार्मिक पर्यटकीय स्थलमा राखिएको बुद्धको मुर्तिले समावेशी पार्क निर्माणका टेवा पुगेको त्रिवेणी धाम विकास समिति अध्यक्ष इश्वरी न्यौपानेले बताए । त्रिवेणी थाममा १०८ गौमुखि धारा, शिश महल, हेडम्ब देबीको मुर्ति लगायतको दर्शनीय स्थलहरु छन् । यहाँ माघ महिना भरी कुष्माण्ड मेला लाग्छ । हेटौंडाको नामाकरण कसरी भयो भन्ने ऐतिहासिक कथा यहाँबाट बुझ्न सकिने न्यौपानेले बताए ।
बुद्धुमर्तिको अनावरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्य सेडाइलगायत जिल्लाका प्रमुख सरकारी कार्यालयका प्रमुखहरु, दलका प्रमुखहरु, सामाजिक अभियन्ताहरु तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।